एम्बुलेन्सबाटै थुतेर असई थमनको हत्याको आरोपमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्रीलाइ पक्राउ आदेश



हाम्रो इकोनोमि

 

उच्च अदालत जनकपुरले असई थमन विक हत्याका अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीका नाममा मंगलबार परमादेश जारी गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको इजलासले ‘कानुनको धज्जी नउडाउन’ प्रहरीलाई सचेतसमेत गराएको छ ।

 

सशस्त्र प्रहरीका असई विकको हत्या अभियोग लागेका अभिराम शर्मा प्रदेश २ को सामाजिक विकास राज्यमन्त्री छन् । अर्का अभियुक्त रामशंकर मिश्र (शंकर शाही) जलेश्वर नगरपालिकाका मेयर छन् । शर्मा र मिश्र राजपाबाट निर्वाचित भएका हुन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य कौशल राय मुख्य अभियुक्त छन् । उनी संघीय समाजवादी फोरमका नेता हुन् ।

 

तेस्रो मधेस आन्दोलनका क्रममा महोत्तरीमा कार्यरत विकको ०७२ भदौ २५ गते हत्या भएको थियो । आन्दोलनकारीको आक्रमणमा गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

 

हत्यामा २८ जनालाई विपक्षी बनाइएको छ । तीमध्ये महोत्तरीका सञ्जय साह र प्रदीप साह पुर्पक्षका लागि कारागार चलान भइसकेका छन । अर्का अभियुक्त मोहन ठाकुर तारिखमा छन् । उच्च अदालत, जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले परमादेशको फैसलासहित बाँकी सबै अभियुक्त पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिने बताए ।

 

हत्यामा संलग्न रहेको भन्दै २८ जनाको नाम किटेर विकका दाजु प्रेमबहादुरले ०७२ असोज १ गते महोत्तरी प्रहरीमा जाहेरी दिएका थिए । त्यसैका आधारमा जिल्ला अदालत महोत्तरीले ०७२ फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेस गर्न र फरार प्रतिवादीको हकमा ७० दिने म्याद पुर्जी जारी गरेको थियो ।

 

उक्त अवधिसम्म पनि प्रहरीले पक्रन आलटाल गरेपछि विककी श्रीमती शोभा गहतराजले ०७४ चैत २८ गते परमादेशका लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन् । रिटमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालय प्रमुखलाई विपक्षी बनाइएको थियो ।

 

परमादेशमा महोत्तरी प्रहरीलाई कडा शब्दमा सचेत गराइएको छ । ‘आफैंद्वारा अभियोजित कर्तव्य ज्यान मुद्दाका प्रतिवादी आफ्नै अगाडि खुलेआम रहेको स्थितिलाई नजरअन्दाज गर्नुलाई कानुनको धज्जी उडेको, दण्डहीनताले प्रश्रय पाएको र कानुनको अगाडि सबै समान नरहेको एवं राज्य व्यवस्थाले गति नलिएको अर्थमा समाजले हेर्नेछ,’ परमादेशमा भनिएको छ, ‘कानुन परिपालनका लागि अदालतबाट वारेन्ट जारी भएका प्रतिवादीलाई अविलम्ब पक्राउ गरी कारबाहीका लागि जिल्ला अदालतसमक्ष उपस्थित गराउनू ।’

 

जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते विक हत्याका आरोपीलाई पक्राउ गर्न आदेश दिए पनि प्रहरीले फेला नपरेको जनाउँदै आएको छ । विककी श्रीमती गहतराजले महोत्तरी प्रहरीमा धेरैपटक आग्रह गर्दा पनि पक्राउ नगरेपछि उच्च अदालत गुहारेकी थिइन् ।

 

उच्च अदालतले महोत्तरी प्रहरीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । महोत्तरी प्रहरीका एसपी कुवेर कडायतले उच्च अदालतलाई लेखेको जवाफमा रिट निवेदन खारेजीको माग गरेका थिए । आरोपी भने मधेस आन्दोलनका क्रममा राजनीतिक आस्थाका आधारमा झुटो मुद्दा लगाइएको भन्दै फिर्ता हुनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...