गोरेको हिसाब किताब गोलमाल गरेपछि सनमको यसरी भयो हत्या, सनमले नै सबै हिसाब राख्ने गरेको पुष्टि



हाम्रो इकोनोमि

 

विराटनगर । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’को सबै हिसाब खाताको परीक्षण सही प्रमाणित भएको छ । सनम शाक्यले राख्दै आएको हिसाब, कारोबारी लगायतलाई दिएको रकम लगायत डायरीमा भेटिएको सबै तथ्य सत्य भएको प्रमाणित भएको हो ।

 

मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार मृतक सनम शाक्यले तस्करीको हिसाबकिताब राख्ने गरेको खाताको परीक्षणबाट प्रमाणित भएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान टोलीले सुन तस्करी र सनम हत्याको अनुसन्धान गर्दै जाँदा फेला परेको डायरी र रजिस्टर परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

 

न्यायाधिवक्ता पाठकले भने, ‘‘दुवै निकायमा परीक्षण गर्दा शाक्यले नै लेखेको प्रमाणित भएको पाइयो । अनुसन्धान टोलीले अनुसन्धानका क्रममा ६ वटा खाताहरू फेला पारेको थियो । परीक्षणबाट प्राप्त प्रतिवेदन अदालतमा पेश गरेका छौं ।’’

 

अदालतले कुनै दस्तावेज प्रमाणित गर्नुपरेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाउने गर्दछ । टोलीले बरामद भएका सबै सामग्री प्रहरीको प्रयोगशालामा पनि पठाएको थियो । गोरेकै पूर्व लेखा सहयोगी सनमले बैंकमा रकम बुझाउन भरेको भौचरमा गरेको हस्ताक्षर, रजिस्टरमा गरिएको हस्ताक्षर, लेखाई र उनले पहिले लेखेका अक्षरहरू परीक्षणका लागि पठाइएको थियो ।

 

गत माघ ९ गते यूएईबाट आएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल बाहिरबाट गायब भएपछि गोरेको समूहले नै सुन लुकाएको आशंकामा फागुन १८ गते सनमको हत्या गरेको थियो ।

 

जिल्ला न्यायाधिवक्ता पाठकका अनुसार सामन्यतया लिखतको अनुसन्धान गर्दा मानिस जीवित हुँदा नयाँ लेख्न लगाएर अक्षर दाँजिने भए पनि मृत्यु भएको अवस्थामा पुरानो लेखाइकै आधारमा सुक्ष्म अनुसन्धान गरिन्छ । प्रमाणित भएको प्रयोगशालाको रिपोर्टले गोरेको कारोबार पुष्टि भएको पाठकले बताए ।

 

मोरङ प्रहरीले वैशाख १९ गते सरकारी वकिलको कार्यालय मोरङमार्फत् जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

 

सुन तस्करी प्रकरणमा सरकारी वकिलको कार्यालय मोरङले तीन पटक गरी ७४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये पाँच जनामाथि अनुसन्धानका लागि म्याद थप गरी राखिएको छ भने एक जना साधारण तारेख र तीन जना धरौटीमा छुटेका छन् ।

 

सुन तस्करी प्रकरणमा पाँच प्रहरी उच्च अधिकृतसहित ३४ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । सुन तस्करीमा संलग्न मोहनकुमार अग्रवाल सहित ३६ जना अझै फरार छन् । ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा गोरेसहित सबैविरुद्ध १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ र नब्बे पैसा बराबरको विगो माग गर्दै मुद्दा दायर गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...