सुशीलाले खुमबहादुरलाई न्याय नदिनुको कारण वीपी र बनारसको दुश्मनी



 

 

बनारसमा म राजनीतिशास्त्रको विद्यार्थी थिएँ । तर, पढ्दै जाँदा मलाई कानूनमा पनि रुचि बढ्यो । होस्टलमा कानून पढ्ने विद्यार्थी देखेर रुचि बढेको थियो । मलाई पनि कानून पढ्न मन लाग्यो । नेपाल गएको बेलामा त्रिभुवन विश्वविद्यालयमा प्राइभेट परीक्षा दिने गरी बीएलमा भर्ना भएँ ।

 

 

बीएचयूको पुस्तकालयले कानून अध्ययनमा सघाउ पु¥यायो । विराटनगरमा इतिहासका शिक्षक गणेशप्रसाद शर्मा सरले मुटकोर्टमा सहयोग गर्नुभयो । बनारसबाट काठमाडौंसम्म आउजाउ गरेरै कानूनको परीक्षा दिएँ । दुईवर्षे कोर्स थियो । पहिलो वर्षको राम्रै भयो । दोस्रो वर्षमा भने आयकर विषयमा फेल भएँ । जीवनमै पहिलोपटक फेल भएको थिएँ ।

 

 

२०३२ साल (सन् १९७५) मा एमए पास गरिसकेकी थिएँ । बीएलको अन्तिम परीक्षा दिएपछि बनारस नफर्किएको भए पनि हुन्थ्यो । राजनीतिशास्त्रका प्राध्यापक डा.शरणले पीएचडी गर्ने सल्लाह दिनुभएको थियो । उहाँले म नेपालमा छँदा चिठी नै पठाउनुभएको थियो । त्यसैले म फेरि बनारस गएँ । तर शरण सर बाहिर जानुभएको रहेछ ।

 

त्यसबेला सारनाथमा सान्दाजुहरू पनि हुनुहुँदो रहेनछ । होस्टलका साथीहरू दिल्ली जान लागेको देखेर म पनि उनीहरूसँगै गएँ । दस दिनजति दिल्ली, ताजमहल र आसपास घुमेर फर्किएँ ।

 

दिल्लीबाट बनारस फर्किनासाथ सारनाथ गएँ । मैले सान्दाजुहरू नेपाल जाने गाइँगुइँ पनि सुनेको थिएँ । सारनाथ पुग्दा भने माहोल निकै फेरिएको पाएँ । त्यहाँ निकै नौला मानिस थिए । म जानासाथ छोरी आई भनेर उल्लास हुन्थ्यो । त्यहाँ त मलाई सबैले नचिनेजस्तो व्यवहार गरे । सबैले ठूलाठूला आँखा पारेर हेरिरहेथे, मानौं म शत्रु नै हुँ ।

 

 

भान्सामा काम गर्ने केटाहरूलाई सोधें, ‘सान्दाजु खोइ ?’

सायद उनीहरूले खबर पु¥याइदिए । माथिबाट बोलाउनुभयो । म माथि सान्दाजुको कोठामा गएँ । सुशीला आमालाई भने देखिनँ । सान्दाजुले इशाराले बस भन्नुभयो । म बसें । म बसिरहेछु, सान्दाजु केही बोल्नुहुन्न । निकै नमीठो लाग्यो ।

 

 

केही बेरपछि सान्दाजुले मौनता तोड्नुभयो, ‘तिमी त कता हो, कता ! आजभोलि दिल्लीमा नेपाली राजदूतावास धाउँछ्यौ रे ! हामीले त हाम्री छोरीजस्तै ठानेर विश्वास गरेका थियौं । तिमीले धोका दियौ । यस्तो धोका दिने मान्छे यहाँ किन आउनू ? तिमी अबदेखि यहाँ नआऊ । हामीविरुद्ध काम गर्ने, हामीकहाँ किन आउने ?’

 

 

सान्दाजुको कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ । मैले कहिल्यै कल्पनासम्म नगरेको कुरामा सान्दाजुले आरोप लगाउनुभयो । त्यति ठूलो मानिसले त्यसरी अरू कसैको कुरा सुनेर धारणा बनाउनुहोला भन्ने लागेको थिएन । म दिल्ली पहिलोपटक गएकी थिएँ, त्यो पनि घुम्न । मलाई नेपाली राजदूतावास कहाँ छ भन्ने पनि थाहा थिएन ।

 

सान्दाजुले नै विश्वास नगरी त्यसो भनेपछि कसलाई के भन्नु ? उहाँसँग पनि प्रतिवाद गर्न मन लागेन । जुरुक्क उठें । हवस्, नमस्कार भनेर निस्किएँ । भ¥याङमा ओर्लिंदै गर्दा नोना आमासँग भेट भयो । उहाँलाई नमस्कार गरें तर उहाँले फर्काउनुभएन ।

 

 

म खुरुखुरु बाहिरिएँ । सरासर कम्पाउन्डबाहिर आएर केहीबेर हिँडेपछि बस चढें । बाटोभरि विचारशून्य भएँ । सायद कसैले सान्दाजुसँग मविरुद्ध कुरा लगायो होला । अब मैले कसरी त्यसको सफाइ दिऊँ ? उहाँले त मलाई कुरा के हो भनेर पनि सोध्नुभएन । एकैपटक निष्कर्षमा पुग्नुभयो ।

 

सायद राजनीतिमा यस्तै हुन्छ । म त खुब खुसी हुँदै बनारसमा पीएचडी गर्दैछु भनेर उहाँलाई सुनाउन गएकी थिएँ । सीआईडीको उपाधि पाएर पो फर्किएँ । नरमाइलोको पनि उत्कर्ष थियो त्यो ।

 

 

त्यसपछि म सान्दाजुलाई भेट्न कहिल्यै गइनँ । मविरुद्ध प्रचार हुन पनि छोडेन । एकपटक दुर्गा पोखरेल र म कामविशेषले ऋषिकेश शाहलाई भेट्न गएका थियौं । त्यहाँ स्वर्गीय सरोज कोइरालाकी श्रीमती लीला कोइराला पनि थिइन् । सबैले सुन्ने गरी उनले ऋषिकेश शाहलाई भनिन्, ‘सुशीला कार्की हाम्रो विरोधी हुन् । उनी पञ्च सरकारकी सीआईडी हुन् । उनको संगत नगर्नोस् ।’

 

 

उनी हिँडेपछि मेरो गम्भीर अनुहार देखेर शाहले भन्नुभयो, ‘चित्त नदुखाउनुहोस् । यस्तो भन्दै गर्छन् । कसैले भन्दैमा सीआईडी भइने होइन ।’

 

सान्दाजुले मलाई जासुसी गरेको आरोप नलगाएको भए मेरो जीवन कता मोडिन्थ्यो होला ? म राजनीतिमै सक्रिय हुन्थें कि ? पीएचडी गरेर कुनै विश्वविद्यालयको प्राध्यापक पो बन्थें कि ?

 

मैले नेपालमा बीएलको परीक्षा दिँदै थिएँ । बनारसमा भने कांग्रेसभित्र दुई गुटजस्तो बनेको खबर बाहिरिएको थियो । डा.अरूण कोइराला, नरबहादुर कार्की, मञ्जु गिरी दिदी एकातिर र खुमबहादुर खड्काहरू अर्कोतिर हुनुभएछ ।

 

यो विवादले बीएचयूमा पनि असर पारेछ । म पुग्दा सान्दाजुको एउटा वक्तव्य प्रकाशन भएको थियो । त्यसले खुमबहादुरको बचाउ गरेको साथीहरूको टिप्पणी थियो । माहोल निकै गरम थियो ।

 

म बडो रनभुल्लमा परें । बनारस मलाई मन पर्ने सहर थियो । त्यो बसाइका हिसाबले सस्तो पनि थियो । मेरो ठूलो इच्छा थियो, त्यहींबाट राजनीतिशास्त्रमा पीएचडी गर्ने । त्यस्तै संगीत, कला र भाषामा डिप्लोमा कोर्स गर्ने ।

 

मैले बीएचयूमा पीएचडीका निम्ति २०३२ फागुन १८ मा नाम दर्ता पनि गराइसकेकी थिएँ । फेरिएको माहोलले मेरो रुचि नै फेरिदियो । एकातिर देशभित्रै अराष्ट्रिय तत्व भइएको थियो । देशबाहिर पनि कांग्रेसविरोधी ठानियो । कहाँ जाने ? कसको शरणमा जाने ?

 

 

त्यतिबेला मैले प्रदीप गिरी दार्इलाई सम्झिएँ । उहाँ बनारसमै हुुनुहुन्थ्यो । सबै कुरा सुनेपछि उहाँले ठट्टा गर्नुभयो, ‘आम्मै, तिमी सीआईडी भयौ ! हो र ?’

म चुप लागें । न हाँस्न सकें, न रुन ।

 

 

त्यसपछि बनारसको माहोल बस्नलायक भएन । बडो अलमल भएपछि मैले आफ्नो लक्ष्य र जीवनकै बाटो मोडें । नेपाल फर्केर कानून पास गरी वकालत गर्ने निधो गरें । प्रदीप दार्इले वीरगञ्जसम्म आफ्ना सहकर्मी मुकुन्द गौतमलाई साथी पठाए । उनी वीरगञ्जसम्म आए । त्यसपछि म एक्लै काठमाडौं आएँ ।

 

काठमाडौं त आएँ तर गर्ने के ? वकालत गर्न बीएल उत्तीर्ण भइसकेकी थिइनँ । एमए त गरिसकेकी थिएँ । त्यसैले जागिर खोज्न गाह्रो थिएन । नेपाल खाद्य संस्थानमा जागिर पाएँ । त्यहीं जागिर गर्न थालें । एक वर्षपछि २०३४ मा बीएलको बाँकी रहेको विषय पनि उत्तीर्ण गरें । २०३५ माघ १७ मा सर्वोच्च अदालतका तत्कालीन रजिस्ट्रार हरगोविन्द सिंह प्रधानबाट वकालतको लाइसेन्स पनि लिएँ ।

 

त्यसपछि एउटा ठूलो प्रश्न उभियो, मेरो जीवनमा । खाद्य संस्थानको जागिर त्यति बेला तुलनात्मक हिसाबले राम्रो थियो । मासिक निश्चित आम्दानी हुन्थ्यो । खासै मेहनत पनि गर्नु पर्दैनथ्यो । तर, वकालत जीवनमा भने शून्यबाट करिअर सुरु गर्नुपर्ने थियो । कानून पढ्नु थियो । वकालतको अभ्यास गर्नु थियो । मैले त त्यतिन्जेल अदालत टेकेकी पनि थिइनँ ।

 

 

खाद्य संस्थानको जागिर छोडेर वकालतमा लाग्नु सहज क्षेत्रबाट जोखिममा प्रवेश गर्नु थियो । तर, त्यो जोखिम रोज्ने आँट गरें मैले । राजनीतिक चेतले मलाई त्यो जोखिम मोल्न सिकायो । सानैदेखि जे गरे पनि बृहत्तर समाजको हितका लागि गर्न सिकेकी थिएँ मैले । हरेक दिन खाद्य संस्थानको कार्यालय जाँदा र फर्किंदा मैले सोच्न थालें, ‘के मैले अहिले गरिरहेको कामले समाजको हित हुन्छ त ?’

 

 

मेरा आँखामा पिताजीले सुरु गरेको आन्दोलन, क्याम्पस जीवनको राजनीतिक वातावरण, राम–लक्ष्मण र उनीहरूको बलिदानी, अनेकौं दुःख खपेर प्रजातन्त्रका लागि परदेशमा संघर्ष गरिरहेका कांग्रेसका कार्यकर्ता सम्झनामा झल्झली आउन थाले । अनि आफैंसँग प्रश्न सोधें, ‘अरे, म यो के गरिरहेछु ? के मैले लिएको शिक्षादीक्षा यतिका लागि हो त ? बस्, राम्रो जागिर खान ?’

 

 

यी र यस्तै तर्कनापछि मैले वकालतमा लाग्ने निर्णय गरें । मलाई लाग्यो, वकालतमा जाँदा मैले म बाँचिरहेको समय र समाजको सेवा गर्न पाउँछु । मेरो निर्णयले पिताजी पनि खुसी हुनुभयो । खाद्य संस्थानको कार्यालयमा राजीनामा बुझाएर फर्किंदा आफैँलाई निकै हलुंगो भएको महसुस भइरह्यो । जब कि मेरो अगाडि एक अपरिचित संसार खडा थियो ।

 

अहिले यसो सोच्छु, सान्दाजुले मलाई जासुसी गरेको आरोप नलगाएको भए मेरो जीवन कता मोडिन्थ्यो होला ? म राजनीतिमै सक्रिय हुन्थें कि ? पीएचडी गरेर कुनै विश्वविद्यालयको प्राध्यापक पो बन्थें कि ?

 

जीवन यस्तै रहेछ । आशा नै नगरिएका मोडहरू आउँदा रहेछन् । अनि त जिन्दगीले आफ्नो बाटो आफैँ बनाउँदै जाँदो रहेछ । जिन्दगीले आफैँ खनेको बाटोमा मैले पाइला लम्काएँ ।

(पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ बुक–हिलबाट साभार)

प्रतिक्रिया दिनुहोस
कांग्रेस महासमितिले पारित गर्‍यो गठबन्धन नगर्ने प्रस्ताव

    नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले

कांग्रेस महासमिति बैठकमा नाराबाजी

    नेपाली कांग्रेसको महासमिति बैठकमा नाराबाजी भएको छ । गण्डकी र बागमती

हिन्दुराष्ट्रको अभियानमा एक हजार ६१ जना महासमिति सदस्यको हस्ताक्षर

    नेपाली कांग्रेसका नेताहरुबाट सुरु गरिएको वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानले एक

पुनरावेदनका लागि सन्दीप लामिछाने उच्च अदालतमा

    क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको