विदेशमा पढेका ८८% डाक्टर फेल, देउवापक्षको बैठकको भोलिपल्टै पौडेलपक्षको बैठक



 

नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने योग्यता भएका कि पैसा तिर्ने क्षमता भएका भन्ने प्रश्न झन् गम्भीर छ ।

एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । तर, विदेशमा कस्ता विद्यार्थी गएका छन् र कस्तो शिक्षा लिएर आएका छन् भन्ने प्रस्ट पार्न टेबलमा प्रस्तुत गरिएको उदाहरण नै काफी छ ।

 

गत वर्ष १६ मंसिरमा काउन्सिलले लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भए । त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८ प्रतिशत र बिडिएसतर्फ ९० प्रतिशत डाक्टर काउन्सिलको परीक्षामा असफल भएका छन् । विदेशमा मेडिकल पढ्न जाने विद्यार्थी दुईथरी हुन्छन् ।

 

नेपाल सरकारको अथवा सम्बन्धित देशको छात्रवृत्ति पाएर पनि विद्यार्थी विदेश जान्छन् । तर, यसको संख्या सीमित छ । नेपालमै मेडिकल साइन्स पढ्न पनि प्रवेश परीक्षामा उत्कृष्ट नम्बर ल्याउनुपर्छ । योग्यताक्रममा पछि परेका तर अभिभावकले पैसा तिर्न सक्ने विद्यार्थीलाई विदेशको विकल्प खुलै रहन्छ । यसरी विदेश जाने  धेरैजसो विद्यार्थी तुलनात्मक रूपमा कमजोर मानिन्छन् ।

शैक्षिक स्तर कमजोर भए पनि डलरमा पैसा तिरेको कारणले चीन, बंगलादेश, पाकिस्तान र फिलिपिन्सजस्ता देशका विश्वविद्यालयमा भर्ना सजिलै पाइन्छ, तर हरेक विद्यार्थीलाई भर्ना दिने कलेजले गुणस्तरीय शिक्षा दिन सक्दैन । त्यसैले विश्वविद्यालयबाट एमबिबिएस पास गरेर आएका डाक्टर पनि लाइसेन्स लिने परीक्षामा असफल हुन्छन् ।, नयाँ पत्रिकामा खबर छ ।

 

देउवापक्षको बैठकको भोलि पल्टै पौडेलपक्षको बैठक
नेपाली कांग्रेसमा आफ्नो गुट बलियो बनाउने कसरत भइरहेको छ । आफ्नो समूहलाई बलियो बनाउने कसरतस्वरूप आइतबार सभापति शेरबहादु देउवाले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरे भने वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएका छन् ।

देउवाले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरेलगत्तै संस्थापनइतर पक्षले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएको हो । छलफलका विषय समानजस्तै भए पनि दुवै पक्षको बैठकको अन्तर्य भने आ–आफ्नो समूहलाई गोलबद्ध बनाइराख्ने रणनीतिबाट लक्षित देखिएको छ ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा आयोजित बैठकमा देउवाले आफ्नो ‘पोजिसन’ बुझ्नका लागि सुझाव लिएको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । आइतबारको बैठकमा पार्टीभित्र आफ्नो वर्चस्व कसरी कायम राख्ने भन्नेमा सभापति देउवा केन्द्रित देखिन्थे भने सोमबार हुने संस्थापनइतर पक्षको भेलामा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेता देउवालाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने देखिन्छ ।

सरकारको निर्णयमा सर्वोच्चको अंकुश
सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिनुभएपछि मुद्दा फिर्ता भएको फैसला सुनाएको हो ।

अघिल्लो सरकारले गरेको नियुक्ति वर्तमान सरकारले खारेज गरेकोविरुद्धमा झाले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले साउदलाई पदबाट तत्काल नहटाउनको लागि सरकारका नाममा अन्तरिम आदेश दिएको हो । गैरकानूनी हिसाबले आफूलाई पदबाट हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिदैनः शिक्षा मन्त्री
सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता लिन नसकिने बताएका हुन् ।

संघीय संसद् भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले विधेयक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । माथेमा कार्य दलले दिएको सुझावलाई कसैले पनि अपरिवर्तनीय दस्तावेजको रुपमा लिन नहुने भन्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सक्दो पहल भैरहेको बताए ।

यसैबीच, सरकारले गत २२ गते राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद सचिवालयमा दर्ता गराएपनि दलीय सहमति जुट्न नसक्दा टेबुल हुन सकेको छैन । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनरत प्रा.डा. गोविन्द केसीसँगको सहमति विपरित सरकारले विधेयक अगाडि बढाएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले विधेयक अगाडि बढ्न दिएको छैन ।

गत बिहीवार नै विधेयक टेबुल हुने कार्यसूची भएपनि सहमति जुट्न नसकेपछि अघि बढ्न नसकेको हो ।

 

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध रिट निवेदन
संघीय संसद्का सदस्यलाई फौजदारी अभियोग लागेमा पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

अधिवक्ता रामचन्द्र गौतम र लोकेन्द्र ओलीले आइतबार दायर गरेको संघीय व्यवस्थापिकालाई पनि विपक्ष बनाई दिएको निवेदनमा प्रतिनिधिसभा नियमावली–२०७५ मा राखिएको फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने व्यवस्था असंवैधानिक छ भन्दै खारेज वा बदर गर्न माग गरिएको छ ।

 

गोरेका भाइ पक्राउ
३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् ।

उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल,  बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।

 

पेस्तोल र गोलीसहित पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड इन जर्मनी लेखिएको पेस्तोल र गोलीसहित ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल तथा रामेछापका ३६ वर्षीय अंशुराम मोक्तान र  २४ वर्षीय कृष्णबहादुर जोगीलाई पक्राउ गरेको हो ।

 

यातनाविरुद्धको समितिका लागि आयोगको सुझाव
सरकारले संयुक्त राष्ट्रसंघीय यातानाविरुद्धको समितिमा पेश गर्न लागेको प्रतिवेदनका लागि राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सुझाव दिएको छ ।

सरकारको तर्फबाट पेश गर्न लागिएको तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ आवधिक प्रतिवेदनमाथि आयोगले विभिन्न राय र सुझाव दिएको आयोगका प्रवक्ता मोहना अन्सारीले बताइन् ।

उनका अनुसार अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सोबारे आवश्यक प्रबन्ध मिलाउन, अधिकांश भवन जीर्ण रहेकाले नयाँ कारागार निर्माण गर्न तथा पुराना भवनलाई मर्मत गर्न, भूकम्पका कारण कैदीबन्दीको जीवन जोखिममा रहेकाले सोको मूल्यांकन गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रबन्ध मिलाउनका लागि आयोगबाट विगतमा गरिएको सिफारिशको कार्यान्वयन नभएको हुँदा सोतर्फ क्रमिक सुधार गर्न सुझाव दिएको छ ।

 

बाढीपहिरो र डुबानबाट १२ करोड क्षति
भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए ।

डुबानमा ५२२ र पहिरोमा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३  किराना र  थोक पसल, एक सडक र एक पुल, दुई अस्पताल र दुई विद्यालयमा क्षति पु¥याएको छ । बाढीले ३७  बंगुर र ८२५ कुखुरा बगाएको छ ।

 

नेपाल राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सोमबार अबेर सम्म कार्यालय खुला राखेर सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा राजस्व बुझाउनेहरु उल्लेख्य हुने भएकाले अबेरसम्म कार्यालय खोलेर राजस्व बुझ्न भनेको हो ।

राष्ट्र बैंकले यसअघि वर्षभरीनै असोज, पुष, चैत र असार महिनाको अन्तिम हप्ता २५ गतेपछि शनिवार वा सार्वजनिक विदा परे पनि कार्यालय खोलेर सेवा दिन भनेको थियो ।

 

पुटिन र ट्रम्पबीचको वार्ता आज
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको छ ।

यो वार्ताले विवाद समाधान गर्दै सहज वातावरण बनाउने अपेक्षा गरिएको छ ।

 

२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि  
रुसमा सम्पन्न विश्वकप फुटबल– २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको मस्कोस्थित लुजनिकी रङ्गशालामा सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो ।

फ्रान्सले यसअघि सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । युरोपको सानो राष्ट्र क्रोएसिया भने पहिलो पटक उपाधिका लागि भिडेको हो ।

यसअघि सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले बेलायतलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस
बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु

    हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय

चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

दुर्गाका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

    दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक

हेटौँडा-काठमाडौं जोडने सबै सडक मार्ग सुचारु

    गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण