१८ वर्षभित्रका बालबालिका संलग्न अपराध हेर्न अब छुट्टै ‘बाल अदालत



हाम्रो इकोनोमि

 

 पहिले १८ वर्ष उमेर विहे गर्न योग्य मान्निथ्यो । तर, अब १८ वर्षसम्मको उमेर बालबालिका नै ठहरिने छ । यो कुरा, १८ वर्ष भन्दा कम उमेरका बालबालिका संलग्न रहेको अपराध हेर्न छुट्टै अदालत गठन गर्नुपर्ने कानूनी व्यवस्थाले प्रमाणीत गरेको छ । अहिले विवाह गर्न २० वर्ष उमेर अनिवार्य गरिएको छ ।

 

राष्ट्रिय सभाबाट प्रमाणीकरण बालबालिका सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा १८ वर्ष भन्दा मुनिका बालबालिका जुनसुकै अपराधमा संलग्न भएपनि त्यसको न्यायिक निरुपण गर्न ‘बाल अदालत’ गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

राष्ट्रिय सभामा २०७५ भदौ ३ गते दर्ता भएको बालबालिका सम्बन्धी विधेयक–२०७५ दफावार छलफलपछि असोज २ गते प्रमाणीकरण भएको छ ।

 

संघीय संसदमा प्रस्तुत प्रस्तावित ‘बालबालिका सम्बन्धि ऐन २०७५’ अनुसार बाल अदालतबाटै यसको न्याय निरुपण गर्नुपर्ने व्यवस्था राखिएको छ । राष्ट्रिय सभाबाट प्रमाणीकरण भएको यो विधेयक प्रतिनिधि सभाबाट अनुमोदन भई राष्ट्रपतिले प्रमाणीत गरेपछि कानूनको रुपमा आउने छ ।

 

त्यही कानून अनुसार बाल अदालत गठन हुनेछ । प्रतिनिधि सभामा विचाराधिन यो विधेयकको दफा ३० मा ‘वालवालिकाले गरेको कसूरजन्य कार्यको शुरु कारबाही, सुनुवाई र किनारा गर्न नेपाल सरकारले न्याय परिषदको सिफारिसमा बाल अदालत गठन गर्न सक्ने छ’ भनिएको छ ।

 

यस्तै, दफा ३० को उपदफा (२) मा  ‘उपदफा (१) बमोजिम बाल अदालत गठन गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ र त्यस्तो अदालतको प्रादेशिक क्षेत्राधिकर तथा मुकाम सोही सूचनामा तोके बमोजिम हुने छ’ भनी लेखिएको छ ।

 

बाल अदालत गठन भएपछि यसअघि विभिन्न अदालतमा विचाराधीन बालबालिका संलग्न अपराधका मुद्दा स्वतःबाल अदालतमा स्थानान्तरण हुने छन् । दफा ३० को उपदफा ४ मा इजलासको व्यवस्था छ । जसमा जिल्ला न्यायाधीश, समाजसेवी, बालमनोविज्ञ वा बाल विशेषज्ञ रहने छन् ।

 

उपदफा ५ मा समाजसेवी, बालमनोविज्ञ वा बाल विशेषज्ञको योग्यता, नियुक्ति, पारिश्रमिक र सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुने, भनिएको छ । बालबालिकालाई खासगरी संगठीत, सामाजिक र आर्थिक अपराधमा संलग्न गिरोहले आर्थिक प्रलोभन देखाएर दुरुपयोग गर्दै आएको नेपाल प्रहरीको दावी छ ।

 

काठमाडौं उपत्यकामा पकेटमारी, चोरी, डकैती, लगायतक अपराधमा बालबालिका बढी प्रयोग भएका भेटिन्छन् । प्रहरीका अनुसार कतिपय अभिभावकको समेत मिलेमतोमा गिरोहले बालबालिका प्रयोग गर्दछन् ।

 

यस्तै, अनुसन्धानको जिम्मेवारीमा रहेको प्रहरीले अपराधमा संलग्न बालबालिका राख्न छुट्टै थुनुवा कक्षको समेत व्यवस्था गर्नुपर्नेछ । सरकारले विभिन्न कसुरमा संलग्न बालबालिका राख्नलाई छुट्टै थुनुवा कक्षको स्थापना गर्नसक्ने उल्लेख छ ।

 

यो ऐन लागू भएपछि कुनै पनि प्रहरी कार्यालयमा अन्य आरोपित व्यक्तिसँगै १८ वर्ष भन्दा मुनिका बालबालिकालाई एउटै थुनुवा कक्षमा राख्न पाइने छैन । १८ वर्ष उमेर नपुगेका बालबालिकालाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्न तथा कुनैपनि जमानत अथवा धरौटी समेत नमागिने उल्लेख छ ।

 

१० वर्ष मुनिका बालबालिका कुनै अपराधमा संलग्न भए कुनैपनि मुद्दा नचलाइने तथा कुनै किसिमको सजाय समेत नहुने उल्लेख छ । १० देखि १४ वर्षका बालबालिकाको हकमा जरिवाना हुनेगरी दोषी ठहरिए सम्झाई बुझाई अविभावकको जिम्मा लगाइने र कैद हुने कसूरमा दोषी ठहरिए ६ महिना कैद सजाय अथवा १ वर्षसम्म बाल सुधारगृहमा राख्नेगरी फैसला हुन सक्ने भनिएको छ ।

 

१८ वर्षभित्रका बालबालिकाले गरेको अपराधका आधारमा कसूरजन्य कार्य गरेको खण्डमा कुनै पद वा सुविधा प्राप्त गर्नबाट वञ्चित गर्न पाइने छैन । त्यति मात्र नभई अपराधमा दोषी ठहर व्यक्ति १८ वर्षपुगेपछि उसलाई दोषीका रुपमा समेत हेर्न नपाइने व्यवस्था ऐनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...