फेरी सभापति बन्ने देउवाको यस्तो छ नयाँ रणनीति, रामचन्द्र र सिटौलाको गुट पत्तासाफ



 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १३ औं महाधिवेशनमा प्राप्त मत सुरक्षित गर्दै थप शक्ति आर्जन गरेर १४ औं महाधिवेशनमा फेरि सभापति बन्ने योजनामा रहेको उनी निकट नेताहरुले बताएका छन् ।

उनले महासमितिको आसन्न बैठकबाट पदाधिकारी र पार्टीका संरचनाको संख्या बढाएर १४ औं महाधिवेशन आफू अनुकुल बनाउने प्रयास गरिरहेका छन् ।

 

सभापति देउवाको चाहनाअनुसार नै विधान संशोधन मस्यौदा समिति अन्तर्गतको संरचनासम्बन्धी उपसमितिले १० जना पदाधिकारीसहित १ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रारम्भिक मस्यौदा तयार गरेको छ । केन्द्रीय समितिमा सभापति, २ उपसभापति, वरिष्ठ नेता, २ महामन्त्री, ३ सह–महामन्त्री र १ कोषाध्यक्ष रहने प्रावधान छ् ।

 

थप गरिन लागिएका पदहरुमा सभापति देउवाले विजयकुमार गच्छदार र उनका मान्छेहरुसँगै आफूसँग भएका तर जिम्मेवारी दिन नसकिएका नेताहरुलाई ‘एडजस्ट’ गरेर १४ औं महाधिवेशनमा आफू झनै बलियो बन्न खोजेको पार्टीभित्र चर्चा छ ।

‘‘सभापतिज्यूले एडजस्ट गर्नुपर्ने थुप्रै मान्छेहरु छन् । पदहरु भएपछि त्यसमा कस्लाई कुन स्थान दिने, कस्लाई माया  पुगेको छैन त्यसलाई माया गर्ने एउटा विषय भयो । तर त्यो मुख्य नभएर पार्टीमा वर्चस्व बढाउने र बलियो हुने विषय नै मुख्य हो,’’ एक केन्द्रीय सदस्यले भने ।

 

सभापति देउवाले ससाना ‘पावर सेन्टर’ हरु आफूसँग जोडिराख्ने र १४ औं महाधिवेशनमा उठेर फेरि जित्न चाहेको स्रोतको भनाइ छ । ‘‘उहाँले कसैलाई विद्रोह गर्न नदिने, आफूसँग ‘इन्ट्क्याट’ राख्ने, सकेसम्म अर्को पक्षका नेता ल्याएर आफूसँग जोडेर अझ थप बलियो हुने प्रयास गरिरहनुभएको छ,’’ देउवाइतर समूहका एक नेताले भने ।

 

संस्थापन पक्षीय केन्द्रीय सदस्यले भने आफू निकटकालाई ‘एडजस्ट’ गर्न सजिलो होस् भनेर मात्रै नभएर सहमति मै केन्द्रीय कार्यसमितिको आकार बढाइएको जिकिर गरे । पदाधिकारीको संख्या बढ्दा सभापति देउवाभन्दा पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई संस्थापन इतरका नेतालाई ‘एडजस्ट’ गर्न सहज हुने उनको भनाइ छ ।

 

‘‘सबैलाई मिलाएर आफूले चुनाव जित्न त जसले पनि चाहन्छ नि तर पदाधिकारीको संख्या बढाएर सभापतिलाई मात्रै नभएर आफूलाई पनि सहज हुने ठानेरै पौडेल पक्षले सहमति जनाएको प्रष्टै छ,’’ विधान संशोधन मस्यौदा समितिमा सदस्य रहेका देउवा निकट केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, ‘‘पदाधिकारी थप सभापतिभन्दा पनि रामचन्द्र पौडेललाई आवश्यक छ । हाम्रोमा कुनै समस्या नै छैन । उनीहरुभित्रको किचलो हेरेरै थाहा हुन्न र भन्या ? पदाधिकारी संख्या १५ बनाउने भने पनि रामचन्द्र पौडेलले आँखा चिम्लेर दस्तखत गरिदिनुहुन्छ ।’’

 

संस्थापन पक्षले आफ्नो समूहमा रामचन्द्र पौडेलको समूह, कृष्णप्रसाद सिटौलाको ‘तेस्रो धार’, कोइराला परिवारमा देखिएजस्तो किचलो नभएको दाबी  गरे पनि देउवाले नेता गच्छदारको नाममा ‘बार्गेनिङ’ सुरु गरेको संस्थापन इतर समूहको दाबी छ ।

सभापति देउवाले आफूले मनोनीत गर्ने स्थान बाँकी रहँदासम्म गच्छदारलाई पार्टीमा ल्याउने कुराको कुनै चर्चा नगरेको र आफूले मनोनीत गर्ने सबै पदहरु सकिएपछि उनको व्यवस्थापनका लागि अन्य नेताहरुलाई सोध्नुका पछाडि संस्थापन पक्षको स्वार्थ लुकेको ‘तेस्रो धार’ मा रहेका एक केन्द्रीय सदस्यले भने ।

 

‘‘गच्छदारलाई पार्टीमा राम्रो हैसियत दिनका लागि सबै नेताहरुले बाधा अड्काउ फुकाइदिन तयार हुने अवस्था थियो । तर पदाधिकारी मनोनयन बाँकी हुँदासम्म सभापतिले कुनै चासो देखाउनुभएन,’’ ती नेताले भने, ‘‘मनोनयन गर्ने सिटहरु सकिएपछि अहिले आएर गच्छदारलाई के गर्ने भनेर सोधिरहनुभएको छ । त्यो उहाँले गच्छदारलाई माया गरेर भनेको होइन् ।

 

उहाँलाई ल्याउने नाममा पद बढाउने स्थिति निर्माण गरेर, आफ्ना मान्छेहरुलाई त्यसमा व्यवस्थापन गर्न खोज्नुभएको छ ।’’
सभापति देउवाले गच्छदार र उनको समूहलाई व्यवस्थापन गर्न पदाधिकारीको संख्या थप गरेर आफू झनै बलियो बनेर १४ औं महाधिवेशनमा चुनाव जित्न चाहेको ती केन्द्रीय सदस्यको आरोप छ ।

 

देउवाको ‘उत्तराधिकारी’ को ?

 

सभापति देउवाले केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई उपसभापतिमा मनोनीत गरेर आफ्नो ‘उत्तराधिकारी’ का रुपमा अघि सारेको धेरै नेताहरुको आकलन छ । देउवाले त्यसअघि नै आफू विदेश भ्रमणमा जाँदा पनि कार्यवाहक सभापतिको जिम्मेवारी दिएर निधि नै आफ्नो ‘उत्तराधिकारी’ भएको संकेत गरेका थिए ।

 

कांग्रेसभित्रै सभापति देउवाले आफ्नो ‘उत्तराधिकारी’ का रुपमा पत्नी डा. आरजु राणा देउवालाई अघि सार्न खोजेको नेताहरु बताउँछन् ।

 

आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने अवस्था सिर्जना नभएमा आरजुलाई पदाधिकारीमा सुनिश्चित हुनेगरी देउवाले कुनै नेतालाई अघि सार्न सक्ने एक नेता बताउँछन् ।  तर, संस्थापन पक्ष यो मान्न तयार छैन ।

 

‘‘सभापतिले आफ्नो उत्तराधिकारीका रुपमा निधिलाई अघि सारिसक्नुभएको छ । अब उपभापति बनाउनु भन्या त्यही होइन र ?’’ देउवा निकट नेताले भने, ‘‘आरजु भाउजुलाई उत्तराधिकारी बनाउने सम्भावना नै छैन ।’’

 

परन्तु, कांग्रेसभित्र देउवा र निधिबीचको सम्बन्धलाई ‘उपयोगिताको सिद्धान्त’ अन्तर्गत हेरिने गरिएको छ । दुवैले एक–अर्कालाई ‘जति सक्दो’ उपयोग गर्ने गरेको स्रोतको दाबी छ ।

 

‘‘निधिले देउवालाई थर्काएर, आज्ञाकारी बनेर पार्टीको उपसभापति पद लिनुभयो । अब देउवा सभापति रहुञ्जेलसम्म उहाँ आज्ञाकारी बनेर सबै कुरा लिन खोज्नुहुन्छ,’’ स्रोतले भन्यो, ‘‘उहाँ देउवालाई फकाएर सभापति हुने रणनीतिमा हुनुहुन्छ तर मलाई देउवा निधिका नाममा जति फकाएपनि फकिनुहुन्छ जस्तो लाग्दैन, त्यो अवस्थामा देउवाले आरजुलाई स्थापित गराउन लाग्नुहुनेछ ।”

 

आरजुलाई पदाधिकारी नै बनाउने सोच हो ? 

 

सभापति देउवाले पत्नी आरजुलाई आगामी महाधिवेशनपछि पदाधिकारी बनाउन चाहेका छन् । देउवाले सभापति पदमा लडे आफूले मनोनीत गर्ने विशिष्ट पदमा आरजुलाई ल्याउन चाहेको नेताहरु बताउँछन् । देउवाले आफू सभापति नलडेर कसैलाई समर्थन गर्नुपर्ने अवस्था सिर्जना भए समर्थन गरेबापत आरजुलाई पदाधिकारी बनाउनुपर्ने सर्त अघि सार्न सक्नेछन् ।

 

‘‘देउवा आफूले चुनाव नलड्ने अवस्थामा जसलाई सपोर्ट गर्नुहुन्छ, ऊसँग मैले तिमीलाई सपोर्ट गर्छु, तिमीले आरजुलाई सपोर्ट गर्नुपर्छ भन्ने कुरा एउटा हो,’’ देउवा निकटका एक केन्द्रीय सदस्यले भने, ‘‘तर, आफूले छोडेर आरजुलाई नै उपसभापति अथवा महामन्त्रीमा अगाडि सार्ने भने सम्भावना छैन ।’’

 

निधि बाहेकलाई समर्थन गरे के हुन्छ ? 

 

सभापति देउवाले १४ औं महाधिवेशनमा बीपीपुत्र डा. शशांक कोइरालालाई सघाउने चर्चा पनि कांग्रेसवृत्तमा छ । तर, शशांकले देउवाको समर्थन लिए उनी थप कमजोर बन्ने देखिने कांग्रेसका एक प्रभावशाली नेता बताउँछन् ।

कोइराला परिवारसँग लडेर सभापति भएका देउवाकै सहयोगमा शशांक १४ औं महाधिवेशनमा उमेदवार बने उनी पुरानो संस्थापन पक्षको नेता बन्न नसक्ने देउवा इतर समूहको आंकलन छ ।

 

‘‘शशांक देउवा विरोधी कित्ताको नेता हो, उहाँले जे गरेपनि कोइरालाको लिगेसीको नेता हो । देउवा कोइरालासँग लडेर आफू सभापति भएको हो, त्यसो भएपछि के हुन्छ भने कोइरालासँगै मिलेका शशांक पुरानो संस्थापनको नेता हुन सक्नुहुन्न् । उहाँ थप कमजोर बन्नुहुन्छ,’’ सिटौला नेतृत्वको ‘तेस्रो धार’ मा देखिएका एक केन्द्रीय सदस्यले भने ।

 

पुरानो संस्थापनलाई देउवासँग लड्ने देउवा विरोधी नेता चाहिएको उनको भनाइ छ  । देउवाको समर्थनमा शशांक सभापतिको उमेदवार बने डा. शेखर कोइरालाले नै विद्रोह गर्ने सम्भावना रहेको ती नेताको दाबी छ । ‘‘शशांक देउवाको समर्थनमा सभापतिको उमेदवार बने डा. शेखर कोइरालाले नै विद्रोह गर्नुहुन्छ । अनि अरुले झन अवश्य पनि गर्ने नै भए,’’ स्रोतले भन्यो, ‘‘यसो हुँदा पुरानो संस्थापनमा शशांक कोइरालाप्रति समर्थन हुने स्थिति हुँदैन, १०– १५ प्रतिशत समर्थन लिनुहोला तर ७५ प्रतिशत उहाँको खिलाफमा हुन्छ ।’’

 

देउवाले १४ औं महाधिवेशनमा शशांकलाई सभापतिमा सघाए संस्थापन पक्ष सबैले उनलाई मतदान नगर्ने अवस्थासमेत रहेको ती नेताको बुझाइ छ । देउवाको समर्थनमा शशांक सभापतिको उमेदवार भए संस्थापन पक्षबाट निधिले विद्रोह गर्ने सम्भावनासमेत उत्तिकै रहेको छ । संस्थापन पक्षबाट निधिले ‘विद्रोह’ गरेर उमेदवारी दिए देउवा निकट नेताहरु दुई कित्तामा उभिने निश्चितप्रायः छ ।

 

‘‘देउवाको कित्ताभित्र पनि शशांकलाई उमेदवार बनाए सबै मान्छे उनको पछाडि लाग्दैनन् । त्यति बेला निधि उमेदवार बन्नुहुन्छ र शेरबहादुर देउवाको समूह आधाआधीमा बाँडिन्छ । देउवाको समूह आधाआधीमा बाँडिने, पुरानो संस्थापनको १०–१५ प्रतिशतमात्रै समर्थन हुँदा शशांक बलियो उमेदवार देखिनुहुन्न,’’ स्रोतको दाबी छ ।

 

देउवा उमेदवार बने संस्थापन इतरले कसलाई उठाउँछ ? 

 

आगामी महाधिवेशनमा देउवा आफैँ सभापति पदमा उठ्दा संस्थापन इतरबाट को उमेदवार बन्ने भन्नेमा अन्योल कायमै देखिएको छ । पार्टीभित्रैबाट भावी सभापतिका रुपमा हेरिएका महामन्त्री शशांक कोइराला अन्य नेताका तुलनामा बलियो दाबेदारका रुपमा हेरिएका छन् । तर महामन्त्रीका रुपमा शशांकको ‘टेष्ट’ भइसकेकाले उनले देउवालाई टक्कर दिन नसक्ने संस्थापन इतरकै नेताहरुको भनाइ छ ।

 

‘‘उहाँको स्थिति एकदमै खस्किदो छ । उहाँ ‘अन्टेस्टेड‘ हुनुपथ्र्यो, एकैपटक  महामन्त्री नलडेर सभापति लडेको भए ‘टेस्ट‘ भइसकेको हुन्थेन, मान्छेहरुको भरोसा, विश्वास कायमै रहन्थ्यो । अहिले उहाँको ‘टेस्ट‘ भइसकेको छ । यी सभापति भए भने पार्टी अहिलेको भन्दा पनि खत्तम हुन्छ भन्ने भैसकेको छ,’’ संस्थापन इतरका नेताले भने, ‘‘अर्को कुरा उहाँ फेरि देउवासँग लडेर होइन कि मिलेर सभापति हुन खोज्नुभएको छ, त्यसले पनि उहाँलाई समर्थन भएको कित्ताबाट समर्थन गुम्ने स्थिति छ ।’’

 

अहिलेसम्म देखिएका उमेदवारमध्येमा आजका मितिसम्म शशांक बलियो दाबेदार भएपनि उनी अहिलेकै अवस्थामा अगाडि बढे आगामी दुई वर्षभित्रमा कमजोर हुने अवस्था रहेको स्रोतको दाबी छ ।

 

संस्थापन इतरमा सबैलाई आफ्नो ‘अम्ब्रेला’ भित्र राख्न मिल्नेमा पौडेल देखिएका छन् । तर, पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन देउवाका विरुद्धमा डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहमध्ये कुनै एक जना उमेदवार बनेमात्रै देउवालाई चुनौती दिन सकिने संस्थापन इतरका नेताहरुको बुझाइ छ ।

 

‘‘पार्टीलाई पूरै परिवर्तन गर्नुपर्छ त्यसैले नयाँ सिराबाट जानुपर्छ भनेर शेखर, सिटौला र प्रकाशमान मिलेर कुनै एक जनालाई उमेदवार बनाएर जान सक्यो भने देउवालाई चुनौती दिन सकिन्छ,’’ सिटौला निकट एक नेताले भने ।

बाह्रखरीबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्