प्रहरीका नारा फेरिए व्यवहार फेरिएन,निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा चलखेल



 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले नियतवत अनुसन्धानमा चलखेल गर्‍यो वा लापरबाही मात्र भयो भन्ने छानबिनकै क्रममा छ । सो घटनाबारे प्रहरी नेतृत्वले स्वीकार गरिसकेको एउटा कमजोरी हो– प्रहरीको रुखो व्यवहार ।

 

निर्मला हराएपछि खोजी गर्न आग्रह गर्दै उनका परिवार प्रहरीमा पुग्दा खोजीमा तदारुकता त देखाएनन् नै बोली व्यवहार पनि राम्रो थिएन । कञ्चनपुरका तत्कालीन एसपी(हाल निलम्बित) डिल्लीराज विष्टले पीडित परिवारसँग राम्रो व्यवहार देखाएनन्, बरु पक्राउ परेका दिलीपसिंह विष्टविरुद्ध किटानी जाहेरी दिन दबाब दिएका थिए ।

 

प्रहरीकै व्यवहारका कारण सुरुदेखि नै निर्मलाका आफन्त रुष्ट बनेका थिए । गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुरमा प्रहरीविरुद्ध आन्दोलन चर्कनुको एउटा प्रमुख कारण प्रहरीको टर्राे व्यवहार भएको निष्कर्ष निकालेको छ ।

 

‘प्रहरीले सुरुमा राम्रो व्यवहार नगर्दा प्रहरीप्रति पीडितको आशंका बढेको देखिन्छ,’ छानबिन समितिका संयोजक हरिकुमार मैनाली भन्छन्, ‘आन्दोलनमा पनि त्यो एउटा प्रमुख कारण थियो ।’

 

समस्यामै परेर धेरै सर्वसाधरण सहयोग माग्दै प्रहरीमा पुग्छन् । तर, पीडित बनेर पुग्नेहरूप्रति प्रहरीको व्यवहार सहयोगी नभई शासकको जस्तो हुने गरेको छ । जसकारण प्रहरी र नागरिकबीचको दूरी सुमधुर हुन सकेको छैन ।

 

प्रहरी नेतृत्वले पनि व्यवहार राम्रो नभएको स्विकारेको छ । तर, सुधार ल्याउन भने सकेको छैन । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री भने प्रहरीको व्यवहारमा पहिलेभन्दा सुधार भइरहेको बताउँछन् ।

 

‘राज्यका अंगमध्ये सबैभन्दा धेरै सुधार प्रहरीमा भएको छ,’ उनी भन्छन्, ‘हामीले थप सुधारको प्रयत्न गरिरहेकै छौँ, तर, ठूलो संगठनमा रातारात क्रान्तिकारी परिवर्तन भने सम्भव हुँदो रहेनछ । यो क्रमशः चल्ने प्रक्रिया हो ।’

 

व्यवहार फेर्न विभिन्न अभियान
प्रहरी नेतृत्वले व्यवहारमा सुधार ल्याउने प्रयत्न नगरेको पनि होइन । पछिल्लो वर्ष प्रहरीको व्यवहार सुधार्न धेरै नारासहित देशव्यापी अभियान सञ्चालन गरिए । ५ वर्षअघि तत्कालिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘मुस्कानसहितको प्रहरी सेवा’ कार्यक्रम देशव्यापी रूपमा सुरु गरेका थिए ।

 

तर, यो कार्यक्रमले अपेक्षित परिणाम ल्याउन सकेन । अर्यालकै कार्यकालमा ‘प्रहरी मेरो साथी’ नामक अर्काे अभियान सुरु भयो । हरेक नागरिकलाई प्रहरीको साथी बनाउने अभियानअन्तर्गत देशभरि अभियान थालियो । १÷२ महिना अभियान चले पनि पछि त्यसै हरायो ।

 

गत वर्ष जनार्दन शर्मा गृहमन्त्री भएपछि प्रहरीमा सुधारका लागि योजना बनाए । प्रहरी र जनताको सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान चल्यो । अभियान सुरु गरेको एक महिनामै उनी गृहमन्त्रीबाट हटे । त्यो अभियान पनि अलपत्र पर्‍यो ।

 

६ महिना गृह मन्त्रालय सम्हालेका रामबहादुर थापाले पनि नयाँ नाम दिएर त्यस्तै कार्यक्रम ल्याए । गृह सुधार कार्ययोजनामा उल्लेख गरेरै उनले ‘प्रहरी टोल टोलमा’ नामक अर्काे अभियान चलाए । तर, यही वेला प्रहरी थप विवादमा परेको छ ।

 

सुन तस्करीदेखि बलात्कार घटनाको अनुसन्धानमा चरम लापरबाही गरेका घटनाले प्रहरीको छवी झन् खस्कँदै गएको छ । प्रहरीको व्यवहार र आचरणमा फेरि प्रश्न उठेपछि प्रहरी मुख्यालय नयाँ कार्यक्रम ल्याउने गृहकार्यमा जुटेको छ ।

 

 

प्रहरीभित्रै राम्रो छैन व्यवहार
तीन वर्षअघि प्रहरीले संगठनमा आन्तरिक सर्वेक्षण गरेको थियो । जसमा तल्लो तहका प्रहरीले आपूmहरूलाई माथिल्ला तहका कर्मचारीले निकै रुखो व्यवहार गर्ने गुनासो पोखे । ‘कम्तीमा श्रीमतीको अगाडि त राम्रो व्यवहार गरिदिनुभए हुन्थ्यो,’ एक प्रहरी हवल्दारको गुनासो थियो, ‘हाकिमबाट सधैँ नोकरको जस्तो व्यवहारले साह्रै चित्त दुख्छ ।’ अन्य प्रहरीले पनि माथिल्लो तहका अधिकृतले व्यवहार राम्रो नभएको बताएका थिए ।

 

 

प्रहरीको योजना अन्वेषण निर्देशनालयले तयार पारेको रिपोर्टमा प्रहरीभित्रकै व्यवहार सुधार गर्न आवश्यक देखिएको छ । ‘प्रहरी मेरो साथी’ कार्यक्रमको उद्घाटनमा तत्कालीन गृहमन्त्री वामदेव गौतमले माथिल्ला अधिकृतले सिपाहीलाई ‘तपाईं’ भनेर सम्बोधन गरी व्यवहारमा सुधार आफैैँबाट सुरु गर्न सुझाब दिएका थिए ।

 

प्रहरीमा ठूलो संख्या सिपाही र हवल्दार छन् । उनीहरूप्रति हाकिमहरूको व्यवहार त राम्रो हुँदैन नै साथै बोलीसमेत निकै रुखो हुने गरेको छ ।

 

गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्रहरीका हाकिमहरूले नै आफ्ना सिपाही, हवल्दारलाई राम्रो व्यवहार गर्दैनन्, अनि सिपाही–हवल्दारबाट चाहिँ जनताले कसरी राम्रो व्यवहारको अपेक्षा गर्न सकिन्छ ?’

 

पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल समाजभन्दा प्रहरी पृथक् हुन नसक्ने बताउँछन् । ‘प्रहरी समाजको प्रतिबिम्ब हो,’ उनी भन्छन्, ‘समाजमा परिवर्तनको जुन गति हुन्छ, प्रहरीमा पनि त्यहीअनुसार परिवर्तन आउँछ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल