जोशीविरुद्ध हस्ताक्षर अभियान चल्दाचल्दै कसरी अड्कियो महाभियोग प्रस्ताव ?



 

नेकपाका सहअध्यक्ष चीनबाट फर्किएलगत्तै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्न सांसदहरूको हस्ताक्षर अभियान शुरु गरिनुलाई राजनीतिक चालबाजीका रूपमा लिइएको छ ।

 

केपी शर्मा ओलीलाई पदबाट हटाउने उपयुक्त मौकाको पर्खाइमा रहेका प्रचण्डले राज्य संयन्त्रका सबै महत्वपूर्ण निकायहरूमा ‘आफ्ना मान्छे फिट गर्ने’ र ‘काम लिने’ योजनाबद्ध प्रयास गर्दै आएका छन् ।

 

नेपाल प्रहरीमा आईजीपीका निमित्त पुष्कर कार्की उपयुक्त ठानिएका बेला प्रचण्ड सर्वेन्द्र खनाललाई उक्त पदमा नियुक्त गराउन सफल भएका थिए । त्यसपछि उनले अर्को महत्वपूर्ण निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि आफ्ना प्रियपात्र लीलामणि पौडेललाई चयन गर्न कसरत गरेका थिए ।

 

अख्तियारमा लामो समयदेखि कायममुकायम प्रमुख भई काम गर्दै आएका नवीन घिमिरेलाई पन्छाएर पौडेललाई प्रमुख आयुक्त बनाउन प्रचण्डले गरेको प्रयास सफल हुन सकेन । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा आफूअनुकूलका व्यक्ति चयन गर्न भएको प्रयासमा भने प्रचण्ड आंशिक रूपले सफल भएका छन् ।

 

प्रचण्ड दीपकराज जोशीलाई प्रधानन्यायाधीश नबनाएर विवादास्पद व्यापारीहरू उपेन्द्र महतो र कैलाश सिरोहियाको सिफारिसमा चोलेन्द्रशमशेर राणालाई नियुक्त गराउन चाहन्छन् । त्यसनिम्ति जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि शङ्का उठाउँदै संसदीय सुनुवाइ समितिबाट उनलाई ‘अस्वीकृत’ गराउनेसम्मको सफलता प्रचण्डलाई प्राप्त भइसकेको छ ।

 

जोशीलाई पन्छाएर चोलेन्द्रशमशेर राणालाई तत्काल प्रधानन्यायाधीश बनाउने योजनामा भने उनी सफल हुन सकेनन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश नियुक्तिमा अस्वीकृत भइसकेपछि जोशीले पदबाट राजीनामा दिने र वरिष्ठतम न्यायाधीशका रूपमा चोलेन्द्रशमशेर राणाले न्यायपरिषद् सदस्यको जिम्मेवारीसमेत स्वतः पाउने विश्वासमा रहेकाहरू त्यतिबेला स्तब्ध भए, जब दीपकराज जोशीले ओमप्रकाश मिश्रको नियुक्तिसँगै न्यायालयमा हाजिर भई कार्यारम्भ गरे ।

 

जोशीले वरिष्ठतम न्यायाधीशका रूपमा कामलाई निरन्तरता दिएपछि चोलेन्द्रशमशेर राणा तत्कालै न्यायपरिषद् सदस्य बन्ने र आगामी पुस १७ गते ओमप्रकाश मिश्रले अवकाश पाएलगत्तै स्वतः प्रधानन्यायाधीश हुने सम्भावना समाप्त भएको छ ।

 

पुस १७ गते मिश्रले अवकाश पाएपछि फेरि पनि कायममुकायम प्रधानन्यायाधीश जोशी नै बन्ने छन् । जोशीले कदाचित ‘कायममुकायम’ लिन चाहेनन् भने पनि उक्त जिम्मेवारी अरू कुनै न्यायाधीशमा सर्न सक्ने आशङ्का राणा र उनका हितैषीहरूले गरेका छन् । त्यसैले जोशीलाई अहिले नै पदमुक्त गराउने निष्कर्षमा प्रचण्ड र उनको टोली पुगेको छ ।

 

प्रचण्ड चीनबाट फर्किएलगत्तै शुरुमा कैलाश सिरोहियाको लगानी रहेको दैनिक पत्रिकाले जोशीविरुद्ध एक सम्पादकीय प्रकाशित गऱ्यो । त्यसै दिनदेखि उपेन्द्र महतो र चोलेन्द्रशमशेरको तत्वावधानमा प्रचण्डले दीपकराज जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नका लागि हस्ताक्षर अभियान पनि शुरु गराइदिएका हुन् ।

 

यस कार्यका लागि प्रचण्डले देव गुरुङलाई विशेष निर्देशन दिएको र उनले चार दर्जनभन्दा बढी सांसदहरूको दस्तखत गराइसकेको भन्ने जानकारी प्राप्त भएको छ ।

 

कानुनमन्त्री भानुभक्त ढकाल, योगेश भट्टराई र सुवास नेम्वाङलगायतका व्यक्तिहरू पनि जोशीलाई महाभियोग लगाएर हटाउने पक्षमा रहेको बताइन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै कुनै प्रकारको नयाँ प्रकरणमा अल्झिने सोचमा नरहेकोले हस्ताक्षर अभियानमा ‘ब्रेक’ लागेको छ ।

 

यद्यपि, यो ‘ब्रेक’ केपी ओली अमेरिकाको भ्रमणबाट नफर्किएसम्मका लागि हो या सधैँका निम्ति ‘ब्रेक’ लागेको हो, सो स्पष्ट हुन सकेको छैन । प्रधानमन्त्री ओली स्वदेश फर्कनुअगावै असोज ११ गते संसद्को चालू अधिवेशन अन्त्य गरिने भएको छ ।

 

संसदीय बैठकको अन्त्यपश्चात् महाभियोग प्रस्ताव कसरी अघि बढाइन्छ या यसलाई सधैँका लागि पूर्णविराम लगाइन्छ भन्ने कुराको निर्णय ओलीको नेपाल आगमनपछि मात्र हुन सक्ने देखिएको छ ।

 

यसरी अचानक हस्ताक्षर अभियानमा ‘ब्रेक’ लाग्दा प्रचण्ड र राणालगायत व्यापारीद्वय महतो र सिरोहिया पनि हतास बनेको बताइन्छ । उनीहरू ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर भए पनि दीपकराज जोशीलाई पन्छाउने र राणालाई प्रधानन्यायाधीश बन्ने बाटो सुरक्षित तुल्याउने योजनाबाट पछि हटेका छैनन् ।

 

तर, गोपाल पराजुली प्रकरण हुँदै जोशी प्रकरणसम्म आइपुग्दा कम्युनिस्ट पार्टीको सरकार तथा आफ्नो छविमा समेत धक्का लागेको ठान्ने ओली न्यायालयकै विषयलाई लिएर पुनः विवादमा पर्ने कदम चाल्न अग्रसर हुने ठानिएको छैन ।

 

उता वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रमाथि उठेको शङ्का छानबिन समिति गठन गरेरै निरुपण होस् भन्ने माग गरिरहेका छन् । दोष लगाउने, तर प्रमाणित नगर्ने जुन काम भइरहेको छ यसले नेपालमा न्यायिक राज नरहेको प्रस्ट सन्देश दिएको छ ।

 

न्यायालयलाई पुनः विवादको भुमरीमा पार्ने–नपार्ने भन्ने अन्तिम निर्णयकर्ता प्रधानमन्त्री ओली भए पनि प्रचण्ड र उपेन्द्र महतोहरूको घेरा तोडेर उनले आफ्नो अडान कसरी कायम राख्न सक्लान्, यो भने प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्