वृद्धभत्ता बढाउन ‘पूरक बजेट’ आउने, मासिक चार हजार दिने सरकारको तयारी



हाम्रो इकोनोमि

 

ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने सोच बनाएको नेकपाका शीर्षनेताले संकेत गरेका छन् ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न नसकेपछि बा–आमाहरुले सराप्न थालेको नेकपाका एक शीर्षनेताले बताए ।

पूरक बजेट ल्याएर हुन्छ या अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन हुनैपर्ने नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् ।

 

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै निवासमा मंगलबार भेला भएका पत्रकारहरुसँग भने– ‘जनतामा हिजो हामीले गरेको प्रतिवद्धता (बजेटमा) आएन भनेर देखिएको हुनाले कहीँ न कहीँ सम्बोधन गर्न सरकारले प्रयास त गर्नुपर्छ, जताबाट गरे पनि । त्यो पूरक बजेटबाट गर्न सजिलो हुन्छ भने पूरक बजेटबाट र अरु कुनै तरिकाबाट हुन्छ भने अरु तरिकाले ।’

 

बूढाबूढी हुँदै गएपछि थोरैको पनि असाध्यै माया हुनेरहेछ भन्दै प्रचण्डले घरमा राम्रै आम्दानी र सम्पत्ति भए पनि सरकारले दिने भनेको दुई/तीन हजार रुपैयाँप्रति असाध्यै धेरै मोह देखिने गरेको बताए ।  सरकारले मासिक चार हजार दिने तयारी गरेको स्रोतको दाबी छ ।

 

सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको बताउँदै प्रचण्डले अगाडि भने– ‘पाँच सय रुपैयाँमात्रै थपिदिन पाएको भए र पाँच वर्षमा ५ हजार पुर्‍याइदिन्छौं भन्न पाएको भए अहिले हाईहाई भइराख्थ्यो, त्यत्ति पनि भएन ।’

 

‘राज्यलाई कर त तिर्नुपर्छ’

नेकपा अध्यक्ष प्रचण्डले जनतामा कर तिर्ने संस्कार बसाउनुपर्ने बताए । उनले भने– ‘शिक्षा पनि निःशुल्क हुनुपर्‍याे, स्वास्थ्य पनि निःशुल्क हुनुपर्‍याे । बाटो पनि बन्नुपर्‍याे । तर, करचाहिँ मैले नतिर्न पाउनुपर्‍याे भन्ने जनताको तहमा भएको यो संस्कारगत कमजोरीलाई पनि हामीले शिक्षित त गर्नैपर्छ ।’

 

विकास र सामाजिक न्यायका लागि कर तिर्ने संस्कार आवश्यक रहेको प्रचण्डको भनाइ छ । ‘कर अलि बढी नै भयो भन्ने आएको छ, गाईजात्राहरु हेर्दा पनि त्यही करको कुरालाई देखाइएको छ । केही ठाउँमा त त्यस्तो भएको होला,’ प्रचण्डले भने, ‘तर कर तिर्नुपर्छ भन्ने बानी बसाउनु पनि आवश्यक छ ।

 

साँच्चै नै विकासलाई गति दिने हो भने जनताको तहमा प्रगतिशील कर प्रणाली बनाउनुपर्ने प्रचण्डको सुझाव छ । उनी भन्छन्– ‘कर नीति धनीलाई छुट दिने, गरीबलाई कस्नेखालको त हुन भएन, विकास र सामाजिक न्यायको निम्ति कर नीति प्रगतिशीलै हुनुपर्छ । तर, कर तिर्ने थिति त बसाउनैपर्छ । हरेकले कर तिर्नुपर्छ ।’

 

नीति र कानून सही बनाउने अनि लगानी र सुरक्षाको वातावरण बनाइदिने राज्यको दायित्व भएको बताउँदै प्रचण्ड भन्छन्, ‘तर, कर तिर्ने, राज्यलाई नछल्ने, जनतालाई नठग्ने दायित्व व्यवसायीको पनि त हो ।

 

विकसित देशका जनताले खुशीसाथ कर तिर्ने गरेको बताउँदै प्रचण्डले भने– ‘अरु देशमा हेर्‍याे भने त यति धेरै कर छ कि सिंगापुरमा, मलेसियामा, युरोपका देशहरुमा, अमेरिकामै गएर हेर्‍याे भने मान्छेले खुशीसित कर तिर्छन् ।’

 

कर तिर्दातिर्दा विकास धेरैपछि कतिपय देशमा सरकारले बिजुली इत्यादिको कर तिर्नु नपर्ने बनाइदिएको प्रचण्डले सुनाए । उनले भने–‘भोलि हामीले पनि त्यो परिस्थिति बनाउनुपर्छ । तर, अहिले त विकास निर्माणलाई अगाडि लैजानका लागि कर त तिर्नुपर्छ है भन्ने पाटोलाई पनि चर्चा गर्न जरुरी छ ।’

अहिले नेपाली समाजमा सामाजिक विचलन देखा परिरहेको र सिंगै सोसाइटी नै तल गिर्ने स्थिति आउन लागेको प्रचण्डको विश्लेषण छ ।

 

उनी भन्छन्– ‘सरकार भनेको त पाँच वर्ष पछाडि अर्को आउला । तर, सोसाइटी नै तल गिर्‍याे भनेदेखि उठाउन धेरै गाह्रो हुन्छ । यो पक्षतिर पत्रकार, बुद्धिजीवी र नागरिकहरुको ध्यान रहनुपर्‍याे भन्ने मेरो अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...