कांग्रेस भातृ संगठनमा देउवाको पकड यसरी घट्दैछ, यस्तो छ कारण



 

 

निर्वाचनपछि पार्टीमा कमजोर हुँदै गएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको भातृ तथा शुभेच्छुक संगठनमा पनि पकड गुम्दै गएको छ। प्रदेश तथा प्रतिनिधिसभामा हार बेहोरेको कांग्रेसभित्र निर्वाचनपछि संस्थापनइतर समूह बढी सक्रिय र सफल देखिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबीच भातृ तथा शुभेच्छुक संगठनमा गठजोड बनेपछि देउवा पक्ष ‘कमजोर’ देखिएको हो।

 

निर्वाचनपछि भएका आधा दर्जनभन्दा बढी भातृ तथा शुभेच्छुक संगठनको पदाधिकारीमा संस्थापन पक्षको ‘अस्तित्व संकट’मा परेको छ। फागुनमा भएको निर्माण मजदुर संघको अधिवेशनदेखि गत सोमबार मात्र सकिएको डेमोक्रेटिक लयर्स एसोसिएनको अधिवेसनसम्म आइपुग्दा संस्थापन पक्ष थप कमजोर भएको हो। निर्वाचनपछि भएका तीन भातृ संगठनको नेतृत्वबाट संस्थापन पक्षले हात धुनुपर्‍यो भने शुभेच्छुक संगठनमा पनि साख जोगाउन सकेको छैन ।

 

चैतमा भएको कांग्रेस निकट शिक्षकहरुको अधिवेशनमा देउवा पक्षले हार बेहोरेको थियो। पौडेल र सिटौला पक्षका शिक्षकहरुको प्यानलले पदाधिकारीमा एक पद बाहेक सबैमा जित हासिल गर्‍यो।

 

पौडेल पक्षीय शिक्षक राजेन्द्रराज पौडेलले पुनः अध्यक्षमा आउन चाहेका देउवा निकट केशव निरौलालाई पछाडि पारेका थिए। दुई समूहको गठबन्धन बनेपछि संस्थापन समूह फराकिलो अन्तरले पराजित भएको थियो। पदाधिकारीमा देउवा पक्षबाट धनकला भण्डारीले मात्र महिला कोटामा सहमहामन्त्री जितिन्।

निजामति कर्मचारीको अधिवेशनमा आइपुग्दा देउवा पक्ष थप खस्कियो। चैतको पहिलो साता चितवनमा भएको निजामति कर्मचारी संघको अधिवेशनमा संस्थापन पक्षले हार ब्यहोर्‍यो।

उद्घाटन सत्रमा शीर्ष तहका नेताहरु पुगेको अधिवेशनमा देउवाले नतिजा आफ्नो पक्षमा पार्न आफू निकट नेता एनपी साउदलाई खटाएका थिए। अर्कोतर्फ निर्वाचनको अघिल्लो दिन कृष्ण सिटौलाले सक्रियता बढाएका थिए। सिटौलाको सक्रियताका कारण संस्थापन पक्षले जित निकाल्न सकेन।

सिटौला समूहको समर्थनले पौडेल निकट कर्मचारी गोपालप्रसाद पोखरेल नेतृत्वमा आए। पोखरेलले संस्थापन समूहका राजेन्द्र बुढाथोकीलाई अध्यक्षमा हराएका थिए।

नेपाली कांग्रेसको मजदुर संगठनमा पनि देउवा समूहलाई ‘अस्तित्व जोगाउन’ मुस्किल पर्‍यो। असार पहिलो साता भएको नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं अधिवेशनले पुष्कर आचार्यलाई निर्वाचित गर्‍यो। अध्यक्षका आकांक्षी देउवा निकटका खिलानाथ दाहाल पराजित भए। दाहाल निवर्तमान अध्यक्ष पनि हुन्।

पौडेल र सिटौला पक्षका मजदुरहरु एकै स्थानमा रहेपछि आचार्यको जित सहज भएको थियो। दुई प्यानलबीच भएको निर्वाचनमा संस्थापन समूहले एक सदस्य पदमा मात्र जित हासिल गर्‍यो। निर्वाचित २७ पदाधिकारीमा २६ जना पौडेलरसिटौला समूहका छन् ।

निर्वाचनपछि भएका कांग्रेसका चार शुभेच्छुक संगठनका अधिवेशनमा संस्थापनइतर समूह अघि देखिएको छ। फागुनमा भएको निर्माण मजदुर संघको अधिवेशनदेखि संस्थापन पक्षको क्षयीकरण सुरु भएको थियो। ४३ सदस्यीय समितिमा देउवा पक्षले दुई सदस्यमा मात्र चित्त बुझाउनुपरेको थियो।

निर्माण मजदुर संघको अधिवेशनमा पनि पौडेल र सिटौला पक्ष एकै स्थानमा उभिएका थिए। अधिवेसनबाट पौडेल निकट अधिकांश र सिटौला पक्षका केही मजदुर चयन भए। देउवा पक्षबाट अध्यक्षको प्रत्यासी बनेका हरिशरण नेपाली पराजित भएका थिए। नेपालीलाई पौडेल नजिकका जेबी गुरुङले हराएका थिए।

यातायात मजदुर संघको नयाँ नेतृत्वमा संस्थापन पक्ष ‘निल’ भएको थियो। चैतको मध्यमा भएको यातायात मजदुर संघको अधिवेशनमा सबै पदमा संस्थापनइतर समूहका पदाधिकारी चयन भएका छन्।

४७ सदस्यीय कार्य समितिलाई बाँडफाँटमा टुङ्याइएको थियो। देउवा पक्षलाई शून्य अवस्थामा राखेर संगठनमा संस्थापनइतर समूहले कब्जा जमाएको छ। यातायात मजदुर संघको नतिजा आफ्नो पक्षमा पार्नका लागि सिटौला र डा शेखर कोइराला खटिएका थिए।

चैतको अन्तिम साता भएको कांग्रेस निकट इन्जिनियरहरुको अधिवेशनमा पनि पौडेल पक्षका पदाधिकारीले बाजी मारे। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सको अधिवेशनमा पौडेल निकट शंकरप्रसाद पण्डित विजयी भए। पण्डितले देउवा निकटका मुकेश काफ्लेलाई हराएका थिए। १५ सदस्यीय कार्य समितिमा ५ पदाधिकारी र ९ सदस्य पण्डित समूहबाट विजयी भएका थिए। काफ्ले प्यानलले एक सदस्य जितेर चित्त बुझाएको थियो।

देउवा समूह सबैभन्दा कमजोर डेमोक्रेटिक लयर्स एसोसिएनमा देखिएको छ। अन्य संगठनमा पौडेल र सिटौला समूह एक भई संस्थापन पक्षसँग भिडेका थिए भने लयर्स एसोसिएसनमा देउवा पक्षले अध्यक्षमा उम्मेदवार उठाउन सकेन।

पूर्वी नवलपरासीस्थित गैंडाकोटमा गत सोमबार सकिएको कांग्रेस निकट कानुन व्यवसायीको अधिवेशनबाट अध्यक्षमा योगेन्द्र अधिकारी विजयी भए। अधिकारी सिटौला निकट हुन्। यसपटक पौडेल र सिटौलाको अलग–अलग प्यानल बनेको थियो। अधिवेशनमा रामकुमार श्रेष्ठ, योगेन्द्र अधिकारी र सिताराम केसी प्रतिस्पर्धामा थिए। केसी नेता पौडेल पक्षबाट प्रतिस्पर्धामा थिए।

संस्थापनका लागि बलियो विगत

१३औं महाधिवेशनबाट शक्तिमा आएका पार्टी सभापति देउवाले त्यसपछि भातृ संगठनहरुमा पनि आधिपत्य जमाएका थिए। पार्टीको बागडोर सम्हालेपछि देउवाले प्रमुख भातृ संगठनको नेतृत्वमा पनि आफू पक्षधरलाई ल्याउन सफल भएका थिए।

भातृ संगठनहरुको महाधिवेशन भनिए पनि टिके प्रथा कायम थियो। जुनसुकै माध्यम अपनाए पनि नेतृत्वमा देउवा पक्षले इतर समूहलाई आउन दिएको थिएन। नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा भागवण्डा मार्फत नेतृत्व चयन गरिएको थियो। अध्यक्ष देउवा पक्षबाट नैनसिंह महरले पाएका थिए भने अर्को शक्तिशाली पद महामन्त्रीमा सिटौला पक्षका कुन्दनराज काफ्ले आएका थिए।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि देउवा र सिटौला समूहले भातृ संस्थामा गठबन्धन बनाउँदै आएका थिए। महिला संघमा देउवा पक्षकी उमा सुवेदीलाई अध्यक्ष बनाइएको थियो भने महासचिवमा सिटौला पक्षबाट धना खतिवडालाई ल्याइएको थियो।

तरुण दलको पदाधिकारी पनि भागवण्डाबाटै तीन समूहले बाँडेका थिए। अध्यक्षमा जितजंग बस्नेत संस्थापन समूहबाट, सिटौला पक्षबाट उपाध्यक्षमा उत्तम चापागाईं र पौडेल पक्षका भूपेन्द्रजंग शाहीलाई महासचिव पद दिएर टुंग्याइएको थियो।

प्रेस युनियनमा तिनै पक्षको भागवण्डा भएको थियो भने सांस्कृतिक संघमा देउवा र पौडेल पक्षले भागवण्डा गरेका थिए। तर, निर्वाचनपछि भने भागवण्डाको चक्र फेरिएर पौडेल र सिटौला एकातिर भेला भएका छन्। जसले सभापति देउवा पक्षलाई दिन प्रतिदिन कमजोर बनाउँदै लगेको बुझ्न सकिन्छ। देउवाको एकलकाटे प्रवृत्ति हावी भएको कारण पार्टीको धरातललाई गिराए त्यसको क्षतिपूर्ति लिनको लागि अहिले सिटौला र पौडेलपक्ष लागिपरेका छन् । उनीहरुको पहिलो खालको परिक्षण सफल भएको देखिन्छ भने आगामी दिनमा के हुन्छ हेर्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति