नेपाल प्रहरीको प्रसंसनीय काम, यसकारण सही छ भक्तपुरको पाइलट बाबा जंगल इन्काउन्टर



हाम्रो इकोनोमि

 

गत आइतबार राती काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई सकुशल उद्धार गर्ने प्रहरीको प्रयत्न सफल हुन सकेन । सिन्धुपाल्चोकको ज्यामिरे घर भई काठमाडौंको काँडाघारी बस्दै आएका खड्का पुरानो सिनामंगलमा रहेको हाइल्यान्ड इंग्लिस स्कुलमा कक्षा ६ का जेहेन्दार छात्र थिए ।

 

आइतबार उनी सबै कक्षा पढेर त्यसपछि गणित तथा विज्ञानको ट्युसन सकी घर गए । घरबाट अंकल भनिने गोपाल तामाङसँग मोवाइल् किन्न पसल गए । पसलबाट ११ सय रुपैयाको मोवाइल किनी मागेर उनी राख्नका लागि भन्दै आमाले चलाएको होटलमा पुगे । गोपाल अंकलले किनिदिएको भन्दै मोवाइल बुझाए । खाजा खाएर खेल्न भन्दै बेलुका साढे पाँच बजेतिर निस्किए ।

 

आमाले चलाएको होटलमा बसेर घरतर्फ लागेका उनी घरमा पुग्नै पाएनन् । बाटैमा गोपाल अंकल र उनका साथीले साथमै लिएर गए । उनलाई अपहरण गरिएको थियो तर निशानले आफू अपराधीको जालमा परेको सुइकोसम्म पाएका थिएनन । अंकलसँग घुम्न गएको निशानको बुझाइ थियो ।

 

अपराधीहरूले अपरहणपछि उनकी आमालाई राती ९ बजे ४० लाख रुपैयाँ फिरौती माग गरे । प्रहरीलाई भने छोरा मारिदिने धम्की पनि संगै दिए । बाबु वैदेशिक रोजगारीमा भएको सामान्य परिवारसँग त्यति ठूलो रकम फिरौती दिनसक्ने अवस्था थिएन । आफ्नो छोराको खोजीका लागि आमा चमेली खडकाले छिमेकी गुहारिन ।

 

छिमेकीको सहयोगमा प्रहरीसम्म जानकारी गराइयो । तर, अभियुक्तले आफ्नो पहिचान खुल्ने डरले राती नै बालकको हत्या गरी खाल्डो खनेर गाडे । बालकको सकुशल उद्धार गर्न तत्काल प्रहरी टोली परिचालन भयो । रातको समयमा प्रहरीले मोवाइलको लोकेशन पत्ता लगाउने प्रबिधिको पहुँचमा पुग्न नसक्दा अभियुक्तहरु कहाँ छन भन्ने जानकारी पाउन सकेन । सोमबार बिहान प्रहरीले भक्तपुरको बोडेमा ११ बर्षीय निशानको शव भेट्यो । यसका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले अपराधीको पिछा गर्दै गयो ।

 

भक्तपुरको डोलेश्वरतर्फ जाँदै गर्दा पाइलटबाबा जंगलमा दुई जना अपराधीसँग जम्काभेट भयो । फायरिङ गर्दै भाग्न खोजेका अपराधीमाथि प्रहरीले पनि गोली चलायो । गोली लागि अपहरणमा संलग्न तिनै अंकल गोपाल तामाङ र अजय तामाङ मारिए । घटनास्थलबाट एउटा पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिम बरामद भएको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जनाएका छन् ।

 

अपहरित बालकको सकुशल उद्धार हुन नसक्नु अत्यन्त दुःखद् भए पनि अपराधीहरू उम्कन नपाउनु सुखद पक्ष हो । यस मानेमा नेपाल प्रहरीको कदमलाई सराहना गर्नै पर्छ । जघन्य अपराधीहरूलाई ठाउँको ठाउँ ठेगान लगाउन नसक्दा यस्ता जघन्य अपराधका घटना पटक पटक दोहोरिने गरेका छन् ।

 

पक्राउमा परेका जघन्य अपराधीहरू कानुनका अनेकौं छिद्र प्रयोग गर्दै तथा माथिल्लो पहुँच प्रयोग गर्दै उम्कने गरेका थुप्रै उदाहरणहरू छन् । ठाउँको ठाउँ ठेगान लगाउने हो भने यस्ता अपराधीहरूको मनोबल गिर्छ र जघन्य अपराधका घटनामा कमी आउँछ । यो कुरा विगतमा पनि देखिएको हो ।

 

 

केही वर्षअघि दिनेश अधिकारी चरी तथा कुमार घैंटेलाई ठाउँको ठाउँ ठेगान लगाइएपछि अपराधका घटनामा कमी आएको थियो । त्यतिवेला चरीलाई इन्काउन्टर गरिएकोमा धादिङका एमाले नेता र घैंटेलाई इन्काउन्टर गरिएकोमा कांग्रेस नेताले संसद्मा प्रहरीको चर्को आलोचना गरेका थिए । अपराधीहरूको राजनीतिक पहुँच कहा“सम्म हुँदो रहेछ रु भन्ने कुरा ती दुईवटा घटनाले छताछुल्ल बनाएको थियो । तर त्यतिवेला अपराध महाशाखाको कमाण्ड सम्हालेका सर्वेन्द्र खनालले कत्ति पनि खुट्टा कमाएनन् ।

 

 

उनै खनाल यतिवेला नेपाल प्रहरीका आइजिपी छन् । तर, उनी आइजिपी भएपछिको अवधिमा फेरि अपराधका घटना एक्कासी बढेका छन् । खासगरी, बालिका बलात्कृत भएका समाचार नआएको कुनै साता छैन । हरेक साता आङ नै सिरिंग हुने गरी बलात्कारका समाचार आउने गरेका छन् ।

 

 

बलात्कारीलाई पक्राउका लागि ठूलो जनदबाब दिनुपर्ने अवस्था सिर्जना भएको छ । मुलुकमा प्रहरी प्रशासन नै छैन कि भने जस्तो महसुस हुनेगरी बलात्कारका घटना बढिरहेको वेला भक्तपुरमा अपहरणकारीमाथि गरिएको इन्काउन्टरको समाचारले जनतालाई केही राहत दिएको छ ।

 

पहिलो पटक आपराधिक घटना चाहने एकाध बदमासबहेक आम नागरिकले इन्काउन्टरलाई सही भन्ने सन्देशसहित खुसियाली मनाइरहेका छन । सामाजिक सञ्जालमा आएका अभिब्यक्ति त्यसैको प्रमाण हो । अव अपराधीमाथि प्रहरीको कदम निकै कठोर हुनुपर्छ भन्ने नागरिकको चाहना पनि यस्मा ब्यक्त भएको छ । बलात्कारीमाथि पनि प्रहरीले यस्तै कदम चालोस् ।

 

बलात्कारको अभियोगमा पक्राउ परेकाहरू आफ्नो राजनीतिक तथा आर्थिक पहुँच प्रयोग गरी अदालतबाट सफाइ पाएका समाचार पनि आउने गरेका छन् । जघन्य अपराधमा संलग्न हुनेहरूलाई समेत मृत्युदण्ड दिने कानुनी व्यवस्था नभएका कारण अपराधका घटना नियन्त्रणमा नआएका हुन् कि रु भन्ने पनि आमनागरिकलाई लाग्ने गरेको छ ।

 

तर, पहुँचवाला अपराधीहरूले नक्कली अपराधी खडा गर्ने गरेको पनि देखिएको छ । मृत्युदण्डको कानुन बनाउँदा वास्तविक अपराधीले उन्मुक्ति पाउने र नक्कली अपराधी सुलीमा चढ्ने सम्भावना हाम्रो मुलुकमा ज्युका त्यु छ । त्यसैले, कार्यक्षेत्रमा खटिएका प्रहरीले मुलुकको कानुनी अवस्था तथा कमजोरीलाई ख्याल गर्दै ठाउँको ठाउँ आफ्नो विवेक प्रयोग गर्नुपर्छ ।

 

सोमबारको घटनामा फिल्डमा खटिएका प्रहरीले आफ्नो विवेक प्रयोग गर्दै जनताको मन जितेका छन् । नेपाल प्रहरीले यसैगरी अपराधीको इन्काउन्टर गर्दै नागरिकको मन जित्ने काम गर्नुपर्छ । अपराधीको मानव अधिकार भन्दै बिदेसीको डलर लिएर आउने जोकोहीसँग नागरिक आफै प्रतिवादमा उत्रनेछन । प्रहरीले अपराध र अपराधीमुक्त समाज निर्माणका लागि यही उत्तम समय हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...