राजधानी लगायत देशैभररी २५० गुण्डाको सूची तयार, यसरी डण्डा बर्षाउँदै छ प्रहरीले, खनालले भने अब देश गुण्डामुक्त हुन्छ



हाम्रो इकोनोमि

 

प्रहरीले अहिले राजधानीसहित देशभर गुण्डागर्दीमा संलग्न व्यक्तिको सूची तयार गरेर उनीहरुविरुद्धको कारबाही शुरु गरेको छ ।

प्रहरीको टार्गेट सूचीमा गुण्डा नाइके, छोटो समयका लागि ऋण परिचालन गरी चर्को ब्याज असुल्ने मिटरब्याजीदेखि लुटेरासम्म छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह गुण्डाको ग्रेड छुट्याएर निगरानी बढाएको बताउँछन् ।

‘कानूनलाई मुठ्ठीमा लिएर समाजमा आतंक फैलाउने कसैले पनि उन्मुक्ति पाउँदैनन्,’ सिंह भन्छन्, ‘त्यस्ता व्यक्ति ढीलो चाँडो कानुनी दायरामा आउँछन् ।’

अपराध महाशाखाले पछिल्लो तीन सातामा गुण्डागर्दीविरुद्ध ५ वटा अपरेशन गरेको छ ।

अपराध महाशाखाले असार ७ गते काठमाडौंका मुलपानीमा खुँडे भनिने अमरबहादुर तामाङलाई नियन्त्रणमा लियो । उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु पर्यो ।

जेठ २८ गते काठमाडौंको शंखमुलमा पनि अपराध महाशाखाको टोलीले गोली नै चलाएर गुण्डा नाइके अशोक लामालाई पक्राउ गर्यो । यस्तै गत शनिवार (असार १५ गते) कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेललाई पक्राउ गरेको छ ।

अपराध महाशाखाले गत जेठ २७ गते मिटरब्याजीका नाइके मानिने बलराम सापकोटा, आङकाजाी शर्पा र रघुनाथ पुरीले प्रशासनबाट लाइसेन्स लिएर राखेका हतियार जफत गर्यो । लाइसेन्स लिएर राखेका हतियारको दुरुपयोग गरेको भन्दै अपराध महाशाखाले उनीहरुबाट हतियार जफत गरेको थियो ।

महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंहबाट ६ जान हतियार जफत गर्यो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर सिंहले मिटर ब्याजको धन्दा चलाइरहेका थिए ।

अपराध महाशाखा प्रमुख एसएसपी सिंह अहिलेको अपरेशन भनेको सुरुवाती चरण मात्र भएको बताउँछन् । ‘प्रहरीले तयार गरेको सूची अनुरुप गुण्डाहरु निगरानीमा पर्छन्, उनीहरुले कानून मिच्ने कुनै काम गरे तत्काल एक्सन लिइन्छ,’ सिंह भन्छन् ।

गुण्डागर्दीविरुद्धको कारबाहीका लागि अपराध महाशाखासँगै महानगरीय प्रहरी परिसर काठमाडौंले पनि विशेष अभियान थालिसकेको छ । काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल गुण्डागदी नियन्त्रणका लागि विशेष कार्यविधि नै बनाइएको बताउँछन् ।

‘राजधानीलाई गुण्डामुक्त बनाउने योजनका साथ कार्यविधि बनाएर अगाडि बढेका छौं,’ एसएसपी पोखरेल भन्छन्, ‘अव कसैले पनि गुण्डागर्दीको बलमा आतंक मच्चाउन सक्दैन ।’

प्रहरीले राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा आसपासका काभ्रे, नुवाकोट, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा गरी गुण्डागर्दीमा सक्रिय रहेका २५० जनाको सूची तयार पारेको छ । उनीहरुले गर्ने काम, दैनिक गतिविधि, सम्पर्क सम्बन्ध, उजुरी लगायतका आधारमा प्रहरीले सूची तयार गरेको हो ।

यस्तो छ गुण्डाहरुको सञ्जाल

ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खाली मातहत तीन दर्जन गुण्डा संगठित छन् । विजय कुमार गच्छदारको राजनीतिक संरक्षणमा गुण्डागर्दीमा संलग्न रहेर हाल हातहतियार तथा खरखजना मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका काभ्रेली समूहका गुण्डा नाइके गणेश लामाको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् । बाघे लामाको समूहमा ११ सदस्य छन् । अर्का गुण्डा नाइके प्रवीण प्रधानको समूहमा १० सदस्य छन् ।

त्यस्तै मिनकृष्ण महर्जन, समिरमान सिंह वस्नेत, रोज राणा, दावा लामा, राधे भण्डारी, साजन महर्जन, अभिमानसिंह बस्नेत, आशिष राई, युद्ध लामा, अनिले हेक्का, कृष्ण खड्का लगायत पनि सानो–सानो गिरोह बनाएर गुण्डागर्दीमा संलग्न छन् ।

राजधानी बाहिर पनि अहिले सिन्धुपाल्चोकमा केही नेताको आडमा सगुन श्रेष्ठको समुहले आतंक मच्चाइरहेको भन्दै प्रहरीले निगरानी बढाएको छ ।

सुरुमा तत्कालीन माओवादी नेताको संरक्षणमा हुर्किएका सगुनलाई अहिले नेपाली काँग्रेसका एक नेताले संरक्षण रहेको प्रहरी स्रोत बताउँछ ।

प्रहरी स्रोतका अनुसार, सगुनबाहेक बमबहादुर श्रेष्ठ, निरन्जन खड्का, राहजु श्रेष्ठ, प्रेम श्रेष्ठ, रवि सिलवाल लगायतले पनी छुट्टै समूह बनाएर धन्दा चलाइरहेका छन् ।

गुण्डा नाइकेको धन्दा : मिटर ब्याज, ठेक्काको कमिसनदेखि जुवा ताससम्म

प्रहरीको सूचीमा रहेका गुण्डा नाइकेहरुले बाहिरबाट देखिने गरी कोही रेस्टुरेन्ट त कोही क्रसर व्यवसायमा संलग्न छन् । केहीले ढुङ्गा–बालुवाको डिपो पनि सञ्चालन गरेका छन् । तर उनीको भित्री धन्दा भनेको छोटो समयका लागि ऋण दिएर चर्को ब्याज असुल्ने (मिटर ब्याज), ठेक्का–पट्टाबाट कमसिन लिने, जुवा खेलाउनेदेखि अपहरण गरेर फिरौती असुल गर्नेसम्मका छन् ।

सर्वसाधारणको उजुरीका आधारमा केही गुण्डानाइकेहरु थुनामा परेपनि प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताको दवावमा छाटो समयमै रिहा हुन्छन् । थुनाबाट रिहा भएपछि उनीहरु पुनः गुण्डागर्दीमै संलग्न हुन्छन् ।

‘सामान्यतया गुण्डाहरुको विरुद्धमा उजुरी गर्न सर्वसाधारण पनि डराउने अवस्था छ । यदि कसैले हिम्मत जुटाएर उजुरी दिएमा राजनीतिक दलका नेता र प्रहरीका केही उच्च अधिकारी पक्राउ परेका गुण्डाहरुलाई छुटाउन लागिपर्छन्,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारी भन्छन् ।

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दका अनुसार गुण्डाबाट पीडित भएपनि सर्वसाधारणहरु त्रास कै कारण प्रहरीकोमा जाहेरी दिन पुग्दैनन् ।

अपराध महाशाखाका प्रमुख एसएसपी सिंह पनि गुण्डाहरुको राजनीतिक पहुँच र उच्च नेताबाट पाउने संरक्षणले कतिपय अवस्थामा उनीहरुमाथि शुरु गरिएको कारबाही गर्ने प्रक्रियामा अवरोध सिर्जना हुने गरेका स्वीकार्छन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...