सरकारको ढिलाईका कारण दशैँमा घर फर्किनेलाई अग्रिम टिकट नहुने



हाम्रो इकोनोमि

यातायात व्यवसायीहरूले यहि अवस्थामा आउँदो दशैंको लागि यात्रुहरूको अग्रिम टिकट बुकिङ प्रक्रिया अगाडि बढाउन नसकिने चेतावनी दिएका छन्।

सरकारले यसै हप्ताबाट दशैंको अग्रिम टिकट बुकिङ शुरु गर्ने तयारी गरिरहँदा कम्पनी अन्तर्गत नगएका झन्डै तीन सय यातायात संस्थाहरूले अधिकार विहीन अवस्थामा टिकटको जिम्मा लिन नसक्ने बताएका हुन्। लाखौं मानिसहरू चाडपर्वका बेला राजधानी बाहिर जाने भएकाले त्यसलाई सहज बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था विगतदेखि हुँदै आएको छ।

सरकारले आगामी मंसिरको अन्तिम हप्तासम्म सबै व्यवसायी समितिलाई कम्पनीमा रूपान्तरण हुन भनिए पनि अहिलेसम्म १०० भन्दा कम मात्र कम्पनीमा दर्ता भएका छन्। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी महासंघ अन्तर्गत रहेका बाँकी झन्डै ३ सय समितिहरू आफ्नो खाता रोक्का रहेको अवस्थामा दशैंमा सञ्चालन हुने गाडीको जिम्मा लिन नसक्ने बताउँछन्।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, विगतमा महासंघले बुकिङ गर्दै सबै समितिलाई परिपत्र गर्थ्यौ। समितिका पदाधिकारीहरूलाई राख्थ्यौँ। अनुगमन गर्थ्यौँ। गाडी नपुगे जसरी नै व्यवस्थापन गरिन्थ्यो। अहिले त्यो परिस्थिति छैन। खाता रोक्का छ। सरकारले गत चैत महिनाको अन्तिम साता यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गर्दै सबै व्यवसायीहरूलाई कम्पनीमा रूपान्तरण हुन आगामी मंसिर महिनासम्मको समय दिएको थियो।

सरकारले सबै यातायात व्यवसायीहरूको खाता पनि त्यहि समयदेखि रोक्का राखेको छ।तर आगामी बाटोबारेको अन्योल हटाउन उच्च स्तरीय आयोग गठन गर्ने सहमति गरिए पनि सरकारले अहिलेसम्म कुनै काम गर्न नसकेको आरोप व्यवसायीहरूको छ। सरकारले भने यो वर्ष गाडी भाडामा बृद्धि गर्नुपर्ने मागमा सकारात्मक हुने संकेत गर्दै सहमतिमा अगाडी बढ्ने जनाएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले यसै हप्ता हुने दुई पक्षीय छलफलबाट निष्कर्ष आउने बताए । भाडामा समायोजन गरिदिनुपर्‍यो भन्ने उहाँहरूको एउटा माग छ। २०६९ सालदेखि भाडा बढेको रहेनछ। त्यसैले वैज्ञानिक रूपमा कसरी भाडा बढाउने भन्ने तयारी गरिरहेका छौँ। सम्भवत यसै हप्ताबाट बुकिङ खुल्ला हुने उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत अहिले देशभर २ सय ९७ संघ सस्थाहरू छन्। त्यस अन्तर्गत झन्डै ३ लाखको हाराहारीमा बसहरू सञ्चालन भइरहेका छन्। सिन्डिकेटकै कारण यो वर्ष दशैंलक्षित गरी नयाँ गाडीहरू नथपिएको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...