दसैँमा थप बस नचलाउने, अग्रिम टिकट बुकिङ अनिश्चित, यात्रु पर्ने भए मारमा, सरकार किन चुप



 

दसैँ मान्न घर जाने यात्रुका लागि यातायात व्यवसायीले विगतमा झैँ थप बस नचलाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाखदेखि सिन्डिकेट अन्त्य गरेपछि असन्तुष्ट बनेका व्यवसायीले सरकारलाई अप्ठ्यारोमा पार्न दसैँमा थप बस नचलाउने योजना बनाएका हुन् ।

 

विगतका दसैँमा ५ सय भन्दा बढी गाडी थप्ने गरेकोमा यस वर्ष कुनै पनि व्यवसायीले थप बस बुकिङ नगरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनु भयो । अहिले सञ्चालनमा रहेका बसले मात्रै दशैँ तिहारमा यात्रुको चाप थेग्न नसक्ने, तर व्यवसायीले थप गाडी पनि नहाल्ने सिटौलाको भनाई छ ।

 

‘यो वर्ष कुनै पनि व्यवसायीले थप गाडी अर्डर गरेका छैनन्,’ महासचिव सिटौलाले भन्नुभयो, ‘अहिलेको अवस्थामा कसले थप गाडी हाल्नेबारे सोच्न सक्छ रु’ सिन्डिकेट अन्त्यपछि यातायात क्षेत्र अस्तव्यस्त भएको, बिमालगायतका विषयमा सरकारले स्पष्ट निर्णय लिन नसकेको,

 

बैंकको व्याज उच्च बनाएकोलगायत कारणले व्यवसायी नयाँ बस अर्डर गर्न असमर्थ रहेको सिटौलाको भनाइ छ । जनताको मर्कालाई बुझेर सरकारले व्यवसायीसँग बसेर विकल्प सोच्नुपर्ने सुझाव पनि सिटौलाले दिनुभयो ।

 

व्यवसायीले थप बस नचलाउने बताएपछि सरकार भने निजी विद्यालयका बस प्रयोग गरेर दशैँ तिहारका यात्रुलाई सुविधा दिने योजना बनाएको छ । यातायात व्यवस्था विभाग सकेसम्म व्यवसायीलाई नै मनाएर थप बस सञ्चालन गर्ने गरी वार्तामै छ ।

 

तर, व्यवसायीले मान्दै नमाने निजी विद्यालयका बस सञ्चालन गर्ने विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

 

‘यो वर्ष व्यवसायीले थप बस नचलाउने हुँदा यात्रुको सहज आवागमनका लागि विद्यालयका बसहरू प्रयोग गर्नुपर्ने हुनसक्छ,’ उपाध्यायले भन्नुभो, ‘व्यवसायीसँग वार्ता पनि भइरहेको छ र विद्यालयको बस प्रयोग गर्ने विकल्पमा पनि छलफल भइरहेको छ ।’

 

 

अग्रिम टिकट बुकिङ अझै अनिश्चित

विगतमा दशैँमा घर जाने यात्रुको सहजताका लागि घटस्थापनाको एक महिनाअघिदेखि टिकट बुकिङ खुल्ला गरिन्थ्यो । तर, यसपटक अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन ।

 

बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच दुईपटकसम्म भएको वार्ता निश्कर्षबिहीन बनेको छ ।

 

अग्रिम बुकिङ खोल्ने भए देशैभरका यातायात समितिका बन्द बैंक खाता तत्काल खोल्न सरकारी प्रतिनिधिलाई व्यवसायीहरूले आग्रह गरेका छन । तर, विभागका अधिकारीले बैंक खाता आफूहरूको तहबाट खुल्न नसक्ने भन्दै मन्त्रालयमा जानकारी गराउने वचन दिएका थिए ।

 

‘हामीले बैंक खाता खुलाउने निर्णय हाम्रो तहबाट हुन नसक्ने र मन्त्रालयमा अवगत गराउने बतायौँ,’ विभागका सूचना अधिकारी उपाध्यायले भन्नुभयो ।

 

व्यवसायीले अग्रिम बुकिङबाट संकलन हुने रकम जम्मा गर्नका लागि पनि बैंक खाता खोल्नुपर्ने, देशभरका यातायात समितिमा कार्यरत कर्मचारीले तलब भत्ता नपाएको, घरभाडा तिर्न नसकेको, दुर्घटनामा घाइते भएकाको उपचार खर्च व्यहोर्न नसकिएकालगायत समस्या सुनाएका थिए । व्यवसायीको मागमा सरकारी पक्षले सहमती जनाउन नसकेपछि वार्ता अनिर्णित भएको हो ।

 

तिहारपछि भाडा बढाउने तयारी

सरकारले ठूला चाड दशैँ र तिहार सकिएपछि यातायात भाडा समायोजनको तयारी थालेको छ । यसका लागि वैज्ञानिक भाडादर समायोजन समितिले गृहकार्य सुरु गरेको यातायात विभागले जनायो ।

 

चाडबाडको मुखमा भाडावृद्धि गर्दा नकारात्मक सन्देश जाने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँ तिहारपछि मात्रै भाडा बढाउन सहमति दिएको विभागले जानकारी दियो ।

 

यातायात व्यवसायीले सरकारले लामो समयदेखि भाडा समायोजन नगरेकाले आफूहरू मर्कामा परेको बताएका छन् । ‘इन्धनमा मात्र २५ रूपैयाँ मूल्य वृद्धि भैसकेको छ । कर शतप्रतिशत बढेको छ ।

 

पार्टपुर्जाको मूल्यवृद्धि पनि अत्यधिक भएको छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले भन्नुभयो, ‘व्यवसायीहरू निकै ठूलो मर्कामा छन्, सरकारले अभिभावकको भूमिका खेल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्