नेकपाको मासिक आम्दानी साढे तीन करोड



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।

 

नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ राखिएको छ । सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्यको संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील सदस्य रहेको दाबी गरेका छन् । यसरी नेकपाको सात लाख क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने भएको छ ।

 

स्थानीय कमिटीबाट मात्रै मासिक चार लाख
पार्टीको स्थानीय कमिटीमा बसेका नेताले संगठित सदस्य शुल्कको १० प्रतिशत थप हुने गरी मासिक शुल्क बुझाउनुपर्नेछ । संगठित सदस्य शुल्क ५० रुपैयाँमा थप १० प्रतिशत जोड्दा स्थानीय पार्टी कमिटीले मासिक प्रतिव्यक्ति ५५ रुपैयाँ उठाउनुपर्नेछ । यसरी सात सय ५३ स्थानीय तह र ती स्थानीय तहका कुल ६ हजार सात सय ४३ वडा कमिटीमा बसेका नेताबाट मासिक सदस्य शुल्क चार लाख १२ हजार दुई सय ८० रुपैयाँ उठ्ने भएको छ ।

 

 

प्रदेश र जिल्ला कमिटीबाट मासिक आठ लाख ३३ हजार
प्रदेश र जिल्ला कमिटीको जिम्मेवारी लिएका नेताले संगठित सदस्य शुल्कमा २५ प्रतिशत थप गरेर बुझाउनुपर्नेछ । यस्तो हुँदा प्रदेश र जिल्ला कमिटी सदस्यको जिम्मेवारी लिएका नेताले प्रतिव्यक्ति मासिक ६३ रुपैयाँ बुझाउनुपर्नेछ । पार्टीको अन्तरिम विधानले प्रदेश कमिटीमा एक सय ५१ सदस्य हुने व्यवस्था गरेको छ ।

 

प्रदेश कमिटीका एक सय ५१ सदस्यसहित सात प्रदेशमा कुल ३६ सय पाँच नेताले जिम्मेवारी पाउनेछन् । यस्तै, जिल्ला कमिटीमा एक सय २५ सदस्यसहित ७७ जिल्लामा नौ हजार ६ सय २५ नेता–कार्यकर्ताले जिम्मेवारी पाउनेछन् । यसरी प्रदेश र जिल्ला कमिटी जिम्मेवारी लिएका नेताबाट मात्रै मासिक शुल्कबापत आठ लाख ३३ हजार चार सय ९० रुपैयाँ उठ्नेछ ।

 

केन्द्रीय सदस्यबाट मासिक ३० हजार
नेकपाको नियमावली २०७५ को सदस्य शुल्क र लेबी सम्बन्धको विधानको धारा ९ को ‘ख’को ४ बमोजिम संगठित सदस्यको शुल्क ५० रुपैयाँ हुने उल्लेख छ । सदस्य तथा संगठित सदस्यता शुल्कको ४० प्रतिशत केन्द्रीय कमिटीले मासिक शुल्क बुझाउनुपर्ने उल्लेख छ । यस्तो हँुदा केन्द्रीय कमिटीमा रहेका नेताले मासिक ७० रुपैयाँ बुझाउनुपर्नेछ । केन्द्रीय कमिटीमा रहेका चार सय ४१ नेताले मासिक सदस्य शुल्क ३० हजार आठ सय रुपैयाँ बुझाउनेछन् ।

 

विधानअनुसार सदस्य शुल्कको रकम खर्च गर्छौं : पौडेल


पार्टीको सबै एकता प्रक्रिया टुंगो लगाएपछि सदस्यता व्यवस्थापनमा लाग्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । ‘हामीले जनवर्गीय संगठन र सबै पार्टी कमिटीको लगभग साउन महिना, नभए भदौ पहिलो हप्ताभित्र एकता गरिसक्छौँ,’ पौडेलले भने, ‘सबै जनवर्गीय संगठन र पार्टी कमिटीको एकतापछि पार्टी सदस्य व्यवस्थापनमा लाग्नेछौँ ।’ नेकपाका सबै क्रियाशील सदस्यलाई आधुनिक तरिकाले व्यवस्थित गरिने उनले बताए । ‘सबै क्रियाशील सदस्यबाट उठ्ने रकमलाई पारदर्शी ढंगले राख्नेछौँ,’ उनले भने, ‘यसरी उठेको रकम विधानअनुसार नै खर्च गर्छौं ।’नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...