तीन बालबालिकाको सामुहिक ‘हत्या’, शंका सेनामाथि



 

 

भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा तीन अबोध बालबालिकाको ‘रहस्यमय मृत्यु’ भएको १५ महिना बितिसक्दा पनि ठोस अनुसन्धान भएको छैन ।

प्रहरी र प्रशासनले ‘रहस्यमय मृत्यु’ भन्दै आएका छन् भने स्थानीय र पीडित परिवारले हत्या भएको दाबी गदैै आएको छ । स्थानीय निर्वाचनताका १४ वर्षीय रञ्जिव सापकोटा, १३ वर्षीय सुष्मा फूँयाल र ८ वर्षीय प्रदीप फूँयालको ‘रहस्यमय मृत्यु’ भएको थियो ।

२०७४ असार १० गते साँझ अचानक हराएका तीनै जना बालबालिकाको शव १२ गते मरेङडाँडास्थित स्थानीय तोरन कार्कीको माछापोखरीमा भेटिएको थियो । घटना भएको स्थान उनीहरुको घरदेखि डेढ सय मिटर दूरीमा पर्छ । सदरमुकामदेखि ३७ किमी पूर्वमा पर्छ ।

शंका सेनामाथि

निर्वाचनताका प्याउलीको रेडक्रस भवनमा नेपाली सेनाको अस्थायी व्यारेक बसेको थियो । प्रत्यक्षदर्शीका अनुसार छिमेकका तीनै जना बालबालिका हराएको साँझ रञ्जिव र प्रदिप फूँयाल त्यस आसपास निस्किएका थिए । त्यसपछि उनीहरु हराएका थिए ।

घटना भएदेखि अनुसन्धान भइरहेको छ । प्रहरी प्रशासनले यतिञ्जेलसम्म चित्तबुझ्दो निचोड निकाल्न सकेको छैन । स्थानीय अधिकांशको आशंका भने नेपाली सेनामाथि छ । तर, अनुसन्धानमा संग्लनहरुले भने त्यसो भनेका छैनन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुर र क्षेत्रीय अनुसन्धान ब्यूरो विराटनगरले एकसाथ एक महिनासम्म अनुसन्धान गरेका थिए ।

घटनालगत्तै पूर्व सांसद कुमारीलक्ष्मी राईले घटनास्थलमा लगिएको कुकुर चुनावी सुरक्षामा खडा गरिएको सेनाको बिटमा पस्न लाग्दा तानिएको अभिव्यक्ति दिएपछि केहि समय देशभर चर्चाको विषय बनेको थियो । त्यसपछि सामान्य बन्दै आएको घटनाबारे प्रहरी, प्रशासन र सरोकारवाला निकाय मौन छन् । त्यस कारण पनि अहिले सबैको शंका सेनातिर नै छ ।

घटनाको अनुसन्धान ढिलो र शंकास्पद बन्दै गएको स्थानीयले गुनासोपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनास्थलमै पुगेर एक हप्तासम्म अनुसन्धान गरेको थियो ।

अनुसन्धान अधिकृत दधिराम न्यौपानेको नेतृत्वमा खटिएको सीआईबी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । सीआईबीमा डीआईजी पुष्कर कार्कीदेखि नारायणसिंह खड्कासम्म नेतृत्व फेरिंदा पनि अनुसन्धान जहाँको त्यहि छ ।

यसअघि अनुसन्धानका कागजात, पोष्टमार्टम रिपोर्ट, भिसेरा, डायटम परीक्षण प्रतिवेदन, स्थानीयको बयान र प्राविधिक विश्लेषण हेर्दा कसैले कर्तव्य गरी मारेको नदेखिएको सीआइबीले बताउँदै आएको छ । मुखमा चुइगम चपाउँदै गएर सचेत ढङ्गले ‘पाइन्ट फोल्ड’ गरेर पोखरीमा गएको स्थितिमा कसैले कर्तव्य गरी हत्या नगरेको सीआइबीको तर्क छ ।

सामान्य चेतनाले प्रश्न गर्दा पनि सचेत ढङ्गले ‘पाइन्ट फोल्ड’ गरेर पसेका भए ती बच्चाको चप्पल नखोलिएको, पानी खाएर मरेका भनिएका बच्चाहरुको पेटमा एक थोपो पानी नभएको र तीनै जनाको हात छातीमा बाँधिएको तथा खुट्टा खुम्चिएको अवस्थामा भेटिएकाले सीआइबीको रिपोर्ट तर्कसंगत छैन । ११ गते दिनभर त्यही पोखरीमा बास लगाएर खोज्दा नभेटिएकाहरु १२ गते विहानै भेटिनुले पनि सीआइबीको रिर्पोट मेल खाँदैन ।

एक तहको अनुसन्धान केन्द्र र प्रदेशको चुनावअघि नै जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको बताएको थियो । तर उक्त रिपोर्टबारे आफूलाई थाहा नभएको जिल्ला तहले बताउँदै आएको छ । पीडित पक्षलाई पोष्टमार्टम रिपोर्ट पनि देखाइएको छैन ।

पोष्टमार्टम गर्न भोजपुर सदरमुकाम लैजानुको साटो धरान लैजानुले पनि सत्य–तथ्य लुकाउन खोजिएको पीडित परिवारको आरोप छ । शव पोष्टमार्टम गरिएको अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘डाइटम कम्पेयर टेष्ट’ प्रविधि नहुँदा शंकास्पद मृत्युको घटना अनुसन्धान जटिल बनेको प्रतिष्ठानले बताएको थियो ।

प्रतिष्ठानका विशेषज्ञले जाँच गर्दा प्रदीपको घाँटीमा खानेकुरा अड्किएको, सुष्मा र रञ्जिवको घाँटीमा चुइगम अड्किएको फेला पारेका थिए । चिकित्सकका अनुसार बालबालिकाको शरीरमा अन्य चोटपटक, दाग धब्बा र विषादी थिएन । डाइटम ल्याब राख्न गृह मन्त्रालयको अनुमति नभएकाले मृत्युको कारण खुलाउन नसकेको रिपोर्टमा उल्लेख थियो ।

मृतक बालबालिकाको शरीरमा पाइएको र पोखरीको पानीको डाइटम तुलनापछि मात्र मृत्युको सही तथ्य फेला पार्न सकिने उनीहरूको तर्क छ । देशभित्र यस्तो प्रविधि नभए अन्य मुलुकमा लगेर पनि जाँच गर्न सकिने चिकित्सक टिमले प्रहरीलाई सुल्झाएका थिए ।

सीआईबीमा डीआईजी नारायणसिंह खड्काले घटनाको अनसन्धान भइरहेको बताए । ‘जिल्ला प्रहरीसँग सबै विवरण छ, उसले अनुसन्धान गरिरहेको छ, हामीले केही टेक्निकल पाटाहरु हेरिरहेका छौ’, उनले भने, ‘यो घटना पत्ता लाग्दैन भनेर बन्द गर्न मिल्दैन । २० औ बर्ष पनि लाग्न सक्छ । कुनै न कुनै दिन टुङ्गो लाग्छ नै ।’

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले पनि घटना अनुसन्धान गरिरहेको छ । आयोगको प्रदेश नम्बर–१ को शाखा कार्यालय खोटाङ्गका कार्यालय प्रमुख सुवोध पोखरले अनुसन्धान जारी रहेको बताए । ‘स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी, पीडित सरोकारवालाहरुसँग अनुसन्धान गरिरहेका छौं, ढिलोचाँडो निचोडमा पुग्छ,’ उनले भने ।

‘न्याय पाउने आशा मरेको छैन’

सीआइबीको टोली घटनास्थलमै आएर अनुसन्धान गरेपछि चाँडै सत्य–तथ्य बाहिर आउने र न्याय पाउने पीडित अपेक्षा गरेका थिए । यतिञ्जेलसम्म यथार्थ पत्ता लाग्नुको सट्टा अनुसन्धान सुस्ताएपछि पीडित परिवारमा पीडा र निरासा थपिएको छ ।

‘अनुसन्धान हुँदैछ भन्छन्, दिन, हप्ता, महिना बर्ष बित्यो, खोइ कहिले टुङ्गो लाग्ने, न्याय कहिले पाउने हामीले,’ मृतक सुष्मा र प्रदीपका बुबा चेतनाथ फूँयालले भने, ‘मेरा छोरा छोरीको महत्व एउटा भ्यागुताको जति पनि रहेन ।’

यति हुँदाहुँदै पनि कुनै दिन अनुसन्धान टुङ्गो लाग्ने र न्याय पाउने आशा भने मरिसकेको छैन । ‘कुनै न कुनै दिन टुङ्गो लाग्ला, बच्चाको रगतले पिरोलेरै भए पनि अपाराधीले मुख खोल्ला, न्याय पाइएला ।’ मृतक रञ्जिवका बुवा रविन्द्र सापकोटाले भने ।

पीडित मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्म पुगे, गम्भिरता देखिएनन्

घटना लगत्तै पीडित परिवार न्याय माग्न स्थानीय सरकार हँुदै केन्द्रिय सरकारसम्म पुगे । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले हत्यारालाई कार्बाही गर्ने र क्षतिपूर्ति दिलाउने आश्वासन देखाएका थिए ।

भोजपुरको माटोले जन्माएको राष्ट्पति विद्यादेवी भण्डारी, सीआइबीका तत्कालीन डिआइजी पुष्कर कार्की (कार्की पनि भोजपुरे नै हुन्), सांसद सुदन किराती, प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईलगायत उच्च तहसम्मै न्यायको ढोका ढक्ढकाउन पुगे ।

सबैले अनुसन्धान निष्कर्षमा पु¥याउने आश्वासन दिएका थिए । अहिले भने उनीहरु पीडित परिवारसँग टेलिफोन सम्पर्क गर्न समेत चाहँदैनन् । ‘किन चुपचाप छन् ? लुकाउनुपर्ने÷ढाँट्नुपर्ने कारण के छ ? जे छ त्यहि चित्तबुझ्दो प्रमाणसहित भने हुन्छ नि !’ पीडित परिवार यहि प्रश्न दोहो¥याइरहन्छन् ।

यस घटनाबारे जिल्ला नेतृत्वले लगभग बिर्सिसकेका छन् । जानकारी लिन खोज्दा पूरानो र सामान्य भइसकेको भन्दै आलटाल गर्छन् । यतिसम्म कि ‘दरबार हत्याकाण्ड त अझै पत्ता लागेको छैन, दुर्गमको घटना पत्ता लगाउनु जादूको छडी हो र ?’ भन्नेसम्मका गैरजिम्मेवार जवाफ फर्काउने गरेका छन् ।

सिडिओ हिरादेवी पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय सीआइबीको अनुसन्धान र रिपोर्ट कुरेर बसेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी केशवकुमार थेबे विदामा जिल्ला बाहिर रहेका कारण यस विषयमा ‘जानकारी दिन नमिल्ने’ इन्स्पेक्टर चरित्रविक्रम कार्कीले बताए । अनुसन्धान कहाँ पुग्यो, किन ढिला भइरहेको छ भन्ने सवालमा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मीहरु मौन छन् । अधिकारकर्मी सविना राईले आफूले मात्र आवाज उठाएर नहुने भन्दै प्रहरी, प्रशासनलाई सोध्न जवाफ दिइन् ।

अनुसन्धान कहाँ पुग्यो, किन ढिला भइरहेको छ भन्ने सवालमा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मीहरु मौन छन् । अधिकारकर्मी सविना राईले आफूले मात्र आवाज उठाएर नहुने भन्दै प्रहरी, प्रशासनलाई सोध्न जवाफ दिइन् ।

तीनै जना बालबालिकालाई शहीद घोषणा गर्ने र उनीहरु अध्ययन गरेको स्थानीय विद्यालय शारदा माविको गेटमा शालिक निर्माण गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिने भनि अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले आश्वासन दिएका थिए । कार्कीलाई यसबारे जिज्ञासा राख्दा विद्यालयले स्थान तोक्न बाँकी रहेको भन्दै टारे ।

कर्मचारी सरुवाले समस्या

उक्त घटनापछि जिल्लामा चार सीडिओ र तीन डिएसपी फेरिए । घटना भएको बेला कार्यरत सिडिओ गोमादेवी चेम्जोङ र डिएसपी काजीकुमार आचार्य घटनाको अनुसन्धान प्रभावित बनाएको भन्दै विवादमा तानिए । उनीहरु घटना भएको लगभग दुई महिनाभित्रै सरुवा भएका थिए ।

त्यसपछि आएका सिडिओ र डिएसपीले कार्यभार सम्हालेकै दिन तीन बालबालिका हत्या प्रकरणलाई पहिलो प्राथमिकतामा राखेको बताउन छाडेका छैनन् । उनीहरु पटक–पटक घटनास्थल पुग्छन् ।

पीडितलाई अनुसन्धान हुँदैछ भनेर सान्तवना दिने बाहेक अन्य काम गर्न सकेका छैनन् । विभिन्न बहाना बनाएर थप प्रक्रियाबारे बताउँदैनन् । बरु छोटो समयमै सरुवा भएर अन्यत्रै जानु नै उत्तम ठान्ने गरेको कर्मचारी स्रोत बताउँछन् । जिल्लामा अनुसन्धान निकायका प्रमुखहरुको सरुवाले गर्दा पनि घटना दबिदै गएको पीडित परिवार बताउँछन् ।

भएन जिल्लाकै साथ

दुई महिनाअघि कञ्चरनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया किशोरी निर्मला पन्तको घटनामा ऐक्यबद्धता जनाउँदै भोजपुर पनि तात्यो । निर्मलाको न्यायका लागि नागरिक समाज, राजनीतिकर्मी, पेशाकर्मी, व्यवसायी, अधिकारकर्मी, पत्रकारहरुले शहीद पार्कमा स्वतस्फूर्त भेला भएर ऐक्यबद्धता जनाए ।

आफ्नै जिल्लाका तीन अबोध बालबालिकाको मृत्यु हँुदा उनीहरुले न त उक्त घटनाको समर्थन जनाउन सकेका छन् । न त विरोध नै जनाउन सकेका छन् । यस्तो अवस्थाले मृतक बालबालिकाका परिवार र आफन्तजनलाई पूरानो घाउले नराम्ररी झस्काएको छ ।

मृतक रञ्जिवका दाजु राजीव सापकोटा भन्छन्, ‘निर्मला पन्तको कुरा उठाउनु जायज हो, यस्ता कुरा हामीले उठाउनुपर्छ, तर हाम्रा भाइबहिनीको हत्या भएको १५ महिना बित्दासम्म खोई कसले कहाँ कति आवाज उठाई दियो, तीन जना निर्दोष बालिबालिका एकै ठाउँमा मारिनु सानोतिनो कुरा होइन नि !’ आफ्नै जिल्लाबाटै न्यायका लागि साथ नपाएको दुःखेसो उनी पोख्छन् । स्थानीय सरकार, प्रदेश सरकार कानमा तेल हालेर बसेका छन् ।

पीडित थप पीडामा

रविन्द्र पेशाले कृषि कार्यालयका कर्मचारी हुन् । छोरा गुमाउनु पर्दाको पीडा भए पनि आर्थिक र सामाजिक प्रतिष्ठा अलि बलियो नै छ ।

प्याउली बजारमा फेन्सी पसल गरेर जीविका धान्दै आएका फूँयाल परिवारको व्यथा उनको भन्दा निक्कै फरक छ । तीन सन्तानमध्ये दुईको हत्यापछि लाश सद्गद् गर्न गुजारा चलाउने पसल साढे चार लाखमा बिक्री गरे । जीविका धान्न मुस्किल हुँदै गएपछि एक बर्षअघि नै इटहरीको हलगढास्थित बुवा आमाको घरमा शरण लिन पुगे ।

घर, गाउँ, एकाएक हराएका छोराछोरी, भेटिंदाका अवस्था, अनुसन्धानको ढिलासुस्तीले पत्नीको अवस्था दिनदिनै कमजोर हुदै गएकाले गाउँ छोड्न बाध्य भएका भएका थिए । छोराछोरी बितेपछि टुक्रिएको मन जोडिने आधार नपाएकैले विस्थापित हुन पुगे ।

जग्गा जमिन बाँझै छ । आर्थिक अवस्था झन् नाजुक बन्दै गएको छ । छोरी र पत्नी निर्मला बिरामी छन् । डाक्टरलाई देखाउँदा मानसिक चिन्ताले गर्दा विरामी भएको बताउँछन् । बुढेसकालका आमा बुबालाई पनि सहाराको खाँचो छ । एक्लोले ज्यानले कता थाम्ने, कता धान्ने निकै गाह«ो भएको छ उनलाई ।

सांसद किराती भन्छन्, ‘वेवास्ता गरियो’

निर्मला प्रकरण पार नलागेसम्म अन्य घटनाहरुको अनुसन्धान नहुने देखिएको छ । ‘निर्मलाको केश हालैको भएर सरकार त्यसैमा लागेको छ, भोजपुरको केश पूरानो भई दियो, अनुसन्धान निकाय छानबिन भइरहेको छ मात्रै भन्छन्,’ भोजपुरबाट निर्वाचित सांसद सुदन किरातीले भने ।

उनले गएको असार २० गते प्रहरीले अनुसन्धान भइरहेको भन्दै हालसम्म पनि निष्कर्षमा नपुगेपछि संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उनले बिशेष समयमा बोल्दै निष्पक्ष छानबिन गर्न माग राखेका थिए । पीडित परिवारलाई न्याय दिनका लागि सरकारले एउटा शक्तिशाली आयोग गठन गर्नुपर्ने र अहिलेसम्मको सीआइबीको रिपोर्ट सार्वजानिक गर्नुपर्ने सांसद माग राखेका थिए ।

यसबारे संसदमै गृहमन्त्री रामबहादुर थापाले घटना गम्भीर रहेको बताउँदै उनले छानविन जारी रहेको र हत्यारालाई कानूनी कठघरामा ल्याउने बताएको भए पनि हालसम्म थप कदम अघि बढेको छैन । उनलाई प्रहरी सूत्रले ‘बिशेष प्रकार’को परीक्षण भइरहेको जानकारी दिएका छन् । तर कस्तो परीक्षण भन्न्मा अनभिज्ञ छन् ।

‘उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ भन्ने मेरो माग पनि सरकारबाटै बेवास्ता भएको छ, यदि आन्दोलन गरेर मात्रै हुने हो भने भोजपुर गएर सडकमा जनता उतार्न पनि तयार छु,’ सरकारलाई चेतावनी दिंदै उनले भने ।

प्रतिक्रिया दिनुहोस
पूर्वमन्त्री लीलाबल्लभको निर्णय बदर गर्न सर्वोच्चमा रिट

    कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग

दुर्गा प्रसाईंलाई ५ दिन म्याद थप्न अदालतको अनुमति

    दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ

रामेछापमा सुमो दुर्घटनामा वडाध्यक्ष सहित पाँच जनाको घटनास्थलमै मृत्यु

  रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ । चिनियाँ