निर्मला पन्तको बलात्कार र हत्या प्रकरण, कञ्चनपुरका अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो



 

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन ।

 

घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।

 

ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । ‘तर, एक थप्पड लगायो भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो,’ भट्टले नयाँ पत्रिकालाई भने । तर, अर्को दिन जब निर्मलाको शव फेला प-यो, प्रहरी खोज्दै आएर मगरलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेर लगे ।

 

दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको भट्ट बताउँछन् । निर्मलालाई खोज्ने क्रममा ५ प्रहरी र करिब ५० स्थानीय खटिएका थिए । प्रहरीले नै स्थानीयलाई समूहमा बाँडे । सबैभन्दा पहिला दीपकले शव देखे र प्रहरीलाई खबर गरे । पछि प्रहरीले ‘तैले कसरी थाहा पाइस् ?’ भन्दै उनलाई पनि पक्राउ ग-यो । ‘मैले पहिला शव देखेको भए मलाई नै पक्राउ गर्ने रहेछन्,’ साढे दुई दशकदेखि शिक्षण पेसामा रहेका भट्टले भने ।

 

तर, जीवन र दीपक नै मुख्य आरोपी भएको भन्ने प्रहरीको सूचनाका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा उनीहरूको नाम नै उल्लेख गरेर संसद्लाई जानकारी दिए । तर, पछि दीपक गम्भीर प्रकृतिको यौन रोगले ग्रस्त भएको पत्ता लाग्यो । त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ ।’ जबकि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो । जीवन मानसिक रोगी भन्ने पनि खुल्यो । दुवैलाई साउन २० मा छाडियो ।

 

दिलीप पनि अर्का ‘छद्म अभियुक्त’
स्थानीय र पीडित परिवार पछिल्लो समय पक्राउ परेका दिलीपसिंह विष्टलाई पनि अभियुक्त मान्न तयार छैनन् । २४ वर्ष विष्टको घरनजिकै बाघफाटाको लक्ष्मी माविमा पढाएका शिक्षक भट्ट भन्छन्, ‘जेलबाट छुटेपछि मैले दिलीपलाई यो बाटोमा हिँडेको देखेकै छैन ।’ घटनास्थल नजिकैको एक चौधरी होटलमा नयाँ पत्रिकासँग छलफलका लागि भेला भएका ७/८ जना सबैले भट्टका कुरामा सही थापे । भट्टले थपे, ‘गाँजा, चरेस र रक्सी खान्छ, तर जति नशामा भए पनि महिला देखेपछि तर्केरै हिँडेको देखेको छु उसलाई ।’

 

दिलीपलाई पक्राउ गर्नुअघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए । जुन अर्को दिन घटनास्थलमा ओभानै भेटियो । घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटियो । दिनहुँ वर्षा भइरहँदा पनि दिलीपको सर्टको च्यातिएको गोजी र कण्डमको खोल २६ दिनपछि ओभानै कसरी भेटियो ? त्यसकारण पनि आन्दोलन मत्थर पार्न प्रहरीले एकपछि अर्को छद्म अभियुक्त खडा गरेको स्थानीयको आशंका छ ।
दुव्र्यसनका शिकार दिलीपको स्वास्थ्य अवस्था निकै कमजोर छ ।

 

सुरक्षासम्बद्ध स्रोत, जो निर्मलाको शव परीक्षण गर्ने चिकित्सकसँगको सम्पर्कमा छन् । उनका अनुसार निर्मलाका दुवै स्तनको अग्रभाग टोकेर लगभग चुँडिएको अवस्थामा छ । गालामा पनि टोकेका डाम स्पष्ट देखिन्छन् । यौनांगबाट बगेको रगत रोक्न माटो राखेर पुरिएको अवस्थामा शव मिल्काइएको छ । ती प्रहरी अधिकृत भन्छन्, ‘फाट्टफुट्ट भए पनि सवारीसाधन चल्ने र मानिसहरूको आवतजावत भइरहने सडकछेउ दिउँसै यी सब गतिविधि भइरहँदा कसैले थाहा नपाउने भन्ने हुनै सक्दैन ।’

 

निलम्बित एसपी विष्टको भूमिका माथि प्रश्न
प्रदर्शनपछिको दबाबका कारण नयाँ प्रशासन नेतृत्वले बबिता र रोशनी बमलाई हिरासतमा लिइएको छ । उनीहरूका पिता तथा हाल जनविकास मावि दार्चुलाका शिक्षक दीपेन्द्रबहादुर बम र निलम्बित एसपी डिल्लीराज बम पुराना साथी हुन् । बबिताकी आमा इन्द्रादेवी दुँहु गाउँपालिका–३ दार्चुलाकी सचिव हुन् ।

 

जागिरका कारण दीपेन्द्रबहादुर श्रीमतिसहित दार्चुला नै रहे पनि एसपी डिल्लीराज वेलाबखत बबितालाई भेट्न आइरहन्थे । र, बबिता पनि उनलाई भेट्न पुगिरहन्थिन् । पारिवारिक सम्बन्ध राम्रै थियो । त्यहीकारण एसपी डिल्लीराज निर्मला हराएको घरका सदस्यप्रति नरम भएको प्रशासनकै शंका छ । तत्कालीन एसपी डिल्लीराजसँग नयाँ पत्रिकाले गरेको पटकपटकको प्रयासका बाबजुद उनले फोन उठाउन चाहेनन् ।

 

प्रहरी कहाँ–कहाँ चुक्यो ?
– निर्मला हराएकै दिन आमा दुर्गादेवीले चारवटा वडा प्रहरी कार्यालय गुहार्दा पनि जिल्ला हाकिमको आदेश भन्दै प्रहरी किन निर्मला हराएको बबिताको घरमा गएन ?
– भोलिपल्ट पनि किन दुर्गादेवीलाई बबिताको घर पस्न दिइएन र छानबिन गर्न गएका भनिएका सादा पोसाकका प्रहरी ग्यालरी घुमेर फर्के ? कोठाभित्र किन पसेनन् ?
– बबिताको घरबाट हराएकी थिइन् निर्मला, तर किन त्यो घर कहिल्यै प्रहरी अनुसन्धानको घेरामा परेन ?

 

– शव भेटिएको स्थानमा अम्बा पनि भेटिएको थियो । तर, बम परिवारले आफ्नो घर परिसरमा भएको अम्बाको बोट किन काटे ? र, त्यही दिनबाट सईको नेतृत्वमा १२ जना प्रहरीको प्रहरा बम परिवारलाई किन दिइयो ?
– निर्मला हराएको दिनभर र राति पनि पानी परिरहेको थियो । तर, भोलिपल्ट निर्मला भिजेको अवस्थामा र उनका किताब सडकछेउ किन सुक्खा अवस्थामा भेटिए ?
– तत्कालीन एसपी डिल्लीराज बबिता बमबारे किन कुरै सुन्न चाहँदैनथे ? किन उनले निर्मलाका परिवारलाई घरी सामूहिक बलात्कार हो र घरी एकल हो भनेर ढाँटिरहे ?

 

बहिनी र भाइसहित पक्राउ गरिएका चक्र बडूलाई ११ दिनसम्म हिरासतमा राखियो, तर त्यसको जानकारी कसैलाई भएन
गृहमन्त्रीले रामबहादुर थापा ‘बादल’ले कञ्चनपुर बलात्कार र हत्याका आरोपी पक्राउ परे भनेर दीपक नेगी र जीवन मगरको नाम लिएका थिए । तर, प्रमाण नपुगेर उनीहरू रिहा भएलगत्तै प्रहरीले २१ साउन बिहान ८ बजे घरबाटै चक्र बडूलाई पक्राउ ग-यो । शव फेला परेको स्थान बडूको घरबाट करिब २ सय मिटर पर छ ।

 

प्रहरीले चक्रसँगै उनकी १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि पक्राउ गरेको थियो । बहिनी र भाइलाई सोही दिन छाडिए पनि चक्रलाई भने ११ दिनसम्म हिरासतमा मानसिक यातना दिएर राखियो । चार दिनसम्म त उनको परिवारका कसैलाई भेट्नसमेत दिइएन । रोल्पामा प्रहरी जवानका रूपमा कार्यरत दाजु महेश आएपछि मात्रै चौथो दिन भेट गराइयो ।

 

‘मैले बलात्कार गरी हत्या गरेको हुँ भन्, कैद सजाय घटाउन पहल गरौँला । नभए तेरो सिंगो परिवारलाई ल्याएर जेलमा कोचिदिन्छौँ भन्दै धम्क्याए । तर, मैले बरु मलाई गोली हानेर मार्नुस्, फाँसी दिनुस्, ४० वर्ष जेलमा कोच्नुस्, तर गर्दै नगरेको अपराध कबोल गर्दिनँ भन“े,’ चक्रले नया“ पत्रिकासित भने, ‘सिआइबीबाट आएको बताउने सिभिल ड्रेसका प्रहरीले हरेक दिन राति रक्सीले मातेर धेरै नै यातना दिए ।’

 

यता हरेक दिन घरमा खानतलासी गर्न आउने प्रहरीले परिवारका सदस्यलाई धम्क्याउँथे । ‘छोराले बलात्कार गरेर मारेको कबोल गर, नत्र तिम्रो छोरालाई मारिदिन्छौँ भनेर हरदिन धम्क्याउँथे । म बुढोको त परान निस्किन मात्रै बाँकी थियो । छोराले हिरासतमा बिताएका ११ दिनका २२ छाकमा हामीले मुस्किलले ५/७ छाक खाना खायौँ होला,’ चक्रका ६६ वर्षे पिताले भने । चक्रकी भाउजू द्रौपदीका अनुसार चार दिनसम्म निरन्तर प्रहरी कार्यालय धाउँदा चक्रलाई पक्राउ नै नगरेको बताउँथे प्रहरीहरू । ‘सबैलाई सिध्याइदिन्छौँ भनेर धम्क्याउँथे,’ उनले भनिन् ।

 

चक्र गिरफ्तारीको सातौँ दिनसम्म पनि तत्कालीन एसपी डिल्लीराज विष्टले त्यस्तो नाम गरेको कुनै मानिसलाई गिरफ्तार नगरिएको भनी जवाफ दिने गरेका थिए । गिरफ्तारीको एघाराँै दिन ५ हजार धरौटीमा छाडियो, आरोप थियो– प्रहरीलाई गालीगलौज गरेको । प्रहरीलाई गालीगलौज गरेको आरोपमा ११ दिनसम्म थुन्ने अधिकार कुन कानुनले दिएको छ ? यसको जवाफ अब नेपाल प्रहरी र गृह प्रशासनले दिनुपर्नेछ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्