माथिल्लो तामाकोसीको साधारण सेयर निष्कासनका लागि आह्वान सार्वजनिक, हरेक वर्ष १० अर्बको बिजुली बेच्दै, एक वर्षपछि नै नाफामा जाने



हाम्रो इकोनोमि

आगामी वैशाखदेखि विद्युत् उत्पादनको तयारीमा रहेको बहुचर्चित माथिल्लो तामाकोसी आयोजनाले आगामी चार वर्षपछि वार्षिक १० अर्ब नाफा गर्ने भएको छ ।

उत्पादन सुरु भएको एक वर्षपछि नै नाफामा जाने यो आयोजनाले तेस्रो वर्ष चार अर्बभन्दा बढी नाफा गर्ने प्रक्षेपण गरिएको छ । माथिल्लो तामाकोसी राष्ट्रिय गौरवको आयोजना हो ।

कम्पनीले अहिले साधारण सेयर निष्कासनका लागि आह्वान सार्वजनिक गरेको छ । आह्वान पत्रमा आर्थिक वर्ष ०७६/७७ देखि कम्पनीको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले माथिल्लो तामाकोसीबाट नाफा कमाउन थाल्ने उल्लेख छ ।

आव ०७७/७८ मा कम्पनीको नाफा २ अर्ब १२ करोड र ०७८/७९ मा २ अर्ब ८६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि आम्दानी बढ्ने र ऋण दायित्व पनि क्रमश घट्दै जाने देखिएको छ ।

कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा ६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ नाफा गर्नेछ । आयोजना सञ्चालन भएको साढे तीन वर्षपछि निर्माणका लागि लिएको सबै कर्जा चुक्ता गर्नेछ । आयोजनाको मुख्य लगानीकर्ता सञ्चयकोष पनि हो ।

योजनामा गरेको लगानीको कोषले साढे १० प्रतिशत ब्याज लिन्छ । आयोजनाको सेयर चार वर्षमा बढेर २७ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । आयोजनाको निर्माता कम्पनी आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ मा नोक्सानमा रहने अनुमान छ ।

आगामी वर्ष ०७५/७६ ४ अर्ब, ४ करोड, ०७६/७७ मा ९ अर्ब ५३ करोड, ०७७/७८ मा ९ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गर्ने कम्पनीले जनाएको छ । आव ०७५/७६ मा ३ अर्ब १ करोड, ०७६/७७ मा ६ अर्ब २ करोड, ०७७/७८ मा ५ अर्ब ९८ करोड र ०७८/७९ मा ५ अर्ब ४९ करोड रुपैयाँ कम्पनीको दायित्व रहनेछ ।

कुल ४ सय ५६ मेगावाट क्षमताको यो आयोजना निर्माण अवधिको ब्याज ९आइडिसी० बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अमेरिकी डलर महँगो भएको, भूकम्प र नाकाबन्दीले समयमा काम नहुँदा लागत बढेर ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । आयोजनाको काम सुरु गर्दा १ डलर बराबर ८० रुपैयाँ थियो । अहिले बढेर १ सय १० रुपैयाँ पुगेको छ ।

यी विविध कारणले आयोजनाको लागत ७ अर्ब ६६ करोड रुपैयाँ थप हुने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले ऋणप्रदायक कर्मचारी सञ्चय कोषलगायतसँग छलफल गरिरहेको जानकारी दिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

निर्माण अवधिको ब्याजबाहेक यो आयोजनाको उत्पादन लागत प्रतिमेगावाट १० करोड ८१ लाख रुपैयाँ पुगेको छ । यो अन्य आयोजनाको तुलनामा निकै सस्तो हो । नेपालमा सामान्य अवस्थामा विद्युत् आयोजनाको लागत प्रतिमेगावाट १५ देखि १८ करोड रुपैयाँ पर्दछ ।

माथिल्लो तामाकोसीको बिजुलीको मूल्य प्रतियुनिट औसत ५ रुपैयाँ ३० पैसासम्म पुग्नेछ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बिमा संस्थानको दुई र नागरिक लगानी कोषको दुई प्रतिशत स्वामित्व छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत लगानी छ ।

आयोजनाको साधारण सेयर (आइपिओ) २४ असारदेखि निष्कासन हुनेछ । पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

जसअनुसार आयोजना प्रभावित स्थानीयलाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आइपिओ निष्कासन हुन लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई निष्कासन हुने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । आयोजनाको आइपिओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई गरी १७ दशमलव २८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आइपिओ निष्कासन गरी बाँडफाँड भइसकेको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...