नेपाली भूमि मिचेर भन्सार बनाउँदै भारत, सीमा क्षेत्रमा भिडन्तको खतरा, (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्रमा पुनः सीमा अतिक्रमण गर्न थालेको छ । अन्तर्राष्ट्रिय कानूनअनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रको दशगजा (नो म्यान ल्याण्डस्)मा कुनै पनि देशले भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । तर भारतले भने दशगजाबाट नेपालतर्फको भूमिमा भन्सार कार्यालय निर्माण गर्न थालेको छ ।

 

धनुषाको नगराईन नगरपालिका–२ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतले नेपाली भूमि मिचेर भन्सार कार्यालय निर्माण गर्न थालेको हो । भारतीय पक्षले नेपाली भूमिमै पर्ने पक्की पुलमा समेत रेखा तानेर आफ्नो भूमि भनेर दावी गर्न थालेको छ ।

 

सीमा सुरक्षाका लागि खटिएका नेपाली सुरक्षाकर्मीको असहमतिका बाबजुत पनि भारतीय पक्षले नेपाली भूमि मिचेर बनाउन लागेको भन्सार कार्यालयको निर्माण कार्य रोकेको छैन ।

 

नेपालको जटही गाउँको जमुनी नदी किनारमा भारत बिहारको पिपरौन कस्टमका सुपरिटेन्डेन्ट मोहम्मद अन्सारीको नेतृत्वमा भारतीय पक्षले जबरजस्ती गरेर भन्सार कार्यालय निर्माण गरिरहेको छ ।

 

२८४/३५  नम्बरको सीमास्तम्भ र एसपी ५१ नम्बर सीमास्तम्भको बीचको भू–भाग (दशगजा) क्षेत्रसहित सीमास्तम्भको पश्चिमतर्फको नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले भन्सार कार्यालय निर्माण गरिरहेको छ । त्यहाँ तैनाथ सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट जटहीका सशत्र प्रहरी निरीक्षक जगदीश प्रसाद थारुका अनुसार गत जेठ १५ देखि नै भारतीय पक्षले जवर्जस्ती भवन निर्माणको प्रक्रिया थालेको हो । सशत्र प्रहरीले उनीहरूलाई निर्माण कार्य रोक्न भनेर भनेको चौथो पटक भइसक्यो, तर निर्माण कार्य भने रोकेका छैनन् ।

 

प्रहरी निरीक्षक थारु भन्छन्, ‘हामीले दशगजा र नेपाली भूमिमा निर्माण कार्य भइरहेको भनेर रोक्न पटक पटक भन्यौं, दुईपटक त निर्माण कार्य रोकियो पनि । तर, अब उनीहरूले हामीलाई पूर्णतः अटेरी मात्र गरेका छैनन्, नेपालको भूभागमा नेपाल सरकारले नै बनाएको जमुनी नदीमाथिको पूलको आधा भाग समेत भारतकै हो भनेर धम्की दिइरहेका छन् ।’

 

शुरुमा भारतको सीमा सुरक्षा बल (एसएसबी)ले भन्सार कर्मचारीलाई मद्दत मात्रै गरेको थियो । तर भारतीय पक्षले अहिले नेपाली भूमिमा भन्सार बनाउन ठूलो संख्यामा एसएसबी समेत परिचालन गरेको छ ।

 

भारतीय पक्षकाले हामी निर्माण कार्य रोक्दैनौं जे गर्न सक्छौ गर भनेर धम्की दिइरहेका छन्,’ सशस्त्र प्रहरी निरीक्षक थारुले लोकान्तरसँग भने, ‘हामीले चाह्यो भने बोर्डर नै बन्द गरिदिन्छौं भनेर उनीहरुले चेतावनी दिन थालेका छन् ।’

 

भारतीय कस्टमका अधिकारीले आफ्नो नापी विभागको टोली झिकाएर नाप–जाँच नै गराएर नेपाली भूमिमा भन्सार निर्माणको कार्य शुरु गरेको दावी गरेका छन् । ‘उनीहरुले आफ्नो नापी विभागको टोलीलाई बोलाएर सीमा क्षेत्रमा चेकजाँच गरेर निर्माण अगाडि बढाएका छन्,’ सशस्त्र प्रहरी निरीक्षक थारु भन्छन्, ‘हामीले पनि एसपी कार्यालयमार्फत नापी विभागको टोली खटाइदिन अनुरोध गरेका छौं ।’

 

नेपालतर्फबाट नापीको टोली परिचालन नहुँदा आफूहरुले सीमामा निरिह हुनु परेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका अधिकारीको भनाइ छ ।

 

भारतीय सीमा सुरक्षा बल (एसएसबी)को पिपरौनस्थित कम्पनी हेडक्वार्टरका प्रमुख आरसी मल्होत्राको कमान्डमा रहेको टोलीले नेपाली भूमिमा भइरहेको भन्सार निर्माणमा सुरक्षा प्रदान गरिरहेको छ ।

 

साउन ६ गते (आइतवार) लोकान्तरकर्मी सीमा क्षेत्रमा पुग्दा त्यहाँ भारतीय पक्षले द्रुत गतिमा भन्सार कार्यालयको निर्माण गरिरहेको देखिन्थ्यो । भारतीय पक्षले नेपाली भूमिमै भन्सार निर्माणका लागि पिलर बनाउन रडहरु ठड्याएको देखिन्थ्यो । भन्सार कार्यालय निर्माणका लागि भारतीय पक्षले दशगजा र नेपाली भूमिमा माटो भर्नुका साथै इट्टा समेत जम्मा गरेर राखेको छ ।

 

भारतीय पक्षले नेपाली भूमिमा संरचना निर्माण गर्दा सुरक्षाकर्मीले किन केही नगरेको ? भन्ने प्रश्नमा सशस्त्र प्रहरी निरीक्षक थारुले लोकान्तरसँग भने, ‘हामीले त मौखिक रुपमा ध्यानाकर्षण गराउने हो । रोक्नका लागि गोली चलायो भने पनि हामीले सक्ने अवस्था छैन । किनभने सुरक्षाका दृष्टिकोणले आधुनिक हतियारसहित एसएसबीको टोली हाम्रो भन्दा ठूलो संख्यामा तैनाथ छ ।’

 

स्थानीय प्रशासन तहबाट वार्ता र संवाद तथा कूटनीतिक पहलमार्फत समस्या समाधान हुने निर्देशन आएकाले आफूहरुले भारतीय पक्षले गरिरहेको निर्माणकार्य हेरेर बस्नु बाहेकको विकल्प नभएको सशस्त्र प्रहरी निरीक्षक थारुको भनाइ छ ।

 

स्थानीयका अनुसार त्यस क्षेत्रमा धेरै पहिलेसम्म ठूलो (जंगे) पिलर थियो । तर पछि उक्त पिलर हराएपछि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै लगेको स्थानीयबासी रोहित चौधरीले बताए ।

 

भारतीय पक्षले भन्सार निर्माण गरिरहेको नेपाली भूमि पर्ने नगराईन नगरपालिका–२ का वडाध्यक्ष देवनारायण यादव संघीय सरकारले पहल नगर्दासम्म भारतीय पक्षले गरिरहेको अतिक्रमण रोक्न नसकिने बताउँछन् । ‘अहिलेसम्म सीमाको सुरक्षा गर्न नागरिकहरु खटिएका छन् ।

 

आवश्यक परे अहिले पनि सिंगो गाउँ र नगरपालिकाका बासिन्दा सीमामा लामबद्ध हुन्छन्,’ वडाध्यक्ष यादव भन्छन्, ‘हाम्रो पहिलो प्राथमिकता केन्द्र सरकारले भारतीय पक्षसँग वार्ता गरेर समस्या समाधान गरोस् भन्ने हो ।’ वडाध्यक्ष यादवले नापी विभागको टोली खटाएर छिटोभन्दा छिटो सीमा क्षेत्रको नाप–जाँच हुनुपर्ने माग गरे ।

 

भारतीय पक्षले नेपाली भूमि मिचेर संरचना बनाउन शुरु गरेपछि नेपालको सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा सुरक्षा बलका सुरक्षाकर्मीबीच तनावको स्थिति देखिए पनि अप्रिय घटना भने घटेका छैन । दुवै पक्षका सुरक्षाकर्मीबीच तनाव बढे जुनसुकै बेला पनि अप्रिय घटना घट्न सक्ने अवस्था रहेकाले केन्द्र सरकारले तत्काल समस्या समाधानका लागि पहल गर्नुपर्ने वडाध्यक्ष यादवको भनाइ छ ।

 

सीमा क्षेत्रमा तनाव बढ्दै गएपनि जिल्ला प्रशासन कार्यालयबाट कुनै पहल नभएको स्थानीयबासीको भनाइ छ । ‘जिल्लाबाट निरीक्षणका लागि सिडिओ सावसमेत आउनुभएको छैन,’ वडाध्यक्ष यादवले भने, ‘न त प्रदेश सरकारका कुनै मन्त्रीले पनि यहाँको अवस्थाबारे चासो दिएका छन् ।’लोकान्तरबाट

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...