कठघरामा सिपी मैनाली :दैनिक नमस्ते खान ओलीले मलाई उपप्रधानमन्त्री बनाएका रहेछन्



 

 

अभियाेग १ : झापा विद्रोह र नख्खु जेल ब्रेक गर्ने नायकका रूपमा चिनिनुहुन्थ्यो । भूमिगत कालमा दन्त्यकथाका पात्रझैँ कार्यकर्ताले तपार्इंको फोटाको समेत पूजा गर्थे रे । त्यत्रो महत्व पाएको नेता समयको गतिलाई नबुझ्ने आफ्नै स्वभावका कारण राजनीतिक रूपमा ओरालो लाग्दै जानुभयो, पतन हुँदै जानुभयो । अहिले त राजनीतिक मैदानमा तपार्इंको सान्दर्भिकता नै हरायो ।

 

राजनीतिक रूपमा पतन भइरहेको छ भन्ने झुठो आरोप हो । मेरो स्वभावका कारण पनि अहिलेको अवस्था सिर्जना भएको होइन । मैले देशभक्त माक्र्सवादी लेलिनवादी पार्टी निर्माणको काम थालेको थिएँ । त्यसभित्रकै ठूला तर मध्यम वर्गीय धेरै नेताहरूले तत्कालीन मालेको सैद्धान्तिक क्रान्तिको बाटोलाई छाडेको हुनाले ती गलत कुराको विरुद्धमा मैले थोरै भए पनि जागरुक साथीहरूलाई लिएर काम गर्नुपरेको छ । त्यसैले, मैले ठूलो दलको नेतृत्व गर्न सकिरहेको छैन । यसको अर्थ समयलाई नचिनेको होइन, मार्क्सवादलाई पनि नचिनेको होइन ।

 

मार्क्सवादको नेपालीकरण गर्ने कुरा मैले पार्टीका नेताहरूलाई बुझाउन सकिनँ वा उहाँहरूले बुझ्न चाहनुभएन । त्यसकारण म त्यो पंक्तिबाट अलग्गिए । फेरि जिरो लेबलबाट काम गर्नुपरेकाले अहिलेको स्थिति बनेको हो । मैले बनाइरहेको पार्टी सानो छ, तर हामीहरू यो परिवेशबाट अनभिज्ञ पनि छैनौँ । किन हामी थोरै भयौं र त्यसका कारणहरू के के हुन भन्ने पनि हामीले बुझेका छौं ।

 

ती कारणहरूलाई हटाउँदै सबै जागरुक राजनीतिकर्मी र जनताको बीचमा नेपालीकरण गरिएको माक्र्सवादी नीतिलाई लिएर जाने प्रयत्न जारी छ । त्यसकारण म अधोपतनमा लागेको हुँदै होइन, म अधोगति हुनै सक्दिनँ । किनभने, मैले माक्र्सवादको नेपालीकरण गर्ने एउटा इनोभेटिभ काम थालेको छु । जो सुरुमा धेरै जनतामा पुर्‍याउन सकेका छैनौँ । विश्वास छ, समयक्रममा हामी सफलता हासिल गर्दै अगाडि बढ्नेछौँं ।

 

अभियाेग २ : ०३९ सालमा पार्टीले तपाईलाई हटाएर झलनाथ खनाललाई महासचिव बनायो । एक पटक हटाएको विषय तपार्इं एक जुगसम्म बिर्सनुभएन । केपी ओली र प्रचण्डजस्ता फरक ध्रुवका नेता एक भए, पार्टी फुटाएर गएका शेरबहादुर देउवा फेरि गिरिजाप्रसाद कोइरालासँग मिले, विजय गच्छदार फेरि कांग्रेसमै फर्किए । तर, तपार्इं साढे तीन दशक बित्दा पनि कुण्ठा र इगो पालेर बस्नुभएको छ ।

 

यस्तो आरोप लगाउनेहरू विचारा हुन । कुण्ठाले हामीले अलग छौँ भन्ने कुरा हजार गुणा गलत हो । हामी सैद्धान्तिक मान्यताका आधारमा अलग छौं । अर्को कुरा मलाई हटाइएको होइन, ०३९ साल कार्तिक २२ गते म आफैँले राजीनामा दिएको हुँ । ०३५/३६ सालको जनमत संग्रहपछि मैले पार्टीको बहसको क्रममा ‘मालेको रणनीति नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने हो तर तत्काल नयाँ जनगणतन्त्र अथावा गणतन्त्र ल्याउने कार्यनीति नबनाऊँ, यो अहिले परिस्थिति सापेक्ष छैन, निर्दलीय निरंकुश पञ्चायती व्यवस्थालाई हटाउने कार्यनीति अबलम्बन गरौँ,’ भन्ने प्रस्ताव गरेँ ।

 

त्यो कार्यनीतिक सोचलाई त्यसबेलाको केन्द्रीय कमिटीको अत्यन्त ठूलो बहुमतले अस्वीकार गर्‍यो । ०३९ कार्तिक २२ गते केन्द्रीय कमिटीको बैठक बस्दै थियो । त्यसको तीन/चार महिनाअगावै पोलिटब्युरो सदस्य साथीहरू माधव नेपाल, जीवराज आश्रित र अमृतकुमार बोहरालाई म बस्ने ठाउँमै खाना खाने गरी बोलाएर व्यापक छलफल गरेँ । ‘म मेरो सोचमा प्रस्ट छु, तपाईंहरू यसको विरोधमा हुनुहुन्छ । तपाईंहरू यसलाई दक्षिणपन्थी अवसरवाद देख्नुहुन्छ, कांग्रेसपरस्त देख्नुहुन्छ । यो कुराले मलाई पार्टी सञ्चालन गर्न अप्ठ्यारो भएको छ । म पुष्पलालले भनेजस्तो नीतिअनुसार नेता हुनुपर्छ भन्ने मान्यता राख्छु ।

 

त्यसकारण जब नीति मिलिरहेको छैन भने मैले नेतृत्व गर्न सक्दिनँ,’ मैले उहाँहरूलाई प्रस्ट ढंगले भने, ‘अब बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे छलफल पक्कै हुन्छ, यसबीचमा यो विषयमा छलफल गरौँ । म तपाईंहरूको कुरामा सहमत भएभने ठीकै छ, अथवा तपाईंहरू मेरो दृष्टिकोणमा सहमत हुनुभयो भने झन राम्रो नै भयो, मैले नेतृत्व गरिरहेको छु, अब पनि गर्नेछु ।

 

यसबीचमा पनि हामी सहमतिमा पुग्न सकेनौँ भने मैले राजनीतिक कारणले राजीनामा दिन्छु । त्यसका लागि तपाईंहरू मानसिक रूपमा तयार हुनुस् । सहमतिको वातावरण बनाउने कोसिस गर्नुस, भएन भने महासचिवका लागि अर्को साथीलाई पनि तयार गर्नुस्, मैले महासचिवका रूपमा तपाईंहरूलाई यो अधिकार दिएँ, यसलाई गुटबन्दी मानिने छैन ।’ यो बैठक हुनुभन्दा तीन/चार महिना अगाडिकै कुरा हो ।

 

बैठकमा पुगेपछि बामदेव गौतमले अन्तरिम जनवादी सरकार गठन गर्ने कार्यनीति पेस गर्नुभयो । उहाँहरूको भाषामा त्यो भनेको नयाँ जनवादभन्दा अलिकतस तल्तिरको गणतान्त्रिक कार्यक्रम हो र त्यही कार्यनीतिक लक्ष्य हो । अन्तरिम जनवादी सरकार स्थापना गर्नको निम्ति संघर्ष गर्न अहिलेको कार्यनीति हुन्छ भन्ने उहाँहरूको कुरा थियो । त्यसलाई वैधानिक भाषामा राजनीतिक स्वतन्त्रता भनियो । मैले आफ्नै कुरा राखे । तर, एक्लै भएँ । बामदेवको पक्षमा अत्यन्त बहुमत रह्यो । केही साथीहरू तटस्थ बस्नुभयो ।

 

त्यो विषय टुंगिएपछि महासचिवको कुरा उठ्यो । मैले ‘अल्पमतमा परेको अवस्थामा म राजनीतिक कारणले राजिनामा दिन्छु, कमिटीमा बसेरचाहिँ काम गर्छु, तपाईंहरूलाई सहयोग गर्छु । समयक्रममा तपाईहरूको दृष्टिकोण ठीक देखियो भने म आत्माआलोचना गरुला, मेरो दृष्टिकोण ठीक देखियो भने तपार्इंहरू आत्माआलोचना गर्नुहोला’ भने । अनि, मैले राजीनामा लेखेर प्रस्तुत गरेँ । त्यसपछि उहाँहरूले ‘हामीहरू केहीबेर छुट्टै बसेर छलफल गर्छौं,’ भन्नुभयो । म सोझो मान्छे अनुमति दिएँ । आज आएर सोच्छु मैले त्यसरी अनुमति दिनुहुँदैनथ्यो ।

 

किनभने, त्यो पोलिटिकल कुरा थियो । उहाँहरूले एक÷डेढ घन्टा छलफल गर्नुभयो । केही नेताहरूले मप्रति ठूलो पूर्वाग्रह राखेर कुरा गरेको मैले नै सुनेँ । एकजनाले ‘यो सिपीले हामी सबै एक ठाउँमा उभिँदा त आफ्नो कुरा छाड्दैन भने भोलि उसको कुुुरा ठीक भयो भने त हामीलाई मान्छे नै गन्दैन । त्यसकारण यसलाई उठ्नै नसक्ने गरी कारबाही गर्नुपर्छ,’ भन्यो । ती साथीको म अहिले नाम भन्न चाहन्नँ । त्यसमा अरु सबैले समहति जनाए ।

 

पछि झलनाथ खनाल त्यो टिमको प्रवक्ता बनेर आए । डेढ घन्टापछि बैठक सुरु भयो । उहाँले बैठकमा ‘तपार्इंको राजीनामा स्वीकृत गर्न सकिदैनँ, तपाईंलाई महासचिव र केन्द्रीय सदस्यबाट हटाउने गरी कारबाही गरिन्छ,’ भन्नुभयो । त्यसको ६ महिनाजस्तो अगाडि मैले जेलमा भएका साथीहरूलाई पठाएको पत्रलाई आधार बनाइएको रहेछ ।

 

जेलमा रहेका केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायतका साथीहरूलाई पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराउन माधव नेपाल, जिवराज आश्रित, अमृत बोहोरालगायत अरु साथीहरूको अगाडी नै बसेर मैले पत्र लेखेको थिएँ । कार्बन राखेर लेखिएको पत्रको एक कपी मैले तत्कालै माधव नेपाललाई दिएँ, एउटा जेलमा पठाएँ । उहाँहरूले बैठकको दिनसम्म त्यो पत्रको विषयमा ‘यो अनुचित भयो, यि यि कुराहरू धेरै भए’ भनेर मसँग एकपल्ट पनि छलफल गर्नुभएको थिएन । मैले चिठी लुकाएर पनि लेखेको होईन ।

 

बैठकमा उहाँले ‘त्यो चिठी प्रहरीको फेला परेको भए पार्टी ध्वस्त हुन्थ्यो, पार्टीलाई ध्वस्त बनाउने काम गरेकाले तपाईलाई कारवाही हुन्छ’ भन्नुभयो । मैले ‘तैले पानी नधमिल्याएको भएपनि तेरो आमाले धमिल्याएको हुनसक्छ भन्ने खालको बास्रो र स्यालको जस्तो कुरा किन गर्दै हुनुहुन्छ ? म त खुद आफै महासचिव छाडिरहेको छु, यस्तो बहाना बनाएर, कारवाही गरेर किन हटाउन खोज्दै हुनुहुन्छ’ भने । तर, मेरो कुरा सुनिएन, कारवाही नै गरेँ । केन्द्रीय सदस्यबाट पनि निलम्बन गरिएको थियो ।

 

पछि केपी ओलीको आयोगले महासचिवबाट हटाएपनि पोलिटब्यूरो र केन्द्रीय सदस्यबाट हटाउनु ठिक थिएनसम्म भन्यो । तरपनि कारवाही गरेर हटाइएकोबारे त्यो आयोग पनि केही बोलेन । अहिलेसम्म त्यो सुध्रिएको छैन् । एमालेभित्र गुटबन्दीको सुरुवात त्यहीँबाट सुरु भएको हो । तपाईंको पत्रिकामार्फत म सबैमा जानकारी गराउन चाहन्छु कि ०३९ सालमा मलाई हटाइएको होईन, राजीनामा दिएको हुँ । पार्टीभित्रका षडयन्त्रकारीहरूले मलाई सिध्याउने प्रयास गरेका हुन् ।

 

अभियाेग ३ : तत्कालीन एमालेभित्रका संस्थापन समूहका नेताहरूसँग तपाईंको पुरानै हिसाब मिलान गर्नुथियो । त्यसैले बामदेव गौतमलाई उक्साएर पार्टी फुटाउनुभयो । तर, तिनै बामदेवसँग पनि मिल्न सक्नुभएन, छुट्टै गुट सञ्चालन गरेर बस्नुभयो ।

 

मैले पार्टी फुटाउन उक्साए भन्ने आरोप पनि झुठा हो । ०४९ सालमा तत्कालीन एमालेको पाँचौँ महाधिवेशनबाट मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद नामक पुँजीवादी–सुधारवादी सिद्धान्त अथवा माक्र्सवादबाट विचलित सिद्धान्तको आलोचक हुँ । महाधिवेशनमा म अल्पमतमा परेँ । पार्टीभित्र मलाई स्थायी प्रतिपक्षीको रूपमा लिन्थे । छैठौँ महाधिवेशनमा पनि म आफ्नै विचार लैजाने योजनामा थिएँ ।

 

त्यहीबीचमा पार्टीभित्रै जबजलाई मान्ने ठूलो पंक्तिबाटै पनि विरोध भयो । त्यसको अगुवाई बामदेव गौतम, साहना प्रधान, आके मैनालीहरूले गर्नुहुन्थ्यो । पार्टीभित्र विवाद चलिरहेकै वेला घनश्याम भुसालले आफ्नो नेपाल अध्ययन केन्द्र भन्ने संस्थाको कार्यालयमा बामदेव र मलाई बोलाएर मिटिङ गराए । ‘तपार्इं नयाँ जनवादको पक्षधर भए पनि महाकाली सन्धिको विरोध गर्ने, हामी जबज मान्ने भए पनि महाकाली सन्धिको विरोध गर्ने ।

 

सैद्धान्तिक आवरणमा महाकाली सन्धिको विरोध गर्नेहरू बाँडियौँ भने हामी कमजोर हुन्छौँ, मिल्यौँ भने सकभर बहुमत नै पनि हुन सक्छ,’ भन्ने प्रस्ताव राख्नुभयो । बामदेवले ‘म डेमोक्रेटिक मान्छे हुँ, पार्टीभित्र पूर्ण प्रजातान्त्रिक अभ्यास गराउनुपर्छ भन्ने मान्यता राख्छु । महाधिवेशनमा नयाँ जनवादको पक्षको बहुमत भयो भने त्यसलाई मानेर काम गर्नेछु, जबजको पक्षमा बहुमत भयो भने तपाईंले पनि मानेर काम गर्नुहुनेछ । यो प्रजातान्त्रिक मान्यतामा हामी मिलौँ । म कुनै पनि हालतमा जालझेल, गुटबन्दी गर्नेछैन, सत्ताको दुरुपयोग गरेर भिन्न विचार राख्नेहरूलाई पेल्नेछैन,’ भनेर किरिया कसम खाए ।

 

म अलि सोझो, जालझेल, तिगडम, सत्ताको खेल नजान्ने मान्छे । अर्को कुरा महाकाली जस्तो राष्ट्रघाती सन्धिको विरोध गर्नु राम्रो नै थियो । त्यसैले, मैले ठीकै छ नि त नयाँ जनवादको प्रस्ताव ल्याउने छैन भने । जबजलाई पनि नयाँ जनवादको विरुद्ध तिखो नहुने गरी दुवै पक्षलाई पाच्य हुने गरी लेखेर जाने कुरा त्यहाँ भयो ।

 

तर, त्यसपछि पनि बामदेवले गुटबन्दी छाडेनन् । महाधिवेशनमा हामी एकै ठाउँ रह्यौँ । हामीलाई नेतृत्वमा राखिएन । फागुन २१ गते एमाले नेतृत्वले म, बामदेव, साहना, आरके, अशोक राईलगायत ९ जना हिजोका स्थायी समितिका साथीहरूलाई निष्कासन गरेको घोषणा गर्‍यो । त्यसपछि हामीले ०३५ सालको नेकपा मालेलाई ब्युँताउने घोषणा गरेका हौँ । त्यो वेलादेखि नै बामदेवले गुटबन्दी सुरु गरे ।

 

अयोग्य भए पनि आफूनिकट जबजपन्थीहरूलाई ल्याउने, योग्य भए पनि नयाँ जनवाद पक्षधरहरूलाई पन्छाउने काम सुरु गरे । ६ महिनामा सम्मेलन गर्ने भनेकामा ०५४ देखि ०५७ को पुससम्म पनि गरेनन् । मैले पटक–पटक सम्मेलन गरौँ भनेँ । तर, पछि त बामदेवले मलाई पार्टीबाट निष्कासन नै गर्ने अभियान चलाए । उनको अभियानमा उनकै साथीहरूले समेत साथ दिएनन् ।

 

त्यसकारण म बामदेवसँग मिल्न नसकेको होइन, बरु उनले कमिटमेन्टविपरीत काम गरे । घनश्याम भुसालको कार्यालयमा बसेर जुन एग्रिमेन्ट भएको थियो, त्यसलाई उल्लंघन गरेर पेल्दै गए । सिध्याउन खोजे । बल्लबल्ल ०५७ पुसमा सम्मेलन गरे । त्यहाँ पनि पुरानै सहमतिलाई कायम गरेर महाधिवेशनमा जाने अर्को समझदारी बन्यो । त्यसलाई पनि उल्लंघन गरेर बामदेव दलबलसहित एमालेमा प्रवेश गरे ।

 

अभियाेग ४ :  पार्टी जुटाउने भनेर पनि बामदेवलाई उचाल्नुभयो । तर, बामदेव तयार भएपछि आफुले खुद्रा पसलजस्तो सानो पार्टी सम्हाल्नुभयो ।

 

तपाईंले भनेजस्तो मैले एकताका लागि उचालेको होइन । बरु, बामदेवले मलाई पनि ‘जाऊँ’ भनेका थिए । म गइनँ । मैले भने, ‘आ–आफ्नो सिद्धान्तका मान्छे आ–आफ्नातिर लागौँ । भेडा भेडातिर, बाख्रा बाख्रातिर । जबजपन्थीहरू जानुस्, आई डन्ट केयर ।’ एकजना जबजपन्थीलाई पनि बस्नुस् भनेर कर गरिनँ । जो जानुहुन्न, नयाँ जनवाद मान्छ उनीहरूलाई लिएर सुरु गर्छु भन्ने थियो । मेरो सैद्धान्तिक, राजनीतिक लडाइँ थियो ।

 

बामदेव एमालेमा जान लालयित थिए, धेरै कोसिस गरिरहेका थिए । मैले रोकेर पनि राकिने वाला थिएनन् । जबज मान्ने दुईवटा पार्टी त चल्न पनि सक्दैनथे । उनी सैद्धान्तिक रूपमा परिवर्तित हुने पनि थिएनन् । त्यसकारण रोक्ने पहल गर्नु पनि ठीक थिएन । ‘जानुस्, तपार्इंको मत मिल्छ । जो जो जबजपन्थी हुनुहुन्छ सबै जानुस्, एकजनालाई पनि रोक्दिनँ,’ भने । रोकेको भए पनि झन्झटै हुन्थ्यो । गए, राम्रै भयो ।

 

अभियाेग ५  : ०५१ सालमा एमाले नेतृत्वमा बनेको पहिलो कम्युनिस्ट सरकार ९ महिना मात्रै टिके पनि निक्कै लोकप्रिय बन्यो । तर, त्यही सरकारको वरिष्ठ मन्त्री तपाईं भने विवादमा पर्नुभयो, बदनाम हुनुभयो । तपाईं जत्तिको सिनियर नेताले गैरजिम्मेवार ढंगले बोल्दा प्रधानमन्त्री मनमोहन अधिकारीले मन्त्रीबाटै बर्खास्त गरेर कारबाही गर्नुपर्‍यो ।

 

त्यस्तो होइन । म स्थानीय विकास र आपूर्तिमन्त्री थिएँ । लोककृष्ण भट्टराईलाई आयल निगमको अध्यक्ष नियुक्त गरिएको थियो । उनले दरबारलाई, रानीलार्ई मुछेर केही बोलेका थिए । त्यो मैले बोलेको थिइनँ । निगम मेरो मातहत भएकाले नैतिक जिम्मेवारी ममा आउने नै भयो । भट्टराईले त्यसरी बोल्नुहुँदैनथ्यो । भइरहेका भ्रष्टाचार, अनियमिततालाई प्रक्रियागत ढंगले ठीक लगाउँदै जानुपथ्र्यो । म मन्त्री हुँदा चिनी काण्ड भयो । त्यस वेला भारतले सहुलियतमा चिनी दिन्थ्यो, सात/आठ हजार मेट्रिक टन । त्यसमा केही करोड रुपैयाँ बचत हुन्थ्यो ।

 

त्यो पैसा राज्यकोषमा जानुपर्छ भन्ने मेरो मान्यता थियो । पार्टीबाट मलाई त्यो रकम पार्टी कोषमा लैजान दबाब आयो । माधव नेपालले मलाई त्यस्तो दबाब दिएका थिए । मैले त्यो प्रस्ताव मानिनँ । त्यसपछि उल्टै मलाई आरोप लगाइयो, ‘यसले चिनी काण्ड गरेर पैसा खाने काम गर्‍यो ।’ मलाई सिध्याउनै लागेपछि मैले पनि बयान त दिनुपर्‍यो । ‘माधव नेपालले पैसा पार्टीको कोषमा राख्नुपर्छ भनेका थिए, मैले त्यो मानिनँ,’ भनेर भनिदिएँ । मसँग पुरानो रिसइबी थिँदै थियो, त्यसपछि मलाई हटाएका हुन् ।

 

मलाई हटाएपछि एउटा छानबिन आयोग बन्यो । एक लालगेडीको तलमाथि भेटिएन । केही भेटेको भए त मलाई छोड्ने नै थिएनन् नि उनीहरूले । प्रधानमन्त्रीलाई उचालेर मलाई बर्खास्त गर्न लगाउनेहरूले मैले एक लालगेडी तलमाथि गरेको भेटेको भए जेलमै पठाउँथे होलान् । मैले गल्ती गरेको थिइनँ, । वैधानिक ढंगले कमिसन आउँथ्यो, त्यो राज्यकोषमा राख्नुपर्छ भन्ने मेरो मान्यता थियो । मैले त्यहाँ इमान्दारीतापूर्वक काम गर्दा पनि दण्डित हुनुपर्‍यो । त्यो दण्ड दिने मान्छे अहिले पनि पदमा छन् ।

 

अभियाेग ६  : नीति, सिद्धान्त र कार्यकर्ताका लागि भनेर पार्टी फुटाउनुभयो । तर, पार्टीले मौका पाउँदा कि आफू कि पत्नीलाई मन्त्री बनाउनुभयो ।

०६३ सालको आन्दोलनपछि हामी सरकारमा सहभागी भएका हौँ । सुरुमा मैले मन्त्रीमा जगत बोगटीलाई पठाएँ । वाममोर्चाबाट म पनि हुन्थेँ हुँला नि । तर, पालो आउँदा प्रभुनारायण चौधरीलाई पठाएँ । त्यसपछि डम्बर श्रेष्ठ जानुभो, खगेन्द्र प्रसाईं जानुभो, कुमार बेलबासे जानुभो । यी धेरै मन्त्रीहरू भए । धेरै पुरुष पठाएपछि महिलालाई पनि पठाउनुपर्ने कुरा उठ्थ्यो । महिला पठाउने क्रममा मालेमा झापा आन्दोलनदेखि नै क्रियाशील रहेको नेतृ सीता खड्का देखिनुभयो ।

 

उनी रिलेसनमा मेरी पत्नी पनि हुन् । सबैलाई मैले पठाइरहेँ, म त गइनँ नि । मैले नाम लिएका साथीहरू सिनियरिटीका आधारमा मन्त्री हुनुभयो । अनि महिला कहिले न कहिले त पालो आउँथ्यो, आउँदाखेरि सीता खड्कालाई पठाइयो । उतिवेलादेखि निरन्तर लड्दै आएको नाताले उनलाई पठाइएको हो । मैले त्यसलाई गलत भनिनँ, समर्थन गरेँ । मैले त्यो गलत गरेँ कि सही गरेँ जनताले बुझून् ।

 

संविधान जारी भइसकेपछि केपी ओलीको नेतृत्वमा सरकार बन्दा हामीलाई पनि सहभागी गराउने कुरा आयो । मन्त्री मात्रै पाए कोही नजाने, उपप्रधानमन्त्री दिए भने महासचिव जाने भन्ने पार्टीमै छलफल भएको थियो । र, ओलीले त्यो वेला कुन उद्देश्यले हो मालेबाट सिपीलाई उपप्रधानमन्त्री बनाउने भन्ने कुरा ल्याए । मलाई सरकारमा लगेर नीच देखाउने, हेय देखाउने उनको तुच्छ सोच रहेछ । केपीले आफ्ना मान्छेहरूको बीचमा ‘सिपीलाई उपप्रधानमन्त्री बनाउँछु अनि, दिनैपिच्छे भेट्न बोलाएर नमस्ते गर्न लगाउँछु,’ भनेर भन्थे रे । यो कुरा मैले पछि थाहा पाएँ । ओलीको यस्तो तुच्छ विचारले मलाई मन्त्री बनाएका रहेछन् । हाम्रो श्रेय लिएर उनले देशभक्तिको भनेर झन्डा उठाए, अहिले कहाँ पुगेका छन् देख्नुहुन्छ नि ।

 

उपप्रधानमन्त्रीको अफर आएपछि पार्टीले मलाई पठाउने निर्णय गर्‍यो । नत्र म कुनै हालतमा मन्त्रीमा जाने थिइनँ । एमालेमा हुँदा मलाई निष्कासन गरियो । त्यो निष्कासनको दोष हटोस् भन्ने चाहना त थियो, तर मन्त्री भएर जान चाहन्नथेँ । अब मैले ठीक गरेँ कि गरिनँ जनता जनार्दनले नै बुझून् । सबै सुविधा जति मैले आफैले लुँड्याउन खोजे कि, सकेसम्म न्यायोचित ढंगले साथीहरूमा वितरण गर्न खोजेँ ? मैले आफ्नी पत्नीलाई काखी च्यापेर त्यहाँ पठाएको हो कि, परिस्थितिवश उनी जाने दिन आएकाले मैले अनुमोदन गरेँ भन्ने पाठकहरूले नै फैसला गरून् ।

 

अभियाेग ७  : पैसाका लागि जे पनि गर्नुहुन्छ । पहिलो संविधानसभामा उद्योगी राजेन्द्र खेतानलाई ठूलो रकम लिएर सभासद् बनाएको आरोप पार्टीभित्रैबाट तपाईंमाथि लाग्यो ।

झुठो कुरा । त्यति वेला प्रायः सबै दलले व्यापारीहरूलाई सभासद् बनाएका थिए । मालेबाट सभासद् बन्न पनि मैले चिनेका तीन/चारजना उद्योगी साथीहरूले पहल गरेका थिए । पहिलो पहलचाहिँ राजेन्द्र खेतानले नै गरेका थिए । त्यसपछि अरूले पनि गरे । राजेन्द्र खेतानसँग हामीले त्यस्तो अनुचित केही लाभ उठाएनौँ । उनले तलबको एक रुपैयाँ लिन्छु, अरू सबै पार्टीलाई दिन्छु भने । उनले दिए पनि । त्यसलाई हाम्रो पार्टीले स्वीकार गर्‍यो । यदाकदा हामीले चन्दा माग्दा दुई/चार लाख उनले दिएका हुन् । हामीले त्योभन्दा केही लिएका होइनौँ । ‘पछि चुनावमा पार्टीको चुनावखर्चका निम्ति पैसा कलेक्सन गर्न आफ्नो कम्युनिटीबाट मद्दत गरौँला,’ भन्ने उनको कुरा थियो । तर, पछि उनले त्यो पनि गरेनन् ।

 

आफूले चाहेको दुई/चार लाख मात्रै दिए । कांग्रेसले उद्योगपति ल्याउँदा केही नहुने, एमालेले ल्याउँदा केही नहुने, हामीले ल्याउँदाचाहिँ आरोप लाग्ने ? बरु राजेन्द्र खेतानले व्यक्तिगत रूपमा मसँग, मालेसँग झुठो कुरा गरे । उनले चुनावमा सहयोग गरौँला भन्ने जुन कमिटमेन्ट गरेका थिए, त्यसमा उनी खरो उत्रिएनन् । सुरुमा सांसद रहुन्जेल इमानदारीतापूर्वक नै काम गरे, त्यसवेला सानोतिनो रकम हामीलाई सहयोग गरेका पनि हुन् । लाखको आसपासको कुरा हो, म तपाईंलाई ढाँट्दिनँ । तर, पछि कमिटमेन्टमा खरो उत्रिएनन् ।

 

अभियाेग ८  : साँघुरो घेराबाट कहिले माथि उठ्नुहुन्न । हरेक कुरामा सिद्धान्तको लेप लगाउनुहुन्छ, तर व्यवहार उल्टो देखाउनुहुन्छ । कार्यकर्ताहरूलाई विश्वास गर्नुहुन्न । तपाईंसँगै काम गरेका नेता/कार्यकर्ता तपाईंलाई इगो राख्ने, जिद्धी स्वभावको र सानो चित्तको नेता भन्छन् ।

 

मालेमा आएर पदमा जाने, सुविधा लिने, सांसद हुने, प्रमुख सचेतक हुने धेरै छन् । मालेबाट पाउने कुरा सिध्याइसकेपछि अन्य मौकामा पार्टीलाई लात हानेर जाने मान्छेहरूले यस्ता आरोप लगाएका हुन् । पार्टीका साथीहरूले भन्छन्, ‘तपार्इंले कैयौँ मान्छेहरूलाई त्यसै विश्वास गर्नुभयो ।’ जसले पार्टीलाई विश्वासघात गरेर गए उनीहरूले ‘विश्वास गरेन’ भन्दा हुन् ।

 

पार्टीमा आउने कतिपय मान्छेहरूमा मैले कमजोरी देख्थेँ, तर पनि प्रशिक्षणका क्रममा, छलफलका क्रममा, व्यवहारमा जाने क्रममा सुधार्छन् होला भन्ने लाग्थ्यो । सुधार्ने ढंगले कैयौँ मान्छेहरूलाई कम्प्रोमाइज गरेर पनि ल्याइयो । उनीहरूलाई सुधार्न, परिवर्तन गर्न कोसिस पनि गरियो, तर उनीहरू सुध्रिएनन् । सकेसम्म ढाँटेर, बेइमानी गरेर, अगाडि मीठो र पछाडि छुरा हानेर सुविधा जति लिएर पार्टीलाई आवश्यक परेको चुनावको वेलामा धोका दिएर भागे । त्यस्तैहरूको आरोप हो यो ।

 

अभियाेग ९ :  तत्कालीन एमाले र माओवादी मिल्दा मालेलाई पनि एकीकरणमा जानका ठूलो अवसर थियो । चुनावअघि गठबन्धन र एकीकरणका लागि अइन्द्रसुन्दर नेम्वाङको नेतृत्वमा वार्ता टोली खटाउनुभो, तर विश्वास गर्नुभएन । एमालेले त तपाईंलाई जिताउने जिम्मा लिएर सूर्य चिह्नमा चुनाव लड्न बारम्बार आग्रह पनि गर्‍यो, तर तपाईंले ३/४ सिटमा बार्गेनिङ गरिराख्नुभो, अन्तिममा तपाईंकै बार्गेनिङले कुरा मिलेन सांसद बन्ने मात्र होइन, एकीकरणपछि ठूलो पार्टीको वरिष्ठ नेता बन्ने ऐतिहासिक अवसर पनि गुमाउनुभो । वार्ताका लागि पठाइएकाहरू पनि तपाईंलाई छाडेर हिँडे ।

 

अइन्द्रसुन्दर नेम्वाङलाई वार्ता कमिटीमा राखेर गल्ती गरियो । त्यो वेला हामीले पार्टी एकीकरणका निम्ति कार्यदल बनाएकै होइन, सहकार्यका लागि हो । गएका मान्छेहरू सबै पदलोलुप, सत्ता लोलुप । सांसद नभए राजनीति नै गर्न सकिँदैन भन्ने लाछीहरू, स्वार्थीहरू हुन् । चुनावअघि एमाले र माओवादीसँग हाम्रो सहकार्यकै विषय हो, एकीकरणको होइन । र, सहकार्यमा कुरा गर्न पठायौँ । उनीहरूले एमालेमा छिर्ने कुरा लिएर आए, जसलाई हामीले अस्वीकार गर्‍यौँ ।

 

एमालेसँग सैद्धान्तिक र शैलीगत भिन्नता भए पनि कतिपय कुरामा सहकार्य गर्न सकिने हुनाले मैले स्थानीय तहको चुनावमा पनि सहकार्य गर्न खुब कोसिस गरेँ । एमालेले हामीसँग सहकार्य गर्न मानेन । त्यसपछि जब संघ र प्रदेशको चुनाव आयो, असोज ११ गते केपी ओलीकहाँ गएर मैले भनेँ, ‘हामी सहकार्य गरौँ । संघीय संसद्मा पाँच सिट गरौँ, प्रदेशमा दुई/एक गरौँ, ठूलोमा दुई, सानोमा एक । यो हाम्रो प्रस्ताव हो, तपाईं के गर्नुहुन्छ ?’ त्यस दिन उनले सीधै भने, ‘तपाईं पार्टी भंग गरेर आउनुस्, एमालेको नीति, विचार, सिद्धान्त मान्ने गरी आउनुस् ।’ मैले ससर्त त्यसको खण्डन गरेँ । ओलीले ‘दसैँपछि कुरा गरौैँला, पहिले म साथीहरूसँग कुरा गर्छु,’ भने ।

 

त्यसवेला उनी अत्यन्तै डिजेक्टेड मुडमा थिए, एकदम निराश थिए । १८ गते बिहानै म फोन गरेर फेरि ओलीकहाँ गएँ । त्यस दिन उनले ‘ल तपाईं लड्ने हो भने सूर्य चिह्नमा लड्नुपर्छ,’ भने । मैले, ‘त्यस्तो सम्भावना नै छैन,’ भनेँ । चुनावपछि हामी वार्ता गरेर कुरा मिले एकीकरण गर्न सकिने बताए । धेरै कुरा भयो, तर ओलीले अड्डी लिए । ‘पछि कुरा गरौँला’ भनेर टुंग्याए । सात/आठ दिनपछि कुरा गर्न गएँ । ओलीले ‘तपाईं सूर्य चिह्नमा लड्ने कि नलड्ने,’ भनेर कुरा सुरु गरे । मैले भनेँ, ‘सूर्य चिह्नमा अहिले लड्दिनँ ।’ उनले ‘सूर्य चिह्नमा नलडे हुँदैन,’ भने ।

 

अभियाेग १० : नेता–कार्यकर्ताले छाड्दै जाँदा तपाईंको पार्टी ‘एकल परिवार’ जस्तो सानो समूहमा रूपान्तरित हुँदै छ । पार्टी कार्यालयमा पनि नेता–कार्यकर्ता आउँदैनन्, पार्टी कार्यालय होइन कि स्टडी सेन्टरमा रूपान्तरण भएको छ । तर पनि तपार्इं नेकपा मालेको महासचिव भन्ने आत्मरतिमा रमाइरहनुभएको छ ।

म पटक्कै रमाएको छैन । चिन्तित छु । मैले नै त्यत्रो बनाएको पार्टी विश्वासघात गरेर गयो, सिद्धान्त छाडेर गयो । झापा विद्रोहपछि माधव नेपाललगायतका साथीहरूसँग मिलेर अपिल गरियो, ०३२ सालमा कोअर्डिनेसन केन्द्र बनायौँ, ०३५ सालमा नेकपा (माले) बनायौँ, यी सबै वेलामा मेरो लिडिङ रोल छ । अगाडि बढ्दै जाने क्रममा जब कार्यनीतिक भिन्नता आएपछि मैले महासचिवबाट हट्ने स्थिति आयो । म कुण्ठा लिएर निस्किएको होइन ।

 

म एउटा माक्र्सवादी मान्छे, म एउटा देशभक्त मान्छेको हिसाबले मेरो जे कर्तव्य हो त्यो गरिरहेको छु । लडिरहेको छु । त्यसका निम्ति मत मिल्नेहरूलाई संगठन गर्नु आवश्यक हो । र, मत मिल्नेलाई संगठित गर्दा कहिले धेरै हुन्छन्, कहिले थोरै हुन्छन् । अहिले हामीसँग थोरै छन् । यसमा म खुसी मानेर रमाइरहेको होइन, ममाथि झन् ठूलो दायित्व थपिएको ठान्दछु ।

 

अभियाेग ११ : तपार्इंमा परिवारवाद हाबी छ । त्यसका लागि आफू नेतृत्वमा हुँदा कार्यकर्तालाई र नेतृत्वमा नहुँदा पार्टी निर्णयको समेत वास्ता गर्नुहुन्न । ९ महिने सरकारका वेला पार्टी र प्रधानमन्त्री मनमोहन अधिकारीको निर्देशनविपरीत पत्नी सीतालाई आयल निगमको सञ्चालक समिति सदस्य बनाउनुभयो । पहिलो संविधानसभामा कार्यकर्ताको भावनाविपरीत पत्नीलाई सांसद र मन्त्री बनाउनुभयो ।

 

वाहियात कुरा हुन् । मैले पत्नीलाई कुनै अध्यक्ष बनाएको होइन, सामान्य बोर्ड सदस्य बनाएको हुँ । पार्टीले मेरी पत्नी हो भनेर एउटा कार्यकर्तालाई हरेक पटक पन्छाउने, कहीँ पनि ठाउँ दिँदैन भने त मैले के भन्ने ? तर त्यो, मन्त्रिपरिषद्बाट पास भएरै आएको कुरा हो ।

 

हो, मैले त्यसमा अड्डीचाहिँ लिएको हो । ‘कहीँ राख्नूस् न, मैले नै किन राख्नुपर्‍यो ? सीता खड्का जो झापा आन्दोलनदेखि आएकी छिन्, उनलाई कहीँ न कहीँ कुनै न कुनै ठाउँ दिनुस्, मैले त्यसभन्दा बढी खोजेको होइन, त्यसभन्दा पछि आउने जुनियर मान्छेलाई कैयौँ ठाउँमा स्थान दिनुभएको छ, तपाईंले सीतालाई कुनै न कुनै माइनर ठाउँ दिनुस् । मलाई नै ठाउँ दिन किन बाध्य पार्नुहुन्छ ?’ यत्तिचाहिँ मैले भनेकै हुँ । ‘सिपी सँगसँगै किन उसलाई पनि सहिद बनाउन खोजेको ?’ भनेर सोधेँ ।

 

अनि, मालेमा सिनियर महिला उनी नै थिइन्, उनैलाई बनाइयो । मैले के कुतर्क गरेँ ? के अनुचित गरेँ ? आफूहरूले के गरेका छन् पछि हेर्न साथीभाइहरू, तिमीहरूले आफ्नी श्रीमतीलाई कहाँकहाँ लाभको पद दिएका छौ ? मैले त त्यस्तो अनुचित केही गरेको छैन । त्यसकारण यो सिपीविरोधी गिरोहको प्रचार मात्रै हो यो । यदि म त्यस्तै लालसी हुँदो हुँ त दोस्रोपटक पनि त ल्याउँथेँ नि सीता खड्कालाई । मैले ल्याइनँ नि ।

 

अभियाेग १२ : पहिलो संविधानसभामा पहिलोपटक निर्वाचनमा आएको माओवादी र तपाईंको पार्टीको चुनाव चिह्न मिल्दोजुल्दो थियो । परिणामपछि चुनाव चिह्न झुक्किएर तपाईंको पार्टीको धेरै सिट आएको धेरैको अनुमान थियो । तर, तपार्इंले ‘आफ्ना भोट माओवादीलाई जाँदा माओवादीले धेरै सिट ल्याएको’ भन्नुभयो । तर, कसैले पत्याएनन् ।

 

 

माओवादीका मान्छेहरू पनि कति संकीर्ण हुन्छन् ? चुनाव चिह्न झुक्किन सक्छ नि । हाम्रो पनि झुक्किए होलान्, उनीहरूका पनि झुक्किए होलान् । मैले जानीजानी झुक्याउनलाई त्यो चिह्न राखेको होइन नि । किन उहाँहरूले पार्टीको झन्डाको चिह्न नै किन राख्नुपर्‍यो ? नैतिकता भएको मान्छे हो भने यस्तो गर्छ ? जबकि कम्युनिस्ट जति सबैको चिह्न हँसिया हथौडा हो । माओवादीले त्यसैलाई चुनाव चिह्न राख्न मिल्छ ? प्रचण्डमा नैतिकता हुन्थ्यो भने त्यो मिल्दैनथ्यो । उनी आफैँले स्ट्यान्ड लिनुपर्ने हो यो मुद्दामा । अरू कुनै लेऊ, चन्द्र लेऊ, तारा लेऊ, ध्रुवतारा लेऊ, केही अरू लेऊ न त । त्यसकारण मैले भनेको साँच्चै हो । होलान्, कतिपयले झुक्किएर हामीलाई पनि हाले होलान्, हाम्राको पनि झुक्किएर उता गयो होला ।

 

पछिल्लो चुनावमा माओवादीकै कारणले, वैद्यहरूकै कारणले हामीले कम मत ल्यायौँ । ०७० सालको चुनावमा मैले अन्तिम दमसम्म वैद्यजीहरूलाई पनि चुनावमा ल्याऔँ, दुई–चार दिन सारेर आउनुहुन्छ भने सारौँ भनेर अन्तिम दमसम्म मैले लडेको हुँ । सर्वदलीय मिटिङमा ‘किन तपाईं वैद्यभन्दा पनि बढी अड्डी कसेर यो कुरा भन्नुहुन्छ’ भनेर अरू पार्टीका साथीहरूले भने ।

 

हाम्रो चुनावी तयारी पनि परिपक्व भएन । धेरैलाई त मालेले त माओवादीसँगै चुनाव बहिष्कार गर्छ भन्ने परेछ । मालेलाई भोट दिने कुरा उनीहरूले बिर्सिए । तर, हामी चुनावमा गएपछि माओवादीहरूले हामीलाई भोट दिएनन् । वैद्यहरूले पैसा लिएर माओवादी केन्द्रलाई होइन, एमाले र कांग्रेसलाई भोट हाले ।

 

म अनैतिक कि वैद्यजीहरू अनैतिक ? बैगुनीलाई गुन गर्नु हुँदो रहेनछ । वैद्यजीहरू वैगुनी मान्छे । उहाँहरूको भलाइकै निम्ति अन्तिमसम्म लडेको थिएँ । हामीलाई चुनावमा सहयोग गरेनन्, मालेले गद्दारी गर्‍यो भनेर उल्टै वैद्यहरूले आरोप लगाए । मैले वैद्यलाई साथ दिन्छु भनेर कहाँ भनेको थिएँ ? मैले चुनाव बहिष्कार गर्छु कहाँ भनेको थिएँ ? हामी त हाम्रो स्ट्यान्डमा थियौँ । राजनीतिक नैतिकता कहीँ छ ? सिपी मैनाली बरु नैतिकतामा उभिएको मान्छे हो ।नयाँपत्रिकाबाट

खगेन्द्र पन्त

 

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल