विशिष्टको आवासमै वार्षिक २२ करोड खर्च,बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी



हाम्रो इकोनोमि

 

देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ ।

 

सञ्चारमा ८८ लाख
राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूको निवासमा जोडिएको टेलिफोन र इन्टरनेटको एक वर्षको बिल ८८ लाख उठेको भवन सम्भार डिभिजन कार्यालयका उपसचिव रामकृष्ण पन्थीले बताए ।

 

घरभाडामा ८१ लाख
शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा क्वार्टर नपुगेपछि केही मन्त्री बाहिर भाडामा बसेका थिए । उनीहरूको घरभाडामा ८१ लाख खर्च भएको पन्थीले बताए । भाडामा बस्ने मन्त्रीलाई सरकारले प्रतिमहिना ४० हजारका दरले भाडा शुल्क दिने गरेको छ ।

 

झण्डै दुई करोडको फर्निचर
गत आर्थिक वर्ष राष्ट्रपतिदेखि मन्त्रीसम्मको निवासमा एक करोड ९० लाखको फर्निचर किनिएको छ । फर्निचर शीर्षकमा भएको खर्चमध्ये सबैभन्दा धेरै सोफा र कुर्सीमा भएको छ ।

 

मसलन्द र पर्दा–कार्पेटमा २ करोड खर्च
विशिष्टहरूको कार्यालयसम्बन्धी खर्चमा २ करोड खर्च भएको छ । यो खर्च किचेन, मसलन्द, पर्दा र कार्पेटमा भएको हो ।

 

मर्मतमा १ करोड १० लाख खर्च
सामान्य मर्मतमा ६० लाख खर्च भएको छ । यसमा धारा, मेसिनरी औजार मर्मत खर्चमा गरी एक करोड १० लाख खर्च भएको छ । एसी, इन्डक्सन चुलो, ल्यापटपलगायत सबैको मर्मत खर्च यसैमा समेटिएको छ ।

 

ट्वाइलेटपेपरदेखि भान्साका भाँडाकुँडासम्म राज्यकै
विशिष्ट पदाधिकारीहरूले सुविधाका नाममा ट्वाइलेटपेपरदेखि किचनमा प्रयोग हुने भाँडाकुँडा, पर्दा, टाबेललगायत सबै लिने गरेका छन् । विशिष्ट पदाधिकारीको निवासबाट जे माग्यो, त्यो दिनुपर्ने बाध्यता कार्यालयलाई रहेको भवन सम्भार डिभिजन कार्यालयका एक कर्मचारीले बताए ।
‘खानेकुराबाहेक सबै पठाउँदै आएका छौँ,’ उनले भने, ‘हामीले प्रधानमन्त्री, मन्त्री र उहाँहरूको परिवारलाई मात्र सेवा दिएर पुग्दैन, उहाँहरूका आफन्त, कार्यकर्ता, सुरक्षाकर्मीलाई पनि सुविधा दिनुपर्ने बाध्यता छ ।’

 

एकजना मन्त्रीको क्वार्टरमा २० देखि ३० जनासम्मलाई राज्यकोषबाट सुविधा दिनुपरिरहेको कार्यालयको गुनासो छ । ‘विशिष्ट पदाधिकारीहरूको घर चलाइदिनुपरेको छ, त्यो पनि हाइफाई सुविधासहितको,’ ती धकर्मचारी भन्छन् ।

कतिपय मन्त्री त आफूअनुकूल सामान खरिद गरेर भवन सम्भार कार्यालयमा बिल पेस गर्छन् । कसलाई के सुविधा दिने भन्ने निर्देशिका वा नियमावली नहुँदा आफूहरूलाई अप्ठ्यारो भएको उनले बताए ।

 

मन्त्रीक्वार्टरको स्टोर पर्दाले भरियो
एक कर्मचारीका अनुसार पुल्चोकस्थित मन्त्रीक्वार्टरको स्टोर महँगा पर्दा र कार्पेटले भरिएको छ । मन्त्री परिवर्तन भएअनुसार पर्दा र कार्पेट फेरिन्छ । पुराना मन्त्रीले प्रयोग गरेका पर्दा, कार्पेट स्टोर रुममा थुपारिन्छ । ती कर्मचारीका अनुसार अहिले दुई ट्रकबराबरको सामान मन्त्रीक्वार्टरको स्टोरमा ढुसी आएको अवस्थामा छ । सरकार÷मन्त्री फेरिएसँगै सोफा र भाँडाकुँडा पनि फेर्ने परिपाटी छ । यी सबै सामान स्टोरमै थुपारिएका छन् ।

 

ब्रान्ड तोकेर माग आउँछ
विशिष्ट पदाधिकारीहरूले सामान मगाउँदा महँगो ब्रान्ड नै तोकेर लिस्ट पठाउने गरेको भवन सम्भार डिभिजन कार्यालयको गुनासो छ । ‘विदेशी पाहुना आउँदा प्रयोग हुने सामान त सकेसम्म राम्रा ब्रान्डकै पठाउँछौँ,’ ती कर्मचारीले भने, ‘ट्वाइलेटपेपरदेखि भाँडा माझ्ने जाली तथा मञ्जन र ब्रस पनि हामीबाटै मगाउनुहुन्छ, त्यो पनि महँगा ब्रान्ड तोकेर ।’

 

बिरुवा खरिददेखि कर्मचारीको तलबसम्म  साढे ११ करोड
सरकारले राष्ट्रपतिदेखि मन्त्रीहरूको निवाससम्ममा खाना पकाउने भान्सेदेखि बगैँचा स्याहार्ने मालीसम्मका कर्मचारी खटाएको हुन्छ । उनीहरूको तलबभत्तामा पनि ठूलो रकम खर्च हुन्छ । त्यस्तै, विशिष्टहरूको निवासमा लगाइने फूलदेखि अन्य बिरुवा र गमला खरिदमा पनि खर्च हुन्छ ।

 

यसका अतिरिक्त विशिष्ट पदाधिकारीहरूले बैठकदेखि भान्सासम्मका सामान मगाउँदा महँगो ब्रान्ड नै तोकेर लिस्ट पठाउने गर्छन् । त्यसमा पनि ठूलो रकम खर्च हुने गरेको छ । ‘कर्मचारीदेखि बगैँचासम्मका शीर्षकमा पनि करोडौँ रकम खर्च हुन्छ,’ भवन सम्भार डिभिजन कार्यालयका उपसचिव रामकृष्ण पन्थीले भने ।

 

कार्यविधिविनै  जथाभावी सुविधा
राज्यको मुख्य निकायमा रहेका विशिष्ट पदाधिकारीले राज्यकोषबाट थरीथरी सुविधा लिँदै आएका छन् । तर, त्यो गैरकानुनी छ । विशिष्ट पदाधिकारीलाई सुविधा दिने कार्यविधि ७ वर्षअघि बने पनि स्वीकृत भएको छैन । हरेक वर्ष कार्यविधिमा राय लिने, पुनर्लेखन हुने, तर अन्तिममा मन्त्रिपरिषद्ले स्वीकृत नगर्ने गरेको सहरी विकास मन्त्रालयका एक उपसचिवले बताए । अहिले पनि सुविधासम्बन्धी कार्यविधिको मस्यौदा सहरी विकासमन्त्रीकै टेबुलमा छ ।

 

बालुवाटारमा मासिक १२ लाखको ट्यांकरको पानी मगाएर धोइन्छ गाडी र मोटरसाइकल
प्रधानमन्त्रीनिवास बालुवाटारमा ट्यांकरको पानी खरिदमा मात्रै एक महिनामा १२ लाखभन्दा बढी खर्च भएको छ । तीन महिनाको ट्यांकरको पानीको बिल ३७ लाख उठेको हो । प्रधानन्यायाधीश र सभामुखको सरकारीनिवासमा ल्याइएको ट्यांकरको पानीको बिल ६ लाख छ । यो बिलमा पिउने पानीमा भएको खर्च जोडिएको छैन ।

 

प्रधानमन्त्रीनिवास बालुवाटारमा खाना पकाउन ट्यांकरको पानी प्रयोग हुँदैन । ट्यांकरमा ओसारिएको पानी गाडी र मोटरसाइकल धुन प्रयोग हुने गरेको भवन सम्भार डिभिजन कार्यालयले जनाएको छ । बगैँचाका रूख–बिरुवामा पनि ट्यांकरकै पानी सिन्चित गरिन्छ । भएको डिप बोरिङ प्रयोग गरिँदैन । ‘भिआइपीहरूलाई ट्यांकरमा पानी पठाउँछौँ । त्यो पानी मोटरले तानेर त्यहाँका कर्मचारी गाडी, मोटरसाइकल धोइरहेका हुन्छन् । तर, हामीले केही भन्न सक्ने स्थिति हुँदैन,’ एक कर्मचारीले भने ।

 

 प्रधानमन्त्रीकै धारोमा आउँदैन पानी जारकै पानीले पाक्छ खाना
प्रधानमन्त्रीनिवास बालुवाटारमा खानेपानीको धारा जडान छ । तर, सुन्दा अनौठो लाग्छ, त्यो धारामा पानी आउँदैन । प्रधानमन्त्रीको भान्सामा परिकार तयार गर्न अक्वा हन्ड्रेड ब्रान्डको जारको पानी प्रयोग हुन्छ । पुष्पकमल दाहाल प्रचण्डको पालासम्म सामान्य जारकै पानी प्रयोग हुन्थ्यो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बजारमा बिक्रीका लागि राखिएका पानी र दूधमा कोलिफर्म भेटिएको समाचार आएपछि अक्वा हन्ड्रेड प्रयोग गर्न थालिएको हो ।

 

प्रधानमन्त्री कार्यालयमै आर्थिक अनियमितता
आर्थिक मितव्ययितामा जोड दिइरहेका प्रधानमन्त्री कार्यालयमै करिब ८० लाखको सफ्टवेयर खरिदमा आर्थिक अनियमितताको प्रश्न उठेको छ । हेलो सरकारको क्षमता वृद्धिका लागि गत आर्थिक वर्ष कल सेन्टरको डिभाइस र सफ्टवेयर ८० लाखमा खरिद भएको थियो । तर, उक्त खरिद प्रक्रियामा मिलेमतो र अनियमितता भएको भन्दै मन्त्रिपरिषद् कार्यालयले छानबिन गरेको थियो ।

 

आर्थिक प्रशासन र आइटी विभागको मिलेमतोमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको संयोजकत्वमा बैठक बसेको थियो । ५ विकास क्षेत्रमा स्थापना भएका कल सेन्टरमध्ये दुईवटा मात्रै चालू अवस्थामा छन् । बाँकी चार बिग्रिसकेका छन् ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...