पोद्दारले प्रहरीका उच्च अधिकृत र दीपक मलहोत्राको नाम पोलेपछि सुन तस्करी काण्ड भयो गुपचुप



 

गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित ३३ किलो सुन छानबिन समितिले एसएसपी दिवेश लोहनीसहितका प्रहरी अधिकृत र केही ब्यापारीलाई पक्राउ गर्नेबाहेक कुनै उल्लेख्य काम नगरी बिदा भइसकेको छ । समितिले पक्राउ गरेका ठूला र चर्चित ब्यापारीमा दीपक मल्होत्राका ब्यापारिक साझेदार विमल पोद्दार हुन् ।

 

पोद्दारलाई पक्राउ गरिसकेपछि छानबिन समिति सुन प्रकरणको छानबिनमा गहिराईमा पुगेको अनुमान धेरैले गरेका थिए । तर पोद्दारले समितिलाई दिएको बयानका क्रममा दीपक मल्होत्रालगायतका अधिकारी पक्राउ नपरेपछि समिति नाममात्रको सावित हुनपुग्यो ।

 

पोद्दारले मल्होत्राले अवैध सुनको कारोबारमात्र होइन, हुन्डी समेत गर्ने गरेको रहस्य खोलिदिएका छन् । डा. डेविट भन्ने छिरिङ वाङ्दा गुरुङले बिमल पोद्दारलाई तस्करीको सुन बिक्री गर्ने गरेको बयानका आधारमा उनलाई पक्राउ गरी उनी थुनामा छन् । पोद्दारले छिरिङबाट अवैधरुपमा ल्याएको सुन खरिद गरेको समितिको बयानमा पनि सकारेका छन् ।

 

प्रहरीका उच्च अधिकारीसंग सांठगाँठ 

गुरुङको बयानपछि पक्राउ परेका पोद्दारले अर्थमन्त्रालयका पूर्व सहसचिव भरतराज सुुवेदी, सिमेन्ट र छडलगायतको ब्यापार गर्ने बिष्णु न्यौपानेका साझेदार मुकुन्द तिमिल्सिना, बहालवाला प्रहरीका उच्च अधिकारी हरि पाल, पूर्व प्रहरी आइजीपी हेमन्त पाल, वीरेन्द्रबाबु श्रेष्ठको समेत नाम लिएको स्रोतको दावी छ । र, उनको बयानका आधारमा अर्थका उच्च कर्मचारी, प्रहरी अधिकारीदेखि नेतासमेत समेत तानिने भएपछि अधकल्चो छानबिन गरी समिति विघटन भइसकेको छ ।

 

  बिमल पोद्दारद्वारा बयान फेरबदल 

बिमल पोद्दारले समितिमा मल्होत्राको विरुद्ध बयान दिए पनि पछि मोरङ जिल्ला अदालतका सरकारी वकिल पुण्य पाठकसमक्ष बयान दिने क्रममा आफूले अहिलेसम्म जम्मा ४ किलोमात्र सुन बिक्री गरेको बताएका छन् । जबकि छिरिङ वाङ्दा गुरुङसंग पोद्दारले २२–२३ पटक गरी २ किलोका दरले अवैध सुन किनेर जनकपुरका दीपेन्द्र साहलाई बिक्री गर्ने गरेको कुरा समितिले लिएको बयानमा भनेका छन् ।

 

दीपेन्द्र साहका आफन्तलाई समेत अवैध सुन बिक्री गरेको उनले बयानमा भनेका छन् । मल्होत्राले समितिमा आफ्नोविरुद्ध पोद्दारले दिएको बयान सबै फेर्न लगाएका छन् । मल्होत्रा पोद्दार पक्राउ परेदेखि नै भयभीत थिए ।

पोद्दारले मल्होत्राले अवैध सुनको कारोबार गर्ने गरेको बयान दिए  पनि उनको माथिल्लो तहसम्म पहुँच भएकाले उनी जोगिन सफल भए । पछि सरकारका उच्च अधिकारीदेखि प्रहरीका अधिकारीसमेत मुृछिने भएपछि सुन तस्करी छानबिन नै फिक्का हुन पुगेको छ ।

  सुन तस्करीका ठूला माछा उम्किए

सुन तस्करीका ठूला माछा उम्किएका छन् । र, एसएसपी दिवेश लोहनी लगायतका अधिकारी र बाटाबाट टिपेर लगिएका महावीर गोल्यान जस्ताहरु मात्र जेलमा पुर्पपक्षका लागि थुनामा छन् । गृहमन्त्री रामबहादुर थापाले सुन छानबिन समिति गठन गरी जुन प्रशंसा बटुलेका थिए,  सुन तस्करीका ठूला माछालाई पक्राउ गर्न नसकेपछि उनी पनि आलोचनाको पात्र बनेका छन् ।

 

सुन तस्करीका लागि हुन्डीमार्फत् करोडौं अर्बौं विदेशी मुद्रा विदेशिने गरेको खुलेको छ, जुन देशका लागि घातक हो । सुन तस्करीका लागि विदेशी मुद्रा हुन्डीमार्फत् विदेश लाने मुहान नसुकाई भरियालाई मात्र पक्राउ गरी थुनामा राखेर सरकारले पुरुषार्थ देखाउनुको कुनै तुक नभएको जानकारहरु बताउँछन् ।

 

व्यापार व्यवसायमा प्रवेश 

विमल पोद्दारले सुन छानबिन समितिलाई दिएको बयान साँघुलाई प्राप्त भएको छ । पोद्दारले बयानमा आफू ४८ बर्षदेखि नेपालमा बसोबास गरेको बताएका छन् । पोद्दारले आफ्ना बाबु राजेन्द्रप्रसाद र घर भारतको जयपुर राजस्थान रामगणमा रहेको बताएका छन् । उनले कक्षा १ देखि बीकमसम्मको अध्ययन नेपालमै गरेको बताएका छन् । उनले ब्यापार पेशा अंगालेको र २०७१ देखि सिल्भर सिटी अपार्टमेन्ट र द एड्रेस रेष्टुरेन्ट संचालन गर्दैैआएको छु ।

 

दीपक मल्होत्रासंग ब्यापारिक् साझेदारी 

दीपक मल्होत्रा, राजकुमार लोहिया र आफूले पार्टनरसिपमा कालिकास्थानमा पूर्वप्रधानसेनापति प्याराजंग थापासहितको जग्गा प्रतिआना ११ लाखमा किनी सिल्भर भ्याली डेभलपर प्रालि नामक कम्पनी दर्ता गरी सिल्भरसिटी अपार्टमेन्ट निर्माण गरेको बताएका छन् । उनले भारतको दिल्लीबाट आधारकार्ड बनाएको र भारतीय राजदूताबासबाट पासपोर्ट बनाएको उल्लेख गरेका छन् ।

 

मल्होत्रा र लोहियासंग मिलेर तनहुँको डुमे्रमा चुनढुंगा खरिद बिक्री गर्नेगरी बाराही क्वारिज नाममा उद्योग खोलेको उक्त उद्योगमा पोखराका चेतन गुरुङलाई २५ प्रतिशत सेयरहोल्डर बनाई काम सुरु गर्न खोज्दा मनमुटाव भएकाले अनिल राजभण्डारी र ज्ञानेन्द्र प्रधानलाई २ करोड ८० लाख रुपैयाँमा बिक्री गरी उक्त रकम पनि अपार्टमेन्ट निर्माणमै लगाएको बयानमा उल्लेख छ । अपार्टमेन्ट बनाउने क्रममा मैले निर्माणस्थलको काम हेर्ने, दीपक मल्होत्राले सरकारी काम गर्ने र लोहियाले बैंक र बित्तीय कारोबार हेर्नेगरी काम विभाजन ग¥यौं, बयानमा पोद्दारले भनेका छन्।

 

सुन व्यवसायको सुरुवात 

 

सो काम गर्दै जाँदा वि.स. २०६६ को असोज महिनातिर काठमाडौंको घट्टेकुलो बस्ने सुनको गरगहना बनाउने कालीगढ कृष्ण भन्ने किसन मारवाडीसंग मेरो भेट भई निजले मलाई दरबारमार्गस्थित इबिसु नाम गरेको ज्वेलर्स(सो समयको चर्चित सुुनपसल) बिक्रीमा छ, तपाई किन्नु भनेकाले मैले मेरा पार्टनरहरु दीपक मल्होत्रा र राजकुमार लोहियासंग सरसल्लाह गर्दा उनीहरुले पनि मिल्यो भने लिने भनेकाले हामीहरु गई सो ज्वेलर्सका संचालक पाटन बस्ने विकास बज्राचार्य, भैसेपाटी बस्ने ज्ञानेश्वर जोशी र पाटन बस्ने मनिषलाल प्रधानलाई सो ज्वेलर्समा भेटी कुरा गर्दा १४ करोड ५० लाख मूल्य कायम गरी १० प्रतिशत सोही समयमा दिने र बाँकी किस्ता किस्तामा दिने सहमति गरी सो ज्वेलर्स लिई संचालन गर्न थाल्यौं ।

 

सो ज्वेलर्स संचालन गर्न सुन चाहिने भएकाले मैले बैंकबाट र सो समयमा सुनको कारोबार गर्ने सुनसरी धरान घर भई भोटेबहाल बसी बिशालबजारमा अफिस संचालन गरी बस्ने मोहनकुमार अग्रवालको दाजु घनश्याम अग्रवालसंग सुन लिई बिक्री पनि गरेको थिएँ  । पोद्दारले बयानमा भनेका छन्– घनश्यामले बैंकबाट सुन खरिद बिक्री गर्नुका साथै अवैध सुनसमेत खरिद गरी बिक्री गर्ने गर्दथे । घनश्यामको पछि भूकम्पमा परी निधन भयो ।

 

कालोबजारीबाट सुनको खरिद 

इबिसु ज्वेलर्स संचालन गरेको ३ बर्षपछि सरकारले बैंकबाटमात्र सुन खरिद गर्न पाउने, ब्यक्ति वा फर्मले सुन खरिद गरी ल्याउन नपाउने नियम लागू गरेपछि ब्यापार कम हुन थाल्यो । ब्यापार कम हुन थालेपछि अपार्टमेन्टतिरै बढी ध्यान दिन थालें । सुन पसलमा दिनमा एकपटक मात्र जान्थें । पछि राजकुमार लोहियाका छोरा ऋषिलाई सुन पसल हेर्ने जिम्मा दिइयो । सुरुका ३ बर्ष सुन पसलबाट नाफा भएको थियो । पछि ऋषि लोहियाले पनि काम गर्न छाडे । २०७२ को भूकम्पपछि मैले आफ्नो लगानीमा रेष्टुरेन्ट खोल्ने योजना गरी सोका लागि किचनमा चाहिने सामान जुटाउन भृकुटीमण्डपमा लागेको मेलामा जाँदा सोही स्थानमा आएका सीतापाइला घर भएका छिरिङ वाङ्दा गुरुङसंग भेटघाट भई चिनजान भयो । उनी पनि चितवनमा रिसोर्ट ब्यवसाय गर्ने भएकाले फोन नम्बर आदान प्रदान भयो ।

 

पछि उनीसंग दुईतीन पटक भेट भई कुरा भएपछि उनले म विदेशबाट अवैधरुपले आएको सुनको कारोबार गर्छु, यसबाट राम्रो नाफा छ, मबाट सुन लिनुहोस्, म तपाईलाई बजारभाउभन्दा कममा दिन्छु, तर सुनको लागि एडभान्स रकम दिनुपर्छ भनेकाले उनले दिने भाउ र बैंकबाट लिने भाउमा मलाई १ किलोमा ४० हजार जति फाइदा हुने भएपछि खरिद गरेको बयान दिंदै भनेका छन् –”पढाइ सकेपछि खिचापोखरीमा ठूलोबुबाको छोरो रमेश पोद्दारले संचालन गरेको आयात निर्यात गर्ने फर्ममा काम गरेको हुँ  ।”

 

दीपक मल्होत्रासंग यसरी भयो घनिष्ट 

त्यसपछि आफूलाई ब्यापार गर्ने मन भएकाले सानीआमाको छोरा नवीनकुमार अग्रवालले संचालन गरेको न्यूरोड पाकोमा संचालन गरेको सिम्बिन इन्टरनेशनल इम्पेक्सको नामबाट सन् १९९१ मा हङकङ र चीनबाट टर्चलाइट, टेलिफोन, क्यामेरा, ब्याट्रीलगायतका सामानहरु मगाई ब्यापार सुरु गरें । करीब १६–१७ बर्ष २०५२ सम्म ब्यापार गरेपछि मैले सो ब्यापार गर्दादेखि नै मेरो माइलो ठूलोबुबाको छोरा दाइ मनोज पोद्दारको माध्यमबाट काठमाडौंको चावहिलमा संचालन गरेको गोर्खा कार्डिन नाम गरेको उनी धागो बनाउने फ्याक्ट्रीमा सेयरहोल्डरहरु दीपक मल्होत्रा र भूपेन्द्र कार्कीसमेतसंग चिनजान भयो । पटक पटक दाइको फ्याक्ट्रीमा जाँदा आउँदा मल्होत्राको बिजनेश माइन्ड राम्रो भएकाले उनीसंग मेरो सम्बन्ध निकट हुँदै गयो । उनी त्यसपछि कामविशेषले नेपाल छोडी भारत तथा चीन गएकाले मसंग सम्पर्क भएन । त्यसपछि मल्होत्राले २०६३ मा आफ्नो विवाहको २५ औं बर्षगाँठ पूरा भएको उपलक्ष्यमा काठमाडौंको ¥याडिसन होटलमा दिएको पार्टीमा मलाई पनि निम्ता गरेको हुँदा म सो पार्टीमा सरीक भएपछि उनीसंग मेरो अझ नजिकको सम्बन्ध भयो । सो समयमा मैले मेरो उक्त टर्चलाइटको ब्यापार गरिनै रहेको थिएँ  ।

 

पछि काठमाडौंमा जग्गाको कारोबार राम्रोसंग चलेकाले मलाई पनि जग्गाको कारोबार गर्ने मन भएको हुँदा मैले उनलाई भेटी जग्गा कारोबार र अपार्टमेन्ट समेत बनाऔं भनेपछि उनले खोजे हुन्छ भनेका थिए ।

समितिले ‘तपाईका ब्यापारिक पार्टनरहरु दीपक मल्होत्रा र राजकुमार लोहियाको बारेमा भएका सम्पूर्ण ब्यहोरा अन्य पेशा केके छ खुलाइदिनोस्’ भनेपछि पोद्दारले भनेका छन्–‘दीपक मल्होत्राले मसंग मेरो ब्यापारिक साझेदारी हुनुभन्दा पहिला निजले सुनको आयात पनि गर्ने गर्दथे । निजले कानूनले तोकेको प्रक्रियाबाट सुन आयात गर्दा संगसंगै अवैध सुन आयात गरी कारोबार गर्छन् भन्ने सुनेको थिएँ  ।’ मल्होत्राले अवैध हुन्डी समेत आफूमार्फत् गरी रकम भारत लगायतका देशमा पठाउने गरेको बयान पोद्दारले दिएका छन् ।

 

हुण्डी कारोबारीमा पनि मलहोत्रा 

२०७४ बैशाखदेखि असारसम्म ६०–६५ लाख नगद हुन्डी गरी भारतको दिल्ली बस्ने दिलीप अग्रवालले पाउनेगरी मल्होत्राले आफूमार्फत् हुन्डी गरी पठाएको बयान उनले दिएका छन् । मल्होत्राले पैसा हुन्डी गर्न आफूलाई नै लगाउने गरेको उनले बताएका छन् । उनी मेरा ब्यापारिक साझेदार भएकाले निशुल्क हुन्डी गरिदिने गरेको उनले खुलासा गरेका छन् ।

सरकारी कर्मचारीसंग मिलेर हुण्डी कारोबा

एयरपोर्ट भन्सारका पूर्वप्रमुख भरतराज सुवेदी, मालचन्द्र अग्रवाल, मुकुन्द तिम्सिना, स्व. नूतनदास श्रेष्ठ(भन्सारका हाकिम) ज्ञानु श्रेष्ठको रकम पनि हुन्डी गरि पठाइदिएको छु । भरतराज सुवेदी भारतमा फरार गएको अवस्थामा निजको श्रीमतीले पैसा पठाइदिनू भनेपछि हुन्डीमार्फत् पटक पटक गरी ७०–८० लाख पैसा दिएको थिएँ  र सोहीकारण उनीसंग चिनजान भएको हो । नूतनदास श्रेष्ठको ६० लाख हुन्डी गरी भारत पठाउने क्रममा चिनेको हुँ  ।

 

पोद्दारले भारतको कोलकाता बस्ने ठाकुर भन्नर भारतीय नागरिक र हङकङ बस्ने जीएन ज्ञवालीसंग फोनबाट सम्पर्क गरी युकेमा बस्ने नेपालीहरुको पैसा हुन्डी मार्फत् काठमाडौंमा भुक्तानी दिने गरेको स्वीकार गरेका छन् । मैले हुन्डीको कारोबार गर्दा परेको बेला सहयोग हुन्छ भनी प्रहरीका हाकिमहरुलाई मोवाइल उपहार दिने गरेको थिएँ ।

सुन समितिमा दिएको बयान परिवर्तन गर्न लगाएर पोद्दारलाई छुटाउने मल्होत्राको प्रयास सफल हुन सकेको छैन । पोद्दारलाई छोड्दा सुनको छानबिनको औचित्यमाथि नै प्रश्न उठ्ने भएपछि उनलाई पुर्पक्षमै राखिएको छ । छिरिङवाङ्दा गुरुङले पोद्दारलाई सुन बिक्री गरेको बयानका आधारमा पक्राउ गरिसकेपछि अदालतको आदेशले उनी पुर्पक्षका लागि थुनामा छन् । पोद्दारले सुनको भुक्तानीको स्रोत हुन्डीमार्फत् पठाउने गरेको बयानमा स्वीकारेका छन् ।

 

हुन्डीका स्रोत बन्ने ब्यक्ति दीपक मल्होत्रा, अर्थमन्त्रालयका पूर्व सहसचिव भरतराज सुवेदीहरुलाई अनुसन्धानको दायरामै नल्याई समितिले छानबिनलाई बिट मार्ने काम गरेको थियो । नेपालबाट रकम विदेश पठाएर नै तस्करी हुने गरेको छ । पैसा पठाउने मुहानलाई नसुकाई सानातिना भरियालाई थुनामा राखेर छानबिन समितिले पुरुषार्थ देखाउने काम गरेको सबै घटनाक्रमबाट छर्लङ्ग भएको छ । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

     पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको

बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने

     बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका

रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल