निर्मला हत्याकाण्ड : अनुसन्धान अझै अनुत्तरित, उपसचिवसहित चार कर्मचारी पक्राउ



 

कञ्चनपुर भीमदत्तकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६६ दिन पुग्यो । राज्यको सबै संयन्त्र लाग्दा पनि उनको बलात्कार र हत्या कस्ले गर्यो भन्ने मुख्य प्रश्न अनुत्तरित छ ।

 

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति नै गठन गर्यो । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट छुट्टै टोली पठायो । प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीको टोली अहिले पनि कञ्चनपुरमा छानबिनमै छ । तर निर्मलाको बलात्कारपछि कस्ले हत्या र्गयो भन्ने सानो सुराक समेत सार्वजनिक गर्न प्रहरीले सकेको छैन ।

 

गृह प्रशासन र प्रहरीको सम्पूर्ण शक्ति परिचालन हुँदा पनि निर्मला हत्याका अभियुक्त पक्राउ नपर्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ । आरोपी र शंका गरिएका प्रमुख एसपी डिल्लिराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरियो र तर नतिजा नेगेटिभ आयो ।

 

सबैको प्रश्न एउटै छ– अनुसन्धान अब कता ? प्रहरी आरोपी छ । प्रहरीकै विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षण गरिँदा त्यसको वैधानिकतामाथि समेत प्रश्न उठेको छ । घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसक्नु भनेकै गम्भीर लापरबाही हो ।

 

जानकारी हुनेबित्तिकै घटनास्थलमा प्रहरी नपुग्नु, निर्मलाका अभिभावकको चिन्तालाई सामान्य सोचेर एसपी विष्टले प्रहरी परिचालनमा रोक लगाउनु, घटनास्थलमा निर्मलाले लगाएको सुरुवाल धोइपखाल्न लगाउनु, निर्मलाका कपडा शवसँगै जलाउन दिनुले अनुसन्धानको सामान्य सिद्धान्तलाई प्रहरीले नियोजित रूपमै लापरबाही गरेको प्रष्ट्याउँछ ।

 

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र घटनास्थलमा खटिएका अन्य प्रहरीको लापरबाहीले गम्भीर आशंका उब्जिएको हो । यी प्रश्नका जवाफ अहिलेसम्म प्रहरी प्रधान कार्यालय र गृहले दिन सकेको छैन ।, अन्नपूर्ण पाेस्टमा खबर छ ।

 

बेरोजगार युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाइने
सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार निर्माण गर्न श्रम शक्तिलाई देशकै हितमा यथोचित परिचालन गरिने सरकारको तयारी छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबार आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनसम्बन्धी छलफलमा श्रममन्त्री गोकर्ण विष्टले काम गर्न सक्ने उमेर समूहको जनशक्तिलाई नेपालभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकारले नयाँ ढङ्गको अभियान शुरु गर्न लागेको बताए ।

 

प्रारम्भिक चरणमा एक लाखलाई रोजगारी उपलब्ध गराउने जानकारी दिँदै मन्त्री विष्टले चालू आव भित्रै लाखौँ व्यक्तिलाई रोजगार प्रदान गर्न कार्यक्रम सार्वजनिक गरिने बताए । विकास बजेटको कम्तिमा २० प्रतिशत अनिवार्य रोजगारी सिर्जनाका लागि खर्च गर्ने गरी व्यवस्थित प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने उनको भनाइ छ ।

 

संसदीय समितिको निर्देशन
संसदीय समितिले दशैं, तिहार र छठमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्न उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकले चाडपर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्न उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

समितिले दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । समितिकी सभापति पूर्णकुमारी सुवेदीका अनुसार समितिले भत्किएको कालीगण्डकी तटबन्द अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

 

उपसचिवसहित ४ कर्मचारी पक्राउ
महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार मालपोत कार्यालय, चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई पक्राउ गरेको छ । उनीहरूमाथि बुढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्कै व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरेको अभियोग छ ।

 

पक्राउ पर्नेमा तिम्सिनासहित नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठ, कार्यालय सहयोगी रमेश श्रेष्ठ र मुकुन्द धिताल छन् । प्रहरीले उक्त प्रकरणमा यसअघि मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नायब सुब्बा रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना तथा बिचौलियाहरू ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरेको थियो ।, कान्तिपुर दैनिकमा खबर छ ।

 

सुदूरपश्चिम प्रदेश राजधानीको डिपीआर यसै आवमा
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा  भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरी प्रक्रिया अघि बढाइने भएको छ ।

 

शुक्रबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइको निर्णयबाट प्रदेशको नाम सुदूरपश्चिम र राजधानीको स्थान गोदावरीलाई पारित गरेपछि भौतिक संरचना निर्माणका गर्न डिपीआरको प्रक्रिया अघि बढाइने प्रक्रिया शुरु भएको हो ।

 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता प्रकाश शाहका अनुसार चालु आव वर्षभित्रै प्रदेशको स्थायी राजधानी तोकिएको स्थान गोदावरीमा भौतिक संरचना निर्माणका लागि डिपीआर तयार गरिनेछ । चालू आवमा डिपीआर तथा भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने प्रवक्ता शाहले जानकारी दिए ।

 

१६ हजारभन्दा बढी पोर्न साइटमाथि निषेध
सरकारले समाजमा यौन हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग रहेको विश्लेषण गर्दै हालसम्म १६ हजारभन्दा बढी यस्ता सइटमाथि बन्देज लगाएको छ । सूचना तथा प्रविधि मन्त्रालयले यही असोज ५ गते देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्यूनीकरण गर्ने उदेश्यले यस्ता साइट पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

 

मुलुकी अपराध संहिता ऐन २०७२ को दफा १२१ लार्य टेकेर अश्लील साइट बन्देज गर्न निर्देशन दिइएके हो । उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदानप्रदान प्रकाशन र प्रसारणमा बन्देज लगाइएको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।

 

चाडबाड केन्द्रित सुरक्षायोजना सार्वजनिक 
नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर  महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो तथा व्यवस्थित बनाउने उद्देश्यले कार्ययोजना सार्वजनिक गरेको हो ।

 

प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले नेपालीको चाड दशैँ, तिहार र छठका अवसरमा शान्ति सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यसहितको सुरक्षासम्बन्धी योजना सार्वजनिक गर्दै तीन हजार ५३५ सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरिएको बताए ।

 

चाड पर्वका अवसरमा हुनसक्ने हत्या, अपहरण, ठगी, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री वितरण, तस्करी, ट्राफिक दुर्घटना, महिला हिंसालगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न विशेष सक्रियता अपनाइने उनले जानकारी दिए ।

 

पशुपति क्षेत्रभित्र सफा ट्याम्पो संचालन
पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो सञ्चालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैत्री सफा ट्याम्पो सञ्चालनमा ल्याइएको हो । लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको ट्याम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ गरे ।

 

सिद्धार्थ यातायात प्रालिले भाडा नबढाउने 
सिद्धार्थ यातायात प्रालिले दशैंको मुखमा सरकारले बढाएको दश प्रतिशत भाडा लागु नगर्ने भएको छ । चाडपर्वको मौका छोपेर हरेक क्षेत्रले उपभोतmालाई महंगाइको मारमा पर्ने भन्दै प्रालिले दशैंको वेलामा आफ्ना सबै सवारीमा भाडा यथावत राख्ने निर्णय गरेको प्रालिका अध्यक्ष सुर्यकुमार सारुमगरले जानकारी दिए । प्रालिको उद्देश्य नाफा कमाउने मात्र नभएर यात्रुलाई स्तरीय सेवा सहज रुपमा उपलब्ध गराउने भएकोले प्रालिले तत्काललाई भाडा नबढाउने निर्णय गरेको अध्यक्ष सारुले बताए ।

 

सङ्कटाले सरस्वतीलाई हरायो
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको लिगको पहिलो चरणको दोस्रो खेलमा सङ्कटाले सरस्वतीलाई १–० गोल अन्तरले हराएका थिए ।

 

जीतसँगै सङ्कटाले लिगमा शीर्ष तीन अङ्क जोडेको छ । सङ्कटाको जीतमा लक्ष्मण रुचालले गोल गरे । उनले खेलको दोस्रो हाफमा थपिएको अतिरिक्त समयमा गोल गरेका थिए । सङ्कटा लिग तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्