काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट एक करोड आम्दानी



हाम्रो इकोनोमि

काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआएका किसानले गत आवमा मात्र ९२५ खसीबोका बिक्री गरी रु ८६ लाख आम्दानी गरेका छन् । उनीहरुले सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्थामार्फत ती खसीबोका बिक्री गरेका हुन् ।

यस्तै वसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्थाले १४० खसीबोका बिक्री गरी रु १४ लाख ९० हजार आम्दानी गरेको छ । किसानले दुईवटै सहकारीमार्फत खसीबोका बिक्री गरेका हुन् । गाउँका अधिकांश किसान सहकारीमा आबद्ध रहेका सप्तरंगी सहकारीका अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो । पछिल्लो तीन वर्षयता वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुँदै आएको छ ।

दुवै सहकारीमा आवद्ध अधिकांश किसान बाख्रापालनमा संलग्न छन् । “धेरैले ४० देखि ५० वटासम्म पाल्नुभएको छ,” अध्यक्ष श्रीसले भन्नुभयो, “दुई÷चार बाख्रा त सबैले पालेका छन् ।” ‘हेफर इन्टरनेशनल’मार्फत तंग्राममा साना किसान सबलीकरण परियोजनाले किसानलाई आयआर्जनमा लाग्न प्रेरित गरेको हो । परियोजनाले किसानलाई उद्यममा लगाउन ‘बाख्रा उपहार’ कार्यक्रम सञ्चालन गरेको छ ।

परियोजनाले किसानलाई सीप र प्रविधिमा बाख्रा बिक्री वितरणमा सघाउँदै आएको छ । बाख्रा बिक्रीको जिम्मा सहकारीले लिएपछि किसान ढुक्क छन् । “हामीले पालेका खसीबोका सहकारीले खरीद गर्छ, उसैले बेच्छ,” स्थानीयवासी सुरेश घर्तीले भन्नुभयो । दक्षिण कोरियाबाट फर्केपछि व्यावसायिक बाख्रपालन शुरु गर्नुभएका घर्तीले हाल ४० बाख्रा पाल्नुभएको छ ।

मनग्य आम्दानी हुने भएपछि घर्ती जस्तै अन्य किसानले बाख्रापालनलाई विस्तार गर्दै लगेका छन् । तंग्राम, फापरखेतका मेखबहादुर पुन वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक बाख्रपालनमा लाग्नुभएको छ । विदेशमा गर्ने जति मिहेनतले यही पर्याप्त आम्दानी गर्न सकिने पुनको विश्वास छ ।

मगर जातिको बसोबास रहेको तंग्राममा केही वर्षअघिसम्म बाख्रा पाल्ने चलन थिएन । हेफर इन्टरनेशनलको सहयोगमा भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले ‘बाख्रा उपहार’ कार्यक्रम चलाएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । साप्ताहिक रुपमा बाख्रा खरीद गरेर बिक्री गर्ने गरेको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले बताउनुभयो । उद्यममार्फत गाउँलेलाई आत्मनिर्भर बनाउन सहकारीले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...