पाँच वर्षपछि नेकपा विघटन हुन्छ, कांग्रेसको ब्राण्ड बिक्दैन



 

मैले नयाँ शक्तिको सम्भावना विश्वस्तरमै नै देखेको छु । वस्तुगत परिस्थिति अब बन्दै आएको छ । संकटहरु देखापरिराखेका छन् । नेपाल पनि अब अर्को विन्दुमा विस्तारै जान्छ । तर, खतरा मैले कहाँ देखिराखेको छु भने हामी जुन पृष्ठभूमिबाट आयौं, -जस्तै-माओवादी आन्दोलनबाट आयौं) त्यसलाई मात्रै हेरिदिने र नयाँ युवापुस्ता राजनीतिक-वैचारिकरुपमा प्रष्ट नहुने । खाली नयाँ हुनुपर्छ मात्रै भन्ने । यसले गर्दा दायाँतिर जान्छ कि भन्ने खतरा छ ।

 

जस्तो- अमेरिकामा डोनाल्ड ट्रम्पले त्यहाँका ह्वाइट युवाहरुलाई लिएका हुन् । पाकिस्तानमा अहिले इमरान खान आएका छन् । उनलाई पनि पाकिस्तानका डोनाल्ड ट्रम्प भनिँदैछ । उनले पनि ‘राइटिस्ट एप्रोच’ बाटै नयाँ विकल्प बनाएका हुन् । इमरान खानहरु २२/२६ वर्षपछि सरकारमा आएका हुन् । हाम्रो देशमा पनि त्यस्तै हुने हो कि भन्ने खतरा देख्दैछु । यद्यपि नेपाली समाजमा विविधता छ । नयाँ विकल्पको निर्माण भावना र आवेगले मात्रै हुँदैन, विचार र राजनीति चाहिन्छ ।

 

कांग्रेस र कम्युनिष्ट ब्राण्ड जो हिजो थिए

अब त्यो ब्राण्डले काम गर्दैन । कांग्रेस र कम्युनिष्ट दुईवटै ब्राण्डबाट अब देशको समस्या समाधान हुन सक्दैन । नयाँ विकल्पतिरै समाज जान्छ ।

समाज विकासका खास नियमहरु हुन्छन् । विश्वव्यापी आधुनिकताको जुन सुरुवात भयो र जुन वैचारिक पुनर्जागरण भर्‍यो, त्यसका आधारका उदारवाद, समाजवाद र साम्यवादका अवधारणाहरु आए । एक्काइशौं शताब्दीसम्म आइपुग्दा त्यसमा अपूर्णता देखा परेको छ । त्यसैले नेपालमा र विश्वमै पनि नयाँ शक्तिको औचित्य दिनहुँ बढ्दै गइरहेको मलाई अनुभूति भएको छ ।

 

एक्काइशौं शताब्दीमा आउँदाखेरि आधुनिकतावादको पनि नयाँ ढंगले परिभाषा गर्नुपर्ने भएको छ । प्रवोधनवाद अनि त्यसका हाँगाबिँगाहरुले अगाडि सारेका विचारहरुमाथि पनि विमर्शहरु भइराखेका छन् । त्यसैले वैश्विकरुपमा हेर्दाखेरि पनि पुँजीवादी र साम्यवादी विचारमा प्रश्न उठिराखेको छ ।

 

प्रणालीगतरुपमा पनि अमेरिका, बेलायत फ्रान्स अनि युरोपमा कतिपय देशहरु र पाकिस्तान नेपाललगायतका देशहरुमा पनि बहसको जुन सुरुवात भएको छ, त्यस हिसाबले हेर्दाखेरि नेपालमा नयाँ शक्तिको बैचारिक आधार बढ्दै गएको हामी देख्छौं ।

 

तर, नयाँ भनेरमात्रै पुग्दैन । कुनै पनि नयाँको जन्म हुँदाखेरि समाजमा दुईवटा प्रवृत्तिहरु हुन्छन् । अग्रगामी ढंगले एउटा विचार अगाडि आउँछ, अर्कोचाहिँ पुरानाको असन्तुष्टिलाई व्यक्त गर्ने र त्यसलाई नै सामान्य सुधारहरु गरेर यथास्थिति कायम गर्ने अथवा नयाँको विरुद्धमा झनझन पछाडि र्फकने विकल्पहरु आउन सक्छन् । त्यसैले समाजमा नयाँका नाममा आउँदाखेरि एउटा अग्रगामी र प्रगतिशील भएर आउँछ भने अर्को चाहिँ यथास्थितिवादी, दक्षिणपन्थी अथवा प्रतिगामी भएर पनि आउन पनि सक्छ ।

 

यसरी हेर्दाखेरि हामी विश्वमै दुईखालका प्रवृत्तिहरु देख्छौं । अमेरिका, जर्मनीका कतिपय ठाउँ, रोम र अहिले पाकिस्तान आदि देशका विकल्पहरु दक्षिणपन्थी, यथास्थितिवादी र रुढीवादी कोणबाट देखा परेका छन् । नेपालमा हामीले गर्न खोजेको प्रयोग र फ्रान्समा म्याक्रोनले गर्न खोजेको प्रयोगचाहिँ अलिकति प्रगतिशील, अग्रगामी ढंगले आएका छन् ।

 

त्यसैले नयाँशक्ति र वैकल्पिक शक्तिको कुरा गर्दाखेरि मूलतः विद्यमान समाजका अन्तरविरोध हल गर्ने सही विधि के हो भन्ने जगमा उभिएर नै हामीले विकल्प खोज्नुपर्छ । विचार र राजनीतिलाई गौण बनाएर, रुप पक्षको मात्रै कुराहरु गरेर विकल्पको कुरा गरियो भने दक्षिणपन्थी हुने खतरा बन्छ ।

 

दक्षिणपन्थीहरुको एउटा प्रवृत्ति के देखिइराखको छ भने नेपाल, भारत र पाकिस्तानजस्ता देशहरु जहाँ पुरानो राज्यसत्तालाई बदलेर नयाँ लोकतान्त्रिक राज्यसत्ता ल्याउनमा जसले बलिदानी गरे, ती मानिसहरु सत्तामा पुगेपछि भ्रष्ट भए । उनीहरुले राज्यसत्ताको दुरुपयोग गरेको हुनाले अहिले भ्रष्टाचारको मुद्दा प्रमुख ढंगले आएको छ ।

तर, यसरी भ्रष्टाचारको मुद्दालाई नै प्रमुख बनाएर, विचार, राजनीति र कार्यक्रम नदिइकन विकल्प बनाउँछु भन्दाखेरि प्रकारान्तरले दक्षिणपन्थी यथास्थितिवादी विकल्प तयार हुन खोजेजस्तो प्रतीत हुन्छ ।

 

हामीकहाँ यस्तो छ भने उता युरोप अमेरिकातिर त्यहाँको व्यवस्थाभित्र जुन संकट छ, त्यसलाई समावजेशी र अझ उन्नत प्रकारको लोकतन्त्र वा प्रगतिशील ढंगले हल गर्नुको सट्टा त्यहाँको समस्या आप्रवासीहरुले गर्दाखेरि आएको हो भन्न थालिएको छ । अमेरिका, जर्मनी, इटली आदि देशहरुमा आप्रवासनविरोधी सेन्टिमेन्ट लिएर अत्यन्त दक्षिणपन्थी प्रकारको विकल्पको खोजी भइरहेको देखिन्छ ।

यसरी आप्रवासनका मुद्दा, भ्रष्टाचार र कुशासनका मुद्दालाई मात्रै उठाएर, रुप पक्षका मात्रै कुराहरु उठाएर विकल्प दिन खोज्दा दक्षिणपन्थी दिशातिर जाने खतरा देखा पर्छ । र, परिराखेको छ ।

 

अहिले मैले विभिन्न देशहरुको भ्रमण गरेर आउँदा र नेपालको सन्दर्भमा हेर्दाखेरि पनि हामीले यत्रो लामो संघर्षपछि जुन परिवर्तन ल्याएका छौं, यो परिवर्तनको स्वामित्व लिएर यसलाई ग्रहण गर्दै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीता यी हाम्रा उपलब्धी हुन् र यसका निम्ति एउटा पुस्ताले ठूलो त्याग र बलिदानी गरेको छ भन्ने कुरालाई स्वीकार्दै यसलाई स्थापित गरेर नयाँ विकल्प दिन जरुरी छ ।

 

अहिले सत्तामा जो मान्छेहरु पुगेका छन्, हिजोकै आन्दोलनकारी शक्तिहरुको विवेक ठीक ढंगले नपुग्दा र उनीहरुको दुरदृष्टि नपुग्दा आन्दोलनबाट थाकेर विश्राम लिन खोज्ने प्रवृत्तिले गर्दाखेरि राज्यसत्ताको दोहन गर्ने र भ्रष्टाचार गर्ने समस्याहरु देखा परिराखेका छन् ।

 

तर, हामीले रुप पक्षलाई मात्रै लिँदाखेरि यसले समाधान दिँदैन । हिजोका आन्दोलनकारीहरु भ्रष्टाचारी हुन्, त्यसैले गणतन्त्र, संघीयता र समावेशीता नै बेठीक छ भनेर भन्न खोजेको जस्तो स्थिति देखापर्दैछ । यसो भयो भने देश दक्षिणपन्थी र प्रतिगामी खालको विकल्पतिर पुग्न सक्छ । हामीले त्यसरी होइन, विगतका उपलब्धीहरुलाई रक्षा गर्दै ठोस योजना लिएर अगाडि बढ्नुपर्छ । यो ढंगले अगाडि जान सकियो भने मात्रै सही ढंगले नयाँ विकल्प तयार हुन सक्छ भन्ने म देख्छु ।

 

पुराना नेतालाई सरापेर मात्रै हुँदैन

अब एजेण्डा नै बदल्ने बेला भएको छ । हिजो सही व्यवस्था ल्याउने एजेण्डा थियो, अहिले जनताको जीवनस्तर बदल्ने र परिवर्तन गर्ने एजेण्डा छ । यो एजेण्डलाई ग्रहण गर्न नसकेर पनि उहाँहरु अल्मलिएको अवस्था छ । हामीकहाँ यो राज्यसत्तालाई आसेपासे पुँजीपतिहरुका लागि भूमिका खेल्ने साधनकारुपमा लिएर त्यसको दोहन गर्ने प्रवृत्तिले जनतामा असन्तुष्टि ल्याएको छ । गुणात्मक आर्थिक सामाजिक रुपान्तरणका निम्ति फड्को मारेर जाने जुन योजना हुनुपर्ने हो, त्यो नहुँदाखेरि हामीकहाँ समस्या देखापरेको छ ।

 

यो सरकारबाट छोटो अवधिमा जनता निराश भएको जुन कुरा छ, यो निकै गम्भीर छ । हिजो जो आन्दोलन, त्याग र बलिदान गरेर आएका शक्तिहरु दुई तिहाइ बहुमतको सरकार हुँदा यसले उपलब्धिहरुको रक्षा गरेर जनतालाई थप परिवर्तनको सन्देश दिन सक्नुपथ्र्यो । त्यो नहुनु एउटा दुःख विषय छ ।

 

तर, अब उहाँहरुलाई सरापेर बस्नुभन्दा पनि मेरोचाहिँ बुझाइ के हो भने उहाँहरु एक अर्थले थाक्नु पनि भो । संघर्ष र लामो जेलनेल भोगेका कारण मनोवैज्ञानिकरुपमा पनि विश्राम लिन खोजेको हुन सक्छ । दोस्रो- उहाँहरुको लड्ने भिड्ने जुन क्षमता थियो , त्यो क्षमताले मात्रै अबको समाज बदल्ने, आर्थिक सामाजिक रुपान्तरण गर्ने अनि विश्वको परिवर्तनको चाप र बदलिँदो स्वरुप र ज्ञानलाई पछ्याएर अगाडि बढ्ने क्षमता पुग्दैन । त्यो क्षमताको अभावले पनि यस्तो भएको हुन सक्छ । त्यसैले अब उहाँहरुलाई मात्रै दोष दिएर बस्नुभन्दा उहाँहरुले जुन कमी कमजोरी देखाउनुभएको छ, त्यसलाई सच्याउने ढंगले हामीले नयाँ शक्ति निर्माण गर्नुपर्छ । हामी अग्रगामी र प्रगतिशील विकल्प दिने ढंगले अगाडि बढ्नुपर्छ ।

 

 

तपाईको विश्लेषणमा अबको ५ वर्षपछि नेकपाको बहुमत आउँछ कि आउँदैन ?

नेकपा आफैं कहाँनेर अन्तरविरोधमा परेको छ भने कम्युनिष्ट पार्टीको ढाँचा नै केन्द्रीकृत हुन्छ । जनवादी केन्द्रीयता र अग्रदस्ताको अवधारणा भनेकै केन्द्रमुखी अवधारणा हो । हाम्रोजस्तो भर्खरै सामन्तवादबाट पुँजीवादतर्फ अगाडि बढिराखेको देशमा त्यो केन्द्रीयतावादी सोचले लोकतान्त्रिक चरित्र धेरै ग्रहण गर्न सक्दैन । यसले समाजमा लोबकतन्त्रको विकास गर्ने भन्दा पनि सत्तामा पुगेका मान्छेलाई अझ बढी भ्रष्ट बनाउने खतरा रहन्छ ।

दोस्रो कुरा, नेपालजस्तो विभिन्न जातीय, क्षेत्रीय विविधता भएको मुलुकमा केन्द्रीयतावादी सोच रह्यो भने यसले समाजको विविधतालाई नस्वीकार्ने ढंगले जान्छ ।

 

तेस्रो, आर्थिक हिसाबले पनि नेपाल लामो समयदेखि निर्वाहमुखी अर्थतन्त्रमा आधारित छ र यहाँ व्यक्तिको निजी उद्यमशीलताको विकास नभएको र बजारसँग अर्थतन्त्र नजोडिएको आदि कारणले गर्दाखेरि निजी उद्यमशीलता छैन । नेपालको राष्ट्रिय औद्योगिक पुँजीको विकासको आवश्यकता छ ।

 

तर, परम्परागत कम्युनिस्ट विचारले राज्यले नै सबै हस्तक्षेप गर्ने कुरा गर्छ र निजी उद्यमशीलताको प्रवर्द्धन गर्दैन । यसले गर्दा नेकपामा दुई/तीनवटा गम्भीर प्रकारका अन्तरविरोधहरु रहेका छन् । यस अर्थमा यो नेकपाले संरचनात्मक ढंगले नै आफूलाई रुपान्तरण नगरेसम्म पुरानै ढाँचामा रहेर यसले देशका समस्याहरु हल गर्न सक्दैन । र, आगामी ५ वर्षसम्म यसभित्र अन्तरनिहीत जुन अन्तरविरोधहरु छन्, यिनै अन्तरविरोधहरुकै कारणले गर्दा यो आफैंभित्रबाट विघटनतिर जान्छ ।

 

के त्यसपछि फेरि नेपाली कांग्रेस नै विकल्पका रुपमा सत्तामा आउँछ ?

कांग्रेस त यो भन्दा पनि पुरानो विचारको भैहाल्यो । उसले व्यक्तिको निजी स्वतन्त्रता र लोकतन्त्रको जुन कुरा गर्छ, त्योदेखि बाहेक नेपाली समाजको अन्तरविरोधलाई हल गरेर अझै उन्नत दिशातिर जाने अनि विकास र समृद्धिको नयाँ सोच अगाडि सार्ने सम्भावना छैन । देशको विविधतालाई समेटेर उन्नत प्रकारको समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने अनि भ्रष्टाचारमुक्त सुशासनयुक्त समाज स्थापना गर्नमा कांग्रेसको कुनै प्रोग्राम पनि छैन र यी विषयहरुमा ऊ असफल भएसकेको छ । त्यसैले नेपाली कांग्रेस अब कांग्रेसकै रुपमा विकल्प हुन सक्दैन ।

 

कांग्रेस र कम्युनिष्ट ब्राण्ड जो हिजो थिए, अब त्यो ब्राण्डले काम गर्दैन । कांग्रेस र कम्युनिष्ट दुईवटै ब्राण्डबाट अब देशको समस्या समाधान हुन सक्दैन । नयाँ विकल्पतिरै समाज जान्छ । खाली यो विकल्प अग्रगामी प्रगतिशील विकल्प हुने कि कस्मेटिक खालको मात्रै वा दक्षिणपन्थी विकल्प हुने भन्नेमा मात्रै आगामी दिनमा बहस केन्दि्रत हुन्छ ।

 

तर, विगतमा कांग्रेस र कम्युनिस्टले राम्रो काम नगर्दा दरबारिया शक्तिहरु आउने गरेका थिए, अब फेरि त्यो शक्ति आउँछ ?

अब त सामन्तवादी युगै अन्त्य भइसकेको हुनाले कमल थापाको राप्रपा वा राजतन्त्र, हिन्दुत्व, संघीयताविरोधी एकात्मक राज्य जस्ता कुराहरु गरेर कुनै पनि शक्ति अगाडि आउन सक्दैन । सामन्तवादी युगको त अन्त्य नै भइसक्यो । अब को दक्षिणपन्थ कस्तो हुन्छ भने त्यसले खाली कस्मेटिकखालको मात्रै कुरा गर्ने ।

 

तपाईले लक्षित गर्न खोज्नुभएको विवेकशील पार्टीलाई हो ?

कसैको नाम त म लिन चाहन्न । तर, विचार, राजनीति र नीति-कार्यक्रममा केन्दि्रत नभइकन खाली धुलो र हिलोका कुरामात्रै गरेर मात्रै सही अग्रगामी विकल्प तयार पार्न सकिँदैन ।

अहिलेको विकल्प लाखौं युवाहरु विदेशिनुपरेको छ, त्यसको विकल्प दिन सक्नुपर्छ । र, हिमाल पहाड तराईको जुन विविधता छ, तिनीहरुवीचको बलियो राष्ट्रिय एकता कायम गर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व गराउने विकल्प दिन सक्नुपर्छ । यो नदिइकन जनताको भावनामात्रै दोहन गरेर दिने विकल्प नेपालको सन्दर्भमा दक्षिणन्थी र यथास्थितिवादी विकल्प हुन जान्छ ।

 

तर, तपाईको नयाँशक्ति पार्टी त हराएजस्तो गुपचुप छ नि ?

नयाँ शक्ति हराएको होइन, नयाँ विचार स्थापित हुनलाई अलिकति समय लाग्दोरहेछ । मानिसहरुले सुरुको चरणमा तत्कालै संरचनागत रुपमै ख्याल नगरी उम्लेको पानीको भुल्काजस्तै परिकल्पना गरियो । तयार नयाँ शक्ति त्यति सजिलै हुँदैन, यसले केही समय लिन्छ । हामी आगामी दिनमा वैकल्पिक शक्ति निर्माण गर्छौं ।

 

अन्त्यमा, यो बिमस्टेक नामको संगठन सार्कलाई निस्तेज पार्न र पाकिस्तानलाई एक्ल्याउन अघि बढाइएको हो कि होइन ?

सार्क र बिमस्टेक एक अर्काका निशेधार्थी, विपरीतार्थी होइनन् । सार्क भनेको दक्षिण एशियाको एउटा लामो परम्परा छ, यसको सांस्कृतिक र आर्थिक जुन सम्बन्धहरु जोडिएका छन्, त्यसहिसाबले यसलाई एउटा क्षेत्री इकाइका रुपमा विकास गर्ने अर्थमा ८० को दशकमा नै सार्कको अवधारणा आएको हो । त्यसैले सार्कको औचित्य सिद्धियो जस्तो लाग्दैन ।

 

विश्वबाट हेर्दाखेरि पनि दक्षिण एशियालाई एएटा उपमहादेशका रुपमा नै मान्छेहरुले ग्रहण गर्न सक्छन् । यो एउटा छुट्टै सभ्यताको केन्द्र पनि हो । र, एउटा आर्थिक इकाइका रुपमा पनि यो अन्तरसम्बन्धित पनि छ । यस हिसाबले सार्कको औचित्य सिद्धिएको छैन ।

सार्कमा रहेका केही देशहरु र त्यसको नेृतत्वले दुदर्शिता देख्न नसकेका कारणले यसको विकासमा अलि कमी आएको हो ।

 

सार्कपछि जुन बिमस्टेकको अवधारण आएको छ, यो अलि बढी आर्थिक रुपमा नै केन्दि्रत छ । पछिल्लो समयमा पूर्वी एशिया, दक्षिणपूर्वी एशिया जसरी आर्थिक विकासका केन्द्रहरु बने, त्यसबाट लाभ लिने ढंगले विमस्टेकको अवधारणा आएको हो । त्यसैले बिमस्टेकलाई सार्कको विकल्प भन्दा पनि सार्कको पूरकका रुपमा लिनु उपयुक्त हुन्छ । तर, नेतृत्वस्तरमै बुझाइमा प्रष्टता नहुँदाखेरि सार्क पछाडि परेको र बिमस्टेक नै सबै थोक हो कि भन्ने ढंगबाट कुरा आएको छ, यो चाहिँ सत्य हुन्छ जस्तो मलाई लाग्दैन ।अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय