७३औँ राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क प्रस्थान
११ असोजमा सम्बोधन :
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुन शनिबार न्युयोर्क प्रस्थान गरेका छन् । पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमालसहित करिब दुई दर्जन प्रतिनिधिमण्डलका साथमा प्रधानमन्त्री न्युयोर्क गएका हुन् । प्रधानमन्त्रीले राष्ट्रसंघको ७३औँ महासभालाई ११ असोजमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मुहम्मद कुरेसीसँग बेग्लाबेग्लै हुने भेटमा सार्कको शिखर सम्मेलनमा जोड दिने तयारीसमेत गरेका छन् ।
संयुक्त राष्ट्रसंघले तयार गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री ओलीले ११ असोज अपराह्न दोस्रो सत्रको दसौँ वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भारत र पाकिस्तानले विदेशमन्त्रीको मात्रै प्रतिनिधित्व गराएका छन् ।
भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले १३ असोजमा पहिलो सत्रको पाँचौँ वक्ताका रूपमा सम्बोधन गर्ने छिन् । तीन तहको निर्वाचन सम्पन्न भएपछि गठन भएको स्थिर सरकारका प्रधानमन्त्रीका रुपमा ओलीले महासभालाई सम्बोधन गर्नेछन् । उनले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रियाको सफलताका बारेमा सम्बोधन गर्ने तयारी भएको कूटनीतिक स्रोतहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले महासभामा नेपालको शान्तिप्रक्रियालाई अन्तर्राष्ट्रिय रूपमा ‘ब्रान्डिङ’ गर्न प्रस्ताव गर्ने बुझिएको छ । नेपालको सफल शान्तिप्रक्रिया विश्वका लागि उदाहरणीय रहेको र यसको सफल अनुभव अन्य देशका लागि पनि अनुकरणीय हुने सरकारको बुझाइ छ ।
प्रधानमन्त्री राष्ट्रसंघीय अन्य उच्चस्तरीय बैठकमा सहभागी हुँदा पनि यो विषय अघि सार्ने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । पराष्टमन्त्रालयको चालु आर्थिक बर्षको बार्षिक कार्ययोजनामा पनि शान्तिप्रक्रियालाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउन कूटनीतिक प्रयास गर्ने उल्लेख छ ।
न्युयोर्कमा प्रधानमन्त्रीको कार्यतालिका
प्रधानमन्त्री ओली अमेरिकी समयअनुसार आइतवार विहान न्युयोर्क अवतरण हुनेछन् । उनको व्यस्तता सोमवारदेखि शुरु हुनेछ । सोमवार विहान नेल्सन मण्डेला पिस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोमबारै अपरान्ह न्युयोर्कस्थित नेपाली स्थायी नियोग र महावाणिज्य दुताबास कार्यालय भ्रमण गर्नेछन् ।
लगत्तै दक्षिण अफ्रिकी प्रतिनिधिमण्डलद्वारा स्वर्गीय नेल्सन मण्डेलाको सम्मानमा आयोजित रिसेप्सनमा सहभागी हुनेछन् ।
सोमवार साँझ अमेरिकी राष्टपति डोनाल्ड टम्पले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । मंगलवार राष्टसंघीय महासचिवले आयोजन गर्ने रिसेप्सनमा सहभागी भएर प्रधानमन्त्री ओली त्यही दिन महासचिवद्वारा आयोजित दिवाभोजमा पनि सहभागी हुनेछन् ।
मंगलबार नै एक्सन फर पिसकिपिंगसम्बन्धी उच्चस्तरीय वैठकमा सहभागी भएर प्रधानमन्त्रीले एशिया सोसाइटीद्वारा आयोजित शान्ति, लोकतन्त्र र विकासका बिषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
बुधवार प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डका राष्टपति एलेन बर्सेटसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बुधवार नै भियतनामको राष्ट्रिय दिवसका अबसरमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
विहीवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । विहीवार नै राष्ट्रसंघीय महासचिव अन्टोनियो गुटेर्रससँग द्विपक्षीय वार्ता हुनेछ । शुक्रवार कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् भने शनिबार कोस्टारिका प्रस्थान गर्ने र त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
सार्क व्युँताउन नेपालको प्रयास
नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलनका लागि कूटनीतिक प्रयास थालेको छ । न्युयोर्कमा ११ असोजमा बस्ने सार्क परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठकमा नेपालले भारतीय र पाकिस्तानलाई एकैसाथ राखेर सहमतिका लागि आग्रह गर्ने भएको हो । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने तय भएको छ । अमेरिकी समयअनुसार दिउँसो १ बजेदेखि ३ बजेसम्म दिवाभोजसहितको अनौपचारिक वैठक हुनेछ ।
त्यसअघि ज्ञवालीले भारत र पाकिस्तानका विदेशमन्त्रीसँग बेग्लाबेग्लै छलफल गर्ने समय तय भएको छ । परराष्टमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच सोमवार अमेरिकी समयअनुसार ११ बजे साइडलाइन वार्ता तय भएको छ ।
भारतद्वारा आयोजित बिमस्टेक सदस्य मुलुकका सैनिकहरुको संयुक्त अभ्यासमा नेपाली सेनाको फौज सहभागी नभएको प्रकरणपछि नेपाल र भारतका उच्च अधिकारीको पहिलो भेट हुन लागेको हो ।
पाकिस्तानका विदेशमन्त्री शाह मुहम्मद कुरेसीले मंगलवार १२ बजे नेपाली समकक्षी ज्ञवालीसँग भेटवार्ता गर्नेछन् । दुवै विदेशमन्त्रीसँगको भेट २० मिनेटका लागि तय भएको छ ।
नेपालले १४ र १५ भदौमा बहुक्षेत्रीय सहकार्यका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मेलन सम्पन्न गरेर श्रीलंकालाई अध्यक्षता हस्तान्तरण गरेपछि सार्क सम्मेलनका लागि प्रयास थाल्न लागेको हो । गत वर्ष परराष्ट्रमन्त्री कृष्णबहादुर महराले परराष्ट्रमन्त्रीस्तरीय अनौपचारिक बैठकको अध्यक्षता गरेका थिए ।
३ र ४ चैत ०७२ मा पोखरामा बसेको सार्क मन्त्रिपरिषद् (परराष्ट्रमन्त्रीस्तरीय) बैठकले १९औँ शिखर सम्मेलन २४ र २५ कात्तिक ०७३ मा पाकिस्तानको इस्लामाबादमा गर्ने निर्णय गरेको थियो ।