निर्मला पन्त बलात्कार र हत्या : प्रमाण नष्ट हुँदा अनुसन्धानमा समस्या



 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अभियुक्त पत्ता लगाउन प्रहरीलाई निकै कठिन परेको छ । अधिकांश प्रमाण नष्ट भइसकेको कारण प्रहरीले नयाँ शिराबाट अनुसन्धान अघि बढाए पनि अभियुक्त पत्ता लगाउन सक्ने तथ्य अझै फेला पार्न सकेको छैन ।

 

नयाँ आएको प्रहरी टोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ। यसअघि स्थानीय र आफन्तले दबाब दिँदा समेत प्रहरीले बम दिदीबहिनीलाई पक्राउ गर्न आनाकानी गरेको थियो। बम दिदीबहिनीबाट घटनाको रहस्य खुल्ने आशा स्थानीयले गरेका थिए।

 

अघिल्लो शुक्रबार पक्राउ गरिएका बम दिदी बहिनीमध्ये रोशनीको सरकारी वकिल कार्यालयमा बयान भइसकेको छ भने बबिताको बाँकी छ। रोशनीले निर्मलाको हत्यामा आफूहरुको संलग्नता नरहेको र दिउँसो सबा २ बजे निर्मला आफ्नो घरबाट निस्केको बयान दिएकी छिन्। बम दिदीबहिनीको बयानबाट घटनाबारे तथ्य नखुलेमा प्रमाण धेरै नष्ट भइसकेकाले प्रहरीलाई अनुसन्धान गर्न जटिल देखिएको छ।

 

‘एक महिनापछिबाट अनुसन्धान गर्दा धेरै प्रमाण नष्ट भएको हुन सक्छ, घटनास्थलमा रहेका प्रमाण पानीले बगायो होला, कतिजनाले कुल्चे होलान्,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत भन्छन्, ‘सुरुको घटनास्थल देखेको भए एउटा माइन्ड सेट तयार भएर अनुसन्धानलाई साँघुर्याउँदै लैजान सहज हुन्थ्यो।’ प्रमाण नष्ट हुँदा अनुसन्धान गर्न गाह्रो भए पनि दोषी पत्ता लगाउन प्रयास भइरहेको उनले बताए। ‘पुराना मिसिल पनि अध्ययन गरिरहेका छौं, पुराना मिसिलका आधारमा सुरुको घटनास्थल र प्रमाणका बारेमा बुझिनेछ,’ उनले भने।

 

अम्बाको बोट काटिनु शंकास्पद

निर्मलाकी साथी रोशनीको बारीमा रहेको अम्बाको बोट काटिनुमा पनि धेरैले शंका उत्पन्न गरेका छन्। निर्मलाको साइकल र किताब भेटिएको ठाउँमा प्लास्टिकको झोलामा अम्बा भेटिएका थिए। घटनाको अघिल्लो दिन (साउन ९ गते) निर्मलाको घरमा पुगेकी रोशनीले अम्बा खान र विज्ञानको गृहकार्य गर्न भन्दै साउन १० गते आफ्नो घर बोलाएकी थिइन्।

 

निर्मलाको साइकल भेटिएको स्थानमै किताब, कापी र डटपेनसँग एक प्लास्टिकको झोलामा अम्बा भेटिएको बताउँदै उनका बुबा यज्ञराज पन्त भन्छन्, ‘निर्मलाको शवसँगै अम्बाका दाना भेटिनु र रोशनीको आँगनअगाडिको अम्बाको बोट काटिनुले पनि हामीलाई बम दिदीबहिनीप्रति शंका छ।’ सिजनको अम्बाको रुख नकाटिनुपर्ने उनी बताउँछन्। रोशनीको आँगनमा लटरम्म फलेको अम्बाको बोट निर्मलाको शव भेटिएको ६ दिनपछि फेदैदेखि काटिएको थियो।

 

रोशनीका बुबा दीपेन्द्रबहादुर बम भने सडक भएर आउजाउ गर्नेहरुले अम्बा टिप्न खोज्दा पर्खाल भत्कनसक्ने भएकाले बोट काटिएको बताउँछन्। ‘बालबालिका आउजाउ गर्दा रुखमा चढ्ने र अम्बाका दाना टिप्ने गर्थे,’ उनले भने, ‘पर्खाल पनि भत्कन थाल्यो र अम्बाको बोटबाटै बालबालिका लडे भने समस्या हुन्छ भनेरै बोट काटेको हुँ।’ उनले साउन १७ गतेका दिन अम्बाको बोट आफैंले काटेको नागरिक दैनिकमा समाचार छ ।

 

निर्मला हराएको दिन रोशनीकी दिदी बबिताले नराम्रो व्यवहार गर्नु र निर्मलाको शव भेटिएको ६ दिनपछि आँगनअगाडिको अम्बाको बोट काटिनुले पनि आफूमा बम दिदीबहिनीप्रति शंका उत्पन्न भएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्। ‘निर्मलाको साइकल भेटिएको ठाउँनजिकै अम्बाका दाना भेटिनु र त्यसको केही दिनमै अम्बाको बोट फेदैदेखि काटिनुको पछाडि रहस्य छ’, उनले भनिन्।

 

निर्मलाको साइकलनजिकै भेटिएका अम्बाका दाना र रोशनीको आँगनको डिलमा रहेको अम्बाको जात मिल्न सक्ने भएकाले पनि फेदैदेखि अम्बा काटिएको हुनसक्ने स्थानीयको शंका छ। निर्मलाका छिमेकी मोतीबहादुर नेपाल घटना भएकै समयमा अम्बाको बोटमा रिस पोख्नुको कुनै तुक नभएको बताउँछन्। ‘उनीहरु (बम दिदीबहिनी) सच्चा भएको भए किन अम्बाको बोट फेदैदेखि काट्नुपथ्र्यो,’ उनले भने, ‘यस विषयमा पनि गहिरो अनुसन्धान होस्।’

 

केही दिनअघि नागरिकको टोली रोशनीको घरमा पुग्दा उनले निर्मलाले आफैं रुखबाट अम्बा टिपेर घर गएको बताएकी थिइन्। तर, उनी रोशनीको घरबाट कुन दिशातर्फ लागिन् त्यो भने आफूलाई थाहा नभएको उनको भनाइ थियो। ‘रोशनी कोठाबाट घर जान्छु भनेर लागेकी हो,’ उनले भनेकी थिइन्, ‘अम्बा लगेर कतातिर गएकी हो त्यो भने थाहा भएन।’

 

मानसिक सन्तुलन गुमेनगुमेको व्यवहारले थाहा हुन्छ

प्रहरीले पक्राउ परेका बिष्टलाई मानसिक सन्तुलन गुमेनगुमेको जाँच गर्न काठमाडौं पठाएको छ। चिकित्सकहरु कुनै व्यक्तिको मानसिक सन्तुलन गुमे वा नगुमेको कुरा जाँच्ने आधार भनेकै व्यवहार भएकाले घरपरिवार र आफन्तबाट बढी खुल्ने बताउँछन्। मानसिक रोग विशेषज्ञ टनविर अहमद खानले मानसिक सन्तुलन गुमेको जाँच्ने कुनै प्रविधि नभएको बताउँदै भने, ‘यो व्यक्तिको बानी र व्यवहारबाट थाहा हुने कुरा हो।’

 

घरपरिवार, इष्टमित्र छिमेकीसँग कस्तो सम्बन्ध छ, कस्तो व्यवहार गर्छ, खाने, बस्ने र सुत्ने क्रियाकलाप कस्ता छन् भन्ने व्यवहारबाटै मानसिक रोग भएनभएको पत्ता लाग्ने उनी बताउँछन्। सबैले थाहा पाउने असामान्य व्यवहार नभएका मानसिक रोगीलाई मनोवैज्ञानिक चिकित्सकले विभिन्न प्रश्न सोधेर पनि पत्ता लगाउने गरेको उनी बताउँछन्।

 

घरबाहिर सुत्ने, मागेर खाने, दिनभरि घुम्न निस्कने दिलीपले सानैदेखि मानसिक सन्तुलन गुमाएको उनका बुवा कमलसिंह बिष्ट बताउँछन्। कक्षा ९ मा पढ्ने बेला टाउकोमा चोट लागेपछि मानसिक सन्तुलन गुमेका दिलीपलाई भारतको बरेली लगेर ६ लाख रुपैयाँ खर्च गर्दा पनि निको नभएको बुवा कमलसिंह बताउँछन्।

 

बालिका बलात्कारमा शक्तिशाली व्यक्तिको संलग्नता भएकाले एक महिनासम्म आन्दोलन हुँदा पनि स्थानीयको कुराको सुनुवाइ नभएको, आन्दोलन हिंसात्मक भएपछि मात्र प्रहरी प्रमुख निलम्बन गरी फेरिएको भन्दै कञ्चनपुरबासी अझै पनि दोषी पत्ता लाग्नेमा ढुक्क हुन नसकेको बताउँछन्।

 

‘निर्मलाको हत्यारा शक्तिशाली छ, दोषी पत्ता लाग्छ भन्नेमा हामी भने ढुक्क हुन सकेका छैनौं,’ स्थानीय सन्तोष भट्ट भन्छन्। मानसिक सन्तुलन गुमे वा नगुमेको जाँच्न काठमाडौं शिक्षण अस्पताल महाराजगन्ज पठाएपछि दिलीपसिंह बिष्टलाई नै दोषी देखाउनतिर प्रहरी लागेको हो कि भनेर स्थानीयले आशंका गरेका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्