कहाँ पुग्यो नेकपाको एकता ? झलनाथले भने अब मै नभई भएन



 

एकीकृत नेकपा निर्माण एउटा ऐतिहासिक प्रक्रिया हो । नेपालको कम्युनिस्ट आन्दोलनमा ७० वर्षको लामो अवधिमा विकसित सबैभन्दा ठूला दुई कम्युनिस्ट समूह (पूर्वएमाले र पूर्वमाओवादी केन्द्र) विगत ३ जेठमा एकीकृत भए ।

 

यी दुई समूह नेपालको कम्युनिस्ट आन्दोलनमा तीन दशकभन्दा लामो अवधिसम्म एकआपसमा तीव्र प्रतिस्पर्धामा थिए । उनीहरूबीचका अन्तरसम्बन्ध पटक–पटक उत्तारचढावबाट पनि गुज्रिए ।

 

अन्तरसंघर्ष ज्यादै तिक्ततापूर्ण रूपमा पनि देखिए । कतिपय वेलामा त एक समूहले अर्को समूहका कार्यकर्ताको हत्या गर्नेसम्मका प्रवृत्ति पनि देखा प-यो । तर, दुवै समूह कम्युनिस्ट आदर्शबाट कहिल्यै विमुख रहेनन् ।

 

आखिर ०४६ सालपछि पनि राजतन्त्रले जनतामाथि फेरि रजाइँ गर्न सुरु गरेपछि जनआन्दोलनको प्रवाहलाई अगाडि बढाइरहेको र सशस्त्र संघर्षको प्रवाहलाई अगाडि बढाइरहेको दुई ठूला कम्युनिस्ट समूहबीच कार्यगत एकताका सम्भावना बढ्न थाले । यही क्रममा ऐतिहासिक १२बुँदे सहमति भयो ।

 

त्यसले एउटा राजनीतिक कार्यदिशावरिपरि दुई कम्युनिस्ट समूहलाई उभ्याइदियो । दुवै समूह राजतन्त्रविरुद्धको एउटा मोर्चामा आबद्ध भएर प्रकट भए । नेपाली कांग्रेसलगायत अन्य राजनीतिक शक्ति पनि त्यही मोर्चामा सामेल हुन पुगे । त्यो मोर्चा हेर्दाहेर्दै राष्ट्रव्यापी रूपमा असाध्यै शाक्तिशाली भएर विकसित भयो ।

 

राजतन्त्रविरुद्ध सुरु भएको त्यो जनआन्दोलन हेर्दाहेर्दै राष्ट्रव्यापी भयो, प्रवासमा समेत फैलियो । मुलुकभरि जनआन्दोलनको उच्च लहर विकसित भयो, त्यसले अझ अगाडि बढेर विराट्

 

जनक्रान्तिको रूप धारण ग-यो । जनताले सडक–सडकबाट गणतन्त्रको घोषणा गर्न थाले । उनीहरूले विभिन्न क्षेत्रलाई मुक्त गर्दै गए । अन्ततः जनक्रान्ति अत्यन्तै महत्वपूर्ण ढंगले सफल भयो र मुलुकमा झन्डै दुई हजार वर्षदेखि शासन गरिरहेको राजतन्त्रलाई उन्मूलन गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा रूपान्तरित भयो ।

 

यी दुई पार्टीबीच कार्यगत एकता हुन थालेपछि नेपालका सम्पूर्ण कम्युनिस्ट निकट भएर अगाडि बढ्न सुरु गरे । कांग्रेससँग समेत कार्यगत एकता भएका कारण मुलुकमा एउटा ठूलो परिवर्तन आयो ।

 

त्यो परिवर्तनपछि संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने र ०६२/६३ का मूल्य र मान्यतालाई संस्थागत गर्ने नयाँ कामको थालनी भयो । त्यस वेलाको विशिष्ट स्थितिमा यसलाई एउटा संविधानसभाको निर्वाचनबाट मात्रै सम्पादन गर्न सम्भव भएन ।

 

दोस्रो संविधानसभा निर्वाचनसमेत गर्नुप-यो । यसरी करिब १० वर्ष लगाएर एउटा ऐतिहासिक संविधान निर्माण गरियो । जुन संविधानले ०६२/६३ को जनक्रान्तिलाई अत्यन्त सफलतापूर्वक संस्थागत ग-यो ।

 

ती उपलब्धि संस्थागत गर्ने काममा पनि यी दुई कम्युनिस्ट पार्टी अत्यन्त सक्रियतापूर्वक सहभागी भए । आ–आफ्नै दृष्टिकोण, पृष्ठभूमि, नीति र कार्यक्रम रहेको भए पनि दुवैले साझा आधार पहिल्याएर त्यसैको जगमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । अन्ततः यी दुई महत्वपूर्ण कम्युनिस्ट समूह र नेपाली कांग्रेसलगायत शक्ति मिलेर संविधानको घोषणा भयो ।

 

संविधानसभाबाट संविधान घोषणा अर्को महत्वपूर्ण उपलब्धि हो । ती दुई कम्युनिस्ट समूह निकट नआएको भए सम्भवतः यो संविधान घोषणा हुन गाह्रो थियो । तत्कालीन एमाले र माओवादी केन्द्रको निकटता बढ्दै गएका कारण पनि संविधान घोषणा सम्भव भयो । यसरी हामी ऐतिहासिक रूपले नयाँ उचाइमा पुग्यौँ ।

 

संविधानसभाबाट संविधान घोषणा हुनुका साथसाथै दुई पार्टीबीचका सम्बन्ध अझ निकट हुँदै गए । तिनै निकटता बढ्दै जाने सिलसिलामा ३ जेठ ०७५ मा यी दुई समूह एकीकृत भए । एकीकरण घोषणासँगै दुवै पार्टीको एउटै केन्द्र पनि बन्यो । केन्द्रीय कमिटी निर्माण भयो । र, केन्द्रीय सचिवालय पनि निर्माण भयो । स्थायी कमिटी पनि बन्यो ।

 

दूरदर्शीपूर्ण नीति र पहलकदमी खड्क्यो

 

यो सफलताले कम्युनिस्ट आन्दोलन, नेपालको लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलन अत्यन्त गतिशील भएर अगाडि बढ्ने सम्भावना देखियो । वास्तवमा यी दुई कम्युनिस्ट पार्टीको एकता आफैँमा दूरगामी महत्वको थियो, ऐतिहासिक थियो, जुन नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकताअनुरूप थियो ।

 

त्यो सम्पूर्ण नेता तथा कार्यकर्ताको चाहनाअनुकूल पनि थियो । त्यसैले यस एकतालाई देशभित्र र बाहिरबाट समेत भव्य स्वागत भयो । विरोधीसमेत यस एकताको प्रशंसा गर्न बाध्य भए । यसरी एकता भएको अहिले चार महिना भयो ।

 

तर, एउटा विडम्बना के देखा परेको छ भने यति महत्वपूर्ण एकता सम्पन्न गरिसकेपछि पार्टीको तल्लो तहलाई एकताबद्ध गर्न जुन दूरदर्शीपूर्ण नीति र पहलकदमी लिनुपर्ने थियो, नेतृत्वले त्यसमा सुझबुझ देखाउन सकेन ।

 

एकता छाडी दुवै पार्टीको तल्लो पंक्ति भंग गरियो । तल्ला तहका सबै कमिटी भंग भए । जनवर्गीय संगठनसमेत भंग भए । तर, तिनलाई एकताबद्ध गर्ने काम आजसम्म पनि हुन सकेको छैन । पार्टीले एकता गर्न विभिन्न कार्यदल निर्माण ग-यो । ती कार्यदलले एकता प्रक्रियालाई अगाडि बढाउने प्रयत्न पनि गरे ।

 

तर, सुस्पष्ट र साझा मापदण्ड अगाडि नसारिएको हुनाले अलग–अलग प्रदेश र अलग–अलग जिल्लामा अलग–अलग मापदण्डका आधारमा, अलग–अलग तरिका र स्वार्थअनुकूल एकता गर्न खोजेको देखियो । विभिन्न ठाउँमा विवाद देखिए । ती विवादले पार्टीलाई अन्तरविरोधग्रस्त बनाउने स्थिति प्रकट भयो । त्यसले गर्दा फेरि पनि पार्टीको सचिवालयमा त्यसबारे गम्भीर छलफल भयो ।

 

साझा मापदण्डका आधारमा देशव्यापी रूपमा एकता गर्नुपर्छ र त्यसरी एकता अगाडि बढाइयो भने मात्रै वास्तवमा तलसम्मको एकता र जनवर्गीय संगठनको एकता पनि सही ढंगले अगाडि बढ्न सक्छ भने निष्कर्ष निकालियो ।

 

सचिवालयले निकालेको त्यो निष्कर्षलाई पार्टी स्थायी कमिटीको बैठक चाँडोभन्दा चाँडो राखेर अनुमोदन गरी कार्यान्वयन गर्ने समझदारी निर्माण गरियो । तर, अहिलेसम्म स्थायी कमिटीको बैठक बस्न सकेको छैन ।

 

यसबीच फेरि सचिवालयको बैठक बसेर प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव तोक्ने काम भएको छ । यो पनि एउटा अस्थायी काम मात्र हो । स्थायी समितिको बैठक बसेर सचिवालयले बनाएको मापदण्डअनुसार पार्टीको तल्लो पंक्ति र जनवर्गीय संगठनलाई एकताबद्ध पार्नुको विकल्प छैन । तैपनि हाललाई पार्टीमा देखिएको गतिहीनता तोड्नका लागि सचिवालयले गरेको निर्णयलाई सकारात्मक रूपमा लिन सकिन्छ ।

 

यतिवेला चाँडोभन्दा चाँडो स्थायी कमिटी बैठक बसेर सचिवालयले गरेको निर्णयलाई टुंगोमा पु-याउने र पार्टीलाई एकीकृत गर्ने काम चुनौतीपूर्ण बनेको छ । सम्पूर्ण नेता र कार्यकर्ता तल्लो तहसम्मको एकता छिटो होस् भन्नेमा छन् ।

 

यो एकता जति चाँडो हुन सक्छ, नेकपा त्यति नै चाँडो र गतिशील हुन सक्छ । हामीले यो एकतालाई सम्पन्न गर्न चाँडोभन्दा चाँडो पहल गर्न जरुरी छ । यो एकता सम्पन्न गरिसकेपछि भने नेकपा एउटा सबल जगमा उभिन सक्छ ।

 

नेकपाका सम्पूर्ण तल्ला कमिटी र नेकपाका वरिपरि रहेका सम्पूर्ण जनवर्गीय संगठन एकताबद्ध भइसकेपछि एउटा ठूलो शक्ति निर्माण हुनेछ । देशमा एउटा राष्ट्रव्यापी र जनव्यापी नेकपा निर्माण हुनेछ ।

 

देश र प्रवासमा समेत क्रियाशील नेकपा निर्माण हुनेछ । त्यो नेकपाको नेतृत्वमा लाखौँलाख सदस्य भएको जनवर्गीय संगठनको राष्ट्रव्यापी सञ्जाल निर्माण हुनेछ । यसरी लाखौँलाख सदस्य भएको नेकपाको निर्माणपछि मात्र राष्ट्रिय राजनीतिमा नयाँ हलचल, नयाँ गतिशीलता र नयाँ प्रभावकारिता पैदा हुन सक्छ ।

 

अहिले सिंगो देश यसको प्रतीक्षामा छ । सम्पूर्ण कार्यकर्ता यसको प्रतीक्षामा छन् । नेकपाका सम्पूर्ण नेता तथा कार्यकर्ता, तल्ला तहका कमिटी र सम्पूर्ण जनवर्गीय संगठन त्यसको प्रतीक्षामा छन् । सिंगो नेपाली कम्युनिस्ट आन्दोलन त्यसको प्रतीक्षामा छ ।

 

त्यस्तो एकताबद्ध, सबल सुदृढ र गतिशील नेकपाको नेतृत्वमा मात्र हाम्रो मुलुक र सम्पूर्ण नेपाली जनता समाजवादको भविष्यतिर अघि बढ्न सक्छन् । नत्र सबैलाई याद रहोस् ! हामी सबै एउटै जहाजमा सवार छौँ, जहाज डुब्यो भने हामी सबै एकैसाथ डुब्नेछौँ ।

(पूर्वप्रधानमन्त्री खनाल नेकपाका वरिष्ठ नेता हुन्)

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको चियापानमा नेताहरुको भिडभाड

    राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाएको छ । पार्टी

१३ खर्ब नाघ्यो वैदेशिक व्यापार घाटा

    चालू आर्थिक वर्षको ११ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको

जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन

    आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार

पार्टी जोगाउन बोल्ड निर्णय चाहिन्छ : रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको उद्देश्य स्पष्ट भए पनि