नारायणगढ-मुग्लिन सडक सम्पन्न : अब ३५ मिनेटमा नारायणगढबाट मुग्लिन



 

३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत (अप्रिल २०१५)मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिए ।

 

भूकम्प र नाकाबन्दीका कारण ११ महिना काम हुन नसक्दा तथा निर्माणाधीन अवस्थामा पनि यातायातका साधनसमेत सञ्चालन गर्नुपर्ने भएकाले तोकिएको समयभन्दा ढिलो सकिएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताए ।

 

बिसुरालका अनुसार तीनवटा ठेक्कामा काम भएकोमा दुईवटाले काम सम्पन्न भएको प्रमाणपत्र पाइसकेका छन् । ‘त्यसमा पनि दोस्रो र तेस्रो नम्बरको ठेकेदारले प्रमाणपत्र पाइसकेका छन्,’ उनले भने, ‘पहिलोको काम पनि करिब सम्पन्न भएको छ, चाँडै उसले पनि प्रमाणपत्र पाउनेछ ।’

 

विश्वबैंकको करिब ३ अर्ब ९० करोड (३६ मिलियन अमेरिकी डलर) सहयोगमा सडक निर्माण भएको हो । ‘भूकम्प तथा आपूर्ति अवरोधजस्ता समस्या नआएको भए परियोजना निर्धारित समयमै सम्पन्न हुने थियो, अहिले सम्पन्न हुनुलाई पनि हामीले समयमै सकिएको मानेका छौँ,’ मुग्लिन–नारायणगढ सडक अनुगमनमा पुगेका विश्वबैंकका नेपाली देशीय प्रबन्धक फेरिस हदाद–जर्वोसले भने ।

 

यो नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन परियोजना (एनआइआरटिटिपी)अन्तर्गत निर्माण भएको हो । सो परियोजनामा कुल १० अर्ब रुपैयाँ लगानी गरिएको थियो । नेपालको व्यापारसँग सम्बन्धित पूर्वाधार विकासमा यो परियोजना केन्द्रित थियो ।

 

‘नेपालको ९० प्रतिशत व्यापार यही सडकमार्फत हुन्छ, काठमाडौंलाई बाँकी नेपालसँग जोड्ने मात्रै होइन, चीन र भारतका सीमासँग जोड्न पनि यो मार्ग अत्यन्तै महत्वपूर्ण छ,’ हदाद–जर्वोसले भने, ‘यो परियोजनालाई सहयोग गर्न पाउनु र परियोजना सम्पन्न हुनु खुसीको कुरा हो ।’

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीले सीमित वित्तीय तथा मानव स्रोत हुँदाहुँदै पनि पूर्वाधार परियोजनाहरू गुणस्तरीय बनून् र समयमै बनून् भनेर आफूहरू लागिरहेको बताए ।

 

सडक बने पनि पहिरोले सताउन छाडेन
राजमार्ग निर्माण सकिए पनि बर्खा लागेपछि पटक–पटक पहिरो गएर समस्या परिरहेको छ । यसबीचमा ५ ठाउँमा ठूलो पहिरो गएको आयोजना प्रमुख बिसुरालले जानकारी दिए । ‘तर, पहिरो सफा गर्न डोजर तथा स्काभेटरहरू तयारी अवस्थामा राखिएकाले राजमार्ग लामो समय अवरोध भने हुँदैन,’ उनले भने, ‘तत्काल खुलाइहाल्र्छौं ।’ एक ठाउँमा भने करिब ३० मिटर सडक भासिएको छ ।

 

पहिरो नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिए पनि बर्खा सुरु भएपछि समस्या आएको परियोजना हेरिरहेका विश्वबैंकका वरिष्ठ पारवहन विशेषज्ञ दीपक श्रेष्ठले बताए । सडक विभागले यो समस्यालाई दीर्घकालीन समाधान गर्न भौगर्भिक अध्ययन गर्न विज्ञ टोली पठाइसकेको विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले जानकारी दिए । उनले सडक भासिनुको कारण पनि खोजी गरिरहेको जानकारी दिए ।

 

४ पुल बन्दै, १४ को टुंगो छैन
सडक ७ मिटर बने पनि पुल भने साँधुरा नै छन् । पुलको चौडाइ पुरानै सडकबराबर अर्थात् साढे ५ देखि ६ मिटर मात्रै छ । यस सडकखण्डमा कुल १८ वटा पुल छन् । त्यसमध्ये यही परियोजनाअन्तर्गत चार ठाउँमा पुरानो पुलको समानान्तर हुने गरी नयाँ पुलसमेत निर्माण हुँदै छन् । तर, बाँकी १४ वटा पुल निर्माणको टुंगो भने अहिलेसम्म नलागेको आयोजनाका संयोजक श्रेष्ठले जानकारी दिए । पुल परियोजनाका लागि करिब २ अर्ब ४० करोड रुपैयाँ (२२ मिलियन अमेरिकी डलर) लगानी आवश्यक पर्ने उनको भनाइ छ । सरकारले परियोजनामा लगानी गर्न विश्वबैंकलाई अनुरोध गरिसकेको जानकारी पनि श्रेष्ठले दिए  ।

 

पुल परियोजनामा समेत लगानीका लागि तयार रहेको विश्वबैंकका नेपाल प्रबन्धक हदाद–जर्वोसले बताए । ‘सडकको स्तरोन्नतिसँगै पुलको पनि स्तरोन्नति गर्नुपर्ने थियो,’ उनले भने, ‘तर, त्यसवेला स्रोतको कमी भएका कारण लगानी गर्न कठिन भयो । अब पुलमा थप लगानी गर्न हामी तयार छौँ ।’

 

थप पुल निर्माण गर्दा पुनः बाटो बन्द भई सर्वसाधारणलाई सास्ती नहोस् भन्नेतर्फ गम्भीर रहेको उनले बताए । उनले भने, ‘पुराना पुल भत्काएर नयाँ बनाउने होइन, समानान्तर रूपमा बनाउने हो । त्यसो हुँदा राजमार्गमा अवरोधविना नै पुल बनाउन सकिन्छ ।’ आयोजना सुरु भएको २ वर्षमा पुल निर्माण सकिने पनि उपमहानिर्देशक श्रेष्ठले जानकारी दिए ।

 

 ३५ मिनेटमा नारायणगढबाट मुग्लिन
यो परियोजना सुरु हुनुभन्दा अघि नारायणगढ–मुग्लिङ सडकको औसत चौडाइ साढे ५ देखि ६ मिटर थियो । परियोजना सम्पन्न भएपछि पूरै सडक कम्तीमा ७ मिटर चौडा भएको छ । ‘यो एसियाली राजमार्गको मापदण्डअनुरूप डबल लेन सडकमा स्तरोन्नति भएको छ,’ सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले भने ।

 

राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ । राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको आयोजनाका संयोजकसमेत रहेको श्रेष्ठले बताए । स्तरोन्नति हुनुअघि यो दूरी पूरा गर्न एक घन्टा लाग्थ्यो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको

माधवको नेकपा एस फुटने पक्का, १०० बढी नेताको बिद्रोह

     नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न

पुण्य गौतममाथि सांघातिक आक्रमण, आइसीयूमा उपचार हुदै

    सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ । हिजो राति