देउवाले पौडेललाई भने हामी दुई मिलेर ओलीसँग लड्नुपर्छ



हाम्रो इकोनोमि

 

भदौ पहिलो साता गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक छठसम्म सार्ने तयारी संस्थापन पक्षबाट भइरहेको छ । तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले खुलेर विरोध गर्न सकिरहेका छैनन् ।

पौडेल र सिटौला समूहकै मागअनुसार केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, भदौ लाग्न दुई सातामात्रै बाँकी रहँदा पनि विधान संशोधन मस्यौदा समितिसम्म गठन हुन सकेको छैन । बरु, पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठकको माग गरिरहेका नेताहरुको ध्यान सरकारतिर मोड्न सफल भएका छन् ।

डा. गोविन्द केसी आमरण अनसन बसेकै बेला विरोध प्रदर्शन सुरु गरेको कांग्रेस नयाँ चरणको कार्यक्रम घोषणा गर्ने तयारीमा छ । सुरुको कार्यक्रम संसदकेन्द्रित हुुनेछ । त्यसका लागि सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्ने व्यवस्था कार्यान्वयन माग बनाइनेछ ।

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई अस्वीकृत गर्नुलाई पनि कांग्रेसले स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप भनेको छ ।

देउवाको रणनीतिः एक तीर, दुई शिकार

आम चुनावमा नराम्रो हार व्यहोरेपछि सभापति देउवा पार्टीभित्रैबाट आलोचनाको केन्द्रमा थिए । केन्द्रीय कार्यसमितिमा एक महिनासम्म छलफल गराउँदा पनि आक्रोश मत्थर नभएपछि जिल्ला सभापति भेला हुँदै महासमितिमा कस्ने तयारी थियो ।

त्योबेला देउवा इत्तरको समूहले आन्तरिक बहस र ध्रुवीकरण तीव्र बनाउन चाहेको थियो । तर, एकाएक सरकारविरुद्ध सडक आन्दोलन घोषणा भएपछि कांग्रेसका असन्तुष्ट नेताहरुलाई झड्का लागेको छ ।

किनकि आन्दोलनको सामान्य चरित्र नै हो कि संघर्षमा रहेका बेला नेतृत्वमाथि प्रायः प्रश्न उठाइँदैन ।

त्यसैले देउवाले आफ्नो विरोधमा रहेको पार्टीभित्रको स्वरलाई सरकारविरुद्ध सोझ्याउन चाहेका छन् । त्यसैले देउवा पार्टीका नेताहरुलाई समूहमा वा छुट्टाछुट्टै भेटेर ‘केपी ओलीसँग लड्ने कि मसँग रु भन्दै प्रश्न गर्न थालेका छन् । ‘मसँग त पछि लडे पनि भइहाल्छ नि’ भन्ने देउवाको अभिव्यक्ति रहेको कांग्रेस सूत्र बताउँछ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा यतिबेला पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्नेसँगै राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताउँछन् । ‘एउटा ध्यान केन्द्रित गर्दा अर्कोमा ध्यान कम पुगेको जस्तो देखिएको हो । तर, त्यो नजरअन्दाज गर्न खोजिएको होइन’ शर्माले भने, ‘सभापति र वरिष्ठ नेताहरुबीचमा छलफल हुँदा संसद र सडकमा प्रभावकारी भूमिका खेल्ने र पार्टीको अन्तरिक विषयमा समझदारीपूर्वक समाधान खोज्ने सहमति भएको छ ।’

अलमलमा देउवा विरोधी खेमा

पार्टी सभापति देउवाले आफ्नो विरोधहरुलाई सरकारविरोधी आन्दोलनतिर सोझ्याउन लागेपछि नेतृत्व परिर्वतनको माग गर्ने रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु भने अलमलमा परेका छन् ।

हालै मात्र सिटौला समूहको भेलामा अब कसरी अघि बढ्ने भन्ने छलफलसमेत भएको थियो । तर, डेमोक्रेटिक लयर्स एसोसिएसनको चुनावले देउवाविरोधी समूहमा सानोतिनो ‘भूकम्प’ ल्याएको छ । किनकि पौडेल र सिटौला समूह नै आपसमा भिडे । सिटौला समूहले अघि सारेका योगेन्द्र अधिकारीले चुनाव जिते ।

डीएलएको चुनावपछि पौडेल र सिटौलाबीच सम्वाद समेत हुन नसकेको नेताहरु बताउँछन् । यद्यपि यो अस्थायी परिघटना मात्र भएको नेताहरुको दाबी छ । अब हेर्न बाँकी छ कि देउवाको विकल्प खोजिरहेका नेताहरुले सरकारविरोधी आन्दोलन र पार्टीमा देउवाविरुद्धको संघर्षलाई कसरी एकसाथ अघि बढाउलान् रु

देउवालाई निधिको साथ

सरकारविरुद्ध आन्दोलनमा देउवाभन्दा पनि उपसभापति विमलेन्द्र निधि सक्रिय देखिन्छन् । यसका दुई कारण छन् । पहिलो, पार्टीलाई जति सरकारविरोधी आन्दोलनमा लैजान सक्यो, त्यति नै शेरबहादुर देउवा प्रश्नभन्दा माथि हुन्छन् । किनभने आन्दोलनका बेला नेतृत्वमाथि प्रश्न उठाइँदैन ।

देउवाले साउने संक्रान्तिका दिन भातृ संगठनको बैठक राखेर सरकारविरुद्ध सडकमा उत्रने निर्देशन दिएका थिए । आन्दोलनकै लागि उनी युरोप भ्रमण छोट्याएर नेपाल फर्किर्ए ।

र, दोस्रो( पार्टीमा आफ्नो भूमिका बढाउन । विमलेन्द्र आफूलाई शेरबहादुर वा रामचन्द्र पौडेलका प्रतिस्पर्धी होइनन् भन्ने देखाउन चाहन्छन् । तर, देउवाको उत्तराधिकारीका रुपमा आउने उनको चाहना देखिन्छ ।

त्यसैले निधि महामन्त्री शशांक कोइराला भन्दा म धेरै राम्रो नेता हुँ भन्ने स्थापित गर्न चाहन्छन् । उपसभापति मनोनित भएसँगै पदीय जिम्मेवारीले पनि उनी शशांकभन्दा माथि भइसकेका छन् ।

अब आफू पदाधिकारी भएर आएपछि उपसभापति निधी कांग्रेसमा परिर्वतन आएको महसुस गराउन चाहन्छन् । ‘दुईरअढाई वर्ष शशांक महामन्त्री हुँदा मानिसहरुले जे अनुभव गरे, त्योभन्दा फरक र सकारात्मक अनुभूति गराउन सक्रिय छन्’ एक नेता भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...