मुलुकी (देवानी) संहिता ऐन : अंशबण्डाबारे यस्तो छ नयाँ प्रावधान, को–को हुन्छन् अंशियार र हकदार 



हाम्रो इकोनोमि

 

मुलुकी (देवानी) संहिता ऐन २०७४ मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ । जसलाई सगोलको सम्पत्ति अंशबण्डा गरेर लिने व्यक्तिलाई अंशियार भनिएको छ । ऐनको परिच्छेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ ।

 

को–को हुन्छन् अंशियार र हकदार 
प्रतिस्थापन मुुुलुकी ऐनले पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिने जनाएको छ  । त्यस्तै ऐनको २०६ दफामा अंशको समान हकदार हुने भनिएको छ । उपदफा (१) मा प्रत्येक अंशियार अंशको समान हकदार हुने उल्लेख छ भने २ मा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी उसलाई अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नुपर्ने उल्लेख छ ।

 

यसरी जन्मेकाले पनि पाउँछन् अंश
(३) उपदफा (२) बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुका लागि छुट्याइएको अंश अन्य अंशियारले बराबरी पाउने व्यवस्था छ । तर दफा  २०७ मा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मेका छोरा, छोरीले पनि अंश पाउने भनिएको छ ।  त्यस्ताको हकमा कानुन बमोजिम विर्वाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतीबाट जन्मिएका छोराछोरीले त्यस्ता बाबु आमाबाट अंश पाउन सक्ने भनिएको छ ।

 

आमाबाट पनि अंश पाउने 
बाबुको पहिचान नभएका छोराछोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउनेछन् । उपदफा २ मा  प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोराछोरीले पति वा बाबु मरेपछि भने अंशमा दाबी गर्न पाउने व्यवस्था छैन । त्यस्तै बाबु वा पतिको भागबाट अंश पाउनेमा सगोलमा बसेका दाजु भाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउने हुनेछन् ।
त्यस्तै अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा, छोरीले पाउनेछन् । कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् ।

 

बाबुको भागबाट अंश पाउने 
–कुनै व्यक्तिले पत्नी, छोरा छोरीसँग अंशबण्डा गरी भिन्न भएमा बाबुको भागबाट अंश पाउने छन् ।

–सँगै बसेको अवस्थामा अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा छोरी जन्मिएमा त्यस्ता पत्नी वा छोरा, छोरीले पति वा बाबुको अंश भागबाट मात्र अंश पाउनेछन्– पत्नी जीवित हुने कुनै व्यक्तिले अंश नहुँदै अर्को विवाह गरेमा अन्य अंशियारको अंश भाग छुट्याई आपूmले पाउने अंश भागबाट त्यसरी विवाह गर्ने महिलालाई अंश दिनुपर्नेछ ।

–सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्नेछ ।

 

जहिलेसुकै भिन्न हुन सक्ने
अंशियारहरू बीच आपसी सहमति भएमा निजहरू जहिलेसुकै पनि अंश लिई भिन्न हुन सक्नेछन् । पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंशबण्डा गरी अलग अलग बस्न उपयुक्त लागेमा जहिलेसुकै पनि अंशबण्डा गरी छुट्टिई भिन्न हुन सक्नेछन् भने विधवाले जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुन सक्नेछन् ।
तर विधवाले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैले लिन पाउनेछन्

 

अंश छोडपत्र गर्न सक्ने
ऐनको २१५ दफामा कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंशबापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्ने व्यवस्था छ । यही ऐनको उपदफा  (२) उपदफा (१) बमोजिम अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछ । तर नबवालक अंशियारको अंश हक छोडपत्र गर्न सकिने छैन । (३) उपदफा (१) बमोजिम अंश छोडपत्र भएकोमा निजको अंश भए सरह मानिनेछ ।

 

अंशबण्डाको लिखतमा खुलाउनुपर्ने प्रमाण
अंशियारहरूको नाम, थर, उमेर, ठेगाना तथा आमा, बाबु र बाजे, बजैको नाम, अंशियारहरूले पाउने सम्पत्ति, अंशियारको नाममा कुनै ऋण धन परेको भए त्यस्तो ऋण धनको रकम, बण्डा गर्दा कुनै अंशियार अन्य अंशियारसँग बस्ने भए सो कुरा खुलाउनुपर्नेछ ।  त्यस्तै बण्डा गर्नुपर्ने सम्पत्ति कुनै अंशियारले नलुकाए वा नछिपाएको कुरा, (च) बाबु आमा वा पति पत्नीको शेषपछि कुनै सम्पत्ति कुनै अंशियारले मात्र पाउने भए त्यसको विवरण, (छ) कुनै अंशियारको अंश कसैको जिम्मामा रहने भए सो कुरा, (ज) अन्य आवश्यक कुराहरू खुलाउनुपर्नेछ ।

 

अंशबण्डाको लिखत अनिवार्य
अंशबण्डा गर्दा अंशबण्डाको लिखत तयार गरी साक्षी राखी त्यस्तो लिखतमा साक्षी तथा अंशियारको सहीछाप गरी कानुनको रीत पु¥याई सम्बन्धित कार्यालयबाट पारित गराउनु पर्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवत् २०३४ साल पुस २७ गतेभन्दा अघि कुनै अंशियारबीच बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अंशबण्डा गरी छुट्टिई आफ्नो अंश भाग बमोजिम लिई पाई दाखिल खारेजसमेत गरिसकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल सम्पत्ति छुट्टा छुट्टै भोग वा बिक्री व्यवहार गरेकोमा अंशबण्डाकोलिखत पारित नभएको भए पनि अंशबण्डा भएको मानिनेछ ।

 

घरको मुख्य भई काम गर्ने व्यक्तिले सगोलको सम्पत्ति अंशबण्डा नगरी अंश नलिएका र अंशियार हुने कुनै अंशियारलाई मात्र दिन पाउने छैन । तर (१) सबै अंशियारको मञ्जुरी लिई कुनै सम्पत्ति कुनै अंशियारलाई दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...