सुन तस्करको सेटिङ ध्वस्त, साढे ३३ केजी सुन भेटिएन, सुन कहाँ गयो



 

सुन तस्करीको त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा रहेको सेटिङ ध्वस्त भएको निष्कर्षसहित छानविन समिति प्रतिवेदन लेखनमा जुटेको छ ।

समितिको म्याद सोमबार सकिएको छ । र, अब एक साताभित्र प्रतिवेदन बुझाउने तयारी छ ।

गृह मन्त्रालयका सह-सचिवको नेतृत्वमा बनेको छानविन समितिले पछिल्लो चार वर्षमा एउटै समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्षसहित ७० जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा चलाएको छ ।

उनीहरु मध्ये प्रहरी अधिकारीसहित ४६ जना पुर्पक्षका लागि थुनामा छन् भने बाँकी फरार छन् ।

यसरी सुरु भएको थियो छानविन

१९ फागुन २०७४ मा महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले सुन तस्करीका भरिया सनम शाक्यको शव बिराटनगरबाट बरामद गरेको थियो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि उनको हत्या भएको थियो ।

तर, घटनामा प्रहरी टोलीको भूमिका नै शंकास्पद देखिएपछि सरकारले छानविन समिति बनायो । प्रधानमन्त्रीसँग समन्वय गर्ने गरी बनेको समितिलाई शाक्यको हत्या र सुन तस्करीबारे अनुसन्धान गर्ने कार्यदेश दिइएको थियो ।

प्रारम्भमा अनुसन्धानका लागि ४५ दिनको समय पाएको समितिले पटक पटक म्याद थप्यो र पछिल्लो पटक असार मसान्तसम्मको समयसीमा पाएको थियो ।

मोहनकुमार अग्रवाल मुख्य र भुजुङ गुरुङ, विमल पोद्दार, राजु दारुका, राजेन्द्र शाक्य, सञ्जय खेतान लगायत पनि लगानीकर्ता भएको छानविन समितिको ठहर छ

के छ समितिको निष्कर्ष ?

सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वको समितिले मोरङ, उर्लाबारीका चुडामणि उप्रेती गोरेकै नेतृत्वमा ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

अहिले गोलघरमा रहेका गोरेले भने आफू भरियाहरुको सेटिङ मिलाउने मात्र भएको दाबी गरेका छन् ।

‘यो प्रकरणको मास्टरमाइन्ड चुडामणि उप्रेती नै हुन् । यद्यपि, लगानीकर्ता भने अन्य व्यक्ति भेटिएका छन्’, समितिका एक सदस्यले अनलाइनखबरलाई भने, ‘हाल फरार रहेका एमके भनिने मोहनकुमार अग्रवाल पनि मुख्य लगानीकर्ता हुन् ।’

त्यस्तै, भुजुङ गुरुङ, विमल पोद्दार, राजु दारुका, राजेन्द्र शाक्य, सञ्जय खेतान लगायत पनि लगानीकर्ता भएको छानविन समितिको ठहर छ ।

‘डकुमेन्ट लेखन सुरु भएको । कहाँकहाँ सुरक्षा कमजोरी रह्यो भन्नेसहित प्रतिवेदन पेश गर्नेछौं’, समितिका अधिकारीले भने, ‘सुन तस्करी र हुन्डी कारोबारबाट देखिएको परिणाम र नियन्त्रणका लागि गर्नु पर्ने विषयहरु पनि समेट्नेछौं ।’

प्रतिवेदनमा अनुसन्धानले त्रिभुवन विमानस्थलमा कर्मचारी–प्रहरी अधिकारी–भन्सार–विमानका कर्मचारी र तस्करी समूहको सेटिङ ध्वस्त भएको दाबी समेत गरिएको छ ।

साढे ३३ किलो सुन कहाँ गयो ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै ३८ क्वीन्टल सुन तस्करी भएको तथ्य उजागर गर्दै ४६ जना पक्राउ गर्न सक्नु अनुसन्धान समितिको ठूलो उपलब्धी मानिएको छ ।

तर, यो मुद्दालाई बाहिर ल्याउन भूमिका खेलेको हराएको भनिएको साढे ३३ किलो सुन कहाँ छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।

सुन बरामद गर्न समिति किन असफल भयो त ? ९ माघमा अनामनगरमा भएको भनिएको सुन लुटपाटको घटना कसरी सम्भव भयो ? यसको पनि जवाफ समितिसँग छैन ।

समितिका एक सदस्यले भने साढे ३३ किलो मात्र होइन, ३८ क्वीन्टल सुनकै फेहरिस्त तयार भएको दाबी गरे ।

‘तस्करी गर्ने समूहबाटै त्यो सुन लुटिएको हाम्रो निष्कर्ष हो’, समितिका एक सदस्य भन्छन्, ‘सानु बनको मृत्यु हुनुले पनि सुन कसले लुटेको हो भन्ने बाहिर नआएको हो । निरन्तर फलो गरिरहँदा पत्ता लाग्छ ।’

सुन लुटिएको थियो कि थिएन ? त्यस दिन के भएको थियो, जसले गर्दा सानु वन मृत्युवरण गर्न बाध्य भए ? यस्ता धेरै प्रश्नहरु अझै अनुत्तरित छन् ।

यद्यपि, निरन्तर फलोअप गरे सुनसँगै लुट्ने समूहलाई फेला गर्न सकिने समितिको दाबी छ ।

तर, समितिको म्याद सकिएको छ । अनुसन्धान जारी राख्ने जिम्मेवारी मोरङ प्रहरीको काँधमा छ, जसलाई सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मेवारी दिने तयारी छ ।

३८ क्वीन्टल सुनको हिस्सा अझै बजारमा

गोरे समूहले भित्र्याएको ३८ क्वीन्टल सुनको हिस्सा अझै बजारमा रहेको समितिको दाबी छ । त्यसरी तस्करी भएको सुन ८० प्रतिशतसम्म भारत जाने गरेको भए पनि अझै केही हिस्सा उपत्यकामै रहेको समितिको निष्कर्ष हो ।

नागढुंगाबाट बरामद गरेको ३ किलो सुनले पुष्टि गरेको समितिका अधिकारीको दाबी छ ।

१६ असारमा काठमाडौंबाट बाहिरिने नाका नागढुंगामा ३ किलो ६ ग्राम अवैध सुनसहित ५ जना पक्राउ परेका थिए । जसमा अधिकांश भारतीय नागरिक थिए । त्यो सुन यूएईबाट आएको खुलेपछि समितिले पनि अनुसन्धान थालेको थियो ।

त्यो सुन ‘३८ क्वीन्टल’कै हिस्सा भएको समितिको दाबी छ । ‘गोरे समूहसँग उनीहरुको लिंक भेटेका छौं’, समितिका एक अधिकारीले भने, ‘त्यो यसअघि आएको सुनको हिस्सा हो, जसलाई नागढुंगा–महेन्द्रनगर हुँदै भारत लगिँदै थियो ।’

अहिले संगठित रुपमा तस्करी नभएको तर, फाट्फुट्ट रुपमा केरुङबाट सुन आएको भन्दै समितिले भनेको छ, ‘‘विमानस्थलबाट संगठित रुपमा तस्करी भएको छैन । पहिलो सेटिङ ध्वस्त भएको छ र डर, त्रास र भय देखिएको छ ।’

विमानस्थलमा सुरक्षा कमजोरी

छानविन समितिले विमानस्थलमा खटिएका सुरक्षा निकायबीच समन्वय नहुँदा सुन तस्करी गर्ने समूहले त्यसको फाइदा उठाउने गरेको निष्कर्ष निकालेको छ ।

समितिले यस विषयलाई प्राथमिकताका साथ आफ्नो प्रतिवदेनमा समेट्ने भएको स्रोतको दाबी छ ।

विमास्थलमा हाल सुरक्षा निकायकै विभिन्न युनिटबीच समन्वय अभावसँगै एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने प्रवृत्ति देखिएको दाबी गरिएको छ ।

विमानस्थलमा सुरक्षा निकायसँगै भन्सार र अध्यागमन लगायतका सरकारी एजेन्सीहरु समेत खटिएका छन् ।

‘तर, विमानस्थलको जीएम, भन्सारको हाकिम र प्रहरीको डीआईजी सबै सह–सचिव सरह हुँदा एकअर्कालाई स्वीकार नगरेको हुनसक्छ’, स्रोत भन्छ, ‘प्रहरीले पनि विमानस्थल प्रशासनसँग समन्वय गरेर काम गर्नु पर्ने हो । एकअर्काको अस्तित्वलाई स्वीकारेको भेटिएन ।’

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण