निर्मला पन्तको हत्या, गृहमन्त्रीले दुई जना खोजेनन्, प्रहरीमाथि विश्वासको संकट



 

कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानीजाहेरी दिन अभिभावकलाई दबाब दियो ।

आफूले नचिनेको र घटनामा उनी संलग्न छन् कि छैनन् भन्ने जानकारीविना केका आधारमा किटानी जाहेरी दिने भन्ने अभिभावकको प्रश्न थियो । तर, प्रहरीले दिलीपसिंह विष्ट नाम गरेको ती युवा नै अपराधी भएको ठोकुवा गर्दै लिखित जाहेरी दिन बाबुआमालाई दबाब दियो । ‘ल ठीक छ त्यो मान्छे को हो ? मलाई एकपटक भेट्न दिनुहोस्, म उसका कुरा सुन्छु र उसले अपराध स्वीकार ग(यो भने किटानी जाहेरी दिन्छु, बाँकी कारबाही तपाईं गर्नुहोला भनेर मैले बिन्ती पनि गरेँ, तर प्रहरी सरहरूले मान्नुभएन ।

 

किटानी जाहेरी दिनूस् भनेर एकोहोरो जिद्दी गर्नुभयो,’ निर्मलाका बुबा एकराज पन्तको भनाइ छ । आफूले चिन्दै नचिनेको मान्छेको नाममा किटानी जाहेरी दिन नमानेपछि अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले आफूलाई मानसिक यातना दिएको उनको गुनासो छ ।

 

प्रहरीले विष्ट दोषी हुन् भन्ने लेख्न लगाएर अनुसन्धानको जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् जसले कञ्चनपुर तनावग्रस्त छ । प्रहरीको अनुसन्धानमा स्थानीयलाई किन विश्वास छैन भने आरोपी विष्ट मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । बाटोमा निर्मलाको साइकल बिग्रिएको र बनाइदिने भन्दै दिलीपले उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

 

तर, मानसिक सन्तुलन बिग्रिएका युवाले भन्दैमा निर्मला पछिपछि गइन् होला भन्नेमा स्थानीयलाई विश्वास छैन । त्यस्तै, आफैँ पनि शारीरिक रूपमा जीर्ण देखिने दिलीपले निर्मलालाई एक्लै उखुबारीमा लगेर बलात्कार गर्न सके भन्ने दाबी पनि भरपर्दो मानिएको छैन । तीन सातापछि प्रहरीले घटनास्थलबाट एउटा कन्डम र एउटा खल्तीको टुक्रा बरामद गरेको दाबी गरेको छ । बलात्कार र हत्या गर्ने कुनै पनि पुरुष कन्डम बोकेर हिँड्छ भन्नेमा पनि शंका छ ।

 

त्यस्तै, अहिले भेटेको खल्तीको टुक्रामा कहीँकतै धुलो नलागेकाले प्रहरीले भर्खरै आफैँ फालेर नक्कली प्रमाणका रूपमा प्रस्तुत गर्न खोजेको स्थानीयको दाबी छ । तर, अहिले आएर अनेक प्रमाण जुटाउन खोज्ने प्रहरीले घटनाको दिन भने पर्याप्त संवेदनशीलता नदेखाएकोमा पनि स्थानीय आक्रोशित छन् । बालिका हराएकै दिन अभिभावक प्रहरी चौकीमा गएका थिए, तर प्रहरीले भोलि खोजौँला भनेर रिपोर्ट पनि लिन मानेन ।

 

भोलिपल्ट स्थानीयले निर्मलाको साइकल भेटे, वरपर खोज्दा निर्मलाको शव फेला प(यो । तर, नगरपालिकाका मेयर पनि उपस्थित हुनुपर्ने माग भएपछि प्रहरीले शव नै छाडेर हिँडेको थियो । स्थानीय अगुवाले सिडिओलाई सीधै फोन गरेपछि मात्र फर्किएको प्रहरीले शव लिएर गएको थियो ।

 

दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए । तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन । एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानेका छैनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा