नेकपाका २२ जनसंगठन : अधिकांशको एकीकरण साउनभित्रै, कुन संगठनको एकीकरण कसरी ?



 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए ।

 

निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ । यसैबीच, प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरण तयारी अन्तिम चरणमा पुगेको छ । ‘हामीले सकेसम्म साउनभित्रै एकता सम्पन्न गरिसक्न निर्देशन दिएका छौँ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘विधान र नियमावली प्रकाशन भइसकेकाले अब भ्रातृसंगठन र तल्ला कमिटीहरूको एकता प्रक्रिया सम्पन्न भइसकेपछि सातवटै प्रदेशमा ठूला प्रकृतिका आमसभा आयोजना गरेर लाखौँको जनपरिचालन गर्नेछौँ ।’

 

इन्जिनियरहरूको एकता घोषणा
तत्कालीन एमालेनिकट प्रोगे्रसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल र माओवादीनिकट नेपाल राष्ट्रिय इन्जिनियर संगठनबीच शनिबार एकता भयो । एकतासँगै नयाँ संगठनको नाम प्रोगे्रसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल राखिएको छ । संगठनको अध्यक्षमा तत्कालीन एमालेनिकट शम्भुबहादुर श्रेष्ठ र तत्कालीन माओवादीनिकट हरि पराजुली महासचिव चयन भएका छन् । अध्यक्षद्वय केपी ओली र प्रचण्डको उपस्थितिमा एकता कार्यक्रम भएको हो ।

 

भदौ पहिलो साता अन्तिम समयसीमा
नेकपाले गत ७ जेठमा तीन महिनाभित्र तल्ला कमिटी र भ्रातृसंगठनहरूको एकता सम्पन्न गर्न निर्देशन गरेको थियो । यसअनुसार भदौ पहिलो सातासम्म एकता गर्नुपर्ने समयसीमा छ । २२ वटै भ्रातृसंगठन एकीकरणका लागि केन्द्रीयस्तरमा गठित कार्यदलले अहिले गृहकार्य तीव्र पारेका छन् ।

 

कार्यदललाई नै नाम, नेतृत्व टुंग्याउने कार्यादेश
जनसंगठन एकीकरणका लागि गठित कार्यदललाई एकीकरणबाट गठन हुने सम्बन्धित जनसंगठनको विधान मस्यौदा गर्ने, सम्मेलन वा महाधिवेशन आयोजक कमिटी गठन गर्न पदाधिकारी र सदस्यहरूको नामावलीसहित प्रस्ताव तयार पार्ने कार्यादेश दिइएको छ । त्यस्तै, कमिटीको पदाधिकारी र सदस्यको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउनेलगायत कार्यादेश दिइएको छ । विवाद देखिए नेतृत्वले टुंग्याउनेछ । एकीकरणअघि सम्बन्धित जनसंगठनको केन्द्रीय कमिटी बैठक बोलाएर सुझाब लिन पनि निर्देशन गरिएको छ ।

 

जनसंगठनमा अध्यक्ष र महासचिव, पदाधिकारी राख्न अनुमति लिनुपर्ने
नेकपामा जनसंगठनहरूले एकता गर्दा अध्यक्ष र सचिव मात्र राख्न पाउनेछन् । तर, पदाधिकारीहरू राख्नुपरेको अवस्थामा केन्द्रीय कमिटीबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको सचिवालय सदस्य वामदेव गौतमले बताए ।

 

कुन संगठनको एकीकरण कसरी ?

मजदुर : तलबाट एकताको तयारी
कार्यदल : विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी तत्कालीन एमालेको नेपाल ट्रेड्र युिनयन महासंघ (जिफन्ट) र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)बीच सबैभन्दा ढिलो एकता हुने भएको छ । दुवै संगठन ट्रेड युनियन ऐनअन्तर्गत दर्ता भएकाले जिल्ला–जिल्लामा रहेका प्रतिष्ठान र घटकस्तरसम्म एकता गर्नुपर्ने भएकाले आगामी मजदुर दिवस मे १ सम्म एकता गरिसक्ने लक्ष्य राखिएको जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले बताए । ‘हामी प्रतिष्ठानस्तरमा तलबाट एकता गर्दै माथि एकता गर्छौं, ऐनअन्तर्गत बाँधिएकाले हामी अरू जनवर्गीय संगठनजस्तो माथिबाट गृहकार्य गर्दैमा एकता हुने स्थिति छैन, श्रेष्ठले भने, ‘त्यसैले ढिलो भए पनि हामी आगामी मे १ सम्म एकता गरिसक्छौँ ।’

 

एकताका लागि दुवैतर्फबाट ११ सदस्यीय छुट्टै कमिटी बनाएर काम अघि बढेको श्रेष्ठले बताए । दुवै संगठनले शनिबार संयुक्त प्रशिक्षण आयोजना गरेर एकता प्रक्रिया अघि बढेको घोषणा गरेका छन् ।

नाम : जिफन्टले श्रममा दर्ता नम्बर १ तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि स्थापित नाम भएकाले आफ्नै नाम राख्दा उपयुक्त हुने प्रस्ताव राख्दै आएको छ ।

 

पत्रकार : दुई हप्ताभित्र एकता

कार्यदल : योगेश भट्टराई, पम्फा भुसाल, गणेश बस्नेत र महेश्वर दाहाल
पत्रकारहरू आबद्ध रहेको भ्रातृसंगठनको एकीकरण मोटामोटी टुंगो लागेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले दुईदेखि तीन हप्ताभित्र एकीकरण घोषणा गर्ने गरी धेरै विषय टुंगो लागिसकेको बताए । २ सय २५ सदस्यीय केन्द्रीय कमिटी, ९ सदस्यीय केन्द्रीय कार्यालय र केन्द्रीय कमिटीको एकतिहाइ सचिवालयको संख्या टुंगो लागेको छ । केन्द्रीय कार्यालयमा अध्यक्ष र महासचिव मात्र रहनेछन् । नेतृत्वको विषय टुंगो लाग्नेबित्तिकै एकता घोषणा गर्ने तयारी छ ।

नाम : प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीचको एकतापछि नयाँ नाम प्रेस संगठन नेपाल रहने भएको छ ।

 

किसान : साउनभित्रै एकता
कार्यदल : वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ
तत्कालीन एमालेको अखिल नेपाल किसान महासंघमा वामदेव गौतम अध्यक्ष रहेको १ सय ७५ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीतर्फको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीमा चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको ३ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । दुवै जनसंगठन मिलाएर साउनभित्रै एकता गर्ने तयारी छ ।

नाम : किसान संगठन एकीकरणमा नामको खासै समस्या छैन । दुवैको नाम एउटै रहेकाले पुच्छर हटाउनेबित्तिकै एउटै नाम हुने कार्यदल सदस्य श्रेष्ठले बताए ।

 

महिला : नाम, संख्या र झन्डामा विवाद
कार्यदल : राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर
दुई महिला संगठनबीच साउनभित्रै एकता गर्ने गरी गृहकार्य भइरहेको छ । अनेमसंघकी अध्यक्ष गोमा देवकोटाका अनुसार संख्या, नाम र झन्डाको विषय नटुंगिए पनि पार्टी निर्देशनअनुसार नै साउनभित्रै एकता हुनेछ । ५ सय ५० सम्मको कमिटी बनाउने कि ३ सय सम्मको कमिटी बनाउने छलफल भइरहेको बताइएको छ । तत्कालीन एमालेको अखिल नेपाल महिला संघमा गोमा देवकोटाको अध्यक्षतामा १ सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ भने र माओवादीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अमृता थापामगर अध्यक्ष रहेको ५ सय ७५ सदस्यीय छ ।

 

युवा : नाम, संख्या, नेतृत्व र झन्डामा छलफल
कार्यदल : मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा
दुई युवा संगठनबीच साउनभित्रै एकता गर्ने गरी गृहकार्य भइरहेको युवा संघका अध्यक्ष रमेश पौडेलले बताए । उनले नाम, संख्या, नेतृत्व, झन्डा र स्थापना मितिमा छलफल केन्द्रित भइरहेको र छिट्टै टुंगो लाग्ने बताए । तत्कालीन एमालेको युवा संघ २ सय ५४ र माओवादीको वाइसिएल २ सय १३ सदस्यीय छ । दुवै केन्द्रीय समिति मिलाउने तयारी भइरहे पनि एकता महाधिवेशनपछि १ सय ९९ या २ सय २१ सदस्यीय केन्द्रीय कमिटी हुने गरी विधानमा छलफल हुँदै छ ।

 

नाम : राष्ट्रिय युवा संघ, प्ररायुसंघ, युवा संघ नेपाल, अखिल नेपाल युवा संघ नाम छलफलमा छन् ।

विद्यार्थी : भदौ पहिलो हप्ता लाग्ने

 

कार्यदल : रवीन्द्र अधिकारी, रमेश मल्ल, नवीना लामा र रञ्जित तमाङ
भदौको पहिलो हप्ताभित्र एकता सम्पन्न गर्ने लक्ष्यसहित विधान मस्यौदा, राजनीतिक तथा शैक्षिक कार्यदिशा र संगठन समायोजन उपसमिति बनेको छ । ३ वटै उपसमितिले समयसीमाभित्रै एकता सम्पन्न गर्ने गरी गृहकार्य सुरु गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । अनेरास्ववियु आयोगसहित २ सय सदस्यीय र माओवादीको अखिल क्रान्तिकारी २ सय ४३ सदस्यीय छ । कार्यदलमा रहेका माओवादीतर्फका हितमान शाक्य अनुपस्थित रहेपछि उनको स्थानमा रमेश मल्ललाई मनोनीत गर्नुपर्ने बाध्यताले विद्यार्थी संगठनको एकता छलफल ढिलो गरी सुरु भएको छ ।

नाम : भर्खरै उपसमिति बनेकाले खासै छलफल भएको छैन ।

गीत–संगीत कला क्षेत्र : भदौ पहिलो साता एकता

 

कार्यदल : मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री
दुवै पार्टीका भ्रातृसंगठनको नाम जनसांस्कृतिक महासंघ रहेकाले नामको विषय टुंगो लागेको छ । अहिले विधान मस्यौदा भइरहेकाले भदौ पहिलो साताभित्र एकीकरण गर्ने गरी छलफल बढिरहेको कार्यदल सदस्य खगेन्द्र राईले बताए । घटक संगठन र केन्द्रीय कमिटीको एकैपटक एकीकरण गर्ने तयारी रहेको उनले जानकारी दिए ।

 

नाम : जनसांस्कृतिक महासंघ नाममा सहमति

अन्य जनसंगठनको यस्तो छ तयारी
दुवैतर्फका जनजाति, मधेसी, भूतपूर्व सैनिक प्रहरी, अपांगता भएका व्यक्तिहरूको संगठन, सुकुम्बासी, मुस्लिम, दलित, बुद्धिजीवी, पेसागत कर्मचारी, मानवअधिकार, खेलकुद, कानुन, उद्योगी व्यवसायी, प्रवासी मञ्चसँग सम्बन्धित जनसंगठनहरूले पनि एकता कार्यदलमार्फत छिट्टै एकता गर्ने गरी तयारी अघि बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति