धर्म परिवर्तन गराए पाँच वर्ष कैद, विदेशी भए सात दिनभित्र देश निकाला गरीने



हाम्रो इकोनोमि

 

 

भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ ।

 

भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन र फौजदारी कसुर ऐन २०७४ निर्माण भएको छ ।

 

ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन ।

 

दोषी प्रमाण भयो भने कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुनेछ ।’ यदि पीडक वा दोषी विदेशी भए त्यस्तो व्यक्तिलाई कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनुपर्ने ऐनमा प्रावधान छ ।,

 

 

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै १५ औं पटक अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीको अनशन २४ दिनमा पुगेको छ । उनको अनशनसँग जोडिएका समाचार दैनिक रुपमा पत्रपत्रिकाको हेडलाइन बनेका छन् ।

 

आजका पत्रपत्रिकाले पनि विभिन्न शीर्षकमा उनको विषयमा समाचार छापेका छन् । अन्नपूर्ण पोष्टका अनुसार डा. गोविन्द केसीको लम्बिँदो आमरण अनशनले सत्ता र प्रतिपक्षीबीचको सम्बन्धमा पनि तिक्तता बढाउँदै लगेको छ । चार दिनयता केसी पक्षधरसँग सत्तापक्षको औपचारिक वार्ता हुन नसकिरहेका बेला केसीको अनशनका विषयमा सत्ता–प्रतिपक्ष एकअर्कालाई कमजोर बनाउने रणनीतिक तयारीमा केन्द्रित हुन थालेका हुन् ।

 

प्रतिपक्षी कांग्रेस केसी प्रकरणमा सत्तापक्षलाई गलाउने योजनामा देखिएको छ भने सत्तारुढ नेकपा पनि डा. केसीको अनशन राजनीति–प्रेरित रहेको निष्र्कषसहित सरकारको प्रतिरक्षामा उत्रने तयारीमा लागेको छ ।

 

कांग्रेसले सडक आन्दोलनको घोषणा गरेकै दिन प्रधानमन्त्री केपी ओलीले सरकारको बचाउ गर्न सत्तारुढ नेकपाका नेता–कार्यकर्तालाई अपिल गरेसँगै सत्ता र प्रतिपक्षबीच द्वन्द्वको संकेत देखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारविरुद्धको मोर्चाबन्दीमा क्रियाशील देखिन थालेपछि सत्तापक्षले पनि आफ्नो रणनीति बनाउन लागेको हो ।

 

कांग्रेस सभापति देउवाले आइतबार पार्टी कार्यालय सानेपामा आयोजित बीपी स्मृति दिवसको कार्यक्रममा आफ्ना कार्यकर्तालाई कम्युनिस्टविरुद्ध आन्दोलनमा उत्रन निर्देशन मात्रै दिएनन्, आफ्नो पूर्वनिर्धारित भारत भ्रमण समेत स्थगित गरे ।

 

देउवाले सरकारविरुद्ध आन्दोलन प्रभावकारी बनाउन भ्रमण स्थगित गरेको बताएका छन् । प्रतिपक्षी कांग्रेस सरकारविरुद्ध सदनदेखि सडकसम्मै उत्रेपछि सत्तापक्ष नेकपाले पनि त्यसको प्रतिरक्षाको रणनीति बनाउन भातृ संस्थाहरूलाई निर्देशन दिन थालेको छ । आइतबार मात्रै प्रधानमन्त्री ओलीले पार्टीनिकट चिकित्सकलाई गोविन्द केसी अनशनको भण्डाफोरका लागि खरो रूपमा बाहिर आउन निर्देशन दिए ।

 

गोप्य राखिएको उक्त भेटघाटमा केसी प्रकरणको भ्रम र वास्तविकतादेखि सरकारले लिने रणनीतिसम्ममा छलफल भएको स्रोतले बतायो ।

 

सरकार र डा केसीबीच वार्ता हुन सकेन
सरकारी वार्ता टोली र आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्षबीच अनौपचारिक वार्ता जारी रहे पनि डा केसी पक्षको अडानका कारण औपचारिक वार्ता हुन सकेको छैन ।

 

प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान केसी पक्षले राखेका कारण वार्ता हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताए ।

 

यही असार १६ गतेदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनमा रहनुभएका डा केसीको स्वास्थ्य अवस्था कमजोर भएकाले केही दिनअघि उनलाई जुम्लाबाट काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

 

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने
सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो ।

 

सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारबाहीको निर्णय गरेको थियो । सोहीअनुरुप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई अन्तिम स्वीकृति तयारी गरेको हो ।

 

 

 

कानून मन्त्रीले माग माफी 
कानून मन्त्री शेरबहादुर तामाङले केही दिनअघि बोलेको आफ्नो अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । साउन ४ गते प्राक्सिस इन्टरनेशनल एकेडेमी विद्यालयका एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा बंगलादेशमा चिकित्सा शिक्षामा अध्ययनरत नेपाली महिला विद्यार्थीहरुको बारेमा गरेको टिप्पणीलाई लिएर चर्को आलोचना भएपछि मन्त्री तामाङले आइतबार विज्ञप्ति जारी गरी आत्मआलोचना गरेका हुन् ।

 

मन्त्री तामाङले बंगलादेशमा अध्ययनरत नेपाली छात्राले पछिल्ला दिन निकै कष्टकर जीवन व्यतित गर्नु परेको र आत्महत्या समेत गर्नुपरेको भन्दै टिप्पणी गरेका थिए ।

 

निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग
युवा तथा विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेका छन् ।

 

युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को बैठकले नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रुपमा गरिएको संवैधानिक सुनिश्चितको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

 

उच्चस्तरीय समिति गठन
कर्णाली प्रदेश सरकारले बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको आर्थिक ममिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले सार्वजनिक खरिद विधेयकलागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

 

व्यक्तिगत विवरण अद्यावधिक गर्न नेप्सेको आग्रह
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न शेयर लगानीकर्तालाई आग्रह गरेको छ ।

पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । सो प्रणालीमा ५० वटै दलाल कम्पनी आबद्ध भइसकेका छन् ।

 

टेबलटेनिस टोली भारत प्रस्थान
इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदको तयारीका लागि टेबलटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली पाँच खेलाडीसहित सात सदस्यीय रहेको छ । पुरुष खेलाडीमा श्यान्टु श्रेष्ठ र अमरलाल मल्ल तथा महिलामा नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ र रविना महर्जन रहेका छन् ।

प्रशिक्षकमा सन्जिव ढुंगेल र अनिल घिमिरे छन् । खेलाडीले एक महिना दिल्लीस्थित अन्सुलगढ टेबलटेनिस एकेडेमीमा तयारी गर्ने छन् । त्यहाँबाट टोली भदौ ८ गते इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...