पश्चिमाले नेपालमा धर्ममाथि योजनाबद्ध आक्रमण गरिरहेका छन्ः थापा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको धर्म र संस्कृतिमाथि योजनाबद्ध तरिकाले आक्रमण भइरहेको बताएका छन् ।

 

राप्रपाले शुक्रबार पोखराबाट शुरु गरेको ‘हिन्दु राष्ट्र पुनस्र्थापना अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमा राष्ट्रहरुले नेपालको पहिचान र एकताको सुत्र बनेको धर्म र संस्कृतिमाथि योजनाबद्ध तरिकाले आक्रमण गरिरहेको आरोप लगाएका हुन् ।

 

हिन्दु राष्ट्र भगवानको पूजा आराधना वा उपसना गर्नका लागि मात्र लागि नभएको बताउँदै उनले भने, ‘हिन्दु राष्ट्रको कुरा धार्मिक विषय मात्र हैन, पूजा आरधना वा उपासना गर्नका लागि मात्र पनि हैन । बरु यो त हिन्दु राष्ट्र नेपालीको पहिचान हो, एकताको सुत्र हो, समाज र राज्यको पहिचान गर्ने आधार हो र नेपालीको अस्तित्वको आधार पनि हो ।’

 

उनले विदेशीको दवाब र प्रभाव तथा दलको निहित स्वार्थका कारण नेपालबाट हिन्दु राष्ट्र हटाइएको दाबी गरे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले हिन्दु धर्ममाथि एक पक्षले भौतिक र अर्को पक्षले बौद्धिक आतंक मच्चाएको आरोप लगाए ।

 

भौतिक आक्रामण भन्दा बौद्धिक आतंक खतरनाक भएको भन्दै उनले भने, ‘माओवादीले भौतिक आक्रमण गरेर मठमन्दिर भत्काए, बौद्धिक आतंककारीले हिन्दु धर्मले विभेद गरेको, अन्य धर्मलाई हेला गरेको, समानता नस्विकारेकोलगायतका अफवाह फैलाए, जुन भौतिक आक्रमण भन्दा खतरनाक छ ।’

 

पछिल्लो १०/१२ वर्षमा दशौं लाख नेपालीको धर्म परिवर्तन गराइएको दाबी गर्दै उनले भने, ‘थिचोमिचो, गरिवी र शोषणको नाममा आदिवासी, जनजाति र दलितलाई सबैभन्दा बढी धर्म परिवर्तन गराइएको छ ।’

 

उनले हिमाल, पहाड र तराईदेखि, टोपी लाउनेदेखि धोती लाउनेसम्मलाई जोड्ने काम हिन्दु धर्मले गर्ने भएकाले हिन्दु धर्म एकताको सूत्र भएको दाबी गरे ।

 

अध्यक्ष थापाले राप्रपा परिवर्तन विरोधी नभएको जिकिर गरे । उनले भने, ‘हामी परिवर्तन बिरोधी हैनौं, बरु निरन्तरतासहितको परिवर्तनको पक्षमा छौं, हामी सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन वैदिक र सनातन मूल्य मान्यताको आधारमा विकास र समृद्धी ल्याउनुपर्दछ भन्ने हो ।’

 

उनले धर्मको आडमा राजनीति गर्न नखोजेकोसमेत जिकिर गरे । उनले भने, ‘कतिपयलाई राप्रपाले धर्मको नाममा राजनीति गरेको लाग्ला, तर हामीले धर्मको नाममा राजनीति गर्न खोजेको हैन र यो बेमौषमको बाजा पनि हैन, हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राप्रपाले संकल्प नै गरेको छ, सोहि अनुसार हामी अभियानमा छौं ।’

 

राप्रपा उपाध्यक्ष दिलनाथ गिरीले धर्मबिना लोक रहनै नसक्ने बताउँदै नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

धार्मिक गुरु बलभद्र नाथ योगीले धर्म सकियो भने नेपालीको अस्तित्व नै सकिने चेतावनी दिए ।

 

राप्रपाले पोखराबाट सुरु गरेको यो ‘हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ देशका सतहत्तरै जिल्लामा पुर्‍याउने जनाइएको छ । अभियानमा राप्रपा कार्यकर्तासँगै धार्मिक गुरु तथा भक्तजनहरुको पनि बाक्लो सहभागिता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...