​महाधिवेशनपछिको अध्यक्षका लागि नेकपामा चार नेताको भिडण्त सुरु, कस्को छ पल्ला भारी



दुई वर्षभित्र  पार्टी महाधिवेशन गरी नयाँ अध्यक्ष छान्ने र सोही समयतिर नयाँ प्रधानमन्त्री पनि चयन गर्ने गरी नेकपाभित्र तानातान शुरु भएको छ । यसका लागि अहिले प्रदेश, जिल्ला, भातृ संगठनलगायत तल्ला कमिटीहरुमा आफ्नो पकड बलियो बनाउन नेताहरु लाग्न थालेका छन् ।

नेकपाको पारित विधानअनुसार दुई वर्षभित्र पार्टी महाधिवेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । पार्टी महाधिवेशनले पार्टीको आगामी कार्यदिशा, विचार, सिद्धान्त, राजनीति, कार्यनीति, रणनीति, कार्यक्रम आदि तय गर्ने गर्दछ ।

 

तर नेकपाका नेताहरुको ध्यान नीतिमा नभएर नेताको कुर्सीहरुमा केन्द्रित  हुन थालेको छ । महाधिवेशनबाट केन्द्रीय सदस्यहरु तथा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतका पदाधिकारीहरु चयन हुने गर्दछ र उनीहरुले अर्को पाँच वर्ष पार्टी चलाउने गर्दछन् ।

 

नेकपामा अहिले सबै नेताहरु त्यसको तयारीमा केन्द्रित हुन थालेका छन् ।
जेठ ३ गते  पार्टी एकता भएपछि केन्द्रीय समिति, स्थायी समिति र सचिवालय  मात्रै बन्न सकेको छ । प्रदेश, जिल्ला र भातृ संगठनहरुको एकीकरण अझै पनि भएको छैन  । कार्यदलहरुले दुवै पूर्व समूहबाट विभिन्न सिफारिशहरु गरेको छ ।

 

केही ठाउँमा बाँकी छ । तर, स्थायी समितिको बैठक विविध कारणले सरेको हुँदा निर्णय हुन सकेको छैन ।
सबै नेताहरु चुनिएरै महाधिवेशनमा आउनुपर्ने हुँदा अहिले तलका कमिटीहरुमा पकड जमाउन नेताहरुले ठूलै कसरत गर्न थालेको बताइन्छ ।

 

पार्टीका प्रदेश, जिल्ला, भातृ संगठनलगायत तल्ला कमिटीहरुमा आफ्नो पकड बलियो बनाउन नेताहरु लाग्न थालेकोले अहिले विवाद चर्कन थालेको एक स्थायी समिति सदस्यले दृष्टिलाई बताए । माधव नेपाल पक्षले ५ नम्बर प्रदेशमा आफ्नो समूहकालाई कत्लेआम गरी कहीँ पनि प्रमुख पदहरुमा नल्याएको प्रचार तीव्र पारेको छ । प्रम ओली निकट एक स्थायी समिति सदस्यले त्यस्तो कत्लेआम गर्ने नियत कसैको पनि नभएको र केही ठाउँमा सबै पक्षलाई समेट्न त्रूटि भएको हुनसक्ने बताए ।

 

अहिले कार्यदलहरुले केवल सिफारिश मात्रै गरेको र स्थायी समितिले निर्णय गर्ने बेलामा सबै पक्षलाई समेटेरै गर्ने उनले बताए ।
नेकपाका एक केन्द्रीय सदस्यले बताएअनुसार अध्यक्षका दाबेदार अहिलेसम्म ओली, प्रचण्ड, माधव नेपाल र वामदेव गौतम गरी चार जना छन् । झलनाथ खनालले पुनःअध्यक्ष बन्ने दाबी खुल्लारुपमा गरेका छैनन् । ईश्वर पोखरेल, घनश्याम भुसालहरुले सिधै अध्यक्षमा उम्मेदवारी दिन्छन् वा किङमेकरकै रुपमा रहन्छन् अझै स्पष्ट छैन ।

 

उता पूर्व माओवादी समूहमा बादल वा नारायणकाजीहरुले सिधै अध्यक्ष दाबी गर्ने स्थिति छैन भनिन्छ ।
ती केन्द्रीय सदस्यका अनुसार महाधिवेशनसम्ममा विविधखाले समीकरण बन्न सक्नेछ । पहिलो समीकरण, ओली र प्रचण्ड नै पार्टीका दुई अध्यक्ष प्रणालीमा अहिलेजस्तै रहने र तीन वर्षपछि प्रधानमन्त्री पद प्रचण्डलाई दिने । माधव नेपाल, वामदेव,  बादल, ईश्वर पोखरेल, नारायणकाजी, घनश्याम भुसाल आदि सबैलाई सन्तुलित भूमिका दिई सर्वसम्मत नेतृत्व चयन गर्ने ।

 

दोस्रो समीकरण, ओली ५ वर्षको लागि प्रधानमन्त्री र पार्टीमा वरिष्ठ नेता बन्ने, प्रचण्ड र माधव नेपाल दुवै अहिलेजस्तै पार्टी अध्यक्ष बन्ने ।
तेस्रो समीकरण, ओली र प्रचण्डबीच फाटो आएमा पूर्व एमाले एक भएर ओली वा माधव नेपाललाई अध्यक्ष बनाउने वा पूर्व एमालेको कुनै समूह प्रचण्डसँग मिलेर प्रचण्डलाई अध्यक्ष बनाउने सम्भावना ।

 

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार, आगामी महाधिवेशन पहिला एमालेमा हुने गरेजस्तै चुनावको विधिबाट नभई आपसी सहमतिमा गर्ने भन्ने टुंगो लागिसकेको छ र यो विधानमा पनि उल्लेख छ । उनका अनुसार सबभन्दा राम्रो यो नै हो । तर चुनावै नहोला भन्न पनि सकिन्न । उनका अनुसार अहिले प्रम ओलीले धेरैलाई असन्तुष्ट बनाएकाले त्यो बेला समीकरण बदलिने सम्भावनालाई पूरै इन्कार गर्न सकिन्न ।
प्रचण्डको भने जसरी भए पनि एकीकृत नेकपाको अध्यक्ष र देशको प्रधानमन्त्री एक पटक बनेरै छाड्ने लक्ष्य रहेको बताइन्छ । यसका लागि उनी पूर्व एमालेका कुनै पनि समूहहरुलाई चिढ्याउने पक्षमा रहेका छैनन् ।

 

सके सर्वसम्मत अध्यक्ष बन्ने, नभएमा जुन समूहले आफूलाई अध्यक्ष बन्न सहयोग गर्दछ, उसैसित मिलेर अध्यक्ष बन्ने रणनीति प्रचण्डको रहेको बताइन्छ ।
पूर्व माओवादीका एक केन्द्रीय सदस्यका अनुसार अहिले जस्तै ओली र प्रचण्ड पार्टीको अध्यक्ष रहने तथा तीन वर्षपछि प्रचण्ड प्रधानमन्त्री भएर ५ वर्षपछिको चुनाव गराउने समीकरणमा प्रचण्डले आफूलाई अलि बढी सुरक्षित  ठानेका छन् ।

 

तर, महाधिवेशन नजिकिँदै जाँदा परिस्थिति परिवर्तन हुनसक्ने तर्फ पनि उनी सचेत रहेको बताइन्छ ।
अहिले प्रदेशदेखि तलका कमिटीहरुको एकतामा पार्टीका प्रमुख पदहरु र कमिटी सदस्यहरुमा पूर्व माओवादी पक्षको ३५  देखि ४५ प्रतिशतसम्म परेको छ । कहीँ कहीँ माओवादी पक्षको ५५ प्रतिशतसम्म पनि सिफारिश भएको छ । पूर्व माओवादी पक्षका एक स्थायी समिति सदस्यका अनुसार पूर्व माओवादी पक्ष आगामी महाधिवेशनमा एक ढिक्का नै रहने निश्चित छैन ।

 

बादल, नारायणकाजी, मणि, मातृका, देवेन्द्र पौडेल, लेखराज भट्ट, महरा, वर्षमान, जनार्दनहरुका साना ठूला समूहहरु त्यहाँ पनि रहेको बताइन्छ । पूर्व एमाले र पूर्व माओवादीका विभिन्न समूह तथा उपसमूहहरुसहित हुने आगामी महाविधेशनमा गुट उपगुटहरुको नयाँ नयाँ समीकरण बन्ने सम्भावना रहेको ती स्थायी समिति सदस्यले बताए ।
स्थायी समिति बैठक असोजमा मात्रै हुने सम्भावना रहेको छ ।

 

प्रचण्ड यसबीचमा भारत जाने पक्का भएको छ भने फर्केलगत्तै चीन जाने सम्भावना पनि रहेको छ । यसबीचमा नारायणकाजी पनि चीन जाँदैछन् । अब बस्ने स्थायी समिति बैठकमा आगामी महाधिवेशनका लागि आ–आफ्नो आधार तयार पार्न तलका समितिहरुमा आफ्ना मानिसहरु राख्न तानातान तीव्ररुपमा हुने भएको छ ।

 

सरकारको काम कारवाहीका बारेमा पनि छलफल हुुनुपर्ने माग स्थायी समिति सदस्यहरुको रहेको छ । आगामी स्थायी समिति बैठक राम्रो तयारी गरेरै मात्र बस्ने स्थिति हुनाले अझ ढिला हुने हो कि भन्ने आशंका गरिएको छ । यसपछि संगठित सदस्यता संख्या टुंग्याउने र महाधिवेशन प्रतिनिधिहरुको तयारी गर्ने काम पनि तनावपूर्ण अन्तरसंघर्षको विषय हुने बताइन्छ ।दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्