तीन राप्रपाबीचको एकता भाँडियो, राणाको पार्टीमा भूकम्प, थापालाई कारबाही गर्न  प्रजातान्त्रिकभित्रै लबिङ



हाम्रो इकोनोमि

 

एजेन्डाको विषयमा विवाद हुँदा तीन राप्रपाबीचको एकता प्रक्रिया अवरुद्ध बनेको छ ।  कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वका राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीबीचको  एकता प्रक्रिया अवरुद्ध बनेको हो ।

 

तीन पार्टीबीचको एकीकरणका लागि राप्रपा र राप्रपा प्रजातान्त्रिकले वार्ता टोली नै गठन गरेर छलफल प्रक्रियालाई अघि बढाइसकेको अवस्थामा एकीकरण प्रक्रिया अवरुद्ध बनेको हो ।
कमल थापा नेतृत्वको राप्रपाले राप्रपा प्रजातान्त्रिक एजेन्डाको विषयमा स्पष्ट नभएको भन्दै वार्ता प्रक्रिया अवरुद्ध भएको घोषणा गरेको हो ।

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकको हिन्दूराष्ट्र र राजसंस्थाको विषयमा स्पष्ट एजेन्डा स्पष्ट नभएकाले वार्ता प्रक्रिया स्थगन भएको बताउँदै आफ्नो पार्टी पूर्ववत एजेन्डामा स्पष्ट भएको बताएका छन् ।

 

राप्रपाका तर्फबाट गठित वार्ता टोलीका संयोजक  तथा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी एकताको पक्षमा रहेको भए पनि सैद्धान्तिक विषय प्रष्ट नभएको वार्ता प्रक्रिया अवरुद्ध बनेको बताए । ‘एकताका लागि भनेर एक चरणमा छलफल पनि भएको हो । तर पछिल्लो समय सैद्धान्तिक रूपमा  राप्रपा प्रजातान्त्रिकमा केही समस्या देखिएकाले अध्यक्षको निर्देशनमा वार्ता प्रक्रिया  रोकिएको छ’, तामाङले रातोपाटीसँग भने ।

यद्यपि आफूहरू पार्टी एकताका लागि प्रयासरत रहिरहेको पनि उनको भनाइ थियो ।

 

राप्रपा प्रजातान्त्रिकले भने व्यक्तिको अभिव्यक्तिलाई लिएर समग्र पार्टीलाई नै जोडेर हेर्न नहुने बताएको छ । राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले आफूहरू पार्टी एकता हुनुपर्छ भन्ने पक्षमै रहेको भन्दै एकता प्रक्रियामा देखिएका विवादलाई छलफलकै आधारमा टुङ्गोमा पुर्याइनुपर्नेमा जोड दिए ।

 

गुरुङले पार्टीका नेताहरूले जे–जस्तो अभिव्यक्ति दिए पनि आधिकारिक लाइन सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र एवम् संवद्र्धनवाद नै भएको रातोपाटीलाई बताए ।

 

‘जेठ २५ गते सम्पन्न केन्द्रीय समिति बैठकले सर्वधर्म समभावसहितको सनातन हिन्दूराष्ट्र एवम् संवद्र्धनवादको सिद्धान्त अङ्गीकार गरेको छ । यो नै पार्टीको आधिकारिक विचार भनेको हो ।’ उनले बृहत् राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

 

महामन्त्री तथा राप्रपा प्रजातान्त्रिकले गठन गरेको वार्ता टोलीका सदस्य सुनिल थापाले राप्रपा हिन्दूराष्ट्र र राजसंस्थामा कमल थापाको पार्टी प्रतिबद्ध नभएका कारण विभाजन भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि तत्काल राप्रपाले वार्ता प्रक्रिया अवरुद्ध भएको घोषणा गरेको हो । अहिले राप्रपाले राणाको कारण एकता भाँडिएको दाबी गर्दै आएको छ भने राप्रपा प्रतिरक्षामा देखिएको छ ।

 

थापालाई कारबाही गर्न  प्रजातान्त्रिकभित्रै लबिङ !
यसो त एकताको माहोला अघि बढ्दै गर्दा राप्रपा प्रजातान्त्रिकभित्र  थापालाई कारबाही गर्दै गर्नुपर्ने आवाजसमेत उठेको छ । पार्टी एकता पक्षधर पार्टीका नेताहरूले उनलाई कारबाही गनुपर्ने भन्दै आवाज उठाएको एक नेताले दाबी गरे । उनका अनुसार पार्टीभित्रैबाट कारबाहीको आवाज उठ्न थालेपछि  थापा एकाएक विदेश उडेका छन् । उनी केही दिन सिङ्गापुरमा बसेर फर्किने पार्टी स्रोतले जनाएको छ ।

 

स्रोतका अनुसार राप्रपा प्रजातान्त्रिका वरिष्ठ नेता केशरबहादुर विष्ट समूहले थापालाई कारबाही गर्नुपर्ने  भन्दै गोप्य छलफलसमेत गरेका छन् । सो छलफलमा एक दर्जन नेताहरूको सहभागिता रहेको बताइए पनि स्रोतले सबै नाम उपलब्ध गराउन चाहेन । धोवीघाटस्थित विष्टको निवासमा भएको उक्त गोप्य छलफलमा  थापाको गतिविधि राजतन्त्रविरोधी  देखिए पनि उल्टै परस्पर विरोधी अभिव्यक्ति दिएको ठहर गरिएको थियो ।

 

यस विषयमा विष्टसँग बुझ्दा थापालाई कारबाही गर्नेबारे कुनै छलफल नभएको दाबी गरे । यद्यपि पार्टी एकताको पक्षमा रहेको भन्दै कसैले व्यक्तिगत रूपमा दिएको अभिव्यक्तिलाई पार्टीसँग जोडेर हेर्न नहुने उनको तर्क थियो । ‘हामीले सुनिलजीलाई कारबाही गर्ने विषयमा कुनै छलफल गरेको छैन ।  घरमा सधैँ १०–८ जनाको जमघट त भइ नै रहन्छ । त्यसैलाई छलफल भनको भए अर्कै कुरा नत्र अरू छलफल भएको छैन’, उनले रातोपाटीसँग भने ।

 

लोहनी भन्छन्– छलफल सकारात्मक छैन

राप्रपा राष्ट्रवादीले एकताका लागि भनेर सम्पूर्ण अधिकार  अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई नै दिएको छ । तर हालसम्म आफूसँग ठोस छलफल नभएको डा. लोहनीले रातोपाटीसँग भने । पार्टी एकताका विषयमा द्रूत गतिमा अघि बढेको भन्नेसम्मका प्रचार यसअघि बाहिर ल्याइएको आन्तरिक रूपमा भने कुनै प्रगति हुन नसकेको समेत डा. लोहनीले बताए ।

 

लोहनीका अनुसार मूलतः एकताका विषयमा एजेन्डासँगै नेतृत्वको विषय पेचिलो छ ।  सबै नेताहरूले नेतृत्वमा दाबी गर्दा समस्या उत्पन्न भएको उनले सङ्केत गरे ।

 

उनै लोहनी २०७३ फागुनमा  भएको एकताको महाधिवेशनपछि कमल थापाको कार्यशैलीप्रति ११ बुँदे विमति जनाउँदै पार्टीबाट अलग भएका थिए ।

यस्तै राप्रपा प्रजातान्त्रिक भने चुनावको मुखमा ०७४ साउनमा विभाजित बनेको थियो ।

विभाजनपछि गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तीनै पार्टी कमजोर बनेका थिए ।

पार्टी कमजोर बनेसँगै तीनै पार्टी  एकीकरणको प्रक्रियामा जुटेको भए पनि बीचमै अवरुद्ध बन्न पुगेको हो ।

 

पटक पटक फुट्दै, सङ्कटमा फस्दै र फेरि जुट्दै आएको आएको राप्रपाको यो पछिल्लो शृङ्खलाले अब कुन रूप लिन्छ, त्यो भने हेर्न बाँकी छ । यद्यपि गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  पूर्वपञ्चहरूको बाहुल्य रहेको यो पार्टीको मत कमजोर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई

    सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...