ओली र प्रचण्डको दबाबमा बूढीगण्डकी फेरि गेजुबालाई बेचियो



हाम्रो इकोनोमि

 

जडित क्षमता १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना सरकारले पुनः चीनको विवादित कम्पनी चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) लाई दिने निर्णय गरेको छ । स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै अघिल्लो सरकारले प्रारम्भिक खाका तयार गरे पनि कमिसनको लोभमा चिनियाँ कम्पनीलाई नै बुझाइएको हो ।

 

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विद्युत ऐनको दफा ३५ प्रयोग गरी आयोजना दिने निर्णय गरेको छ । दफा ३५ अनुसार सरकारले कुनै पनि आयोजना करार सम्झौता गरी स्वदेशी तथा विदेशी कम्पनीलाई दिन पाउँछ । ठूला आयोजनामा मोटो रकम कमिसन खान, मन लागेको स्वदेशी वा विदेशी कम्पनीसँग साँठगाँठ मिलाउन वा आयोजना बेच्न यही दफा प्रयोग हुने गरेको छ ।

 

बूढीगण्डकी जस्तो राष्ट्रिय महत्त्वको आयोजना विदेशी कम्पनीलाई दिँदा कम्तिमा प्रतिस्पर्धा गरेको भए लागतमा १० देखि २० प्रतिशतसम्म कमी आउँथ्यो । तर, सरकारले उपयुक्त बाटो लत्याएर कमिसनकै आडमा आयोजना बुझाएको छ ।

 

तत्कालीन शेरबहादुर देउवा सरकारले सिजिजिसीबाट आयोजना फर्काएर स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै आधारभूत मोडलको खाकासमेत तयार गरेको थियो । आयोजना फर्काएलगत्तै विभिन्न शक्तिकेन्द्र धाउँदै आएको चिनियाँ कम्पनी र यसका दलालहरू आफ्नो ‘मिसन’ मा सफल भएका छन् ।

 

सिजिजिसीलाई आयोजना दिनुपर्छ भन्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष उनकै पार्टीका नेताले लबिङ गर्दै आएका थिए । यसमा उनीहरू दुईको पनि उत्तिकै चासो थियो ।

 

नेकपाका नेताद्वय बामदेव गौतम, विष्णुप्रसाद पौडेल र जनार्दन शर्मा आयोजना गेजुबालाई दिन लबिङ गर्ने मुख्य नाइके हुन् । पूर्वमुख्य सचिवसमेत रहेका सिजिजिसीका सल्लहाकार राजेन्द्रकिशोर क्षेत्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले यसमा उच्च भूमिका खेलेको स्रोतको दाबी छ ।

 

आयोजना दिन वातावरण मिलाउने गौतम, पौडेल, शर्मा, क्षेत्री र उपाध्यायकै सहयोगमा सिजिजिसीले करिब एक महिनाअघि प्रधानमन्त्री कार्यालयमै निवेदन दिएको थियो । यो विषय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई समेत जानकारी नदिइएको मन्त्रालय स्रोतको दावी छ ।

 

यता, सिजिजिसीले इपिसी–एफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन विथ फाइनान्स) मोडलमा निर्माण गर्ने बेहोराको निवेदनमा प्रधानमन्त्री कार्यालयले तोक लगाएर मन्त्रालयमा पठाएको थियो । त्यही तोकको आधारमा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको बताइएको छ ।

 

यसमा मुख्य सचिव लोकदर्शन रेग्मीले पनि भूमिका खेलेका छन् । देउवा सरकार परिवर्तन भएलगत्तै आयोजना हत्याउन चिनियाँ कम्पनी र यसका दलाल सल्बलाएका थिए । प्रधानमन्त्री ओलीले समेत पुरानै कम्पनीलाई आयोजना दिने भाषण गर्दै हिँडेका थिए ।

 

गत असार ५ देखि भएको ओलीको साताव्यापि चीन भ्रमणका क्रममा पनि उनले बूढीगण्डकी पुरानै कम्पनीले पाउने बताएका थिए । मन्त्री पुन दलालको घेराउमा परेर ‘बलीको बोको’ बने कि आफैँ संलग्न भएर आयोजना बुझाए !

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...