अबदेखि बलात्कारीको आँखा फुटाउने, यस्तो तालिम दिँदै छ प्रहरी



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरीमाथि अनेक प्रश्न उब्जिएका छन् । प्रहरी संगठनमाथि नै आमनागरिकको विश्वास गुम्दै गएको छ । यो दबाबबीच प्रहरीले भने बलात्कारीविरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना बनाएको छ ।

 

७७ जिल्लाकै स्कुले छात्रालाई तालिम दिने
बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रूपमा तालिम दिन तयारी थालेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ ।

 

रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागेको हो । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन् । गत आर्थिक वर्षमा १ हजार ४ सय ८० बलात्कारको उजुरी परेको प्रहरी तथ्यांक छ । घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए ।

 

एक महिनापछि बलात्कारविरुद्ध नयाँ सचेतना तथा तालिम अभियान सुरु हुने थापाको भनाइ छ । यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ ।

 

स्कुले छात्रालाई लक्षित गरी बलात्कारविरुद्ध लड्ने कार्यक्रम सुरु गर्न लागेको प्रहरीले जनाएको छ । एसएसपी थापाले ७७ वटै जिल्लाका १२ कक्षासम्मका छात्रालाई तालिममा समेट्ने बताए । प्रहरी महानिरीक्षकको सचिवालयले नयाँ अभियानका लागि गृहकार्य गरिरहेको छ । सामुदायिक प्रहरीमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

 

प्रहरीले अन्य देशमा बलात्कारका घटना न्यूनीकरण गर्न दिइने तालिमलाई आधार बनाएर नयाँ अभियान सुरु गर्न लागेको बताएको छ । गृहमन्त्री रामबहादुर थापाले पनि बलात्कारविरुद्ध विशेष अभियान सुरु गर्न दुई साताअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिएका थिए । तर, प्रहरीले गृहमन्त्रीको निर्देशनअघि नै तालिमको गृहकार्य थालेको थियो ।

 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा सरकार दबाबमा छ । घटनाको ५१ दिनसम्म पनि अपराधी पहिचान गर्न सकेको छैन । स्थानीय आन्दोलित छन्, प्रहरी अनुसन्धान शून्यमा छ ।

 

अपराध घटाउन गृह मन्त्रालयको नयाँ अभियान
लागुऔषध र मदिराका कारण महिला हिंसालगायत अपराध बढेको निष्कर्षसहित गृह मन्त्रालयले देशव्यापी नयाँ अभियान सुरु गरेको छ । लागुऔषध नियन्त्रणसम्बन्धी कार्ययोजना, २०७५ निर्माण गरी शुक्रबारदेखि अभियान कार्यान्वयन सुरु गरेको हो ।

 

गृहमन्त्री थापाको उपस्थितिमा शुक्रबार कार्ययोजना सार्वजनिक गरी यसको कार्यान्वयनका लागि युवा, महिला, विद्यार्थी नेता तथा सरोकारवालासँग छलफल भएको छ । कार्ययोजनाअन्तर्गत हरेक वडा ‘लागुऔषध अपराध अन्त्य सचेतना अभियान सञ्चालन समिति’ गठन हुनेछ । सो समितिले आ–आफ्नो वडामा लागुऔषध तथा मदिरा नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्नेछ ।

 

 

मदिरा बिक्री र सेवनमा कडाइ गरिने
गृहले मदिरा बिक्री र सेवनमा पनि कडाइ गर्दै छ । निश्चित उमेरभन्दा कम उमेरका व्यक्तिलाई मदिरा किन्न नदिने तथा लाइसेन्सविना मदिरा बिक्री गर्न नदिने योजना छ । खासगरी ग्रामीण क्षेत्रमा मदिराका कारण विकृति बढेकाले नियन्त्रण गर्ने योजना बनाएको छ । लागुऔषधसम्बन्धी अपराध सखापै पार्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको गृहमन्त्री थापाले बताए ।

 

सचेतना अभियान सञ्चालन गरिने, लागुऔषधको स्रोत पहिचान र नष्ट गर्ने, अनुगमन, निरीक्षण निगरानी, चेककप र कानुनी कारबाहीमा कडाइ गरिने, ऐन–कानुन परिमार्जन गर्ने, सर्वेक्षण गर्ने र कारोबार नियन्त्रणका लागि छिमेकी भारतलगायत देशसँग समन्वय बढाउने गृहको तयारी छ । लागुऔषध तथा मदिराले समाजमा विसंगति फैलिएको निष्कर्ष निकाल्दै गृहले स्थानीय तहसँग समन्वय गरी योजना कार्यान्वयन लक्ष्य लिएको छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...