पेटबाट सर्प, भ्यागुता निकाल्ने भन्दै यसरी चिरियो मृतकको शरिर, पक्राउ गर्न गएका प्रहरीलाई लखेटे गाउँलेले



 

धार्चे–६ काशीगाउँमा मृतकको शव चिर्नेलाई पक्राउ गर्न गएका प्रहरी, स्थानीय जनप्रतिनिधि तथा बोक्सी आरोपबाट पीडित परिवारमाथि आक्रमण भएको छ। प्रहरी चौकी मान्बुबाट गएको प्रहरी टोली तथा जनप्रतिनिधि र पीडित परिवारमाथि शनिबार दिउँसो साढे एक बजे आक्रमण भएको हो।

 

आक्रमणमा एक प्रहरी हवल्दार र एक सिपाही सामान्य घाइते भएका छन्। उनीहरूलाई जोगाउन गएका गाउँ कार्यपालिकाका सदस्य आशबहादुर घले र वडा सदस्य कान्ते गुरुङमाथि पनि उच्छृंखल समूहले कुटपिट गरेको वडाध्यक्ष धनकुमार घलेले जानकारी दिए।

 

बोक्सी आरोपमा शव काट्नेविरुद्ध उजुरी दिने सोममाया गुरुङ र राममाया गुरुङको परिवारमाथि पनि गाउँलेले कुटपिट गरेका छन्। बोक्सीको आरोपबाट पीडित काली गुरुङ, उनकी छोरीहरू मीनकुमारी गुरुङ, सूचना गुरुङ र दिदी मित्रीमाया गुरुङमाथि आक्रमण भएको उजुरी दिन सदरमुकाम आएकी राममाया गुरुङले जानकारी दिइन्।

 

‘हाम्रो परिवार एकापट्टि र अरु सबै गाउँले अर्कोपट्टि भएका छन्। सबै गाउँले धुरिएर आमा र बहिनीहरूलाई कुटे’, अत्तालिँदै उनले भनिन्, ‘फोन गर्न खोज्यो, फोन पनि लाग्दैन। हामी २ बहिनी गाउँ जान भनेर गएको सबैले नजाओ, तिमीहरूलाई पनि कुट्छन् भने, अनि नारेश्वर पुगेर फर्कियौं। अब भोलि जान्छौं।’

 

आफूहरूमाथि नै बोक्सी आरोप लगाइएको र उल्टै आफूहरूमाथि नै आक्रमण भएको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

 

गाउँमा प्रहरी पुगेपछि हरेक घरको एकएक जनाका दरले कचहरीमा भेला भएका थिए। गाउँलेहरूले आरोपित रोशन गुरुङलाई मात्रै लैजान नदिने भन्दै हुलदंगा गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको गाउँ कार्यपालिका सदस्य घले बताउँछन्।

 

‘गाउँमा पुलिस आएपछि कचहरी भयो। अनि एक दुई जनालाई मात्र लैजान दिदैनौं, जिल्लाका मान्छे नै गाउँमा आउनुपर्छ भनेर हुलदंगा भयो। सम्हाल्न लाग्दा उल्टै हामीलाई पनि लात्तैलात्ताले हाने’, घलेले भने, ‘गाउँमा निकै तनाव भएको छ। प्रहरीलाई त मैले घरमा लगेर सुरक्षा दिएर राखेको छु।’

 

घटनापछि इलाका प्रहरी कार्यालय आरुघाटबाट इन्स्पेक्टर सुरज कार्कीको नेतृत्वमा १२ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरीको टोली काशीगाउँ पठाइएको प्रहरी उपरीक्षक विमल बस्नेतले बताए। उनले प्रहरी कुटिएको भने अस्वीकार गरे। ‘सामान्य धकेलाधकेल भएको हो, कुटपिट भएको छैन’, उनले भने।

 

गाउँमा निकै तनाव भएको छ। प्रहरीलाई त मैले घरमा लगेर सुरक्षा दिएर राखेको छुः आशबहादुर घले, सदस्य, धार्चे गाउँपालिका।

 

बोक्सीको आरोपबारे अनुसन्धान प्रक्रिया नै प्रभावित हुने गरी आक्रमण हुनु दुःखद् घटना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको भनाइ छ। ‘यो दुःखद् भयो। प्रहरीले अनुसन्धान गर्न पाउनुपर्छ’, प्रजिअ भट्टराईले भने, ‘घटनास्थलमा प्रहरी पुगेको छ। प्रहरीले कि समझदारीमा मान्छे पक्राउ गर्छ, छेकथुन भए बल प्रयोग गर्छ तर प्रहरी पछि हट्दैन।’

 

केही उच्छृंखल युवाहरूले साउन ११ गते मृतक भीम गुरुङको शव चिहानडाँडामा काटेका थिए। बोक्सी लागेर मरेको र त्यसरी मर्नेको शरीरभित्र सर्प, भ्यागुता र छेपारो रहेको प्रमाणित गर्न भन्दै उनीहरूले शव काटेका थिए।

 

पेटबाट सर्प, भ्यागुता निकाल्ने भन्दै शव चिरियो 

स्थानीय काली गुरुङ र उनको परिवारमाथि बोक्सीको आरोप लगाउने स्थानीय रोशन गुरुङविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। बोक्सीको आरोपसम्बन्धी कसुर र सजाय ऐनले कसैलाई पनि बोक्सीको आरोप लगाउन नपाइने र आरोप लगाई कस्तो व्यवहार ग¥यो भन्ने आधारमा सजायको व्यवस्था गरेको छ।

 

मृतकको पेटबाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँमा एक मृतकको शव चिरिएको छ ।

 

बोक्सी लागेर मरेको र उसको पेटभित्र सर्प, भ्यागुता, छेपारो रहेको भन्दै स्थानीय उच्छृंखल युवाले गत शुक्रबार (साउन ११ गते) ५२ वर्षीय भीम गुरुङको शव चिरे खुलासा भएको हो । गाउँपालिकाका प्रमुख सन्तोष गुरुङका अनुसार स्थानीय युवाले नै घरेलु हतियारले शव चिरेका हुन्।

धामीझाँक्रीबाट उपचार गराउँदा गराउँदै गुरुङको अघिल्लो बिहीबार धोरतस्थित झाँक्रीकै घरमा मृत्यु भएको स्थानीय शिक्षिका राममाया गुरुङले बताइन् । ‘भोलिपल्ट दाहसंस्कार गराउन चिहानडाँडा लगेको लाशलाई स्थानीय युवाले खुकुरी, हँसियाले चिरफार गरे’, उनले भनिन्, ‘हामी गाउँमा थिएनौं । मास्क लगाएका युवाहरूले लास काटेछन् । गाउँलेहरूले फोटो, भिडियो पनि खिचेका छन् । फलानो बोक्सी लागेर मरेको भनेर फोटो पनि देशविदेशमा पठाएका छन् ।’

 

स्थानीय ५६ वर्षीया काली गुरुङ र उनकी छोरी मीनकुमारी गुरुङमाथि बोक्सीको आरोप छ । ‘हाम्री आमा र बहिनी बोक्सी लागेर उनको मृत्यु भएको र बोक्सी लागेर मरेको मान्छेको शरीरभित्र भ्यागुता, सर्प र छेपारो हुन्छ भन्ने गाउँमा अन्धविश्वास छ’, आरोपित गुरुङकी छोरी सोममाया गुरुङले त्रसित मुद्रामा भनिन्, ‘हाम्रो आमा र दिदीले बोक्सी लागेर उनको मृत्यु भएको र मरेको मान्छेभित्रबाट सर्प, भ्यागुता र छेपारो निकाल्ने भन्दै लास चिरेका हुन् ।’

 

शव चिरेको भोलिपल्टदेखि उनको परिवारलाई सामाजिक बहिष्कार गरेको उनले बताइन् ।

 

बोक्सीको आरोपमा आफूहरूको पाउरोटी उद्योग चल्न छाडेको सोममायाले सुनाइन्। ‘बोक्सीको खलकले उत्पादन गरेको पाउरोटी खाँदैनौं भनेर हाम्रो पाउरोटी बहिष्कार गरेका छन्’, उनले भनिन्, ‘हामीले पाँच लाख रुपियाँ खर्च गरेर भर्खरै चलाउन थालेको पाउरोटी उद्योग अहिले बन्द भयो।’

 

प्रतिक्रिया दिनुहोस
आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न