एकै महिनामा २३ बलात्कार : छोरी जोगाउन हरेक दिन चुनौती



 

१. १७ दिनको अन्तरमा कञ्चनपुरमा मात्रै दुई बालिकाको बलात्कारपछि हत्या भयो । गत ११ साउनमा भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरबाट फर्कंदै गर्दा बलात्कारको सिकार मात्र भइनन्, ज्यानसमेत गुमाइन् । उनको शव भासीखोलाछेउको उखुबारीमा फेला प-यो । बलात्कार र हत्यामा संलग्नलाई अहिलेसम्म प्रहरीले खोज्न सकेको छैन ।

 

२.२६ असारमा कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको पनि बलात्कारपछि हत्या भयो । लालझाडी जंगलमा गाडिएको अवस्थामा उनको शव भेटियो । हत्याको अभियोगमा पक्राउ परेका मदन गिरी र भरत बोहरामाथि कर्तव्य ज्यान र बलात्कार मुद्दा चलिरहेको छ ।

 

३.२० असारमा काभ्रेको तेमाल गाउँपालिका–१ स्थित देच्छेलिङ गुम्बा परिसरमा नौ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भयो । फुपूले परपुरुषसँग यौनसम्पर्क राखेको देखेकी एलिसाको फुपुकै मिलेमतोमा बलात्कार र हत्या भएको प्रहरीको भनाइ छ । बाराको बारागढी गाउँपालिका–६ घर भएका २३ वर्षीय जोखम मन्सुरले रक्सीले मातेर बलात्कारपछि हत्या गरेको काभ्रेका एसपी रविराज थपलियाले बताए । प्रहरीसँगको बयानमा भने एलिसाकी फुपुले मन्सुरले आपूmलाई पनि जबर्जस्ती गरेको बयान दिएकी छिन् ।

 

४.१६ असारमा कैलालीको गौरीगंगा नगरपालिकामा घरधुरी सर्वेक्षक पदमा कार्यरत २१ वर्षीया माया विकको सामूहिक बलात्कारपछि पासो लगाएर हत्या गरियो । १२ असारमा कार्यालयको काममा निस्किएकी उनको चार दिनपछि चपरथली सामुदायिक वनमा शव भेटियो ।

 

सलले दुवै हात बाँधिएको र सुरुवालले घाँटी कसेको अवस्थामा उनको शव फालिएको थियो । सँगै कार्यरत ३० वर्षीय गणेश बडुवालले राखेको यौनसम्पर्क प्रस्ताव अस्वीकार गरेपछि गणेशकै योजनामा सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गणेशसँगै गौरीगंगा–११ का मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 

दुई महिनासम्म  बन्धक बनाएर सामूहिक बलात्कार
रौतहटको गुजरा नगरपालिका जंगलसहियाकी १३ वर्षीया बालिकालाई गत २४ वैशाखमा घरमै सुतिरहेको अवस्थामा छिमेकी तीन युवाले अपहरण गरे । स्थानीय बालिस्टर चौधरी, धर्मेन्द्रकुमार चौधरी र जियालाल महतोले बालिकालाई सर्लाही, पर्सा र भारतका विभिन्न स्थानमा दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र पर्सा प्रहरीले गत २७ असारमा वीरगन्ज महानगरपालिका–८ बाट बेवारिसे अवस्थामा बालिकाको उद्धार ग¥यो । बलात्कारमा संलग्न तीनैजनालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक र करणी मुद्दा चलाइएको छ ।

 

 

१० वर्षमुनिका ६ बालिका
१६ साउनमा झापाको अर्जुनधारा नगरपालिका–२ की चार वर्षीया बालिका छिमेकी १५ वर्षीय विजय गजमेरबाट बलात्कृत भइन् । दुई दिनपछि अभिभावकले उपचारका लागि अस्पताल लगेपछि मात्रै उनलाई बलात्कार गरिएको थाहा भयो । ६ दिनपछि बलात्कारी गजमेरलाई प्रहरीले पक्राउ गरेको छ ।

 

१९ साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाकी पाँच वर्षीया टुहुरी बालिकामाथि ४० वर्षीय लक्ष्मण कोलीले गिद्धेनजर लगाए । घरमा कोही नभएको वेला कोलीले बलात्कारको प्रयास गरे, तर बालिका चिच्याएपछि भागेर मकैबारीमा लुके । स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाए । उनीविरुद्ध करणी मुद्दा चलिरहेको छ ।

१ साउनमा कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नौ वर्षीया बालिकाको बलात्कार भयो । स्थानीय २१ वर्षीय सलिप अन्सारीले घरमा कोही नभएको मौका पारी बालिकालाई जबर्जस्ती गरे । अन्सारीविरुद्ध करणी मुद्दा चलिरहेको छ ।

 

५ साउनमा तेह्रथुमको आठराई गाउँपालिका खाम्लालुङमा गोठालो गएकी नौ वर्षीया बालिका जंगलमै बलात्कृत भइन् । ५४ वर्षीय घिमिरे साइँला भनिने चक्रबहादुर लिम्बूले तीन हजार दिने लोभ देखाएर उनलाई बलात्कार गरेका थिए । ११ साउनमा घटना सार्वजनिक भएपछि लिम्बूले गाउँमै मिलापत्रको प्रयास गरे । तर, अधिकारकर्मीको अगुवाइमा उनलाई १३ साउनमा पक्राउ गरिएको छ । अहिले हिरासतमा छन् ।

 

काभ्रे तेमाल गाउँपालिका–१ की नौ वर्षीया एलिसा तामाङको २० असारमा बलात्कारपछि हत्या नै गरियो ।

२० असारमा अछामको साँफेबगर नगरपालिका–११ की आठ वर्षीया बालिका बलात्कृत भइन् । स्थानीय २१ वर्षीय रेवन्त दासले पानी माग्ने निहुँमा घरमै गएर उनको बलात्कार गरेका हुन् । उनी अहिले फरार छन् । अछामका प्रहरी निरीक्षक टेकबहादुर रावतले उजुरी ढिलो आएका कारण पीडकलाई पक्राउ गर्न नसकिएको बताए ।

 

प्रहरी र एमबिबिएसका विद्यार्थीदेखि वृद्धसम्म आरोपी
-१७ साउनमा काठमाडौंको कलंकीमा सशस्त्र प्रहरीका दुई जवानबाट एक युवती बलात्कृत भइन् । नेपाल प्रहरीले बलात्कारको अभियोगमा रामशरण पोखरेल र चन्द्र प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरू दुवै सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालय बलम्बुमा कार्यरत थिए ।

 

-३२ असारमा सिरहाको लहान बजारमा औषधि किन्न गएकी एक महिलालाई अपहरण गरी गाडीभित्रै सामूहिक बलात्कार गरियो । उदयपुरको गाईघाटमा एमबिबिएस पढ्दै गरेका लहान नगरपालिका–६ का २५ वर्षीय सञ्जय गुप्ता, २४ वर्षीय अमित गुप्ता, २५ वर्षीय विवेक साह र गाडीचालक सिरहा मिर्चैयाका नितेशकुमार साहलाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरिसकेको छ ।

 

 

-१ साउनमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिला बलात्कृत भइन् । भैँसी चराउन गएका वेला एकान्त पारी स्थानीय ३० वर्षीय नरेश रानाले बलात्कार गरेका थिए । उखुबारीमा जबर्जस्ती गर्दै गर्दा महिला कराएपछि स्थानीयले देखेका थिए । त्यसपछि पक्राउ परेका रानालाई प्रहरीले जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।

 

-१० साउनमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखुरीकी २० वर्षीया युवती ३२ वर्षका बिन्तिराम चौधरीबाट बलात्कृत भइन् । युवती घरमै सुतिरहेको अवस्थामा बलात्कार गरेर चौधरी भागेका थिए । प्रहरीमा महिलाले दिएको उजुरीका आधारमा चौधरी पक्राउ परेपछि अहिले उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा चलाइएको छ ।

 

-१६ साउनमा कन्चनपुरको पुनर्वास नगरपालिका–२ की १६ वर्षीय बालिकालाई २६ वर्षीय विकास बुढाले जबरजस्ती गरे । घरबाहिर रहेकी बालिकालाई घरसम्म पु-याइदिन्छु भन्दै फकाएरसँगै लगेका बुढाले एकान्तमा पुगेपछि उखुबारीतिर लगेर बलात्कार गरेका थिए । बालिकाले दिएको बयानका आधारमा पक्राउ परेका बुढालाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ ।

 

-१८ असारमा पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीय एक किशोरी छाउगोठमै सामूहिक बलात्कृत भइन् । स्थानीय तीनजना किशोरले राति साढे १० बजे बलात्कार गरेका हुन् । आरोपी जनक शर्मा, चेतन गिरी र पदम गिरीलाई प्रहरीले मुद्दा चलाएको छ ।

 

-२० साउनमा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की एक बालिका सौतेनी बाबुबाट बलात्कृत भइन् । बाख्रा गोठालो गएकी छोरीलाई बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्स्पेक्टर मधुसुदन न्यौपानेले बताए । दंगाल अहिले प्रहरी नियन्त्रणमा छन् ।

 

-१७ साउनमा कैलालीको लम्किचुहा नगरपालिका– ३ चिसापानीमा होटेल सञ्चालन गरेर बसेका २० वर्षीय वसन्त बुढाले भान्जी नाता पर्ने १३ वर्षीय बालिकालाई बलात्कार गरे । उनलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । कसैलाई भने ज्यान मार्ने धम्की दिएकाले बालिकाले बलात्कारको दुई दिनपछि मात्रै आमालाई बताएपछि घटना सार्वजनिक भएको थियो ।

 

-२ असारमा तेह्रथुमको छथर गाउँपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सञ्जीव यादवले १५ वर्षे बालिकालाई आफ्नै क्वार्टरमा बोलाएर जबर्जस्ती करणी गरे । उनलाई प्रहरीले ३ असारमा नियन्त्रणमा लिएर मुद्दा दर्ता ग-यो । सप्तरी स्थायी घर भएका २१ वर्षे यादवले छोरीलाई जबर्जस्ती गरेको उजुरी परिवारले दिएपछि उनी पक्राउ परेका थिए । उनको अहिले बयान सकिएर फाइल जिल्ला अदालतमा प्रक्रियामा छ ।

 

-१७ साउनमा कैलालीको लम्कीचुहा नगरपालिकामा १३ वर्षीय बालिकालाई बलात्कारको अभियोगमा एकजनाविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । साउनमा बालिका बलात्कृत भएकी थिइन् । उक्त घटनामा लम्कीका स्थानीय २१ वर्षीय वसन्त बुढालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

 

-साउन महिनामा मात्रै दाङमा बलात्कारका दुई घटना भएका छन् । महिला र बालिका बलात्कृत भएका हुन् । इन्सेक दाङका प्रतिनिधि जेएन सागरका अनुसार जबर्जस्ती करणी गर्नेहरू अधिकांश परिवार र आफन्तभित्रैका व्यक्ति छन् । कतिपय पीडकहरू धरौटीमा छुट्ने गरेको उनले बताए ।

 

-१७ साउनमा मोरङको विराटनगर–५ मा आमाकै सहयोगमा एक १३ वर्षीय बालिका बलात्कृत भएको उजुरी मोरङ प्रहरीमा प-यो । प्रहरीले आमालाई पक्राउ गरेर करणी गर्न उक्साएको आरोपमा मुद्दा चलायो ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न