डेढ सय परिवारको घरजग्गा भु माफियाको नाममा, मेयर भन्छन हामिलाई थाहा भएन, राज्यले क्षतिपूर्ति दिनुपर्छ



हाम्रो इकोनोमि

 

रंगेली नगरपालिका वडा नम्बर १ बबियाबिर्ताका बल्सा थारुले ०६० सालमा नै ४ लाख ६० हजारमा १ विघा ४ कठ्ठा जग्गा किने । किनेको जग्गामा टहरो हाले । बाँकी रहेको जग्गा जोतभोक गरे । तर, १५ वर्षपछि एकाएक मालपोतले थारुको जग्गा अर्कैका नाममा दर्ता गरेपछि बल्साको भोक निन्द्रा सबै हराएको छ ।

सोही ठाउँकी मदियादेवी थारुको अवस्था पनि उस्तै छ । ०६३ सालमा १७ हजार रुपैयाँ कठ्ठाका दरले तीन कठ्ठा चार धुर जग्गा किनेकी उनी पनि अहिले घरकी न घाटकी भएकी छन् ।

बल्सा र मदियादेवी मात्रै होइन, बिराटनगरका धाडेवा परिवारको आन्तरिक किचलो र अंश मुद्दाका कारण सगरदिनका डेढ सय परिवार अहिले घरजग्गाविहीन बनेका छन् ।

धाडेवा परिवारको रंगेली नगरपालिका १ -साविकको बबियाबिर्ता गाविस वार्ड नं ७, ८ र ९) मा करिव २२८ बिगाह जमिन थियो । जसमध्ये करिब १८२ विगाह स्थानीयले किनेर जोतभोग तथा बसोबास गर्दै आएका थिए । त्यो जग्गामा हाल ५० भन्दा बढी घर बनेका छन् भने डढे सय परिवार बस्छन् ।

तर, धाडेवा परिवारको अंश मुद्दामा सर्वोच्च अदालतले गरेको एउटा फैसलाले स्थानीयको जग्गा दर्ता खारेज हुनुका साथै त्यो जग्गाको स्वामित्व घाडेवाकै नाममै आएको छ ।

स्थानीय चन्द्रकला थारुले धाडेवा परिवारको जालसाजीका कारण आफूहरु अहिले घर न घाटको भएको बताइन् । ‘खाई नखाई अलिअलि बचाएको पैसाले जग्गा किनियो’ चन्द्रकलाले भनिन्, ‘अहिले हामीलाई पत्तो नदिई हाम्रो जग्गा दर्ता खारेज गरेर सुकुम्बासी बनाए । अब न्यायका लागि कहाँ जाऊँ ?’

 

धाडेवा परिवारको बदमासी

बिराटनगरका धाडेवा परिवारमा दाजुभाइ तिलकचन्द र रेवतचन्दबीच लामो समयदेखि अंश विवाद थियो । तिलकचन्दले दाजु रेवतचन्दविरुद्ध ०५२ सालमै जिल्ला अदालत मोरङमा अंश मुद्दा हालेका रहेछन् । तर, जग्गा रोक्का गराएका थिएनन् ।

त्यसको फाइदा उठाउँदै रेवतचन्दका छोराहरु पवन, अशोक र बुहारी रेखाले स्थानीयलाई भटाभट जग्गा बेचे । त्यसबेला अंश मुद्दाबारे कुनै सुइँकोसमेत दिएनन् । तर, सर्वोच्च अदालतमा पुगेको यो मुद्दामा ०६२ साल बैशाख २१ मा तिलकचन्दका श्रीमती किरणदेवीको नाममा नामसारी गर्न आदेश दियो ।

सर्वोच्चले फैसला कार्यान्वयनका क्रममा जिल्ला अदालत मोरङले १० माघ ०७० मा १४० कित्ता जमिनको दर्ता खारेज गर्न मालपोत कार्यालय रंगेलीलाई पत्राचार गरेको थियो । कार्यालयले २ साउन ०७३ मा पहिलो पटक ५७ वटा दर्ता खारेज गर्‍यो । त्यसको स्वामित्व किरणदेवीको नाममा गयो । पछिल्लोपटक ५ साउन ०७५ मा १९ वटा कित्ताको दर्ता खारेज भएको छ ।

रेवतचन्दका छोराहरुले बेचेको १४० मध्ये ८४ कित्ता मात्र किरणदेवीको नाममा जान बाँकी छ । यो जग्गा रेवतचन्दका छोरावुहारीले बेचेका थिए । किन्नेहरुसँग जग्ग्गाधनी पूर्जा पनि छ तर, सर्वोच्चको फैसलाले त्यो कागजको खोस्टा बन्यो ।

‘१५ बर्ष अघि धाडेवा परिवारका सदस्य किनेको जग्गा अहिले आफ्नो हुन सकेन’ महेन्द्र श्रेष्ठले भन्छन्, ‘धाडेवा परिवारको चलाखीले हामीमाथि अन्याय भएको छ ।’

०६० सालमा पवन धाडेवाको पत्नी रेखादेवीसँग जग्गा खरिद गरेका दोर्णबहादुर कार्की आफूले भोगचलन गर्दैर् आएको जग्गा एक्कासी किरण देवीका नाममा नामसारी हुँदा आफू सुकुम्बासी भएको बताए । उनले भने, ‘दाजुभाइको अंश झमेला थियो भने किन हामीलाई जग्गा बेचियो ? किन जग्गा रोक्का गरिएन ?’

धाडेवा परिवारबाट पीडित भएकाहरुले रंगेली नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुका साथै मालपोत कार्यालय घेराउ गरे । तर, माग सुनुवाइ भएको छैन ।

मालपोत कार्यालय रंगेलीका प्रमुख उत्तम श्रेष्ठले भने आफूहरुले सर्वोच्चको फैसला कार्वान्वयन मात्र गरेको बताए । मालपोत रंगेलीका मुद्दा शाखाका नासु अरुण पिठाकोटेले भने अदालतले सोझै कसैको नाम नखुलाई कित्ता नम्बर उल्लेख गरी नामसारी गरिदिनु भनेर पत्र पठाएकाले अहिले समस्या देखिएको बताए ।

जग्गा नभए क्षतिपूर्ति देऊः मेयर

रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले धाडेवा परिवारले स्थानीयलाई अन्याय गरेको बताए । ‘अदालतमा अंश मुद्दा हुँदा जग्गा रोक्का नगर्नु उनीहरुको षड्यन्त्र हो । किन र कसरी रोक्का नभई जग्गा विक्री भयो ?’ उनले भने ।

यसबारे अध्ययन भइरहेको भन्दै उनले स्थानीयलाई कसैले पनि विचल्लीमा पार्न नपाइने बताए । मेयर बगडियाले भने, ‘सोझा सिधा किसानले पैसा तिरेर जग्गा किनेका हुन् । उनीहरुले जग्गा नपाउने भए चलनचल्ती बमोजिम क्षतिपूर्ति पाउनुपर्छ ।’

हाम्रो समस्या होइनः सञ्जय धाडेवा

तिलकचन्दका छोरा सञ्जय धाडेवाले भने अंश मुद्दामा अदालतले दिएको आदेश कार्यान्वयन हुनुपर्ने बताए ।

‘अदालतमा मुद्दा चलिरहेका बेला जग्गा किनिएको छ, यो हाम्रो समस्या होइन’ सञ्जयले भने, ‘सस्तोमा जग्गा पाएपछि किनेका हुन् । अदालतको फैसलाअनुसार हामीले जग्गा भोग गर्न पाउनुपर्छ । अरु कुरा हामीलाई थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...