धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ ।
धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् ।
धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् ।
‘‘गबारो रोगले धान बाली सखाप पार्न थाल्यो,’’ तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीका राजन चौधरीले भन्नुभयो ।
धान बालीमा रोग देखिएपछि किसान कृषि सेवा केन्द्र धाउन थालेका छन् ।
“दिनहँु किसान धानको बोट बोकेर आउन थालेका छन्,” तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले भन्नुभयो ।
जिल्लाका बाघमारे, शान्तिनगर, पवननगर, हलवार, मानपुर, टरिगाउँ, डुरुवा र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा गबारो रोग देखिएको छ ।
‘‘डाँठ कुहिने रोगले मकैसमेत सखाप भयो,’’ तुलसीपुर–२ का प्रकाश खड्काले भन्नुुभयो ।
उहाँको सात कट्ठा जग्गामा लगाएको मकै सो रोगले नष्ट भएको छ ।
अधिकांश किसानको खेतमा धान बालीमा गबारो र ब्लास्ट रोग देखापरेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले बताउनुभयो ।
“कतैकतै खैरो रोगसमेत लागेको गुनासो आएको छ,” उहाँले भन्नुभयो ।
रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।
धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ ।
धान बालीमा लागेको रोग समयमै उपचार गरे हटेपनि मकै बाली जोगाउन मुश्किल भएको छ ।
माटोमा अम्लियपना बढेपछि मकै बालीमा डाँठ कुहिने रोग देखापर्छ ।
समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् ।
धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा साइपरमेथ्रिन साँझ वा बिहान प्रयोग गर्न प्राविधिकले किसानलाई सल्लाह दिएका छन् ।
जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ ।