किसुनजीलाई हराउन गिरिजाबाबुले ५ करोड दिए : उमेश गिरी



 

विराटनगर महानगर–१० निवासी ६५ वर्षीय उमेश गिरी ४ मंसिर ०७४ मा अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरे । उनले लामो समय कांग्रेसमा रहेर राजनीति गरे । मोरङको ५ नम्बर क्षेत्रबाट शैलजा आचार्यविरुद्ध दुईपटक बागी उम्मेदवारसमेत बने । ०६४ को संविधानसभा निर्वाचनमा तमलोपाबाट पनि उम्मेदवार बने । कांग्रेसले गरेको जहाज अपहरण, कृष्णप्रसाद भट्टराई हराउ अभियान, उद्योगी तुलसीराम अग्रवाल अपहरणलगायत विभिन्न काण्डमा जोडिएका गिरीले आफ्नो जीवनका केही रमाइला किस्सा सुनाएका छन् :

 

पिछलग्गु भएर आन्दोलनमा
म विराटनगरको तिनपैनीमा जन्मेको हुँ । एसएलसी आइए पढ्न मोरङ क्याम्पसमा भर्ना भएँ । मनमोहन कोइरालाका छोरा प्रकाश, भतिजा शेखर, राजदूत महेश मास्केहरू क्लासफेलो थिए । स्कुल पढ्दैखेरि नै विजय अर्याल, बच्चु सापकोटा, रामलक्ष्मण, हरि सापकोटा, हरि न्यौपानेजस्ता कट्टर कांग्रेसीहरूसँग संगत भयो । ०२२ मा विराटनगरमा नाचघर काण्ड चर्कियो । विराटनगरमा रहेका डिआइजी नारायण सिंहलाई राष्ट्रिय नाचघरमा युवतीमाथि अभद्र व्यवहार गरेको आरोप लाग्यो । कांग्रेस समर्थक विद्यार्थीहरूले विराटनगरमा ठूलो आन्दोलन चर्काए ।

 

म त्योवेला पिछलग्गु भएर आन्दोलनमा सहभागी भएँ । दुर्गा सुवेदीहरू अगुवा भएर लागेका थिए । म दुर्गा दाइको फ्यान भएकाले आन्दोलनमा पिछलग्गु बनेको थिएँ । मैले ०१६ सालको स्थानीय चुनावमा पहिलोपटक कांग्रेसको रूख चिह्न देखेको थिएँ । ०२४ मा ७२ लाख काण्ड चर्कियो । नगरपञ्चायत भएपछि पञ्चहरूले भ्रष्टाचार गरेको विषय थियो त्यो । भयानक संघर्ष भयो । दुर्गा सुवेदी, म, नगेन्द्र ढुंगेल, वसन्त भट्टराईलगायतले विभिन्न ठाउँमा आगजनी गर्याैं ।

 

सरकारी गाडीमा आगो लगायौँ । हामीलाई ५५ नम्बरको पुर्जी काटियो । ०२५ मा १० कक्षा पढ्दा कृष्ण पोखरेल सरलाई सरुवा गरियो । हामीले सरुवा बदर गराउन हड्ताल गर्यौँ । अखिल र नेविसंघले आन्दोलन चर्कायौँ । हामीलाई आर्मी लगाएर पक्रेर थुनियो । जेलमा टिनको बक्सामा शौच गथ्र्यौं । चिसो भुइँमा सुत्थ्याैँ ।

 

सशस्त्र क्रान्तिको तयारी
०२६ मा बिपी सशस्त्र क्रान्तिको तयारी गर्न भनेर भारत फर्किए । गिरिजा पनि सँगै गए । पछि पर्यटन भिसामा बिपी लन्डन गए । त्यहीँबाट पञ्चायतविरुद्ध सशस्त्र क्रान्तिको घोषणा गरे । उनले नेपालमा प्रजातन्त्र फर्काउन क्रान्तिबाहेक अर्को विकल्प छैन भनेका थिए । त्योवेला विनोद अर्यालले मलाई जनमुक्ति सेनाको फारम भराए । १५० जना जतिले फारम भर्‍यौँ । दुर्गा सुवेदीले हतियार दिए, जंगलमा फायरिङ गरेर तालिम लियौँ । मिलेटेरी ट्रेनिङ लियौँ । बरगाछीमा रहेको भरत कोइरालाको गोदाममा हतियार जम्मा गरेर पाटपुर्जा सफा गर्न, जोड्न र कस्तोखालको हतियार कसरी चलाउने भन्ने सैद्धान्तिक कुरा सिक्यौँ । सबै कुरा गोप्य रह्यो ।

 

३० मंसिर ०२८ मा सशस्त्र क्रान्तिका लागि विराटनगरमा पोस्टर आयो । हामीले योजना बनाएर एकैदिनमा लालटिन बालेर छ्याप्छ्याप्ती बनायौँ । सरकारी अड्डा सबैतिर टाँस्याैँ । १ पुसमा हामी समातियौँ र ९ महिने पुर्जामा जेल हाल्यो । त्यहीवेला हो मनमोहनलाई भेटेको । उनी झापा काण्डको आरोपमा जेल परेका रहेछन् । मलाई डेढ महिनापछि रिहा गरियो । त्योवेला मनमोहनले बाहिर नजाउ जेलमै बसेर पढ भनेर सुझाब दिएका थिए । जेलबाट छुटेपछि म जनकपुरको मौवामा रहेको मामाघरमा गएँ ।

 

जहाज अपहरणमा सहभागी हुन पाइनँ
बिहार राज्यको फरबिसगन्जस्थित सुल्तान पोखरीको डिलमा जनमुक्ति सेनाको क्याम्प थियो । आर्थिक अभावले खाना जुटाउन साह्रै कठिनाइ भइरहेको थियो । रमाइलो झोडा काण्डले गर्दा यज्ञबहादुर थापालगायत पुर्जी काटिएका कांग्रेस कार्यकर्ताहरू पनि त्यहीँ शरण लिन पुगेका थिए । फारबिसगन्जबाट सरोज कोइराला विराटनगर आए । उनले दुईवटा रिभल्बर दिए । राम्रो खान नपाउँदा गिरिजाबाबु बेहोस भए भन्ने सुन्यौँ ।

 

०२९ मा गिरिजा विराटनगर आए । सरोज, नोना र गिरिजासहितको बैठक बस्यो । आर्थिक जोहो कसरी गर्ने भन्ने छलफल भयो । मैले जहाज अपहरण गर्नुपर्छ भनेँ । नेपालबाट अपहरण गरेर ढाकामा ओराल्ने र पक्राउ परेका सबै कार्यकर्ताहरू छाड्न माग गर्ने योजना सुनाएँ । त्योवेला जासुसी उपन्यास र धर्मयुग दिनमान पत्रिकामा मैले जहाज अपहरणको विद्रोह पढेको थिएँ । मेरो कुरा सुनेर सबै छक्क परे । त्यतिवेला म २० वर्षको थिएँ, केटाकेटीको कुरा भनेर कुनै निर्णय भएन । पछि दुर्गा दाइ जेलबाट छुटेर आए । नगेन्द्र र मैले उनलाई भेटेर योजना सुनायौँ । उनले समर्थन जनाए ।

 

विनोद अर्यालका भाइ मदन अर्याल राष्ट्र बैंकमा जागिरे थिए । उनले हामीलाई पैसा आउने र जाने सूचना दिने जिम्मा लिएका थिए । त्योवेला भारुको कारोबार बैंकमार्फत धेरै हुन्थ्यो । पूर्वमा जम्मा भएको भारु राष्ट्र बैंकमा र त्यहाँबाट काठमाडौं लगिन्थ्यो । यसैगरी विराटनगर राष्ट्र बैंकबाट रंगेली बैंकमा पनि पैसा लगिन्छ भन्ने सूचना प्राप्त भयो । मदन अर्याललाई लिएर हामी फारबिसगन्ज गयौँ । गिरिजा कमान्डर थिए । उनले केटाकेटीको अगाडि किन कुरा गरेको र यहाँ किन ल्याएको भनेर मदनलाई हपारे । तर, मदन, दुर्गा सबैलाई मेरो विश्वास थियो । पछि दुवैले कन्भिन्स गरेपछि गिरिजाले अनुमति दिए ।

 

स्वीकृति पाएपछि मदन आर्याल, दुर्गा, म, विजय गच्छेदार, नागेन्द्र ढुंगेल, वसन्त भट्टराई, चुन्नु अर्याल, उत्तर खतिवडालगायतको टिम बन्यो । पहिले रंगेलीको बैंक लुट्न निरीक्षण ग¥यौँ । तर, एक्सोपोज भएछ । निर्दोष अशोक कोइराला पक्राउ परे । उता गिरिजा पैसा नभएर छटपटिरहेका थिए । यसैले अब जहाज अपहरण गर्ने र फारबिसगन्जमा ल्यान्ड गराउने योजना बनायौँ । त्योवेला चीनसँगको लडाइँका लागि सीमा क्षेत्रमा अस्थायी एयरपोर्टहरू बनाइएका थिए । त्यो एयरपोर्ट फारबिसगन्जमा पनि थियो ।

 

सबै योजना बन्यो, तर जहाजको टिकट काट्ने जनही २ सय ५० रुपैयाँ थिएन । पैसा जुटाउन डकैती गर्ने योजना बनायौँ । बजारबाट कालो कपडा किनेर नकाब बनायौँ । केही ग्रिनेड र दुईवटा पेस्तोल दिइएको थियो । लक्ष्मीपूजाको वेला मारवाडीले धनसम्पत्ति निकालेर पुज्छन् भन्ने थाहा थियो । जहदा रोडका मारवाडीको घरमा डकैती गर्ने योजना बन्यो, तर पछि असफल होइन्छ भन्ने लागेर रद्द भयो ।

 

त्यसपछि मिलन होटेलका मालिक कालिप्रसाद गुप्तालाई लुट्न बाटो ढुक्यौँ, तर योजनाको दिन उनी आएनन् । त्यसपछि विराटनगर बरगाछीका धनी व्यक्ति निरन्जन रिजाल, रमाप्रसादलगायतका घरमा कोसिस गर्याैँ । ढोका नखोलेपछि असफल भयौँ । पैसा नभएर जहाज हाइज्याक हुन सकेन भन्ने सूचना पुगेपछि बिपीले ५ हजार पठाइदिए ।

 

२८ जेठमा पैसा जाने सूचना आयो । जहाजमा म, दुर्गा र वसन्त जाने निधो भयो । तर, म सिकिस्त बिरामी परेँ । मेरो साटो नगेन्द्र ढुंगेल अनि दुर्गा र वसन्तले टिकट काटे । जहाज अपहरण सफल भयो । म पनि योजनाकार रहेको खुलासा भयो । म भागेर फारबिसगन्ज क्याम्प गएँ । दुर्गा दाइ भारतमै पक्राउ परे । ०३३ मा बिपी नेपाल आए । ममाथि आजीवन कारावाससहितको ९ वटा मुद्दा थिए । यसैले म आउन सकिनँ । पछि १ वैशाख ०३७ मा बहुदल आएसँगै गिरिजासँगै नेपाल फर्केको हुँ । विमानमा ३० लाख भारु थियो । त्यो पैसाले कांग्रेसले हतियार खरिद गर्‍यो, खाना खर्च जुटायो । पारदर्शी हिसाबचाहिँ भएन ।

 

 

आन्दोलन चर्काउन गोप्य वार्ता
०४२ मा मेरै घरमा बसेर गिरिजा र मनमोहनको पहिलो गोप्य वार्ता भएको थियो । मनमोहन मेरा छिमेकी थिए । हाम्रो जेलमा चिनजान भइसकेकाले छुटेपछि बारम्बार भेट हुन्थ्यो । एक दिन मनमोहनले अब कम्युनिस्ट र कांग्रेस मिलेर आन्दोलन नगरेसम्म पञ्चायत ढाल्न सकिँदैन भन्दै गिरिजासँग भेट गराइदिन मलाई आग्रह गरे । र, त्योवेला मैले मेरै घरमा भेला गराइदिएको थिएँ दुवैलाई । त्यसपछि बिस्तारै पञ्चायतविरुद्धको आन्दोलन चर्कियो ।

 

 

शैलजाविरुद्ध बागी
भूमिगतकालमा शैलजा पनि फारबिसगन्ज जान्थिन् । उनीसँग चिनजान त्यहीवेला भएको हो । उनले मलाई विश्वास गर्थिन् । यसैले नेपाल आएपछि सहयोगीका रूपमा उपयोग गरिन् । ०४७ को चुनावमा मैले पनि उनलाई जिताएरै छाडेँ । पछि ६ वटा निर्वाचन क्षेत्र भएको मोरङ ७ वटा भयो । ५ नम्बर क्षेत्रमा मैले दाबी गरे । किनकि त्यो मेरो क्षेत्र थियो । शैलजा त्यहाँकी बासिन्दा थिइनन् । मैले पनि उम्मेदवारी दिने निधो गरेँ । गिरिजाले बोलाएर अर्को क्षेत्रबाट चुनाव लड भने ।

 

 

तर, मैले मानिनँ । शैलजाले पनि मेरो क्षेत्र भन्दै ५ नम्बर छाड्न मानिनन् । मैले कांग्रेसका लागि बुथ बिथोल्नेदेखि धेरैलाई तह लगाउने काम गरेको थिएँ । मेरो योगदान पर्याप्त थियो । मलाई लाग्यो मैले चुनाव लड्न पाउने अधिकार छ । यसैले कांग्रेस विशेश्वर पार्टीबाट शैलजाविरुद्ध बागी उम्मेदवारी दिएँ । मेरो उद्देश्य जित्नुभन्दा पनि शैलजालाई हराउनुथियो । तर, उनले जितिन् । अर्कोपटकको निर्वाचनमा चाहिँ बद्री मण्डलसँग म प्याकअप भएर भए पनि शैलजालाई हराइ छाडेँ । मेरो उद्देश्य पूरा भयो । ०६४ मा तमलोपाबाट ५ नम्बरबाटै लडेँ, तर हारेँ ।

 

 

किसुनजीलाई हराउने अभियान
०५० को निर्वाचनमा काठमाडौंबाट किसुनजी उठ्ने भए । चुनाव जितेमा उनी प्रधानमन्त्री बन्ने पक्का थियो । यसैले गिरिजाबाबु उनलाई चुनाव लड्न दिन चाहँदैन थिए । उनले किसुनजीलाई चुनाव नलड्न आग्रह पनि गरे । तर, किसुनले मानेनन् । त्यसपछि गिरिजाले उनलाई जसरी पनि हराउने गोप्य योजना बनाए । मलाई काठमाडौं बोलाए । पावर दिए । म सक्रिय भएर किसुनजी हराउ अभियानमा खटिएँ । कतिलाई अपहरण गराएँ, कतिलाई कुटाएँ, धम्क्याएँ । किसुनजीलाई हराउन धेरै नेता लागिपरेका थिए । गिरिजाबाबुले दिएको पाँच करोड रुपैयाँ त मैले मात्र खर्च गरेको थिएँ ।

 

 

देशभरका कोइराला पक्षधर कार्यकर्ता काठमाडौं ओसारेर किसुनजीलाई हराउन आग्रह गरिएको थियो । घट्टेकुलोमा रहेको पूर्वप्रन्याय केदारप्रसाद गिरीको घरमा मैले त्यो अभियानको हेडक्वार्टर बनाएको थिएँ । एमाले नेता भीम रावलकी श्रीमतीले मसँग कोर्डिनेट गर्थिन्, विद्या भण्डारीलाई जिताउनका लागि । अन्ततः किसुनजीलाई हराएर विद्या भण्डारीलाई जिताइयो । आइजिपी मोतीलाल बोहोराले मलाई भाग्न पनि भने । किनभने ममाथि आक्रमण हुने जोखिम थियो । गृहमन्त्री देउवाले पक्राउ गर्न निर्देशन दिएका थिए । तर, उनको आदेश प्रहरीले मान्दैनथ्यो । गिरिजाको पावरको अगाडि शेरबहादुर पनि निरीह थिए ।

 

 

तुलसीराम अपहरण काण्ड
मेरो र शैलजाको शत्रुता सुरु भएपछि गुन्डाको संरक्षणका लागि शैलजाले जोगबनीको तस्कर गुन्डा भगवान यादवलाई प्रयोग गर्न थालिन् । मैले त्यो वेला जोगबनीमा जिन्स कर्नर भन्ने कपडा पसल पनि चलाएको थिएँ । त्यहाँबाट कमाएको पैसा सबै नोना कोइरालालाई दिन्थेँ । व्यापारका लागि बोर्डर गइरहने भएकाले भगवानले मलाई पावरवाला मान्छे भनेर भेट्ने गर्दथ्यो, चाकरी गथ्र्यो । तर, पछि थाहा भयो उसले मेरो संगत भजाएर प्रहरी र भन्सार कर्मचारीलाई हप्काउने, सामान लुटपाट गर्नेसम्म गरेर तस्करी गर्न थालेछ ।

 

मैले रिपोर्ट पाएपछि फोन गरेर सक्दो गाली गरेँ । नेपालमा केही गरिस् भने ठीक हुँदैन भनेर चेतावनी दिएँ । उसले ‘आइन्दा गर्दिनँ’ भन्यो । पछि ऊ सुनसरीमा हतियार काण्डमा पक्राउ पर्‍यो र जेल गयो । उसले मैले पक्रन लगाएको भन्ने ठान्यो । पछि नेपाल प्रहरीले उसलाई भारत सुपुर्दगी गर्‍यो । जोगबनीका गुन्डाहरूले उसलाई मार्ने प्रयत्न गरेछन् ।

 

जोगबनीका एकजना मिश्रा थरका राजनीतिज्ञ थिए । उनी फारबिसगन्ज क्याम्पसमा आइरहन्थे । उनले बहुदलको समर्थनमा जोगबनीमा जुलुस पनि निकालेका थिए । मलाई तीनै मिश्रले फोन गरेर विराटनगरमा उनीहरूलाई शरणका लागि सहयोग गर्न आग्रह गरे । मैले पनि खुमबहादुरजीमार्फत डिआजीलाई भनेर शरण दिलाएँ । केही गलत नगर्नु पनि भनेँ । उनीहरूले विराटनगरमा सेल्टर लिएपछि सबै मारवाडी व्यापारीहरू थर्कमान भएछन् । उनीहरूले मलाई एउटा बोलेरो दिएका थिए, मैले भन्सार तिरेर वैध बनाउन पाएको थिइनँ । भन्सार काट्न ८ लाख लाग्थ्यो । खुमबहादुरले दिन्छु भनेका थिए ।

 

१० माघ ०५८ मा माओवादी युद्धले गर्दा इमर्जेन्सी लागेको थियो । त्यहीवेला लुकाएर राखेको बोलेरो प्रयोग गरेर उनीहरूले बिहान मर्निङवाकमा गएका उद्योगी तुलसीरामलाई अपहरण गरेछन् । म काठमाडौंमा थिएँ । जिप नै मेरो भएपछि संकटमा परे । होइन भन्दा कसैले विश्वास गर्ने थिएनन् । मैले नभागी धरै पाइनँ । कालिम्पोङ गएर लुकेँ । यता मलाई नियोजित रूपमा राष्ट्रिय गुन्डा बनाइएछ । परिबन्दमा परेपछि केही लाग्दोरहेनछ । ६ महिनापछि कांग्रेस फुटेपछि मात्र नेपाल फर्कें । पछि मैले नै हो भोला र जाकिरलाई सिलिुडीबाट बोलाएर मुद्दा मिलाइदिने बहानामा काँकडभिट्टाबाट त्यो केसमा पक्राउ गराएको छ ।

 

भोला मोरङ अदालतबाट सादा तारेखमा रिहा भयो । जाकिर पुर्पक्षमा गयो । चार वर्षपछि ऊ पनि छुट्यो । मैले पनि सर्वोच्चबाट सफाइ पाएँ । अपहरण काण्डपछि भोला जोगबनीको मेयर र जाकिर एमएलए बनेका थिए । त्यो अपहरण गिरिजाबाबुको योजनामा त गराइएको थिएन भन्नेमा मलाई शंका छ । किनभने आग्रह नमानी उम्मेदवारी दिएर विद्रोह गरेपछि गिरिजाबाबु मलाई सिध्याउन चाहन्थे ।

 

वामदेवसँग लिएको पैसा…
म अहिले सोच्छु, दुर्गा दाइ र म कम्युनिस्ट रहेछौँ । कांग्रेसलाई चिनेनछौँ । कांग्रेसका लागि धेरै ग¥यौँ, तर सामान्तहरूले कांग्रेसलाई सके । बाहुनवादको जालोले कांग्रेसलाई सक्यो । थर र गोत्रको माखेसाङ्लोमा कांग्रेस फस्यो । दुर्गा दाइकै प्रेरणाले म कांग्रेस भएँ । दुर्गा दाइ आफैँ पनि फसे, मलाई पनि फसाए । यसैले ढिलै भए पनि म एमालेमा प्रवेश गरेको हुँ । मेरै आग्रहमा पूर्वगृहराज्यमन्त्री भीमराज राजवंशी पनि प्रवेश गरेका हुन् । ०६४ को निर्वाचनमा महेशलाई हराउने भीमराज नै हुन् । तर, उनले केही पाएनन् ।

 

फोरम नेपालबाट फुटेपछि गच्छदारले मलाई आफ्नो पार्टीमा आउन भने । मैले पहिले भीमराजलाई मन्त्री बनाऊ अनि म आउँछु भनेपछि उनी गृह राज्यमन्त्री बने । तर, म विजयलाई राम्रोसँग चिन्थेँ । उसको पार्टीमा गइनँ । म केही पाउँछु भनेर नेकपामा आएको होइन । मैले वामदेव गौतमबाट दुई करोड लिएको थिएँ, कांग्रेसलाई हराउन । त्यो पैसा सबै कोइरालाहरूको हैकम तोड्नकै लागि खर्च गरेर सके ।नयाँ पत्रिकाबाट

गणेश लम्साल

प्रतिक्रिया दिनुहोस
घट्यो सेयर कारोबार

  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट

हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार

    संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि

आगामी दिनमा वित्तीय स्वच्छता कायम गर्न हौसला प्रदान गरोस् : प्रधानमन्त्री

      प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण

एमाले अध्यक्ष केपी ओलीको जन्मथलो जाँदै प्रचण्ड

  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन्