कञ्चनपुर घटनाको अनुसन्धानको दायरामा नआएका को–को हुन् ‘भीआईपी’ संदिग्ध ? मेयरका भतिजा र एसपीका छोराको कनेक्स ?



 

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ महिना पूरा भएको छ । घटनाको १ चरणको अनुसन्धानले फेल खायो ।

 

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र डीएसपी अंगुर जिसीको नेतृत्वमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले घटनाको अनुसन्धान गर्यो । अनुसन्धानपछि प्रहरीले भीमदत्त नगरपालिका–१९ का दिलिप विष्टलाई भदौ ५ गते सार्वजनिक गर्यो । तर, घटनाको अभियुक्त बिष्ट हुन् भन्नेमा पन्त परिवार र स्थानीयलाई पत्यार लागेन ।

 

यति मात्रै नभइ स्थानीयले वास्तविक दोषीलाई जोगाउन प्रहरीले मानसिक अवस्था बिग्रेको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलित भए । अन्ततः भदौ ८ गतेसम्म आन्दोलन हिंसात्मक बन्यो । प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ का शनि खुना थारुले शहादत्त प्राप्त गरे । दर्जनौं घाइते भए ।

 

९ कक्षामा अध्ययनरत मृतक निर्मला पन्त साउन १० गते बिहान ११ बजे करीब १ हजार ३ सय मिटरको दूरीमा रहेको आफ्नी साथी रोशनी बमको घरमा विज्ञान विषयको नोट ल्याउन गएकी थिइन् । त्यहाँबाट नै उनी बेपत्ता भएको र पछि ऊखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेपछि बम परिवार चौतर्फी आशंकाको घेरामा परेको हो ।

 

छोरी अबेर रातिसम्म पनि घर नफर्किदा २ पटक बम परिवारको घरमा पुगेको मृतक निर्मलाकी आमा दुर्गा बमले बताइन् । तर, बम परिवारले घरभित्रै पस्न नदिएको र रोशनीकी दिदी बबिताले भनेको ‘तिम्रो छोरीको बारेमा हामी ठेक्का लिएका छौ, तिम्री छोरी कहाँ गई कि पोइल गई’ जस्ता रुखो स्वरमा भनेको कुरा झनै आशंकाको घेरामा तानिएको हो । यति मात्रै नभइ बमको घर परिसरमा रहेको अम्बाको रुख काटिनु, घरको भित्रिभाग रंगरोगन गरिनुजस्ता तथ्यले बम परिवार अनुसन्धानको दायरामा परेको छ ।

 

तर, बम परिवार आफ्नो परिवारमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएका छन् । बविताका बुवा दीपेन्द्रबहादुर बमले बाटो हिँड्ने जोकोहीले ढुंगा हान्ने र अम्बा टिप्न पर्खाल नाघेरभित्र पस्ने गरेकाले अम्बाको रुख काटिदिएको र घरको भित्रिभागमा कुनै रंगरोगन नभएको बताए । आफ्नी निर्दोष छोरीलाई जबर्जस्ती फसाउन लागेको समेत उनले दाबी गरे ।

घटनाको विरोधमा उठेको आन्दोलनको दबाबपछि प्रहरीले अनुसन्धानको लागि भदौ ९ गतेदेखि बम दिदीबहिनीलाई नियन्त्रणमा लिएको छ । सोमवार थप अनुसन्धानको लागि अदालतबाट ६ दिनको लागि म्याद थप गराएको हो ।

 

घटनामा मेयरका भतिजा र एसपीका छोराको कनेक्स ?

मृतक निर्मलाको परिवार र स्थानीयको अर्को आशंकाको घेरामा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट समेत तानिए । घटनामा मुछिएका एसपी विष्टलाई गृह मन्त्रालयले निलम्बन समेत गरिसकेको छ ।
छोरी सम्पर्कमा नआएपछि पटक–पटक खोजी कार्यको लागि पन्त परिवारले प्रहरीसँग हारगुहार मागे । तर, प्रहरीले चासो दिएन । घटनाको २५ औं दिनपछि मानसिक अवस्था बिग्रेको व्यक्ति दिलिप विष्टलाई सार्वजनिक गरिएपछि स्थानीयमा आशंकाको सीमा नै भएन ।

 

जसको कनेक्सन प्रहरी एसपी विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजोसँग गाँसिएको त छैन भन्ने आशंका आजभोलि चर्चाको विषय बनेको छ । स्थानीयले २ तले घरमा बम दिदीबहिनी मात्रै बस्दै आएको र एसपी विष्ट र मेयरका भतिजोको आउजाउ हुँदै आएको बताउँछन् ।

 

भर्खरै सरुवा भएर आएका कञ्चनपुरका एसपी कुबेर कडायतले हालसम्म ३ जनालाई मात्रै अनुसन्धानको लागि राखेको बताए । भदौ ५ गते सार्वजनिक गरिएका दिलिप बिष्ट र बम दिदीबहिनीलाई मात्रै अनुसन्धानको लागि नियन्त्रणमा राखेको उनले बताएका हुन् ।

 

तर, घटनामा दोषी भनेर सामाजिक सञ्जालमा ‘अफवाह’ फैलाइएको प्रहरीको भनाई छ । एसपी कडायतले पहिलेका एसपीका छोरा र मेयरका भतिजो कुनै पनि अनुसन्धानमा नतानिएको जानकारी दिए । उनले घटनामा आशंकाको भरमा बम दिदीबहिनीबाहेक अरुलाई अनुसन्धानमा नल्याइएको स्पष्ट पार्दै सामाजिक सञ्जालमा निर्मला हत्याका दोषी एसपीका छोरा र मेयरका भतिजा रहेको अफवाह फैलाइएको तर अनुसन्धानका क्रममा उनीहरू हालसम्म नजोडिएको उल्लेख गरे ।

 

मेरो परिवारको सदस्यको नाम किटान गरेर देखाउ : मेयर

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले सामाजिक सञ्जालमा अफवाह फैलाएर जनता र जनप्रतिनिधिबीचको सम्बन्धमा फाटो ल्याउने काम भएको बताए । साथै, एसपी विष्टसँग आफ्नो कुनै पारिवारिक सम्बन्ध नरहेको स्पष्ट पार्दै मेयर विष्टले आफूहरू बैतडीको क्षेत्री विष्ट रहेको र एसपी विष्ट दार्चुलाको बाहुन विष्ट रहेको लोकान्तरले जनाएको छ ।

 

मेयर विष्टका अनुसार मेयरका १ दाजु र १ भाई रहेका छन् । उनीहरू ७÷८ वर्षदेखि जिल्लाको विभिन्न ठाउँमा छुट्टिएर बस्दै आएका छन् । मेयरका १ छोरा र १ छोरी छिन् भने मेयरको भाईको २ छोरी र १ छोरा छन् । मेयरको दाजुको १ छोरा र १ छोरी रहेकी छिन् ।

 

उनले अगाडि भने, ‘मेरो भतिजो भनेर अफवाह फैलाइएको छ । कि त नामै किटान गरेर आउनुपथ्र्यो । म त पहिलैदेखि भन्दै आएको छु, अनुसन्धान निष्पक्ष होस् । दोषिलाई कारबाही होस् । चाहे मेरो परिवारका सदस्य किन नहुन् । तर, जनता र जनप्रतिनिधिबीचको सम्बन्धमा फाटो ल्याउनु कार्य नहोस् ।’

प्रतिक्रिया दिनुहोस
सिद्धबाबा सुरूङ मार्ग छिचोलियो

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी

यो सरकार काम गरेर देखाउँछ : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका