कर वृद्धिको विरोधमा कांग्रेससहित सात दलको रिले अनशन, ३१५ रुपैयाँ तिर्दै आएको कर स्थानीय तहले लियो ३ हजार २४०



हाम्रो इकोनोमि

 

रत्ननगर नगरपालिकाका सात राजनीतिक दलले कर वृद्धिको विरोधमा आन्दोलन थालेका छन्। नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गरेका हुन्। कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशन सहितको आन्दोलन थालेको नेपाली कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले जानकारी गराए।

 

उनीहरूले सात राजनीतिक दल संलग्न रहेको संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन्। घिमिरेकाअनुसार रिले अनसनमा नेपाली कांग्रेस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी९प्रजातान्त्रिक०, नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक पार्टी रहेका छन्।

 

नगरपालिकामा जनप्रतिनिधिहरू आएपछि जनपक्षीय काम हुन नसकेको आरोप लगाउँदै १० देखि १४ गुनासम्म कर वृद्धि गरेर जनतालाई मारमा पारेको आरोप आन्दोलनरत दलहरूले जनाएका छन्। कर वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ। ‘वृद्धि गरिएको कर तत्काल फिर्ता हुनुपर्छ, घिमिरेले भने, नगरपालिकाले आर्थिक आम्दानी गर्ने हो भने अन्य वैकल्पिक श्रोतको खोजी गर्नुपर्छ, नत्र आन्दोलन जारी रहन्छ।’ आन्दोलनरत पार्टी कार्यकर्ताले नगरपालिकाको कर संकलनमा समेत अवरोधसमेत गरेका छन् ।

 

कर तिर्ने स्थानमा झयाल बन्द गरेर उनीहरूले करतिर्न आएका सर्वसाधारणहरूलाई फिर्ता पठाएका थिए। यसअघि उनीहरूले सांकेतिक धर्ना, तथा प्रचारात्मक कार्यक्रम गरेका थिए भने वडा कार्यालयमा पुगेर कर नतिर्न आग्रह गरेका थिए। मुख्यगरी एकीकृत सम्पत्ती कर, फोहरमैला कर र व्यवसाय करमा बढी वृद्धि गरेको आरोप उनीहरूको छ। रत्ननगर ९ का गोपाल शर्माले अघिल्लो वर्ष आफ्नो जग्गाको ३१५ रुपैयाँ तिरेकोमा अहिले त्यही जग्गाको ३ हजार २४० रुपैयाँ कर तिर्नुपरेको बताए।

 

यता रत्ननगर नगरपालिकाले भने करको दर बढाएको नभई करको दायरा मात्रै बढाएको दाबी गर्दै आएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले यसअघि कतिपय स्थानमा सेवा मात्रै दिएको, कतिपय स्थानमा न्यून शुल्क लिईदै आएको र कतिपय सेवाको करमा नसमेटिएको क्षेत्रमा केन्द्रीय नीति अनुसार केही कर वृद्धि गरेको तर अस्वभाविक रुपमा कुनैपनि क्षेत्रमा करको दर नबढेको दाबी गरे।

 

कतिपय प्रचारमा आएको कुरा सहि नभएको भन्दै ढुंगानाले अब जनतालाई करको विषयमा सुसूचित गर्ने अभियानमा नगरपालिका लागेको बताए। उनले आन्दोलनरत पक्षसँग समेत संवाद र छलफल प्रक्रिया अघि बढेको जनाएको छ। बढेको कर पनि ठूला व्यापारी र व्यापार गर्ने स्थानमा बढेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...