चीनमा ‘प्रचण्ड’लाई धोका, बीच बाटोबाटै फर्कने तयारी



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नदिएर चीन पुगेको खुलासा भएको छ ।

 

चिनियाँ राष्ट्रपतिलाई भेट्ने इच्छा राखेका ‘प्रचण्ड’ले भेट्न नपाउने भएपछि बेइजिङ नपुगी बीच बाटोबाट स्वदेश फर्किने भएका हुन् ।

 

राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ले चीनका प्रादेशिक नेतासँगको भेटवार्ता गरेर फर्किन लागेको स्रोतले जनाएको छ । प्रादेशिक नेताहरूसँग भेट गरेर उनी स्वदेश फर्कनेछन् ।

 

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुने भए मात्र बेइजिङ जाने ‘प्रचण्ड’ले बताएको स्रोतले जनाएको छ ।

 

चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भएपछि ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाटै स्वदेश फर्कने तयारी गरेका छन् ।

 

‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका विषयमा अहिलेसम्म बेइजिङस्थित राजदूतावासलाई कुनै पनि जानकारी दिएका छैनन् । यद्यपि, ‘प्रचड’लाई स्वागत गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल शनिबार ग्वाञ्जाओ आएका थिए ।

 

स्रोतका अनुसार ‘प्रचण्ड’को बेइजिङ भ्रमणबारे चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै छैन । पौड्याल ग्वाञ्जाओ आए पनि चिनियाँ पार्टीले भेटबारे राजदूतावासलाई जानकारी दिएको छैन ।

 

पूर्वप्रधानमन्त्रीको भ्रमण हुँदा सम्बन्धित देशको राजदूतावासलाई जानकारी दिने प्रचलन छ । ‘प्रचण्ड’भन्दा अघिल्लो दिन चीन प्रस्थान गरेका ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठ मंगलबार बेइजिङ पुग्नेछन् ।

 

श्रेष्ठ तेञ्जिनबाट मंगलबार बेइजिङ पुगेको पनि नेपाली दूतावासलाई जानकारी छैन । श्रेष्ठ पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । श्रेष्ठ पनि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा बेइजिङ गएका हुन् ।

 

‘प्रचण्ड’ले चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशन स्थल र येनानमा सन् १९३८ देखि १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको ‘प्रचण्ड’ले अवलोकन गरे ।

 

चीन भ्रमणमा ‘प्रचण्ड’ले पत्नी सीता, कान्छी छोरी गंगा दाहाल आचार्य, गंगाकी छोरी र स्वकीय सचिव जोखबहादुर महरालाई लिएर गएका छन् ।

पूर्व राजदूत झा हत्या प्रकरण : ‘शातिर’ अपराधी, अलमलमा प्रहरी !

 

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको ‘हत्या’ भएको १ महिना पुग्न लागिसकेको छ । कूटनीतिक क्षेत्रका प्रख्यात व्यक्तित्व ८० वर्षीय झा भदौ ४ गते बिहान घरको कोठामा मृत फेला परेका थिए ।

 

झाको टाउको र गर्धनमा चक्कु प्रहार भएको घाउ देखिएकाले प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्यो । सोहीअनुसार अनुसन्धान प्रक्रिया थालेको प्रहरीले हत्या कसले गर्‍यो भन्ने विषयमा सामान्य ‘क्लु’ समेत फेला पारेका छैन ।

 

झा मृत फेला परेको तेस्रो दिन प्रहरीले घरका तीनजना कामदारलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । झाको हत्यासम्बन्धी अनुसन्धानका लागि सुरक्षा गार्डको काम गर्ने सानुकान्छा तामाङ तथा मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङमाथि प्रहरीले ३ हप्तासम्म अनुसन्धान गर्‍यो ।

 

तीनैजनाबाट कुनै पनि तथ्य हात पार्न नसकेपछि नियन्त्रणमा लिएको २४ दिनमा ८–८ हजार रुपैयाँ धरौटीमा छाडियो ।

 

‘शातिर अपराधी’ले गराएको घटना ? 

अपराध अनुसन्धानमा एउटा स्थापित मान्यता छ, अपराधी जतिसुकै शातिर (चलाख) भएपनि ‘क्राइम स्पट’मा केही न केही कमजोरी गरेकै हुन्छ । अपराधीको सोही कमजोरीमाथि टेकेर अनुसन्धान गर्ने गरिन्छ । तर झाको हत्या प्रकरणमा भने प्रहरीले अहिलेसम्म अपराधीको त्यस्तो कुनै ‘कमजोरी’ भेट्टाएको छैन, जसमाथि टेकेर अनुसन्धानलाई अगाडि बढाउन सकियोस् ।

 

प्रहरीले झा मृत फेला परेको कोठाबाट रतग लागेको चक्कु, केही पञ्जा, कपडाको टुक्रालगायत बरामद गरेको थियो । भेट्टाएका सामग्रीको फरेन्सिक परीक्षण पनि गरियो । तर न त चक्कुमा कसैको हातको छाप भेट्टियो, न त पञ्जा र कपडाका टुक्राको परीक्षणबाट अपराधीबारे ‘क्लु’ फेला पर्‍यो ।

 

झाको हत्याबारे महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ ।  महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरले नेतृत्व गरेको अनुसन्धान टोलीले झाको हत्या प्रकरणमा ३० देखि ३५ जनासँग सोधपुछ पनि गर्‍यो । तर उक्त सोधपुछबाट पनि कुनै तथ्य फेला परेको छैन ।

 

झा हत्याको ‘पोलिटिकल कनेक्सन’ खोज्दा

 

परराष्ट्र मन्त्रालयअन्तर्गत् चिफ अफ प्रोटोकल समेत रहिसकेका झा पूर्व राजदूतहरूको संगठनका निर्वतमान अध्यक्ष समेत हुन् । झा मधेसी मूलका भएर पनि राजनीतिक रूपमा मधेसवादी दलले उठाउने गरेका कतिपय मुद्दाको सधैं विरोध गर्दथे ।

 

संघीयताको पक्षमा आन्दोलन चर्किरहेका बेला ‘एक मधेस एक प्रदेश’ तथा ‘समग्र मधेस स्वायत्त प्रदेश’को नारा चर्किरहेका थिए । झाले विभिन्न फोरमहरूमा त्यस्ता नाराको विरोध गर्ने गर्दथे ।

 

 

त्यसताका कतिपय मधेसकेन्द्रित राजनीतिक दलले त्यस्ता अभिव्यक्ति नदिन भनेर आफूलाई चेतावनी दिने गरेको भनेर झाले आफू निकटका व्यक्तिलाई समेत बताउने गर्दथे । तर देशमा संविधान जारी भएर संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको अवस्थामा भएको उनको हत्यामा ‘राजनीतिक संलग्नता’ अनुमानभन्दा बाहिरको विषय भएको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

 

 

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंह झाको हत्यामा राजनीतिक संलग्नताको विषयबारे पनि अनुसन्धान भएको बताउँछन् । तर त्यस्तो कुनै पनि तथ्य फेला नपरेको उनको भनाइ छ ।

 

 

‘राजनीतिक रूपमा उहाँको विगत तटस्थ नै देखिन्छ । उहाँले कुनै राजनीतिक दलको चर्को विरोध गर्ने र कसैको पूरै समर्थन गर्ने गरेको देखिँदैन,’ एसएसपी सिंह भन्छन्, ‘ हामीले केही शंकास्पद समूहका व्यक्तिमाथि अनुसन्धान पनि गर्‍यौं । तर त्यस्तो कुनै तथ्य फेला परेन ।’

 

 

अपराधी पत्ता लाग्छन्, तर कहिले ? 

प्रहरीले घटनास्थलमा देखिएका दुईवटा तथ्यका आधारमा झाको हत्या भएको भन्ने यकिन गरेको छ । घरको झ्यालको जाली काटिएको हुनु र झाको टाउकोमा चक्कुको घाउ देखिनुले उनको हत्या भएको प्रहरीको बुझाइ छ ।
तर पोस्टमार्टम रिपोर्टले भने झाको मृत्यु टाउकाको चोटले भन्दा पनि घाँटीमा दबाब दिएका कारण भएको औंल्याएको छ ।

 

‘पोस्टमार्टम रिपोर्टअनुसार झाको टाउकोमा चक्कु प्रहार गरेर बेहोस बनाएपछि घाँटी थिचेर हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न अधिकारी भन्छन् ।

 

अपराध महाशाखाका प्रमुख एसएसपी सिंह पूर्व राजदूत झाको हत्यालाई ‘वेल प्लान्ड मर्डर’को रूपमा लिन्छन् । जसमा अपराधीहरूले आफ्नाविरुद्ध एउटा पनि प्रमाण छाडेका छैनन् । व्यवस्थित योजना बनाएर झाको हत्या भएको एसएसपी सिंहको बुझाइ छ ।

 

‘यस्ता केही ‘वेल प्लान्ड मर्डर’का केस पनि हुन्छन्, जसमा अपराधीले आफ्नाविरुद्ध एउटा पनि प्रमाण छाडेका हुँदैनन्,’ एसएसपी सिंह भन्छन्, ‘यस्तो अवस्थामा हाम्रा लागि अनुसन्धान प्रक्रिया एकदमै जटिल हुन्छ । अनुसन्धान प्रक्रिया लामो समयसम्म पनि जान सक्छ । तर कुनै न कुनै दिन अपराधी पत्ता लाग्छ नै ।’

प्रतिक्रिया दिनुहोस
धनराज गुरुङ र ऋषिकेश पोखरेललाई उन्मुक्ति दिन खोजिएको माओवादीको आरोप

    नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङलाई

यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

    नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित

अख्तियारलाई टेलिफोन ट्र्याकिङको अधिकार

    २०७६ साल माघ ७ गते राष्ट्रिय सभामा दर्ता भएको भ्रष्टाचार निवारण

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

    भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको