नेकपाको एकीकरणमा भत्रगोल, माधव गुटको पत्तासाफ, कोको बन्दैछन् प्रदेश इञ्चार्ज ?



 

 

जिल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रिया पेचिलो बन्दै गएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो चरणमा प्रदेश कमिटीहरुको एकीकरण टुंग्याउने भएको छ । विहीबार बस्ने सचिवालय बैठकले प्रदेश कमिटी अध्यक्ष र सचिव तोक्नुको साथै इन्चार्ज र सहइञ्चार्जको टुंगो लगाउने सम्भावना छ ।

 

जिल्ला, स्थानीय तह र भातृ संगठनहरुको एकीकरण सम्पन्न गर्न अझै २ महिना लाग्ने निष्कर्ष सचिवालय बैठकमा महासचिव बिष्णु पौडेलले सुनाएपछि प्रदेश कमिटी गठन पहिले गर्न लागिएको हो ।

 

सातवटा प्रदेश कमिटी गठन गर्ने र जिल्ला तथा मातहत कमिटीहरुको एकीकरणका मापदण्डसहित प्रदेशलाई नै जिम्मा दिने बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

 

यसअघि तोकिएको मापदण्डले नपुगेपछि मापदण्ड परिमार्जनको लिखित प्रस्ताव समेत सचिवालय सदस्यहरुलाई उपलव्ध गराइएको छ । महासचिव बिष्णु पौडेलले एकीकरणका लागि आवश्यक मापदण्ड बनाएर पठाउन लागिएको पुष्टि गरे ।

 

उनले व्यक्तिको अनुहार हेरेर होइन, सबैलाई लागु हुनेखालको मापदण्ड बनाएर पठाउने बताए । सचिवालय बैठकले तय गरेको मापदण्डअनुसार सबै ठाउँमा एकीकरण प्रक्रिया सहज रुपमा अघि बढ्ने उनले बताए ।

 

 

विशेष गरी माधव नेपाल लगायतका नेताले तल्ला कमिटीको एकीकरणमा अध्यक्ष वा सचिव बन्ने व्यक्तिको मापदण्ड माथिबाटै तोकिनुपर्ने र कमिटीमा थपिने व्यक्तिको बरिष्ठताको मापदण्ड पनि तय हुनुपर्ने माग गरेका थिए । मापदण्ड नतोकिदा संस्थापन पक्षले एकलौटी गरेको आरोप नेपाल पक्षको छ ।

 

तर, नेपाल पक्षकै स्थायी कमिटी सदस्य तथा प्रदेश ३ कार्यदल संयोजक अष्टलक्ष्मी शाक्यले भने अधिकांश कार्यदलले काम गरिसकेपछि मापदण्ड बनाउनुको अर्थ नरहेको बताइन् ।

 

व्यक्ति हेरेर मापदण्ड बनाउन लागिएको भन्दै विवाद भएका जिल्ला बाहेक अन्यत्र पुनः मापदण्डका नाममा मिलिसकेको विवाद बल्झाउन नहुने शाक्यको भनाइ छ ।

 

केन्द्रीय कमिटीमा केही नेता मिलेपछि सहज रुपमा भागबण्डा टुंगिएर सम्भव भएको नेकपाका एकीकरण प्रदेश र जिल्लामा पुगेपछि पेचिलो बनेको छ । नेतृत्वमा रहने व्यक्तिको प्रष्ट मापदण्ड निर्धारण नगरिए धेरै कमिटीहरु एकीकरण गर्न नसकिने भन्दै पूर्व एमाले र पूर्व माओवादी दुवैतिरका नेताले मापदण्डको माग गरेका हुन् ।

 

कोको बन्दैछन् प्रदेश इञ्चार्ज ?

स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँगको छलफलपछि महासचिव पौडलले प्रदेश कमिटी गठनको प्रस्ताव तयार पारेका छन् । सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुनेछ ।

 

सकेसम्म आजै टुंगो लगाउने तयारी बैठकमा भएको छ । प्रदेश कमिटी एकीकरण कार्यदलहरुको सिफारिसका आधारमा कमिटी गठन गर्न लागिएको छ । तर, प्रदेश २ ले अहिलेसम्म सिफारिस नै गर्न सकेको छैन ।

 

 

प्रदेश अध्यक्ष र सचिवमा टुंगो नलागे पनि अधिकांश प्रदेश कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम सिफारिस गरिसकेका छन् । प्रदेश ७ ले अध्यक्ष र सचिवको नामसमेत सिफारिस गरेकाले सचिवालयले सोही अनुमोदन गर्ने सम्भावना छ ।

 

प्रदेश ७ को अध्यक्षमा तत्कालीन एमालेका कर्णबहादुर थापा र सचिवमा तत्कालीन माओवादीका लक्ष्मी जोशी सिफारिस भएका छन् ।

 

अब प्रदेश इञ्चार्जमा भीम रावल र लेखराज भट्टमध्ये एक हुनेछन् । प्रदेश अध्यक्ष पूर्व एमालेको भएको ठाउँमा इञ्चार्ज पूर्वमाओवादीको हुने र पूर्व माओवादीको अध्यक्ष भएको ठाउँमा इञ्चार्ज पूर्व एमालेको हुने प्रारम्भिक समझदारी थियो ।

 

तर पछिल्लो समय व्यक्तिको बरिष्ठता, क्षमता र आवश्यकता तथा सम्बन्धित कमिटी तथा व्यक्तिबीचको सहमति अनुसार अध्यक्ष र इञ्चार्जहरु तोकिने गरी लचिलो मापदण्ड बनाइएको छ ।

 

कर्णाली प्रदेशको अध्यक्ष पूर्व एमालेबाट यमलाल कँडेल र पूर्व माओवादीबाट मायाप्रसाद शर्मा दाबेदार छन् । कँडेल अध्यक्ष भएमा शर्मा सचिव हुनेछन् भने जनार्दन शर्मा इन्चार्ज र गोरखबहादुर बोगटी सहइञ्चार्ज हुनेछन् ।

 

त्यस्तै प्रदेश ५ मा पूर्वएमालेले अध्यक्ष पाए दलबहादुर राना मगर र पूर्वमाओवादीले पाए गणेशमान पुन मगरको नाम सिफारिस भइसकेको छ ।

 

प्रदेश इञ्चार्जमा पूर्वएमालेबाट घनश्याम भुसाल र छविलाल विश्वकर्मा तथा पूर्व माओवादीबाट मणि थापामध्येबाट एक हुनेछन् । शीर्षतहमा प्रदेश ३ को अध्यक्ष पूर्वमाओवादी र प्रदेश ५ को अध्यक्ष पूर्वएमालेले पाउने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ  । यसअघि प्रदेश ३ पूर्व एमालेले पाउने समझदारी भएको थियो ।

 

गण्डकी प्रदेशको अध्यक्षमा पूर्वमाओवादीबाट हरि अधिकारी प्रमुख दाबेदार देखिएका छन् । पूर्वएमालेबाट तुलबहादुर गुरुङ, खगराज अधिकारी पनि दाबेदार हुन् । यो प्रदेशको अध्यक्ष पूर्वमाओवादीले पाउने बढी सम्भावना छ । त्यसो हुँदा प्रदेश इञ्चार्ज किरण गुरुङ र सहइन्चार्ज देवेन्द्र पौडेल हुनेछन् । गुरुङ प्रदेश सरकारको अर्थमन्त्री छन् ।

 

प्रदेश ३ को अध्यक्षमा पूर्व एमालेबाट काशिनाथ अधिकारी र शेरबहादुर तामाङ प्रमुख दाबेदार देखिएका छन् । पूर्वमाओवादीबाट हितमान शाक्य र नारायण दाहालको दावी छ । प्रदेश इञ्चार्जमा अष्टलक्ष्मी शाक्यको सम्भावना छ । यद्यपि अग्नि सापकोटा र हरिबोल गजुरेल पनि इञ्चार्जका दाबेदार हुन् ।

 

प्रदेश ३ को अध्यक्षमा पूर्वमाओवादीका प्रभु साहको सम्भावना छ । साह अध्यक्ष भएमा इञ्चार्जमा पूर्वएमालेका सत्यनारायण मण्डल हुनेछन् । यद्यपि प्रदेश ३ मा पूर्वएमाले र पूर्वमाओवादी दुवै समूहमा विवाद छ ।

 

प्रदेश १ को अध्यक्षमा पूर्वएमालेका घनेन्द्र बस्नेत र देवराज घिमिरेको नाम सचिवालयमा सिफारिस भएको छ । सचिवमा पूर्वमाओवादीका सावित्रीकुमार काफ्लेको नाम सिफारिस भएको छ ।

 

यद्यपि पूर्वएमालेभित्र यो सिफारिस विवादमा परेको छ । जगन्नाथ खतिवडाको नाम भीम आचार्यले सिफारिस गर्न नमानेपछि माधव नेपाल समूहमै विवाद छ । प्रदेश एकको इञ्चार्जमा भीम आचार्यको समेत दाबी छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्