सबै नागरिकलाई निःशुल्क खानेपानी दिने मन्त्री मगरको यस्तो छ योजना, अबदेखि पानीको पैसा तिर्नू नपर्ने



 

खानेपानी मन्त्री बीना मगरले खानेपानीमा सबै नागरिकलाई निःशुल्क व्यवस्था हुने बताउनुभएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी गुणस्तर सुधार आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री मगरले नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताउनुभएको हो ।

स्वच्छ र सफा पानी पिउन पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्दै प्रदेश र स्थानीय सरकारसँग हातेमालो गरी यस क्षेत्रका खानेपानी समस्या समाधान गरिने मन्त्री मगरले बताउनुभयो ।

उहाँले सबै नागरिकलाई स्वच्छ खानेपानी पु¥याउन सरकारले प्राथमिकता दिएर बजेट छुट्याएको बताउनुभयो । मन्त्री मगरले सरकारले निःशुल्क खानेपानीमा सबै नागरिकको पहँुच पु¥याउने योजना बनाएको जानकारी दिनुभयो ।

नेकपाका एकीकरण : कतै सर्वसम्मत, कतै विवाद

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश एकीकरण कार्यदलले तीनवटा प्रदेश अध्यक्ष र सचिवको नाम केन्द्रीय सचिवालयमा सिफारिस गरेको छ । प्रदेश ७ कार्यदलले सर्वसम्मत तथा १ र ५ ले सम्भावितको नाम सिफारिस गरेका छन् । प्रदेश ७ को अध्यक्षमा पूर्वएमालेबाट कर्णबहादुर थापा र सचिवमा पूर्वमाओवादीबाट लक्ष्मीदत्त जोशीको नाम सिफारिस भएको छ ।

 

प्रदेश १ बाट अध्यक्षमा घनेन्द्र बस्नेत र देवराज घिमिरे तथा सचिवमा सावित्रीकुमार काफ्लेको नाम सिफारिस गरिएको कार्यदल सदस्यसमेत रहेका नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले बताए । बस्नेत र घिमिरे अध्यक्ष केपी ओलीनिकट हुन् । काफ्ले तत्कालीन माओवादीमा रामबहादुर थापा समूहबाट एकीकरणमा आएका हुन् ।

 

प्रदेश ५ बाट अध्यक्षमा पूर्वएमालेबाट दलबहादुर राना र पूर्वमाओवादीबाट गणेशमान पुनको नाम कार्यदलले सिफारिस गरेको छ । पूर्वएमालेबाट प्रदेश अध्यक्षमा अहिलेसम्म सिफारिस सबै संस्थापन पक्षका हुन् । प्रदेश ५ मा पूर्वमाओवादीबाट अध्यक्षमा सिफारिस पुन प्रचण्डनिकट मानिन्छन् । प्रदेश १ र ७ मा पूर्वमाओवादीबाट सचिवमा सिफारिस नेताहरू भने रामबहादुर थापानिकट मानिन्छन् ।

 

प्रदेश १ मा असन्तुष्टि
कार्यदलले प्रदेश १ को अध्यक्ष र सचिव परामर्शविना नै सिफारिस गरेको आरोप सिफारिसमा नपरेका दाबेदारहरूले लगाएका छन् । अध्यक्षमा पूर्वएमालेबाट जगन्नाथ खतिवडा, नरेश खरेल, देवराज घिमिरे र घनेन्द्र बस्नेतले आकांक्षा देखाएका थिए । खतिवडा र खरेलले आफूहरूसँग छलफल नगरी सिफारिस गरिएको भन्दै आपत्ति जनाएका छन् ।

 

‘मैले एकीकरण कार्यदलका सदस्यहरूलाई अध्यक्षको दाबेदार छु भन्ने प्रस्ट जानकारी गराएको थिएँ । तर, उहाँहरूले पूर्वएमालेको पोलिटब्युरो सदस्य र वर्तमान केन्द्रीय सदस्यको हैसियतमा प्रदेशका सदस्यहरू मनोनीत गर्ने, अध्यक्ष र सचिवको नाम सिफारिस गर्ने विषयमा कुनै छलफल नै गर्नुभएन,’ दाबेदार खतिवडाले भने । खतिवडा वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन् । मापदण्डका आधारमा चयन हुँदा उनी नै अध्यक्ष बन्ने नेपाल पक्षको बुझाइ छ ।

 

प्रदेश अध्यक्षमा ४/३ को बाँडफाँड
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश अध्यक्षमा ४/३ को बाँडफाँड गर्नेगरी छलफल चलिरहेको छ । जसअनुसार पूर्वएमालेले प्रदेश १, ३, ६ र ७ तथा पूर्वमाओवादीले २, ४ र ५ लिने गरी छलफल चलिरहे पनि केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पर धकेलिएका कारण औपचारिक छलफल हुन सकेको छैन । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष लिँदा अर्को पक्षले सचिव लिने गरी सहमति भइसकेकाले पनि केन्द्रीय सचिवालय र स्थायी समितिले नै अन्तिम टुंगो लगाउनेछ ।

 

मापदण्डबाटै एकीकरण टुंग्याउनुपर्ने साझा मत छ 
नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा
मापदण्ड बनाएरै देखिएका विवादमा समाधान खोजिनुपर्छ । त्यसो गरिएन भने पार्टीभित्र देखापर्ने असन्तुष्टिले समस्या खडा गर्छ भन्नेमा हाम्रो साझा मत छ । तर, हामीले अहिलेसम्म एकीकरण कार्यदलले बुझाएको सिफारिसमा प्रवेश गरेर छलफल थालेका छैनौँ । दुई अध्यक्षले ८ र ९ भदौमा सिफारिस अध्ययन गरिसकेपछि १० र ११ मा सचिवालय बैठक बस्ने भन्ने थियो, तर व्यस्तताका कारण छलफल भएन । हामी मापदण्डबाटै एकीकरण छिटो टुंगोमा पु¥याउनुपर्छ भन्ने पक्षमा छौँ ।

 

प्रदेश ३ र ४ मा नेतृत्वका दाबेदार धेरै
प्रदेश ३ र ४ एकीकरण कार्यदलले भने प्रदेश कमिटीमा रहने व्यक्तिहरूको नाम मात्रै सिफारिस गरेका छन् । प्रदेश ३ को अध्यक्ष र सचिवमा अन्य प्रदेशको तुलनामा धेरै दाबेदार छन् । अहिलेसम्म पूर्वएमालेबाट पशुपति चौलागाईं, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, शेरबहादुर तामाङले अध्यक्षमा दाबी गरेका छन् ।

अधिकारी र पोखरेल अध्यक्ष ओलीनिकट तथा चौलागाईं र तामाङ नेपालनिकट हुन् । पूर्वमाओवादीबाट नारायण दाहालले दाबी गरेका छन् । दाहाल प्रचण्डनिकट हुन् । प्रदेश ४ को अध्यक्षमा पूर्वएमालेबाट खगराज अधिकारी, तुलबहादुर गुरुङ तथा पूर्वमाओवादीबाट हरि अधिकारी र हितराज पाण्डेले दाबी गरेका छन् ।

 

प्रदेश २ मा जिल्ला भागबन्डामै लफडा

प्रदेश २ मा २१५ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीबाट १००/१०० राखेर १५ सदस्य पछि मनोनीत गर्ने सहमति भए पनि जिल्ला भागबन्डा अझै मिल्न सकेको छैन । आठ जिल्लामध्ये पूर्वएमालेले पाँच जिल्लाको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ भने पूर्वमाओवादी ४–४ जिल्ला बाँड्नुपर्ने अडानमा छ । पूर्वएमालेले सर्लाही, धनुषा, बारा, पर्सा र सप्तरीको नेतृत्व दाबी गरेको छ ।

 

पूर्वमाओवादीले महोत्तरी, रौतहट र सिरहाका अलवा सप्तरी या बारामध्ये एक जिल्लाको नेतृत्व पाउनुपर्ने अडान राखेको छ । बाँडफाँड नमिलेका कारण एकीकरण कार्यदलले अझै नाम सिफारिस गरेको छैन । कार्यदल सदस्य सत्यनारायण मण्डलले जिल्ला नेतृत्व बाँडफाँड टुंगो लाग्नेबित्तिकै केन्द्रीय सचिवालयमा सिफारिस गरिने बताए ।

 

प्रदेश २ को अध्यक्षमा पूर्वएमालेबाट नागेन्द्र चौधरी र शत्रुधन महतो तथा पूर्वमाओवादीबाट प्रभु साह र विश्वनाथ साहले दाबी गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहले जनमोर्चा पृष्ठभूमिका विश्वनाथ साहलाई अध्यक्ष बनाउन लबिङ गरिरहेको छ । प्रदेश ६ मा पूर्वएमालेबाट यामलाल कँडेल र पूर्वमाओवादीबाट मायाप्रसाद शर्माले अध्यक्ष दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्